त्यो दिन मंसिरको एउटा चिसो शनिबार थियो। म बहिनीलाई कहाँ जान्छु भन्दै नभनी कोठाबाट निस्किएको थिएँ।
कहिलेकाहीँ म कहाँसम्म जाने हो भन्ने टुंगो नै नगरी कोठाबाट निस्किदिन्छु। पोहोर साल भट्टेडाँडासम्म जान भनेर मोटरसाइकलमा चढेको मान्छे हेटौंडा पुगेर बर्दिबास हुँदै जिरी गइदिएँ। कोही मान्छे जन्मिनुका पछाडि कुनै गन्तव्य तोकिएको हुन्छ वा हामी आफैंले तोकेको गन्तव्यमा पुगिन्छ भन्ने कुरामा मलाई अचेल विश्वास लाग्नै छोडिसक्यो।
त्यो शनिबार म पशुपति आर्यघाट पुगें। मोटरसाइकल पार्किङमा राखेर विद्युतीय शवदाह गृहको छेउबाट आर्यघाटको किनारमा झरें। प्राय: मान्छेहरू अरूलाई बिदाइ गर्न यहाँ पुग्छन्। आफन्त, साथीभाइलाई बिदाइ गर्दागर्दै एकदिन उनीहरूकै पालो आउँछ र अरूले नै अन्तिम बिदाइ गर्न आर्यघाट ल्याइपुर्याउँछन्। संसारको सबैभन्दा ठूलो रहस्य यही छ कि बिदाइ हुने पालो कसको, कहिले आउँछ कसैलाई पत्तो छैन!
म आर्यघाटमा कसैलाई अन्तिम बिदाइ गर्न गएको थिइनँ। मैले चिनजानेका कोही मान्छे बितेका पनि थिएनन्।
आर्यघाटका चितामाथि भने धुँवा उडिरहेको थियो। तपाईंको र मेरोजस्ता थुप्रै शरीर कतै बिलिन भइरहेका थिए। ती शरीरसँगै कति सपना, सहारा र ममता जलिरहेका होलान्!
म बागमतीको किनारैकिनार पशुपति मन्दिरतिर लम्किएँ।
एक जना केटो हरिया बाँस काट्दै थियो। एकछिन रोकिएर उसले बाँस काटेको हेरें। उसले यस्तो काम गरिरहेको छ जुन कोही मान्छे मरिसकेपछि मात्रै काम आउनेछ। दुनियाँमा मान्छे मात्रै यस्तो प्रजाति होला जो अरू मरेपछि चाहिने काम गरेर आफू बाँच्छ!
त्यो केटालाई डिस्टर्ब नगरी म अघि बढें।
कुनै चितामा काठ राखिएका थिए। कुनैमा ह्वारह्वार्ती आगो दन्किरहेको थियो। कुनैमा खरानी पखाल्न बाँकी थियो। चिताको छेउमा जम्मा भएकाहरू कोही आँसु पुछिरहेका थिए, कोही अरूलाई सम्हालिरहेका थिए। कोही कर्मकाण्ड पूरा गरिरहेका थिए। कोही-कोही भने आर्यघाटमा पनि हतारमा देखिन्थे। अन्तिममा पुग्नुपर्ने ठाउँ यही हो भन्ने थाहा पाउँदा-पाउँदै पनि हतार गर्न छोड्दैन मान्छेको जात!
धुँवासँगै उडिरहेका परेवाहरू चिताको वरपर छरिएका धान-चामल खान आउने-जाने गरिरहेका थिए। बागमतीपारि पण्डित/ज्योतिष बसेका थिए। केही युवा-युवती तिनै ज्योतिषसँग आफ्नो भविष्य सोधिरहेका थिए।
एउटा चितामा आगो झोस्नमात्रै बाँकी थियो। आफन्तहरू चितामा वरिपरि घुमिरहेका थिए। म त्यहीँनेर गएर अड्किएँ। त्यो कुनै अधवैंशे पुरूषको शव थियो। त्यो पुरूष उमेरै नपुगी बितेकाले होला आफन्तहरू धेरै नै भावविह्वल थिए। चितामा घुम्दाघुम्दै डाको छोडेर रूने महिलाहरूलाई केही केटाहरू सम्हालेर वरसम्म ल्याउँथे।
सबै जना घुमेर सकेपछि १८-१९ वर्षको एउटा केटाले शवको मुखमा दागबत्ती राख्यो। मर्ने मान्छेको छोरो थियो होला ऊ। खुट्टामा चप्पल नलगाएको र सेता लुगा पहिरिएको त्यो केटो बाबुको मुखमा आगो राख्नासाथ त्यहीँ घोप्टो परेर रून थाल्यो। अरूले उसलाई उठाएर त्यहाँबाट ल्याए।
मैले त्यो केटालाई हेरिरहें। मन निकै भारी भयो। सानो हुँदा मात्र होइन अहिले पनि म बुवा सँगै हुँदा ढुक्क हुन्छु। केही सानो समस्या पर्यो कि बुवालाई सोधिहाल्छु।
भर्खरै आफ्ना बुवालाई दागबत्ती दिएको यो केटाले पनि कलेज पढ्नु पर्ने होला, महिनाभरिको फी बुझाउनु पर्ने होला। जिन्दगीमा कति धेरै समस्या पार लगाउनु पर्ने होला, तर उसलाई चाहिएका बेला पैसा र दुविधामा परेका बेला सल्लाह दिने बुवा छैनन्। बुवाबिना उसको जिन्दगी कति कठिन होला भन्ने सोचेर मेरो मुटुमा गाँठो परेजस्तो भयो।
पुलुक्क उसको अनुहार हेरें। उसका आँखा अझै ओभाएका थिएनन्। उसका बुवाको शव जलाउने मान्छे भने आगो दन्काइरहेको थियो।
आगो दन्काउने मान्छेलाई सुकसुकाइरहेका आफन्तको संवेदनासँग कुनै मतलब थिएन। छिनछिनमा आफूजस्तै मान्छेहरू जलाउने काम दिनदिनै गर्नुपर्दा उसलाई कस्तो लाग्दो हो? सयौं शव जलाउने त्यो मान्छे एकदिन आफ्नै शव भने जलाउन पाउने छैन। दुनियाँमा मान्छेमात्रै यस्तो प्रजाति होला जो अरू मरेपछि उनीहरूलाई जलाएर आफू बाँच्छ!
