प्राथमिक तह आफ्नै गाउँको स्कुलमा पढें।
स्कुलको नाम अचम्मको थियो-श्री प्राथमिक विद्यालय धामीडुमरिया।
किन यस्तो नाम राखिएको थियो? इतिहास आज पनि थाहा छैन।
केटाकेटी मस्तिष्कले चाहिँ आफ्नै तर्क लगाउँथ्यो। धामीहरू धेरै भएर यो ठाउँलाई धामीडुमरिया भनेको त होइन? तर हिजोआज श्री प्राथमिक विद्यालय धामीडुमरियाको नाम परिवर्तन गरेर श्री प्रगतिशील माध्यमिक विद्यालय राखिएको छ।
कति विचार पुर्याएर नामकरण गरिएको रहेछ, खुसी लाग्यो।
डाँडाटोलमा अवस्थित हाम्रो स्कुलको भूगोल ठूलो थिएन। दक्षिणतिर कमला नदी र उत्तरतिर लिँडे खोल्सो थियो। लिँडे खोल्सो हामी सबैको साझा शौचालय पनि थियो। माधव शमसेरको इतिहास बोकेर वर्षौंदेखि बाँचिरहेको छ शिखरको डाँडो।
ठूला-ठूला वर र पिपलको रूखले हामी र हाम्रो स्कुललाई शितलतामात्र प्रदान गर्दैन्थ्यो। सहनशीलता र धैर्यताको पाठ हरेक दिन सिकाउँथ्यो। खुला आकाशमा अचल भएर ठिंग उभिँदा पनि गतिशीलताको सन्देेश दिँदै मुस्कुराउँथ्यो। ती रूखमा मीठो संगीत सधैं गुन्जिरहन्थ्यो। वरका पातबाट फिरफिरे बनाउँदै हामी पूर्वतिर बेतोडले दगुर्थ्यौं। हावाको सही बहाव भएर होला जस्तो फिरफिरे पनि लायकदार बन्थ्यो।
एक नासका सुलुत्त परेको भुइँतले भवन।
टायलले छाएको छानो। काठले घेरेको पर्खाल नै हाम्रो विद्यालय भवनको सुन्दरता थियो। हिजोआजको जस्तो सुविधा सम्पन्न थिएन। भौतिक पूर्वाधारबाट कोसौं दूर तर पनि हामीलाई हाम्रो विद्यालय इन्द्रको कानन झैं प्यारो र राम्रो लाग्थ्यो।
बिहान प्रार्थनमा राष्ट्रिय गीत गाउनु पर्थ्यो। पन्चकन्या भएर धेरै पटक मैले पनि गाएको छु। सरस्वती बन्दना र राष्ट्रिय गीत।
‘हट्ने हैन डटी लड्ने नेपालीको बानी हुन्छ!
कहिल्यै नझुक्ने शिर उभेको स्वाभिमनी नेपाली हुन्छ।’
कति महत्त्वपूर्ण सन्देश दिएको छ यो राष्ट्रिय गीतले।
त्यो बेला प्रजातन्त्र आएको थिएन।
राजारानीको जन्मोत्सव निकै रमाइलो हुन्थ्यो। राजा रानीको फोटो बोकेर जय-जयकार गर्दै हामी कमला खोला छिचोलेर भिमान बजारलाई माथिबाट एक फन्को लगाएर पन्चायत भवन पुग्थ्यौं।
कति जतनले त्यो फोटो बोक्नु पर्थ्यो भनी साध्य छैन। राजारानीको फोटो बोक्ने मान्छे मेसीभन्दा कमका हुँदैनन् थिए।
हातलाई वरपिपल बनाएर राख्नु पर्थ्यो अविचलित। यसो धैर्यता टिकाइ राख्न कति एकाग्रता चाहिन्थ्यो के थाहा?
