एक जना बेलुन व्यापारीले थरीथरी रङका बेलुनमा हावा भरेर आकाशमा उडाउँदै थिए। नजिकै बसेर एउटा बालक ती दृश्यलाई अवलोकन गर्दै हृदयभरि प्रश्नहरू उमार्दै थिए। आकाशमा राता, निला, पहेँला बेलुन निर्बन्ध उडेको देखेर बालकको मनमा जिज्ञासा उत्पन्न भयो र माथिमाथि आकाशमा हेरेर सुनौलो सपना बुन्दै व्यापारीको नजिकै गएर जिज्ञासु ओठहरू खोले, ‘के कालो बेलुन पनि माथि आकाशमा उड्न सक्छ?’ बालकको प्रश्न सुनेर ती व्यापारीले बालकको टाउको मुसार्दै भने, ‘बाबु बेलुन रङको कारणले माथि उडेको होइन, हावाको कारणले बेलुन उड्छ चाहे त्यो जुनसुकै रङको होस्।’
व्यापारीले त्यति भनेपछि बालकले पुन प्रश्न गरे, ‘के कालो बेलुन पनि माथि उड्छ?’ व्यापारीले बालकको आँखै अगाडि कालो रङको बेलुनमा हावा भरेर माथि उडाइदिए।
बालक निकै उत्साहित भए र हृदयभरि हिम्मत र भरोसा लिएर घर गए। ती बालक थिए नेल्सन मण्डेला जसले ठूलो भएपछि रङभेद र जातिभेदविरूद्ध अनवरत लडेर दक्षिण अफ्रिकाको पहिलो अस्वेत राष्ट्रपति बने। उनको जीवनी पढ्दा छक्क परेकी थिएँ। जीवनका ऊर्जावान् समय जेलमा बिताए त्यो पनि तिसौं वर्ष। विश्व रेकर्ड थियो मण्डेलाको तिसौं वर्षको लामो जेल जीवन। हुन त बिपी कोइराला, गणेशमान सिंह, पुष्पलालदेखि कयौँ नेताहरूले जेलजीवन बिताएको इतिहास सुन्दै र पढ्दै आएका छौं। बिपीले जेलभित्रै कयौँ साहित्य सिर्जना गरे। कुन शक्तिले त्यो कालकोठरीमा दैनिकी बित्यो होला म कल्पना गर्न पनि सक्दिनँ।
यसै सन्दर्भमा नेल्सन मण्डेलाको रेकर्डकलाको रेकर्डलाई नि उछिन्ने वीर नेपाली रहेछन् भन्दा छक्क परेँ। भुटानमा ३१ वर्ष दश महिनाको निकै लामो जेल जीवन बिताएका जिउँदा शहीदहरूलाई भेट्ने सुअवसर प्राप्त भयो। शनिबार बिहान ८: ३० बजे रोज गार्डेन कीर्तिपुरमा एउटा कार्यक्रमको आयोजना गरिएको थियो उहाँहरूको सम्मानमा। डाक्टर गोविन्दराज भट्टराईले सो कार्यक्रमको साक्षी हुने मौका मलाई पनि दिनुभयो।
हामी गुर्जुधाराबाट निश्चित समयमा रोजगार्डेन पुग्यौं। प्राध्यापक कृष्ण खनाल अघिदेखि बसिरहनुभएको रहेछ। हामी पुगेपछि अतिथिहरू आउने क्रम जारी रह्यो। प्राध्यापक कृष्ण खनाल, प्राध्यापक कुमार कोइराला, बालकृष्ण माङ्बुहाङ, हरिविनोद अधिकारी, डाक्टर तुलसी भट्टराई, डाक्टर अन्जना अवस्ती भट्टराई, देवेद्र भट्टराई, हरि गौतम, लक्ष्मण वियोगी सुभाष ढुङ्गेल, अनिता पन्थीहरूको उपस्थिति निकै भव्य थियो।