आर्यघाटमा चिता खाली हुन पाउँदैनथे, अर्को शव आइहाल्थ्यो। शव जलाउनेहरू धमाधम आफ्नो काम गर्न थालिहाल्थे।
चितामा जम्मा भएको बाबुको खरानी पखालेर त्यो केटो र उसका आफन्त त्यहाँबाट हिँडे, म पनि पुल तरेर पारि गएँ।
पारिपट्टि बसेर म पुलभन्दा माथिका दृश्य हेरिरहेको थिएँ। बागमती किनारमा आममान्छेले निभाइरहेका भूमिका कुनै विख्यात निर्देशकले बनाएका सिनेमाका दृश्यभन्दा कम्ता थिएनन्।
मंसिरको त्यो जाडोमा फोहोरले भरिएको बागमतीमा केही बालकहरू हाम फालिरहेका थिए, नदीमा खसेका सिक्का टिप्न। यति जाडोमा, यति फोहोर पानीमा हेलिँदा बिरामी पर्लान् भनेर सुर्ता गर्ने उनीहरूका आमाबुवा थिएनन्। भावीले पनि कोही-कोहीको भाग्य कोर्ने बेला नै 'जेसुकै गरी खाएस्' भनेर छोडिदिन्छिन् कि क्या हो!
पुलमुनि एउटा मान्छे लामो बिँड भएको कोदालोले बालुवा निकालिरहेको थियो। बालुवा एक ठाउँमा थुपारेर ऊ त्यसमा केही खोज्थ्यो।
'त्यसले के गरेको दाइ?,' छेउमा बसेर मजस्तै पारि हेरिरहेको मान्छेलाई सोधें।
'खोइ, सुन खोजेको होला,' उसले भन्यो।
त्यो मान्छे सुन भेटाएर खल्तीमा हालेको मैले देखिनँ। एकछिनमा पशुपति क्षेत्र विकास कोषका तीन जना गार्ड आए। उसले हत्तपत्त आफ्नो कोदालो बागमतीको फोहोर पानीमा लुकायो। गार्डले त्यो मान्छेलाई बेस्सरी झपारे। तलदेखि माथिसम्म उसले लुकाएको कोदालो खोजे। निकैबेर खोजेपछि भेट्टाए अनि लिएर गए।
त्यो मान्छेले बालुवा खोस्रिरहेको अलिमाथि केही शवहरू गोडा बागमतीतिर पारेर राखिएका थिए। एकजना महिलाको शवका पैताला पारिबाट टक्लक्कै देखिए।
हेर्दाहेर्दै मलाई ती पैताला पटापट फुटेजस्ता लागे, जसरी केही वर्षअघि हिउँदका दिनमा हाम्री आमाका पैताला फुट्थे। भालेको डाकोसँगै उठेर, ढिकी कुटेर, धाराबाट पानी ल्याएर, दाउरा, स्याउला र घाँस लिन जंगल जाँदा आमाका पैताला बेस्सरी फुट्थे। कहिलेकाहीँ फुटेका ठाउँमा काठ र ढुंगाले घोचेर रगत आउँथ्यो। पहाडका सुदूर गाउँमा बस्ने आमाहरूलाई हिउँदको चिसोमा हात-गोडा नफुट्ने क्रिम पाइन्छ भन्ने के थाहा! थाहा भए पनि कहाँ पाउने, केले किन्ने?
यो हिउँदमा पनि पटपटी फुटेका पैतालासँगै कति आमाहरू सन्ततिका लागि घरदेखि जंगलसम्म र जंगलदेखि घरसम्मको भूगोल नापिरहेका होलान्!
