चाडपर्वको असन र इन्द्रचोक जस्तै थिए सार्वजनिक यातायातहरू।
सजिलै यात्रा गर्नु त 'आकाशको फल आँखातरि मर' नै थियो। अझ अफिस र कलेज छुट्ने बेला बाफ्रेबाफ!
यो समयमा उभिन पाउनु पनि जिउँदै स्वर्ग पुग्नु जतिकै हुन्छ भने सिट पाए त झन् के पो होला! महाकष्टका साथ युद्ध जितेर म पनि सार्वजनिक यातायातमा उक्लिएँ।
सहचालक भाइले करेलाको तरकारीमा निमको पात फुराएर खाएको थियो कि क्या हो। असाध्यै रूखो र तीतो बोलीमा आफ्नो परिचय दिँदै थियो।
अजीर्ण भएर ह्वाल्ह्वाली छादेको छादको गन्ध भन्दा पनि भयानक गन्ध आइरहेको थियो उसको बोलीबाट।
‘पछाडि जानुस्। कस्तो अटेरी मान्छे, यस्ता अटेरीले त आफ्नै गाडीमा हिँड्नु नि, तपाईंलाई मात्र समयमा घर पुग्नुपर्ने, अरूलाई पनि त घर जान हतार हुन्छ बुझ्नुपर्छ नि, साँझ परिसक्यो, कस्तो भनेको नमानेको, झर्नुस् बरू, कस्तो ल्याङल्याङ गरेको।’
गाडीभित्रका यात्रुको हुर्मत लिएर गाडीभित्र पस्न आतुर सडकमा भौंतारिएका यात्रुहरूको चिन्ता निकै थियो सहचालकलाई।
गाँठी कुरा त तीस रूपैयाँको थियो। ऊ हरेक यात्रुमा तीस रूपैयाँ झलल्ल देख्दैथ्यो। गाडीभित्रको तीस रूपैयाँलाई पट्याएर, खाँदेर, कोचेर भए पनि अझ थप्न खोज्दैथ्यो। गाडी चढ्न आतुर बाहिरका यात्रुहरूलाई निकै सम्मानका साथ निमन्त्रणा दिन्थ्यो ‘आउनुस् ! आउनुस्!’
स्वागत गरेर निक्कै उदार भाव प्रकट गर्दै ढोकासम्म ल्याएर बाख्रा कोचेझैँ कोच्थ्यो। मलाई युवराज नयाँघरेको निबन्ध 'अठार हजार जाबो' खुब याद आइरहेको थियो । त्यहाँ मान्छेको मूल्य मात्र अठार हजार थियो भने यहाँ सहचालकले जिउँदो जाग्दो यात्रुलाई केवल तीस रूपैयाँमा तौलेको थियो। उसका लागि मानवीय मूल्य, मान्यता र संवेदनाको कुनै मूल्य थिएन ।
‘ए अंकल तपाईं पछाडि जानुस् त।’ टिमुर्किएको बोलीमा पिता समान अंकललाई हकार्दै थियो। बन्दुकको छर्राभन्दा पनि तेजिलो बोलीको पर्रा हान्न कुनै कन्जुस्याइँ गरेन।
बिचरा अंकल कालोनिलो हुँदै खुस्किन लागेको प्राणमा ऊर्जा भरेर फुस्फुसाए -‘कति सर्नु भाइ ठाउँ छैन, गुन्द्रुक हो र खाँद्न।’
‘ठूला कुरा नगर्नुस्, आरामले हिँड्नलाई त पठाओ चढेको भए हुन्थ्यो नि, त्यत्रो ठाउँ छ। तपाईं सर्ने भए सर्नु होइन भने खुरूक्क झर्नुस्।’
‘दाइ एकछिन गाडी रोक्नु त, यो अंकलले लास्टै किचकिच गरे। बरू झार्दिनु पर्यो।’