भुटानी शरणार्थी शिविरका सचिव सन्चहाङ सुब्बाले कैदी जीवन पूरा गरेर आएका भुटानी शरणार्थीहरूलाई लिएर आउनुभएको रहेछ साथै झापादेखि उहाँहरूलाई सकुशल काठमाडौं ल्याइपुर्याउने चालक भाइ जङ्ग बहादुर पनि उपस्थित हुनुहुन्थ्यो। तीन जना अतिथिहरू राम बहादुर राई, मन बहादुर राई र मधुकर मगर आएपछि मेरो मनमा अनेकौँ कुराहरू मडारिन थाले।
अहो! राज्य र परिवारबाट विच्छिन्न भएर त्यो अँध्यारो कोठामा कसरी यतिका वर्ष यो जीवन धानियो? जीवनप्रतिको महत्व र मोह आखिर कुन तत्वले जीवित राख्यो? मान्छे कति शक्तिशाली रहेछ। मान्छे हदैसम्मको ज्याद्रो पनि हुने रहेछ। जीवनभन्दा ठूलो कुरा त आखिर अरू केही पनि रहेनछ। जसरी पनि जुन अवस्थामा पनि हामी बाँच्न चाहन्छौं भन्ने सत्यको प्रमाण ती महान् व्यक्तिको मुहारमा बोध गर्दैछु।
१९९४ मा पक्राउ परेका यी निर्दोष अनुहारमा पीडाका कैयौं सुमानी छालहरू मैले सुनिरहेँ। एक वर्षकी छोरी छोडेर हिँडेका रामको श्रीमतीको निधन निकै वर्ष अगाडि भइसकेको रहेछ।
सन्तानलाई कसले हुर्कायो. कसले बढायो, कसले पढायो? कसरी चिन्नु ती सन्तानले आफ्नो पितालाई। सिनेमा जस्तो जीवन कहाँ हुन्छ र? यस्तैयस्तै भाव मडारिरहे।
अकल्पनीय, असह्य र अँध्यारो जेल जीवन पूरा गरेर तिसौं वर्षपछि बाहिरी संसारमा आउँदा आफ्नो संसार हराएको देख्दा ती वीर आत्माहरूको हृदय कति रोयो होला? कति छटपटायो होला? आफ्नो भन्ने कोही कतै छैनन्। प्रेम र मायाले स्वागत गर्ने अँगालो छैन। हृदय खोलेर जम्मै पीडा पोख्ने न्यानो काख छैन। जेलमा सम्पूर्ण ऊर्जाशील जीवन बिताएर बाहिर आउँदा आफ्नो कुनै पहिचान छैन, देश छैन त्यतिले मात्र नपुगेर आफ्नै घरमा आफ्नो पहिचान माग्दा पनि अपमानित हुनुपरेको छ।
मस्तिष्कभरि अवसाद र पीडाका छर्रा लिएर पहिचानको लागि अर्को युद्ध गर्नु परेको छ। राज्यको आशमा परिचय बनाउन जाँदा धरीधरी सोधिने प्रश्नको वाणले मर्माहत बनाएको छ शिथिलतम मस्तिष्कलाई।
प्रशासनले बारम्बार सोध्छ, ‘तिमीहरू सक्कली शरणार्थी कि नक्कली शरणार्थी?’ आगो उठ्दो हो त्यो चिसो हृदयमा।
नेपाली र भुटानीको परिचय त कता हो कता शरणार्थीको परिचय बनाउन पनि भीषण युद्ध लड्नु परेको छ। जेलबाट मुक्त भएर पनि शान्ति छैन हृदयमा। एउटा मान्छे जेल पर्दा कसरी उसको सिङ्गो संसार हराउँछ यही संसारमा? थातथलो भएको मान्छेको बासस्थान हराएर ऊ कसरी मन्दिरदेखि सडकको पेटीमा बास बस्न विवश छ!
