आखिरीमा हाम्रो नेपाली समाज मा छोरा नभई किने नहुने हो त?
आज पनि किन घर-घरमा छोरा नै चाहिन्छ भन्ने मानसिकता छ त?
जति नै समाज बदलियो अथवा छोरा छोरी बराबर हो भनिए पनि अन्त्यमा आएर किन छोरामा कै कुरा टुङ्गिन्छ त?
अझ गर्भवती माहिलालाई आशीर्वाद दिँदा किन अझै पनि राम्रो छोरा पाउनु भनिन्छ त?
छोरा जन्माइसकेका महिलालाई खासै अर्को सन्तानको लागि दबाब दिइँदैन भने छोरी मात्र भएको महिलालाई फेरि पनि अर्को सन्तान पाउन सल्लाह र सुझाव किन बारम्बार दिइरहेको छ त?
यस बारेमा म पनि समय समयमा सोचिरहन्छु र आफूलाई कुनै पनि कुरामा छोराभन्दा कम छैन भन्ने मानसिकता राख्दछु।
तर के यो यथार्थ हो त?
हामी किन छोरावाद मनस्थितिबाट माथि उठ्न नसकेको होला भनेर म सोचिरहेको हुन्छु। म आफैँ एक छोरी; छोरा र छोरी बिचको जमानादेखि चलिन आएको भेदभाव र हाम्रो समाजको छोराप्रतिको उत्कट चाहनाबाट मलाई वाक्क लगेर आउँछ। तर यस पछाडिको तर्क पनि त बुझ्न जरुरी छ नि। मैले यो कुराको गहिराइसम्म पुगेर सोच्ने विचार गरेँ।
मैले छोरी भएर के गर्न सकेको छैन र छोराहरूले आफ्ना आमाबुबाको लागि के त्यस्तो गरिरहेका छन् त भनेर म सोच्न बाध्य भएँ।
सबैभन्दा पहिलो कुरा, छोरीहरू बिहे गरेर आफ्नो श्रीमानको घर जान्छन् भने छोराहरूले त घरमा बुहारी लिएर आउँछन्। उनीहरू आमा-बुबासँगै घरमा बस्छन् र आमा-बुबाको सहारा बन्छन्। यहाँ नै एउटा ठुलो फरक हामीले देख्न सक्छौँ, छोरीहरू मात्र हुने आमाबुबालाई बुढेसकालमा एक्लै हुने एउटा डर भयो। यो भयो एउटा छोरा हुनुपर्छ भन्ने कुराको ‘लजिक’। यो कुरा मलाई ठिकै लग्यो है। यी बाहेक अरू पनि धेरै धेरै फरक मैले आफै छोरा र छोरीबिच देखेको छु।
अर्को कुरा, हामी छोरीहरू पनि आफ्नो कर्तव्यबाट पन्छिने बानी छ। त्यसमा म आफै एउटा उदाहरण हुँ।
म लगायत हामी धेरैजसो छोरी मान्छेले आफ्नो माइतीघरको खासै चासो अथवा ख्याल गरिएको देखिँदैन। हामी बिहे गरेर आफ्नो घर-परिवार तथा जीवनमा यति हराएका हुन्छौँ, लाग्छ कि हाम्रो त आफ्नो आमा-बुबाप्रतिकै कर्तव्य नै छैन। माइत जाने भनेको रमाइलो गर्न, खान, पिउन र मोज गर्न मात्र जस्तो लाग्छ। हामीले आफ्नो मानसिकता कहिले बदलिने त?
एउटा उदाहरण म आफ्नै दिन्छु। मेरो ममी-बाबा तराईतिर जानु भएको थियो। माघे सङ्क्रान्ति आउँदै थियो। मलाई चिन्ता भयो; तिलको लड्डु र भुजाको लड्डु कसले बनाइदिने? कहाँबाट ल्याउने?