'बाँचुन्जेल बुढीलाई राम्ररी खान-लगाउन दिए कि दिएनन् अहिले सबै जना ढोगिरहेका छन्,' मेरो छेउमा बसेकी एक अधवैंशे महिलाले आफूसँगै आएका साथीहरूलाई भनी,'कतिले त पाल्नका दु:खले पशुपति दर्शन गर्न जाऊँ आमा भनेर ल्याएर यहीँ छोडिदिने रहेछन्।'
आमाले सन्तानका लागि गर्ने दु:ख र तिनै आमालाई बुढेसकालमा सन्तानले गर्ने तिरस्कारबारे उनीहरूले लामै कुरा गरे।
बागमतीपारि सेतै लुगा पहिरिएका छोराहरूले जलाउन लैजान आमाको शव काँधमा बोके। कुनै दिन आफ्नी आमालाई पनि यसरी नै अन्तिम बिदाइ गर्नुपर्नेछ भन्ने कल्पनाले मेरो मनमा फेरि गाँठो पर्यो।
हामी बसेको पछाडिपट्टि एक जना नेपाली इंग्लिस बोलिरहेको थियो। फर्केर हेर्दा एउटा खैरे निकै गम्भीर भएर उसका कुरा सुनिरहेको देखें। त्यो नेपाली ब्रह्मनाल, किरिया, श्राद्धजस्ता कुरा अड्कीअड्की अंग्रेजीमा बुझाइरहेको थियो।
यत्तिकैमा एउटा नयाँ शव आइपुग्यो। भर्खरको युवाको जस्तो देखिने शव अस्पतालबाट आएको थियो। पोष्टमार्टम गरिएकाले होला तलदेखि माथिसम्म पूरै छोपिएको थियो।
'एक्सिडेन्टमा परेर मरेको होला है यो मान्छे,' मेरो छेउमा बसेकी त्यही अधवैंशे महिलाले फेरि भनी, 'अस्तिमात्रै हाम्रो गाउँका एक जना दाइको छोरा माइतीघरमा बाइक एक्सिडेन्ट भएर बित्यो।'
कलिलैमा बितेकाले होला भर्खर शव ल्याइपुर्याएका आफन्तहरूमा सन्नाटाजस्तो थियो, सबै जना रोइरहेकामात्र देखिन्थे। आफैंले जन्माएर हुर्काएका छोराछोरीको शव आर्यघाटमा ल्याउनु पर्दा आमाबुवाको मन कति चिरिन्छ होला।
त्यो युवकको शवमा आफन्तहरू पैसा चढाएर ढोग्न थाले। एउटा बूढो मान्छेले पनि शवलाई ढोग्यो र बाहुलाले आँसु पुछ्दै पर गयो। ऊ त्यो केटाको बाउ थियो होला। पारिबाटै त्यो बूढो मान्छेलाई देखेर मलाई लाग्यो- बरू जतिसुकै कष्ट झेल्नु परोस् तर आफ्नै छोरा-छोरीको शवलाई ढोग्नुपर्ने नियति कुनै बाबुआमाले भोग्नु नपरोस्!
एकछिनमा एउटी केटी रूँदैरूँदै शवसम्म आई। शवको अनुहारमा पानी छम्की र ढोग्न निहुरिई। केहीबेरसम्म ऊ ढोगेकी ढोग्यै भई। अरूले उसलाई उठाएर लगे। त्यो केटीले निकै चर्को स्वरमा भनी- मेरो दाइ, एकचोटी बोल् न...
उसको त्यो वाक्यले सिधै मेरो मुटुमा घोच्यो। मेरा आँखा टिलपिल गर्न थाले।
लामो समय बहिनीसँगै बसेर हो कि किन हो मलाई दाजुभाइले गर्नेभन्दा दिदीबहिनीले गर्ने माया निकै बढी हुन्छ भन्ने लाग्छ। बहिनीसँग बिहान-बेलुकै भनाभन हुन्छ। तर बिहान मैले के भनेको हुन्छु उसले साँझ बिर्सिसकेकी हुन्छे। कुनै साँझ उसले मलाई केही भनेकी हुन्छ, बिहान ब्युँझिँदा मलाई त्यो यादै हुन्न।
मैले त्यो केटीमा आफ्नी बहिनी देखें। मनमा फेरि गाँठो पर्यो। रोक्छु भन्दाभन्दै पनि एक-दुई थोपा आँसु झरिहाले। मैले ज्याकेटको बाहुलाले आँखा पुछें। केही नभएजसरी उठेर हिँडें।
मंसिरको घाम झन् मधुरो भइसकेको थियो। आर्यघाटको किनारमा धुँवा उडिरहेको थियो, धुँवासँगै परेवाहरू पनि उडिरहेका थिए।
मान्छेहरू भन्छन्- आर्यघाटको वैराग्यता गौशाला चोकमा आएपछि सकिन्छ। मलाई भने त्यो दिनका घटना अहिले पनि दिमागमा घुमिरहन्छन्।
आर्यघाटमा विलिन भएका ती मान्छे अनि उनीहरूलाई बिदाइ गर्न आर्यघाट पुगेका ती मान्छेहरू सम्झन्छु, एकदिन आफू पनि त्यसैगरी जानुछ भन्ने कुराले दुनियाँ फिक्का-फिक्का लाग्छ!