यो झरीमा न लुगा, न जुत्ता, न छाना न माना। तीस वर्षे जेल जीवनको पीडाभन्दा डरलाग्दो पीडा उनीहरूलाई अब देशले दिएको छ। जीवनको कठिन युद्ध जितेर आएका योद्धालाई घरी घरी मानसिक पीडाले आत्महत्या गर्ने मोडमा धकलेको छ। वीर गोर्खालीको आत्मविश्वासलाई शहीद बनाउन राज्यहरू लागिपरेका छन्। मेरो मनमा विचारहरूको आरोह अवरोह चल्दै छ।
कार्यक्रमको सुरूमा डाक्टर गोविन्दराज भट्टराईले उहाँहरूको परिचय गराउँदै उहाँहरूको सम्मानका लागि प्राध्यापक कृष्ण खनाललाई खादा लगाएर स्वागत गर्न अनुरोध गर्नुभयो। म पालैपालो उहाँहरूलाई नियाल्दै छु। जेल जीवनको यातना, शारीरिक पीडा, मानसिक अवसादको चरम अवस्था कल्पनातीत लाग्यो। देवेन्द्र भट्टराई सरले जेलबाट बाहिर आउँदा देखा परेका अनेकौं अमानवीय व्यवहारको कुराले मेरो हृदय अझ छियाछिया भयो।
पुलिसको बुटले टाउकोमा हान्दा कसैको आँखामा गम्भीर चोट लागेकोछ। छाती र ढाडमा बन्दुकको कुन्दा हान्दा करङ भाँचिएको छ, हात महिनौंसम्म बाँधेर राखेकाले गर्धनको असह्य पीडा खेपिरहेको त्यहीँ देखियो। राम बहादुर राई ३१ वर्ष १० महिना जेल जीवन बिताएका, मन बहादुर राईले ३१ वर्ष, मधुकर मगरले ३० वर्ष जेल जीवन बिताएर आएका रहेछन्। जेलभित्रका ती नारकीय पलहरू मेरो मस्तिष्कमा दृश्य भएर नाच्न थाले। पीडा खप्न नसकेर उनले त्यहीँनै पेन किलर खाए। मैले अनुहारमा अझ नियालेर हेरेँ। मुहारमा अझ पनि आशा, विश्वास र भरोसा छ जीवनप्रति, राज्यप्रति र समाजप्रति। मैले बारम्बार सलाम गरेँ। म सोच्न विवश भएँ।
***
हामीलाई कसैले 'तिम्रो खबर के छ?' भनेर सोधिदिँदा हामी हामीले प्राप्त गरेको सुख, शान्ति , आनन्द र सन्तोषलाई भुलेर दुःख के के छन् खोज्न थाल्छौं। समस्या उमार्न थाल्छौँ। के के छन् त पीडा भन्दै अनुहार बिगारेर कोतर्न थाल्छौं। सामान्य समस्यालाई पनि ठूलो बनाउँदै अरूको अगाडि गुनासो पोख्न हतारिन्छौं। आफ्ना अभाव, पीडा, समस्याहरू सम्झी सम्झी अरूलाई भन्छौं तर हामी कति अनभिज्ञ छौं वास्तविक दु:ख, पीडा र समस्याहरूबाट।
एउटा यस्तो भयावह परिस्थितिसँग जुधेर आएका जीवित पात्रहरूसँग साक्षात्कार हुँदा म स्तब्ध भएकी छु।
मैले भोगेका दु:ख समस्या त केही होइन रहेछ भन्ने आत्मबोध भएको छ। भुटानी शरणार्थीहरू कति अस्ट्रेलिया पुर्याइए, कति अमेरिका र युरोप पुर्याइए। जीवन दुःखमा पनि सुन्दर नै देखिन्छ। यहाँ यसरी परिचयको लागि पसिना बगाउनु परेको छ। तर पनि असङ्ख्य सम्भावनाको मुस्कान लिएर बाँचेका छन्। उपचारको लागि सन्दुक रुइत र डाढजोर्नी अस्पताल जोरपाटीले नि:शुल्क उपचार गर्ने प्रतिबद्धता गरेको खबरले हामी प्रशन्न छौं। छिटोभन्दा छिटो उहाँहरूको माग सम्बोधन होस् भन्ने कामना गर्दै प्रतिकूल अवस्थामा कसरी उहाँहरू परिस्थितिसँग लड्नुभयो होला? उहाँहरूको ऊर्जाको त्यो आलोक के होला भन्दै घर आएँ।