योभन्दा अगाडिको साल उहाँहरू अस्ट्रेलिया जानुभएको थियो। तिहारमा सेल बनाउनै आएन।
अब त म आफैले पनि मेरो उमेर ढल्किँदै गएका आमाबुबालाई दुख नदिनु पर्ने हो नि। बरु मैले चाहिँ चाडपर्वका पकवान वहाँहरूको लागि तयार गर्दिनु पर्ने हो नि!
यति मात्र कहाँ हो र, अहिलेसम्म माइती जाँदा ममीबाबालाई तपाईंहरूले मलाई सानोमा यो गर्नु भयो, त्यो पुर्याउनु भएन भन्छु म। एउटा कुरा माग्दा दुइटा दिने मेरा बाउआमा, सधैँभरि सबैभन्दा राम्रो स्कुल, कलेज, कोचिङ हाल्ने मेरै बाउआमा हुन्।
भन्नुभन्दा अगाडि सबै कुरा पाएका सन्तान हौँ हामी र पनि हेर्नुस् त हाम्रो किचकिच!
त्यसपछि म आफूले आफैलाई पनि सोध्छु, मैले चाहिँ के गरेको छु त मेरो आमाबाउको लागि?
यो प्रश्न पनि आफूलाई गरेर हेरौँ त!
मेरो श्रीमानले आफ्नो आमाबुबालाई चाडपर्वमा लुगा हाल्नुहुन्छ, म आज पनि दसैँमा लुगा मेरै आमाबुबालाई किनी माग्छु। हेर्नुस् त फरक! त्यही भएर छोरा चाहिन्छ जस्तो छ।
कतिपय छोरीलाई दाइजो दिएर पठाउनु पर्छ। विदेशमा भएका छोराहरूले महिनैपिच्छे पैसा पठाउँदा मेरा आमाबालाई पनि त लाग्दो हो नि, कुन-कुन बेला मन कटक्क खाँदो पनि हो।
छोराहरूले महिनैपिच्छे आफ्नो आमाबुबालाई घर खर्च भनेर अथवा वहाँहरूलाई चाहिएको खर्च दिन्छन्। तर हामी छोरीहरू त्यो गर्न सक्दैनौँ। यो कुरा पक्कै पनि सबैमा लागु हुँदैन। कसैको आफ्नै घर चलाउन गाह्रो भएको हुन्छ, कसैको आर्थिक स्थिति कमजोर हुन्छ। सबै छोरीहरू आत्मनिर्भर पनि छैनौँ होला। तर जो हामी आत्मनिर्भर छौँ, कामकाजी छौँ, हामीले पनि आफ्नो आमाबुबालाई आर्थिक सहयोग गर्नु पर्छ जस्तो लाग्छ मलाई।
आज म पढेलेखेको छु, कामकाजी छु भने पक्कै पनि मेरो कमाइमा मेरो आमाबुबाको पनि आधिकार छ। यो कुरा श्रीमान् र परिवारले पनि बुझ्न जरुरी छ, जस्तो तपाईंको आमाबुबा त्यस्तै हाम्रो पनि।
आमाबुबा आफैले पनि मन फराकिलो पार्नु जरुरी छ। छोरीको लिनु हुँदैन, छोरीको घरमा खानु हुँदैन भन्ने पुरानो सोचबाट निस्किनुपर्छ। मज्जाले मिल्छ छोरीकोमा खान। छोरीसँगै जीवनभर बस्न मज्जाले मिल्छ। कसले भन्यो मिल्दैन?
अर्को मलाई चित्त नबुझ्ने कुरा, आमाबाबा छोरा अथवा छोरी कोसँग बस्ने भन्ने कुराको पनि छलफल हुनपर्छ। कुनै घरमा आमाबुबा छोरी-ज्वाइँसँगै बसेको पनि हेर्न पाऊँ न अनि पो कुनै आमाबाउले छोरा चाहियो भन्ने थिएनन् होला। अनि पो साँच्चैको लागि छोराछोरी बराबर हुन्थे होला त!