त्यस्तो चकचके म पनि जिम्मेवार भएर राजारानीको फोटो बोक्न उद्दत हुन्थें। त्यो उमेरमा त्यो जिम्मेवारी निभाउनु सानो कुरा थिएन।
लाइनको सबभन्दा अगाडि राजा रानीको फोटो बोकेर उभिनु पर्थ्यो। त्यसरी उभिन पाउँदा मख्ख पर्दै गजक्क परेर नाकका पोरा फुलाउँदै हिँड्थ्यौं ।
त्यो दिन भिमान बजारमा निकै चहलपहल हुन्थ्यो। वरिपरिका गाउँहरूबाट पनि धेरै मान्छे आउँथे। वरिपरिका स्कुलहरूबाट धेरै विद्यार्थी साथीहरू आएका हुन्थे।
जय जयकार लगाउँदै भिमान बजारको परिक्रमा गरेर सबै जना पन्चायत भवनमा जम्मा हुन्थ्यौं।
पन्चायत भवनभित्र उभिएर ठूला मान्छेले के के भन्थे के के।
केही मेलो हुँदैन थियो।
हामी भुराको ध्यान कति खेर चकलेट बर्सिन्छ मैदानमा भन्दै टकटकी बाँधेर घाममा सेकिन्थ्यौं। प्रधानपञ्चले पोकाको चकलेट कतिखेर हुत्याउँछन् भन्दै बकुलाले माछा ढुकेकोझैं ढुकेर बस्थ्यौं।
माथि मन्चबाट एक जना भद्र मान्छेले ठूलो स्वरमा जयकार लगाउँथे।
‘श्री ५ वडा महाराजधिराज सरकारको’
हामी सबै जय जय भन्दै कुर्लिन्थ्यौं। हामी भुराहरू घोक्रो सुक्नेगरी जय-जयकार गर्थ्यौं।
श्री ५ वीरेन्द्र चिरायू रहून् को ध्वनी गुन्जायमान हुन्थ्यो। शिखरको डाँडा, कमलाको खोला र चुरेको जंगल पनि भिमान बजारनै थर्कने गरी जय जयकारको प्रतिध्वनि उत्पन्न गर्थ्यो।
त्यही बेला माथि स्टेजबाट हुरूरू चकलेट बर्सिन्थ्यो। कहिले त चकलेट पोल्टामा नै आइपुग्थ्यो कहिले अरूको लात्ती टाउकोमा बजारिन्थ्यो।
मेरी बास्सै! चकलेट टिप्न हामी भुराहरू छिचिमिराझैं छरिन्थ्यौं। राजाको जन्म दिन सकियो, अब कहिले आउला रानीको जन्म दिन भनेर कुर्थ्यौं।
हाम्रो पुस्ता विशिष्ट थियो जो शाही परिवारको जन्मोत्सवमा सधैं सरिक हुन्थ्यौं।
त्यो बेला जन्मदिनको चकलेट खाएको भनेको राजपरिवारको जन्मदिनमा मात्र हो। विचरा हामीहरू राजा, रानी र युवराज दीपेन्द्रको मात्र जन्मदिन मनाएर हुर्केका। आफ्नो जन्मदिन मनाएको थाहै छैन, चलन नै थिएन। जन्मदिन त राजपरिवारले मात्र मनाउँछन् होला भन्ने बुझेका थियौं।
हिजोआज छोराछोरीहरूको ‘बर्थडे’ राजा रानीको भन्दा चर्को हुन्छ, मेरा बा!