साठी वसन्त पार गरेका जस्ता देखिने ती भद्र अंकल लाचार भएर खुरूखुरू पछाडि निचोरिंदै सरे। मेरो मन निक्कै कुँडियो।
सार्वजनिक यातायातमा यी र यस्ता घटना रातोदिन घट्छन्। यात्रुहरू फलामका कान बनाएर यात्रा गर्न अभिशप्त हुनैपर्छ नत्र तनावभन्दा केही हात लाग्दैन। उभिनु परेको बेला त्यस्ता सहचालकहरूसँग मुख लाग्नुभन्दा आफैं चुपचाप लागेर प्रायः पछाडि नै घिसारिएर जाने गर्छु म पनि।
अझ सार्वजनिक यातायातमा महिलाहरूले भोग्दै आएका यौनजन्य हिंसाका गाथाहरू कति हो कति। अस्वाभाविक छुवाइ, हेराइ र बोलाइले सार्वजनिक यातायातको त्यो भीडमा ताण्डव गरेको हुन्छ।
महिलाहरूले निकै सास्ती भोग्नु परेको गुनासो रातोदिन सुनिन्छ। सार्वजनिक यातायात भित्रका बेथिति र बिसङ्गतिहरूलाई झेल्दै आएको अमिलो मनमा सहचालकको बाणीलाई मस्तिष्कको मदानीले बेस्सरी मत्थन थाल्यो। आडैको सिटमा आरामसँग बसेका कलेजका भाइबहिनीहरूलाई देखें।
म पनि चेप्पिएर उनीहरूको सिटतिर फर्किएको थिएँ। कलकलाउँदो अनुहार, हलक्क बढेको शरीरमा कलेजको पोसाक, घाँटीमा टाई र आ-आफ्नो नाम सहितको परिचयपत्र झुन्ड्याएको डोरीले मेरो ध्यान चुम्बनले झैं तान्यो। कलेजको नामसम्म पढ्न सकें तर बाबुनानीहरूको नाम पढ्ने कोसिस गरें आँखाले ठम्याउन सकेन, चालीस कटेको संकेत दिँद थियो सायद दृष्टिले पनि।
मस्तिष्क आन्दोलित त छँदै थियो फेरि आँखाहरू ती हातहरूमा परे, जसले बलियोसँग शक्तिशाली कलम समाएका थिए। ती सफा र सचेत युवा आफूभन्दा अगाडिको सिटलाई कागज बनाउँदै मनमा जे आयो त्यो कोर्दै थिए।
समाज परिवर्तन गर्न सक्ने क्षमता भएको सभ्य र सवल कलमले उच्छृङ्खल, अश्लिल र असभ्य शब्द सार्वजनिक यातायातको सिटमा कोरेको आफ्नै आँखाले देख्नु पर्दा हुनसम्म पीडा भयो।
कलमले बाटो बिराएको देखेर मस्तिष्कबाट सहचालकको त्यो तितो बोली खोई कता गएछ पत्तै भएन।
म सोच्न थालें, भविष्यका कर्णधार भनेर गर्व गरेका शिक्षित, सभ्य र संस्कारी युवा पुस्ताले दिनानुदिन शिक्षालय धाएर आखिर कस्तो शिक्षा ग्रहण गरिरहेका छन् ? प्रमाणपत्रको लागि मात्र हो त शिक्षा ? मैले सार्वजनिक यातायातको सिटमा लेखेको त धेरै देखेको थिएँ तर शिक्षित युवाको विराट कलमले लेखेका ती काला अक्षरहरू शूल भएर मेरो छातीलाई घोच्न थाल्यो।
कसलाई दोष दिनु? अभिभावक, शिक्षालय, शिक्षक वा स्वयं ती युवालाई ? पक्कै सिकाएनन् होला कसैले पनि कि सार्वजनिक यातायातको त्यो दुर्दशा पारून् भनेर।
