मंसिरमा तीन चार वटा बिहेको निम्तो आयो।
माघमा पनि उस्तै गरी आयो। फागुनमा पनि निम्तो आउने क्रम जारी नै छ।
हे प्रभु! मैले त भन्नै बिर्सिएछु। बिहेको मात्र हो र भन्या इन्गेजमेन्ट, मेहेन्दी, स्वयंवर, पार्टी र सम्धिनी भेट के के हो के के भनिसाध्य छैन।
आनन्दले बिहे हेर्न र भोज खानमात्र पाए त हुन्थ्यो नि! निम्तो मात्र आउँछ र भन्या, रातो कार्डभित्र नदेखिने गरी डरलाग्दो तनाव पनि सँगसँगै आएर तर्साउँछ र पो त फसाद!
बिहे र भोज अरूको हुन्छ तर निम्तो मान्न जानेलाई पसिना छुट्छ!
उपहार के दिने, आशीर्वाद कस्तो दिने भन्दा पनि बिहेमा जाँदा के लगाउने भन्ने ‘महामारी’ मौलाएको छ मस्तिष्कमा।
प्रायः यो महामारी महिलाको मस्तिष्कमा लाग्छ। महिलाहरूलाई लाग्ने बित्तिकै घरका पुरूष सदस्यहरूलाई स्वतः लपेट्ने त भैहाल्यो।
जब मान्छे देखौटे बन्दै जान्छ, आफ्नो अवस्थाको पनि केही अर्थ नहुने रहेछ।
देखावटी र आडम्बरी व्यवहारले मान्छेलाई अशान्तिको मार्गमा अवश्य लैजान्छ।
अरूलाई आफ्नो वैभव देखाउन मान्छे कुनै कसर छोड्दैन। रातीको पार्टीमा पनि सन ग्लास लगाउँछ, लगाउँछ।
कृष्ण भीरमा वर्षौंदेखि पहिरो गएझैं पुरातन सभ्यतामाथि नूतन संस्कार हावी हुँदा बिस्तारै संस्कृति, परम्परा र सभ्यतामा सुख्खा पहिरो थाहै नपाइ फुस्सफुस्स जाने रहेछ।
नौलो संस्कृतिले सृजना गरेको डरलाग्दो वातावरणमा दबाब, प्रभाव र अभावको भूमरीमा नराम्रोसँग रूमलिन विवश छन् कयौं आधुनिक मनहरू।
म भनें यता चिन्ताभन्दा बढी चिन्तनमा हराएको छु। बिहे गर्न योग्य उमेर भएका छोराछोरीका अभिभावकहरूलाई झलक्क सम्झिएर खलक्क पसिनाले नुहाएँ। आजको समयमा एउटा वैवाहिक कार्यक्रम सम्पन्न गर्न अभिभावकहरूले वर्षौंको कमाइ स्वाहा पार्नुपर्ने हुन्छ।
थोरै कमाइ जोगाउन अभिभावकहरूको कयौं रहर, इच्छा, अभिप्सा र सपनाहरूले एकैचोटि सामूहिक आत्महत्या गरेका हुन्छन्। अझ इन्गेजमेन्ट पार्टी, मेहेन्दी पार्टी, हल्दी पार्टी र संगीतको पार्टी जस्ता उप- संस्कारहरू मौलाउँदा कसरी धान्न सक्ला एक साधारण परिवारले?
म गम खाँदै थिएँ। अब त झन् कति धेरै अभिभावकका रहरहरू जन्मन नपाउँदै तुहिने हुन्।
फोनको घण्टी जोडले बज्यो।
हल्दी र मेहेन्दीमा जाने निम्तो आएको रहेछ -
‘हेल्लो याँ सुन त; यो हप्ता रमिताको मेहेन्दी र हल्दीमा जाँदा पहेंलो र हरियो सारी लगाउने भन्ने सल्लाह भएको छ, कस्तो गहना लगाउने त्यो पनि फिक्स भैसक्यो। याद राख हल्दीको दिन पूरै सुनको मात्र गहना लगाउने। मेहेन्दीको दिन हरियो रुबीको सेट लगाउने भनेको छ नि! तँसँग त्यो रंगको नयाँ डिजाइनका सारीहरू छ कि छैन? गहना के कस्तो छ ?