राष्ट्रिय चाड बरू ओझेल पर्न आँटिसक्यो तर जन्म दिनको पर्व मौलाएको छ। बच्चाहरू आफ्नो जन्म दिन कहिले आउला भनेर गनेर बस्छन्। कति भाग्यमानी हाम्रा सन्तानहरू शाही परिवारको रौनकभन्दा कम हुँदैन हिजोआजको जन्म दिनको पार्टी।
मलाई मेरो अतितले हेरेर मुसुक्क हाँस्दै बधाई दिन्छ जन्मोत्सव मना मज्जाले।
तर म भने त्यो चार पाँच वटा 'लेमन जुस र अरेन्ज बल' ब्राण्डका चकलेटहरूको लागि ज्यान धरापमा पारेर त्यो भिडमा भिडेको सम्झेर एक्लै हाँस्छु।
ती दिन पनि साँच्चै अविस्मरणीय छन्।
छोराछोरीको सुविधायुक्त जनजीवन हेर्दा मलाई मेरै स्कुलको याद आउँछ।
हाम्रो स्कुलमा जीवन जिउने कला सिकाइँदो रहेछ आज आएर बुझ्दैछु। समयमा किन बुझ्न नसकेको होला मैले। हामीले आफ्नो कक्षा कोठाको भुइँ फोहोर भएपछि शुक्रबार पारेर लिप्नुपर्थ्यो, माटोको भुइँ थियो नि! अनि पट्पटी फुट्थ्यो, पाप्रा उप्किन्थ्यो। गोबरले लिपेर चिटिक्क पार्नुपर्थ्यो।
विद्यार्थीहरूमा कार्य विभाजन हुन्थ्यो। केटीहरूले लिप्ने अनि केटाहरूले गोबर र पानीको व्यवस्थापन गर्नुपर्ने हुन्थ्यो। कुनै शुक्रबार विद्यालय भित्रको चउरमा सबै मिलेर कुरो उखल्नु र पात सोहोर्नु पर्थ्यो। सायद यो उत्तम विचार हेडसरको थियो। हामीलाई जिम्मेवारीको बोध गराउन सिकाएको प्रयोगात्मक पाठ पो रहेछ। हिजो घाम अस्ताएको मस्तिष्कमा आज घाम लागेको छ।
प्राथमिक तहमा नै हामीलाई सामाजिक र सर्वकल्याणको काममा अग्रसर गराउने गुरूहरूप्रति नमन अर्पण गर्न चाहन्छु। त्यो बेला बुद्धि बंगारा आइसकेको रहेनछ। रिस पनि उठ्थ्यो, दिक्क पनि लाग्थ्यो। शुक्रबार विद्यालय नै जान नपरे हुन्थ्योजस्तो लाग्थ्यो। शुक्रबार विद्यालय गए पनि कसैले नदेख्ने गरी भाग्न मन लाग्थ्यो। तर आज आएर आफ्ना सन्तानहरूले आधुनिक विद्यालयबाट उत्कृष्ट शिक्षा हासिल गरेता पनि आफ्नो काम आफैं गर्न सक्छौं भन्ने पुस्तक घोकेको देख्दा जिल खान्छु र हामीलाई जीवन्त शिक्षा दिएकोमा त्यो समयलाई सलाम गर्छु।
सामान्य कामहरू पनि समयमा पूरा गर्न हम्मेहम्मे पर्छ आज। व्यवस्थापन पढेर पनि जीवनको व्यवस्थापन चाहिँ गर्न सक्दैनन्।
अनि म प्रायः धामीडुमरियालाई सम्झन पुग्छु कस्तो व्यवहारिक पाठ सिकाएको रहेछ हामीलाई त! त्यो प्रार्थनामा पो शक्ति थियो कि! हट्ने होइन डटी लड्ने नेपालीको बानी हुन्छ। हामी त साँच्चै लालिगुँरास रहेछौं' भिरमा पनि फुलिदिने, पिरमा पनि फुलिदिने।
कहिलेकाहीँ शुक्रबारको दिनमा अतिरिक्त क्रियाकलाप हुन्थ्यो। उत्तम, विमल, नवीन जान्ने विद्यार्थीमा गनिएका थिए।