शिक्षा किन व्यवहारिक हुन सकेन ? परीक्षामा पास हुन मात्र ज्ञान र विज्ञान घोक्ने त ? धेरै नम्बर ल्याउन मात्र विद्यालय धाउने ? सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण, सफा वातावरण निर्माणमा युवाको दायित्व र कर्तव्य खोई ? जिम्मेवारी के हो बुझ्न नसक्ने उमेर अवश्य थिएन त्यहाँ।
म मूकदर्शक भएर हेरिरहेको थिएँ।
नजिकैको सिट थोरै च्यातिएर भित्रको फोम देखिएको थियो।
हेर्दै थिएँ, च्यातिएको सिटलाई अझ च्यातेर ठूलो बनाउँदै त्यही प्वालभित्र चकोपाई र फ्रुटीको खोलहरू कोच्दै कोच्दै सिटको फोम हातले धुजधुजा पारेर च्यात्दै खेलाउन पो थाले।
मलाई त्यही बोल्न मन थियो तर झसङ्ग हुँदै सम्हालिएँ। त्यो यस्तो समूह थियो जहाँ आँखा भएर पनि बन्द थियो , विवेक मृत्युको शैयामा मसान बनेको थियो भने कर्तव्य निदाएको थियो। तिनीहरूले फोमलाई धुलिसात् पारेपछि हातमा स्यानिटाइजर लगाएर निक्कै सभ्य भए।
सायद स्नातक तहका विद्यार्थीहरू हुनुपर्छ। उनीहरूको गफगाफले बताउँदै थियो योग्यता। थाहा पाउँदै थिएँ उनीहरूको भविष्यको योजनाहरू पनि। ती उत्तरआधुनिक युवाहरूको वार्तालाप चालू भयो। गालै गालामा दुई लपटा हान्न मन थियो तर आफैं मुर्मुरिएँ।
तिनीहरूले नजानेर त्यसो गरेका भए माफ पनि गर्न सकिन्थ्यो तर उनीहरूलाई राम्रोसँग थाहा छ त्यो काम निन्दनीय हो। सार्वजनिक स्थानमा फोहोर गर्नु हुँदैन थाहा नभएको कहाँ हो र!
तर नानीदेखि लागेको बानी परिवर्तन गर्न निक्कै गाह्रो हुने रहेछ। उनीहरू अभ्यस्त छन् यी र यस्ता गलत क्रियाकलाप गर्न। यहाँ त जे गरे पनि हुन्छ भन्ने सोच मौलाएको छ। अरूले त गरेका छन् मैले किन नगर्ने भन्ने मानसिकता हावी छ र गलत काम गर्न पनि अधिकारको कुरा उठछन् यहाँ।
ती युवाहरूको उमेर मेरी छोरीको जस्तै थियो। अनि तुलना गरें र छोरीहरूप्रति गर्वले छाती फुलाएँ। स्कुल पढ्ने सानी छोरी पनि घर बाहिर खाएका चाउचाउ र चक्लेटको खोलहरू जम्मा पारेर स्कुल र सार्वजनिक यातायातबाट फर्किंदा पोको पारेर ल्याउँछन् र घरको फोहोर फाल्ने भाँडामा व्यवस्थित तरिकाले राख्दै मलाई पनि त्यसो गर्न सिकाउँछन्।
मलाई क्वाँक्वाँ गर्दै रून मन लाग्यो। नयाँ सोचले भरिपूर्ण, फूर्तिलो युवाको ऊर्जावान बुद्धिमा कीरा परेको देखेर।
किन र कसरी यस्ता युवाहरू यस्तो गैरजिम्मेवार हुन सक्छन्?