नभए भोलि नै हिँड किन्न। सयम रहँदै सम्झाएकी। जे भए पनि तेरी सानिमा पो हुँ त! भोलि अरूका अगाडि तँलाई नै लाज होला! विचार गर। आफ्नो तरिकाले हिँड्ने होइन बिहेमा अलि सभ्य भएर हिँड्नु पर्छ। हेर आखिर घरमा खाएको कस्ले देख्छ। ठाँटबाँट गतिलो भए आफन्तीको नजर पनि अर्कै हुन्छ। अर्को कुरा पनि भन्छु खुरूक्क मान है!
कसैलाई नभएको जाडो तँलाई नै हुन्छ। भरसक जाडो भए पनि स्वीटर नलगा। एक दिन जाडो सहन नसक्नेले अरू थोक के सहन सक्ला? चुरा पनि सारीको रंग अनुसार मिलाउनू।
जुत्ता ब्याग पनि सकभर कपडासँग मिलाउन सकिस् भने उत्तम हुन्छ। पार्टीमा चाहिँ रातो फरिया भिरेर नआउनू नि, व्यवस्था गरी हाल हल्का रंगको सारी लाउनु पर्छ रातीको पार्टीमा।’
सानिमाको कुरा सुनेर झनन्न रिस उठेको थियो। मुटुमाथि ढुंगा राखेर हाँस्दै भने ‘हस्! हस्’
अनि फोन ठ्याक्कै राखें र थचक्क खाटमा बसें।
‘आ! जान्न मेहेन्दी न सेहेन्दी। अठोटमा गइहालें। हल्दीमा पनि जान्न बरू।
बिहे र पार्टीमा मात्र जान्छु। आफ्नो इच्छा, हैसियत र अवस्था अनुसार आफ्नो खुसी हिँड्न पनि नपाउनु। कसैका नभएको ढर्रा!
होइन सफा भएर आफूसँग भएकै लुगा लगाएर जाँदा के बित्यास पर्छ? बजार हिँड रे किन्न खुब! सानिमालाई के था, काठमाडौंको बसाइ अनि इमानदार सरकारी जागिरको कमाइ।
हाम्री सानिमाले कल्पना पनि गर्न सक्दिनन् आम नेपालीहरूको पीडा। दु:ख देखेको भए पो दु:ख बुझ्नु। खाली के खाने, के लगाउने, कसरी राम्री देखिने त्यो भन्दा अरू चिन्ता भए पो।
बिचरी मेरी सानिमाबाट के आश गर्नू!
सानाबा नीलो प्लेटको गाडीमा हुँकिएको वर्षौं भयो। छोराछोरी विदेशमा छन्।
बजार हिँड रे, मैले देखेको छैन र बजार ?’
मत निकैबेर फत्फताएछु।
कसरी हिँड्नु साँच्चै यो आधुनिक संस्कृतिमा भिजेर। जुन संस्कारले हाम्रो स्वतन्त्रता खोसेर हामीलाई बन्धी बनाउँछ त्यो संस्कार उम्दा कसरी हुन्छ?