आर्थिक सहयोगको मात्र कुरा होइन, जसले जे सक्छ उसले त्यही गर्नुपर्छ। समय छ भने समय दिनुस्, कुनै बेला उपचार गर्न लाग्नुस् अथवा आफ्ना आमाबुबासँग समय समयमा गएर भलाकुसारी गर्नुस्।
आफ्ना घरका सबै कामकाज छोडेर कुनै बेला एक्लै एक\दुई दिन आमाबुबासँग समय बिताएर हेर्नुस् त कति आनन्द आउँछ। अरू सबै कुराको लागि समय मिल्छ नि, त्यस्तै यसको लागि पनि मिल्छ।
सबै कुराको लागि किन हामी दाजुभाइको मुख हेरेर बस्छौ? जब आमाबुबाले हुर्काउने, पढाउने माया गर्ने बेलामा हामीलाई बराबर गरे भने आज किन हामी आफूले गर्ने बेलामा पछि परिरहेका छौँ?
छोरीले पनि वर्षमा एक/दुई महिना आमाबुबालाई आफ्नो घरमा लगेर राख्न मिल्छ। त्यसो गर्दा केही समयको लागि दाजुभाउजू अथवा भाइबुहारीलाई पनि नयाँ वातावरणको अनुभूति लिने मौका मिल्थ्यो होला। कुनै बेला विदेश भ्रमण गर्ने योजना हुँदा छोरीहरूले पनि म अलिकति मद्दत गर्छु है भन्दा सबैलाई खुकुलो हुन्थ्यो होला, होइन त?
बिरामी भएको आमाबुबालाई पालो पालो रेखदेख गर्दा पनि कति सहज हुन्थ्यो होला सबैलाई! अलिअलि मिलाउनु मात्र पर्छ सबै कुरा मिल्छ।
यो सबै कुराको लागि हामीले लड्नु पर्छ भने लड्नको लागि पनि पछि सर्नु हुँदैन, अरू कति कुराको लागि हामी महिलाले दिनदिनै लडिरहेका छौँ, एक अरू सही।
यदि म भोलि आफ्नो जीवनमा छोराछोरी चाहन्छु भने यो सबै कुरा म दुवै सन्तानलाई सिक दिन चाहन्छु। दुवै सन्तान मैले जन्माएको दिनदेखि बराबर हुन्। माया, स्नेह, हक र आधिकार तराजुमा जोखेर बराबर दिनेछु। समाजसँग लडेर होस् वा नियमहरू तोडेर होस्, कुनै किसिमको भेदभाव गर्ने छैन। तर म यो पनि अपेक्षा राख्ने छु कि मेरो सन्तानले पनि भोलिका दिन म आमाबुबालाई भेदभाव नगरोस्।
जति मेरो छोराको घर मेरो, त्यति नै मेरो छोरीको घर मेरो हुन सक्ने खालको शिक्षा, संस्कार र तालिम म दिने छु।
यो त भयो मेरो भोलिको दिनका योजनाहरू। आज त म छोरी हो, आफ्नो आँखा समयमा नै खोलेर, साँच्चैको छोराभन्दा कुनै कम छैन भनेर प्रमाणित गर्न पर्ने छ मैले। म छोरी भएर चुक्न कुनै हालतमा तयार छैन।
मेरो आमाबाबाको सहारा मलाई नै हुनु छ। मेरो आमाबाबालाई मसँगै राख्नु छ। यो नियम र कानुन मलाई नै बदल्नु छ। छोरा होइन, असल र बबाल छोरी बन्नु छ मलाई।
अवश्य पनि छोरीलाई छोराको जति नै हक अधिकार दिनु पर्छ, चाहे त्यो मनमा होस्, घरमा होस् अथवा सम्पत्तिमा होस्। तर हामी छोरीले पनि यो बुझ्न जरुरी छ कि आधिकार र कर्तव्य भनेको त एउटै सिक्काको दुई पाटा हो नि!