उपहारस्वरूप दिइने चाइनिज कलम उनीहरूले नै उछिट्याउँथे। आफू त हेरेकै भर। कहिल्यै छुनसम्म नपाइने।
मन कुटुकुटु खान्थ्यो। एउटै शिक्षकले पढाएको एउटै पाठ तर उनीहरू झनझन् जान्ने हुँदै गए,आफू हेरेको हेरै भएँ। उनीहरूसँग रिस पनि उठ्थ्यो तर पढ्न चाहिँ मन लाग्दैन थियो।
त्यो बेला छात्रछात्राहरूको लागि दिवा खाजा कार्यक्रम सञ्चालनमा थियो। हामीलाई स्कुलमा हलुवा खान दिन्थ्यो। एकदमै मिठो। ठूलो कराईमा त्यत्रा विद्यार्थीहरूलाई पकाएको हलुवा कति मीठो भएको। सायद विकासे घिउ , चिनी र दूध भएर पो थियो कि? कि भोक मीठो थियो? भोक लागेको बेलामा हलुवा एक सासमा झ्वाम पारिन्थ्यो र ढ्याऊ गर्दै, पाँचौं घण्टी आनन्दले पढिन्थ्यो।
सन्ते दाइले हलुवा पकाउने काम गर्थे। कहिलेकाहीँ भान्सामा लुसुक्क पस्थें कसरी बनाउँछन् हलुवा भनेर हेर्न। अनि सन्ते दाइले 'ला कान्छी' भन्दै हातमा छुस्स दूधको पिठो हालिदिन्थे।
चाट्दै पछिल्लो ढोकाबाट निस्कन्थें। ख्याल मीठो लाग्दैन थियो त्यो दूधको धुलो। कचौराभरि खान पाए कस्तो होला भनेर सोच्थें। त्यो बेला कस्तो विश्वास थियो राजाप्रति। कसैले गर्न नसक्ने काम राजाले गर्न सक्छ्न् जस्तो लाग्थ्यो। उडिरहेको हवाई जहाजबाट को हाम्फाल्न सक्छ?
कसैले सोध्यो भने सबैको एउटै उत्तर हुन्थ्यो
'राजा' राजाले त सुनको भात खान्छन् होला। राजाले त नित्य कर्म पनि गर्दैनन् होला जस्तो लाग्थ्यो। कचौराभरि मीठो हलुवा मीठो दूधको धुलो त राजाले मात्र खान सक्छन् होला भन्दै आफ्नो हैसियत सम्झेर सधैं प्रसन्न हुन्थ्यौं कति शान्त मन। अभावमा पनि सन्तुुष्टि थियो। गुनासो गर्ने आदत नै थिएन। तुलना गर्ने बानी थिएन त्यसैले मस्तिष्क विछिप्त थिएन। डिप्रेसन, एन्जाइटी र अनिन्द्राको समस्या सुनिँदैन थियो आजजस्तो।
सुविधा, सहजता र सम्पन्नतामा शान्ति नहुन सक्छ तर सन्तोषमा अपार शान्ति हुनेरहेेेछ। स्कुल जाँदा न राम्रो लुगा नै थियो न जुत्ता। न ब्याग, न खाजा खाने पैसा तर पनि खुसी अतुलनीय थियो। पीडा त कोसौं टाढा थिए। पिर पनि केही कुराको लाग्दैन थियो कस्तो अचम्मको समय थियो।
अभावमा दुखी हुने चलन नै थिएन। कति पवित्र र निर्दोष विचारहरू थिए। धेरै जान्नु पनि अशान्तिको कारण रहेछ। धेरै तर्कहरूले पनि आज जीवन तरंगित पारेको छ।
हिजोआज बच्चाहरू उमेरै नपुगी परिपक्क भएका छन्। यसले कस्तो असर गर्ला भविष्यमा? समयभन्दा अगाडि हिँड्नु के सही होला त? श्री कृष्ण भगवानको जीवनले पनि त हामीलाई उमेर अनुसार कर्म गर्न सिकाएको छ।