फेरि सोचें- आ! जे सुकै होस्। जे छ त्यही लगाएर जान्छु। परिवर्तनको सुरूआत आफैंबाट गर्छु।’
मेरो विचारलाई सानिमाको फोनले तोड्न सकेनन्। मलाई जे गर्दा तनाव हुँदैन म त्यही गर्छु। कसैको लहैलहैमा पर्नु छैन। एउटा बिहेको कारण घरमा अरू तनाव कदापि भित्राउँदिनँ। मैले दह्रो मुठ्ठी कसेर हिँडें।
पार्टी हलमा छिर्ने बित्तिकै म त झसंग भएँ।
एकता कपुरको कुनै सिरियलको मञ्चभन्दा कम थिएन त्यहाँको माहोल।
म हेर्दै थिएँ - महिलाहरू जिन्दगीको अन्तिम भोज आजै मात्रै हो भन्ने भावमा उत्रिएका थिए। लुगा गहनामा यति सचेत थिए कि मानौं फेसन र आवरण नै जीवनको प्राण हो।
विवेक र चेतना जति बजारमा बेचेर आधुनिकताको पाउडर घस्नेको पनि कमी थिएन त्यहाँ। मैले निर्भीक भएर एउटा कुर्सीमा थपक्क बर्बरिकको टाउको अड्याएँ।
बिहे गर्ने केटाकेटीहरू आफैं सक्षम भएर आफ्नै खर्चमा यस्ता तडकभडक गर्दा त केही असर नगर्ला परिवारमा ? तर समाजमा::: ? फेरि कति प्रतिशत केटाकेटी आफ्नै खुट्टामा उभिएर आफ्नो विवाहको आर्थिक भार बोक्न सक्छन् होला ? अनुसन्धान गर्ने हो भने झिनो प्रतिशत हात लाग्ला।
‘देखासिखी गरी खा, आरिसे मरी जा’ भन्ने उखानले हामीलाई बिलखबन्धमा पारेको रहेछ। छोरी २५ वर्ष कटी भने आफन्तीहरू मुख बाउन थाल्छन् ‘फलानाकी छोरीको के हो अझ बिहे भएको छैन? होइन कहिले गर्छन् छोरीको बिहे बुढीकन्या भइसकी।’
बाउआमाहरूलाई पनि छोरीको बिहे नै हुँदैन कि भन्ने चिसो चिन्ताले चिथ्रोन थाल्छ।
हे प्रभु! कस्तो धर्मसंकट। सन्तान पढेर उम्किन पाएको हुँदैन अभिभावकहरूलाई सामाजिक दबाब पर्न थाल्छ। घर परिवारबाटै देखासिखी गरी खा भन्ने विद्वानहरू भर्भराएर निक्लिन्छन्।
फलानाको छोरीको बिहेमा त यस्तो गरेको थियो, उस्तो गरेको थियो। हामी उनीहरूभन्दा के कम। त्यहाँ त्यो त्यो कमी थियो। हाम्रोमा त्यस्तो हुनुहुँदैन।’ हिजोआजका तडकभडकयुक्त बिहे संस्कार थाहै नपाइ प्रतियोगितामा परिणत भैसकेछन्।
म त कसैको बिहेमा गएको भन्दा पनि सम्पन्नता र सम्पत्तिको प्रदर्शनीमा पुगेको जस्तो लाग्यो।
मेरो मस्तिष्क फनफनी घुमिरह्यो।
विवाहमा हुने यो अनावश्यक भड्किलो खर्चका लागि एक इमानदार अभिभावकले कसरी अर्थ संकलन गर्ला? हृदयमा हात राखेर सोचौं त।
हामी ठान्छौं ‘हामीले अरूलाई दु:ख दिएको छैनौं। हाम्रो सम्पत्ति जसरी मन लाग्छ त्यसरी खर्च गर्न पाउनु पर्छ।’ भन्ने समूह मुठ्ठीमा अटाएका होलान्। तर मुठ्ठीमा अटाएका समूहले नजानिँदो तवरले समाजमा अफिम खुवाउँदै छ।
नगरे पनि हुने यस्ता संस्कारहरू पैसाको डोरीमा जबर्जस्ती बाँधेर घिच्याउँदै समाजमा उभ्याएर नाङ्गो नाच नचाउँदै छन्। मेहेन्दी, हल्दीको फेसन नशाका रूपमा आयात गरेर समाजमा कुसंस्कार फैल्याएका छन्।
आधुनिक संस्कारलाई सम्मान गर्दै जब समाजमा सम्पन्नताले सारङ्गी रेट्छ थाहै नपाई देशमा सर्वत्र भ्रष्टाचार मौलाउँछ।
किन हुन्छ भ्रष्टाचार ? विचार गरेका छौं?