त्यहाँमाथि राजधानीको ख्यातिप्राप्त शिक्षालयबाट स्नातक गरेर विदेशको भूमिमा खपत हुने जनशक्ति। उनीहरूलाई राम्रोसँग थाहा छ अष्ट्रेलिया या अमेरिकामा यस्तो हर्कत गर्नु हुँदैन तर यहाँ यस्ता असभ्य व्यवहार जति गरे पनि हुन्छ। दण्डहीनताको छाता ओढ्ने मुलुकमा केको डर! चेतनशील युवा साँढे बनेर हिँडेको देख्दा दिक्क लाग्छ।
आफ्नो देशमा सामान्य व्यवहार प्रस्तुत गर्न नसक्ने युवा अर्को मुलुकमा नीतिनियमको पूर्ण पालना गर्छु भन्ने संकल्प बोकेर पँखेटा उचाल्दै उड्न तयार छन् मातृभुमिमा टेकेर - 'यहाँ केही हुनेवाला छैन, काठमाडौं त फोहोरको सहर हो। मैले फोहोर नगरेर सफा हुने हो र ? मैले नलेखे अर्कोले लेख्छ, मैले नच्याते अर्कोले च्यात्छ। यहाँ सिस्टम नै ठिक छैन भन्दै भविष्य खोज्न अन्य मुलुकमा भौंतारिन्छन्।
ती युवाको कुरा सुन्दै थिएँ - ' डिभी भरिस् यार। मैले त भरें। मास्टर्स गर्न कुनै पनि हालतमा अस्ट्रेलिया जान्छु । डिभी परे अमेरिका उड्ने हो नत्र अष्ट्रेलिया जाने हो यहाँ के हेरेर बस्नु, केही छैन यहाँ।'
मेरो मथिङ्गल फनफनी घुम्यो।
बाआमाको पनि परमलक्ष्य ॠणधन गरेर छोराछोरीलाई देश बाहिर नै पठाउनु छ।
सुनेको छु- ॠण त एकाधवर्षमा तिर्न सकिन्छ तर नेपालमा बसे छोराछोरी काम नलाग्ने हुन्छन्' यस्तो सोचले हामीमा उडाउँदै छ।
यहाँ प्राप्त गरेको शैक्षिक योग्यताको धरातलमा डिभी भर्छ, जीआरई र टोफेलमा उच्च अङ्ग ल्याउँछ अनि देशलाई धारे हात लाउँदै शिक्षा र शिक्षालय र शिक्षकको मूल्यांकन गर्दै भन्छ- नेपालको पढाइ नै खतम छ।
ऊ सोच्न सक्दैन डिभी भर्ने ल्याकत त यही माटोले दिएको हो। पराई भूमिमा पछारिन त यहीँको अखडामा कुस्ती खेल्दाखेल्दै सिकेको हो। यहीँको धुलो र माटोले बलिष्ठ भएका तिघ्राले त्यहाँ संघर्षको पहाड फोड्न सक्ने हिम्मत जुटेको हो।
हो आदर्शका कुरा मात्र गरेर सम्भव छैन। भनेको जस्तो सजिलो पनि छैन यहाँ तर चेतनाको स्तरलाई रसातलमा पुर्याएर हामी सभ्य र सम्पन्न कसरी हुन्छौं? यस्तै द्वन्द्वमा मेरो मन विचलित थियो सहचालक करायो-
'गुर्जुधारा झर्ने अगाडि आउनूस्, भाडा हातमा ठिक्क पार्नूस्।’
म झसङ्ग भएँ। सतुङ्गल कट्ने बित्तिकै चिच्याएको थियो सहचालक। हातमा भाडा निकालेर अगाडि बढ्दै गएँ।
सहचालक पुनः रन्कियो।
'चाँडै झर्नुस्। कति ल्याङल्याङ गरेको।'
हातमा भाडा थमाउँदै भनें ‘चक्लेट खाने गर है बाबु।’
म ती शिक्षित युवा र परिस्थितिले बाल्यकालमै पेटको आगो निभाउन सहचालक भएको भाइलाई मस्तिष्कमा बोकेर घर आएँ।