मनोचिकित्सकको कुरा सुन्दा मलाई डर लाग्छ। आजको युवापुस्ता दिनानुदिन मानसिक तनावबाट गुज्रिरहेका छन्। सानासाना बच्चालाई पनि धेरै तनाव हुन थाल्यो।
प्रविधिमा धेरै समय बिताउने हुँदा चिडचिड गर्ने स्वभाव धेरै भएको छ।
समयभन्दा अगाडि कुद्न खोज्दा दुर्घटना हुनसक्छ। प्रकृतिको विपरीत चल्न खोज्नु विनाशलाई स्वागत गर्नुजस्तै हो।
सानो मस्तिष्कमा धेरै कुरा लाद्न खोजियो अनि समस्याले उग्र रूप लिने नै भयो। हामी निकै सोझा रहेछौं हामीलाई त राजारानी पनि मान्छे हो, राजाले पनि भात खानुपर्छ भन्ने सम्मको सामान्य ज्ञान पनि बुझ्न निकै समय लाग्यो।
जेहोस् फेरि विद्यालयतिर फर्किएँ।
हाम्रो स्कुलमा पानीको व्यवस्था पनि थिएन। तिर्खा लाग्दा स्कुल नजिकै ढुंगेल, काफ्ले र भट्टराई दाइहरूको घर जान्थ्यौं। विचरा गृहिणीहरूलाई निकै सास्ती थियो। खोलादेखि पानी बोकेर ल्याउनुपर्ने। त्यसरी दु:ख गरेर ल्याएको पानी आधा त विद्यार्थीहरूले नै सिध्याइदिन्थे।
कहिले त दिक्क पनि लाग्थ्यो होला तर अहँ कहिल्यै झर्कोफर्को गर्नुभएन। माडवारी समुदायले आज काठमाडौंमा नि:शुल्क पानी वितरण गरेको देख्दा सधैं भट्टराई, काफ्ले र ढुंगेलको घर अनि व्यवहार झलझली याद आउँछ।
हुँदा दिनु र नहुँदा दिनुमा आकाश जमिनको फरक हुन्छ। उहाँहरूको त्यो सेवाको भाव सम्झेर श्रद्धाले शिर आज पनि झुक्छ।
एक दिनको कुरा हो। बिहानको स्कुल थियो। गर्मी उखर्माउलो नै थियो। पानी तिर्खा लागेर आकुलव्याकुल भएँ। एक गाग्री पानी खान मन लागेको थियो। पानी पिउन कुद्दै कुमार दाइको घर गएँ। एक ओम्खोर पानी एक सासमा घुट्क्याएँं र अझ मागें।
कुमार दाइको आमाले सोध्नुभयो- बिहान के खाएर आएकी थियौ कान्छी! निकै तिर्खाइछौ त?
‘दूध चिउरा खाएर आएको।’
उहाँले फेरि सोध्नुभयो, ‘दूध के ले दिन्छ कान्छी तिम्रो घरमा?’
मैले हतार हतारमा भनें- बाल्टिनले दिन्छ दूध।
उहाँ मुर्छा परेर हाँस्नुभयो।
गाई भैंसी गोठमा थिए। राति दूध दुहेर बिस्तारी कान्छाले घरमा ल्याउँथे अनि बरन्डाको अंकुसेमा झुन्ड्याइदिएका हुन्थे। सधैं बिहान मैले झिक्दा बाल्टिनमा हुन्थ्यो दूध। अनि मैले साँच्चै बोलेको थिएँ वा थाहा पाएर पनि भन्न जानिनँ?
तर अहिले पनि मलाई देख्यो कि कुमार दाइकी आमाले जिस्क्याउँदै सोध्नुहुन्छ ‘दूध केले दिन्छ कान्छी? अनि मरीमरी हाँस्नु हुन्छ कति सरल जीवन थियो, कस्तो मीठो माया थियो आज सम्झँदा पनि भावुक हुन्छु।