सन्तान जन्मिने बित्तिकैदेखि स्वास्थ्यको नाममा अस्पताल, बच्चाको शिक्षाको नाममा विद्यालय र सामाजिक रितिरिवाजको नाममा आधुनिक पास्नी, आधुनिक वर्तमन, बेबी सावर, आधुनिक गुन्यूचोलो र आधुनिक विवाहको यो तडकभडकले औसत नेपालीहरूलाई भ्रष्ट बन्न बाध्य पारेको छ।
इमानदार मान्छे बाँच्न नसक्ने परिवेश कसले सृजना गर्यो ? आँखा चिम्म गरेर एकपटक सोचौं। परम्परागत संस्कारका जिम्मेवारी र कर्तव्य धान्न धौधौ परेको बेला यी बेतुकका संस्कृतिहरूलाई जीवित राख्न आजको मान्छे आफ्नो मानवता इमानदारिता र कर्तव्यबोधलाई फाँसी दिन विवश छ।
मानवीय गुण र विशेषताहरू चुट्कीमा बेच्न तयार छ मान्छे। चाहेर होस् या नचाहेर हरेक मान्छे पैसाको गुलाम हुँदैछ महँगो समाजमा? बाँच्नु त पर्यो नि।
भ्रष्टाचारको मुहान खोज्न कतै जानु पर्दैन। भ्रष्टाचार कुनै संस्थाले गर्दैन, कुनै पदले गर्दैन न त कुनै दल, जात, धर्म आदिले नै गर्छ।
भ्रष्ट आचरण व्यक्तिले गर्छ। दोष व्यक्तिको मात्र हो या सम्पूर्ण समाजको? मन्थन गरौं।
एक जना दिदीको मुहारको कान्ति मेहेन्दीकै पार्टीमा हराएको थियो। मलिन मुहार लगाएर मधुरो आवाजमा भन्नुभयो- ‘कसरी छोरीहरूको बिहे गर्ने होला यत्रो खर्च गरेर? काठमाडौंको बोर्डिङ स्कुलमा पढाउँदै कम्मर भाँच्यो। अझ कलेजको महँगो फीले छोराछोरीलाई त सर्टिफिकेट किनियो तर बाउआमालाई प्रेसर र सुगरको दबाई खुवाइ सक्यो। मास्टर्स गर्दासम्म बाउआमाको टुप्पीमात्र बाँकी हुन्छ। अनि कसरी गर्ने तुरून्तै बिहेको यो उखर्माउलो खर्च मलाई त राती निद्रा पर्न छोडिसक्यो बाई! अत्यास लागेर आउँछ मास्टर्स गरेका छोरीहरूलाई बिहे गर्न पनि यत्रो पैसा खन्याउनु पर्ने! भिनाजु साह्रै सोझो हुनु भयो। यो जमानामा सोझो मान्छेको काम छैन।
सँगैका साथीहरूले छोरीको इन्गेजमेन्ट, मेहेन्दी, हल्दी र बिहे जम्मै पाँचतारे होटलबाट गरे। आफूलाई साधारण पार्टी प्यालेसबाट गर्न पनि स्याकुत्त हुनु परेको छ। साँच्चै भनेको मलाई त कसैको बिहेमा आउँदा पनि मुटु चसक्क चसक्क हुन्छ।’
म सोच्न विवश भएँ। ‘हिजोआजको बिहेसँग आबद्ध कूसंस्कृतिको भूतले आम अभिभावकहरूमा कस्तो मानसिक दबाब पार्दैछ?
बच्चाहरूको सोच कस्तो बन्दै छ ?
बुकुवा र बेसार घस्ने परम्पराबाट हुर्किएको नेपाली समाज र संस्कृति आज कता जाँदै छ ?’ प्रश्नहरूको माकुरे जालमा म आँफै फस्दै थिएँ।
समाजशास्त्रको विद्यार्थीको नाताले होला यस्ता कार्यक्रमलाई नियाल्नें जमर्को गर्छु।
आयुर्वेदको धरातलमा उभिएर मृदुल मुस्कान छर्ने संस्कृति आज केमिकलको नशामा लठ्ठिँदै सम्भ्रान्त भएको छ। शुद्धताको गरिमामय सोचमा सप्रिएको रीतिरिवाज, परम्परा र पर्वहरू आँगनबाट लघारिएर मनोरञ्जनको धरातलमा इज्जतिलो भएको छ।
आयातीत भद्दा संस्कृतिहरू सभ्यता माथिको खुला हमाला हो। बस्तु होस् या संस्कृति आयात गर्नु पर्दा देशको सम्पत्ति बाहिर जान्छ, जान्छ। अर्थतन्त्रलाई कमजोर बनाउँछ, बनाउँछ।
तराईमा त खुल्लमखुल्ला दहेज मागिन्छ।
तर पहाडमा व्यवहार खोजिन्छ। के हो त्यो व्यवहार भनेको ? हामी गर्व गर्छौ हामी दहेज माग्दैनौं भनेर। दहेजको विरोध गर्नेले व्यवहारको आशा गरेको देख्दा हाँस उठ्छ।
के अरूले दिएको एउटा सिक्री, औंठी, तिलहरी, सुट र सारीले हामीलाई पुग्छ जीवन भर? सम्बन्ध गाँसिएको ठाउँमा संस्कार गर्नु पर्ला मैले मानें तर एकपक्षले मात्र त्यो पनि सार्वजनिक रूपमा स्टेजमा निम्त्याउँदै हरेक सम्बन्धिहरूलाई ढोग्दै उपहार दिनैपर्छ? अनि लिनेले खुरूखुरू थपक्क हात पसारेर लिनैपर्ने गर्वका साथ।
छोरी चाहिँ फुत्त आकाशबाट अवतरित भएकी हो? जसरी छोरा जन्मन्छ, हुर्कन्छ, पढ्छ, बढ्छ के छोरी जन्मन्न, हुर्किदिन, पढ्दिन अनि किन छोरी पक्षहरूले मात्र निहुँरिनु पर्ने? कसैलाई निहुँरिन बाध्य पार्दा संस्कारी र राम्रो व्यवहार हुने?
सबै परिवाले यो बोझ थेग्न सक्छ?
बिहेको नाममा हुनेखानेले गरेको बेकार खर्चबाहेक केही होइन यस्ता संस्कारहरू।
हाम्रो व्यवहारले अरूको जीवनमा सुख, शान्ति छाओस् न कि दु:ख पीडा र भविष्यप्रतिको शंका उपशंका उब्जियोस्।
संस्कृति नै मान्ने हो भने आफ्नै घरका दुई चारजना जम्मा भएर बुकुवा र हल्दी लगायत भैहाल्छ नि!
एउटा बिहेको जति नै खर्च लाग्ने यस्ता किसिमको समाजलाई हल्लाउने आयातीत हल्दी किन चाहियो!
आजभन्दा बीस वर्ष अगाडि भनेको सुनेको थिएँ।
‘हिन्दी सिरियलले अबको केही समयमा नेपाली समाज र संस्कृतिलाई ध्वस्त पर्छ।’ बीस वर्ष अगाडिको समाज र अहिलेको समाजलाई तुलना गरेर हेरौं त। भविष्यवाणी मिल्यो कि मिलेन? आज कसरी ती सिरियलहरूले हाम्रो संस्कृतिमा धावा बोल्दै छन्।
सीताले लामो श्वास फेर्दै भनी- ‘के गर्नु बाबै! यो चालले त अब त छोरीको बिहे गर्न सकिँदैन।’ बिहेको रौनकमा छादेको जस्तै अनुहार पारी।
अर्कीले भनि- ‘किन आत्तिएको अहिलेदेखि सुन जोड्न थाल्नुपर्छ यार! बुढालाई विदेश जान उकास समयमा नै।’
१० कक्षामा पढ्ने छोरीलाई पढाउने, लेखाउने सक्षम बनाउने दायित्व एकातिर पहाड जसरी अचल भएर उभिएको छ। सामान्य खर्च धान्न एक पिता बालुवाको रापमा रापिनु परेको छ।
के एक पिता पैसा छाप्ने मेसिन मात्र हो? पितालाई आफ्नो जीवन बाँच्ने हक छैन। एक पिता आखिर कसको लागि कमाउँछ ? यस्ता वाहियात संस्कृति धान्न एक पति र पिताले नैतिकता बेच्नुपर्ने?
या खाडीमा जाक्किनु पर्ने?’ म त बोल्दा बोल्दै निक्कै सिरियस भएछु।
पछाडिबाट रूपाले भनी- ‘आ! म त छोरीलाई कोर्ट म्यारिज गर भन्छु। कसरी सक्नु हौं हामी जस्ताले यस्तो भव्य समारोह गर्न। मन भए पनि हुनु पर्यो बाबै! कान्छी नानी।’
म चुपचाप बीस वर्ष अगाडिको सारी लाएर गम्भीर मुद्रामा त्यो चमकदमक हेरिरहेको थिएँ।
कैयौं आँखाहरू मेरो साधारण सारी र पहेंलो धातु नभएको आभूषणमा गडिएका थिए।
बौद्धिक जगतको शिरमा सुन विराजमान भएर कली यत्रतत्र थियो। धन्न मरेको सर्प चाहिँ थिएन:: । अर्थतन्त्र बलियो पार्न बिलासिताका वस्तुको आयात कम गर्ने भन्ने कुरा मस्तिष्कमा झट्ट आयो।
छेउमा अर्की साथी कान्जीवरमको सारीमा तीन चार वटा भारी सुनका गहनाले लादिएर सुनाउँदै थिई सारीको मूल्य।
गहानाले लादिएर हिँडेका भीडलाई हेर्दै थिएँ। पुरूषहरू सुटमा मात्र सजिएका छन्। कतै गहना छैन, लिपापोती केही छैन त्यही पनि मान्छे जस्तै देखिएका छन्। अनि हामीलाई चाहिँ सौन्दर्यको प्रतिस्पर्धा गर्नैपर्ने भन्दै झोंक चल्यो।
गरिब देशका धनी नागरिकहरूको दरिद्र व्यवहारलाई नियाल्दै सोचमग्न थिएँ।
कसलाई देखाउने यो रवाफ ? नेपाली जनतालाई? जसले जति धेरै खर्च गर्यो त्यो उति सम्पन्न र सम्भ्रान्त वर्ग हुने?
के सम्पन्नता सम्पत्ति मात्र हो ?
‘हो घाँटी हेरेर हाड् निल्नु पर्छ’ तर सबै जना आफ्नो विवेकको प्रयोग गर्न सामर्थ्यवान छैनन्? देखेको कुराले चाँडो असर गर्छ। हामी यस्तै विषयमा छलफल गर्दै थियौं।
आफैंले आफ्नो लुगा, गहना, ब्याग हेरेर आफैं मन्दमन्द मुस्काउने अनुहारहरू बग्रेल्ती थिए। आफ्नो गहना र सारीको भारीलाई सबैभन्दा उत्कृष्ट ठानेर अरूको कमीकमजोरी नियाल्दै थिए।
हाम्रो समूहमा एक जना भाउजू मिसिन आउनुभयो। उहाँ विगत १८ वर्षदेखि अमेरिकामा बस्दै आउनु भएको। अमेरिकामा डलर मनग्य कमाउँदै हुनुहुन्छ। तर निकै शान्त र बौद्धिक लाग्यो। उहाँमा कतै फाइँफुइँ थिएन साधारण पहिरनमा सजिनु भएकी भाउजु निकै आदरणीय लाग्यो। चाहेको भए एक किलै सुन लगाउन सक्ने आर्थिक अवस्था थियो तर भाउजु एक लुङ्गको पोतेमा सजिएको देख्दा सम्मान ओर्लिएर आयो। मनमा आश पनि पलायो।
सम्पन्नतामा विवेक अझ जिउँदै रहेछ।