'कति पढेकी अब सिध्दिएन? पढ्ने मात्र हो कि अब राम्रो (भनेको सरकारी) जागिर पनि खाने हो ? कति किताब किताब भन्छेस् अब बिहे गर्ने कहिले जागिर खाने कहिले?' यी प्रश्नहरूले मलाई धेरैजसो दिक्क बनाउँछ र पनि पर भाग्न सक्दिनँ।
समाजले कल्पना गरेको कति उमेरसम्म पढिभ्याउने, कति उमेरसम्म सरकारी जागिरे बन्ने अनि कति उमेरमा बिहे गर्ने, आमा बन्ने ती सबै उमेरका लक्ष्मण रेखा मेरा लागि रेखामात्र बनें। तिनीहरूलाई मैले नाघिसकेकी छु। यी रेखाभन्दा पर मसँग केही छ भने किताब र सिक्ने सिकाउने प्रक्रियाप्रतिको मोहमात्र।
कलेज र युनिभर्सिटीले दिएका सर्टिफिकेटसँग न कहिल्यै मोह थियो न त्यतिधेरै बिध्न लगाव र पनि बुझ्ने बुझाउने प्रक्रिया सधैं प्रेमिल नै लाग्छ।
अझै मसँग किन पढिस्, किन पढ्छेस् भन्दा किनकि मलाई पढ्न मनपर्छ बाहेक मसँग अरू उत्तर छैन।
आज पनि हामीले पढ्ने कुरालाई व्यवसायिकता, पैसा र शक्तिसँग जोड्दा रहेछौं। जो सब यी बिना पनि पढ्छ भने अनौठो अपवादको रूपमा लिनेरैछौं। कहिलेकाहीँ लाग्छ म त्यही अपवादको एक हिस्सा हुँ।
मेरा बुवा आफैंमा एक अनौठो अपवाद लाग्छ मलाई कहिलेकाहीँ। उहाँलाई मैले पढिदिनुमात्र पनि सबैभन्दा गर्व गर्न लायक चिज बन्यो। सानोमा मेरा लागि मुना र मिना कार्टुनका सिडी ल्याइदिने मेरा बाका लागी आजकल कहिलेकाहीँ म लग्दिने गर्छु किताबहरू।
उहाँले संकलन गरेका मधुपर्कहरू र गरिमाका केही अंक घरको पुस्तक र्याकमा पत्रपत्र उप्किएका छन्। लाग्छ यी बुवाले मेरा लागि कोर्नुभएका यात्राका गोरेटा हुन्। सायद बुवाले मेरी छोरी पढ्छे मात्र नभनिदिने हो भने मैले हिँडेको यात्रा यति सहज थिएन।
छोरीहरूले किन पढ्नुपर्छ अहिले पनि धेरै आमाबाले भन्लान् बिहे गरिदिन त्यो भन्दा पर केहीले सोच्लान् जागिरे बनाउन। कतिलाई लाग्ला व्यवसायिकता, व्यवहारिकताभन्दा पनि पर पढाइको केही अस्तित्व रहन्छ भन्ने कुरा ? र त्यो अस्तित्वको हिस्सा कोही छोरी मान्छे पनि हुन सक्छे भन्ने कुरा।
मलाई लाग्छ आज पनि हाम्रो समाजले त्यो अस्तित्वको हिस्सा बन्न लागेका छोरी मान्छेको कल्पना नै गर्दो रहेनछ।
करिब डेढ वर्षअघि मैले खाइराखेको जागिर छोडें पढ्नलाई भनेर। धेरैलाई लाग्यो डिग्री सकिसकेपछि पनि पढ्नुपर्छ र ? बरु लोक सेवा पढ, राम्रो जागिर खा। त्यो पढेपछि पनि खाने जागिर नै हो सुन्दा ठिकै हो कि जस्तो लाग्ने यी यस्ता प्रतिक्रियाको सिकार म भएँ। यही कुरामा वर्षौं पहिले मेरा एक जना साथीले भनेको सम्झन्छु।
'बहिनीको बिहे किन यति छिट्टै गर्दिन लाग्यौ,'मैले सोधें।
उनकी बहिनी त्यतिखेर भर्खर स्नातक भ्याएकी थिइन्।
उनले भने, 'डिग्री भ्याएपछि पनि दिने त्यस्तैलाई हो भनेर सुब्बासँग कुरा चल्याछ दिने भयौं।'
सायद हामी धेरैले छोरीले किन पढ्ने र छोरीलाई किन पढाउने भन्ने कुरालाई उनले झैं पो लिएका छौं कि!
किन पढ्छेस् यति पढिसकेपछि पनि ? सोध्दा सजिलो लाग्ने प्रश्नको उत्तर दिन भने मलाई कहिल्यै सजिलो लागेन। किताब मेरा लागि बुझ्ने, बुझाउने मेरा आफ्नो साथी जस्तो लाग्छ।
यतिका वर्ष मैले मेरा मिल्ने साथीहरू, मेरा जीवनमा मलाई बुझ्ने मान्छेहरू किताबकै सहायताले कमाएँ।
मलाई सबभन्दा ईर्ष्या र सबभन्दा प्रेम किताब पढ्नेहरूकै लाग्छ। धेरैले किन पढ्छ्यौ भन्दा जागिर खान, पैसा कमाउन कहिल्यै भन्न आएन र पनि किन पढ्छेस् भन्ने प्रश्नले अहिलेसम्म छोडेको छैन।
कहिलेकाहीँ किन नाचिस् भन्दा मलाई नाच्न मनपर्छ भनेझैं, किन गाउँछेस् भन्दा मलाई गाउँदा आनन्द आउँछ भनेझैं , किन चित्र कोर्छेस् भन्दा आफ्ना भावनालाई पोख्न भनेझैं किन पढ्छेस भन्दा किनकि यो म हुनु हो भन्न किन नपाउने?
पढाइसँग, किताबसँग, बुझ्ने, बुझाउने प्रक्रियासँग यति धेरै ज्ञात अज्ञात शक्ति र सत्ताको अपेक्षा गर्नु आवश्यक छ र ? बुझ्ने, बुझाउने, भन्ने सुनाउने, विमर्श छलफल यी यस्तै गतिविधिको समग्र प्रक्रिया नै पढ्नु हो। पुस्तकको इतिहास त ज्ञान लिने दिने प्रक्रियाको सानो हिस्सामात्र हो।
यदि कोही त्यो समग्र हिस्साको सदस्य बन्न चाहन्छ भने किन यति धेरै भौतिक अपेक्षा ?
सीप र ज्ञानको भिन्नतालाई हामी बिरलै सम्बोधन गर्छौं। धेरैले पढाइलाई सीप भन्ने बुझ्नुहुँदो रहेछ। ज्ञान सीप किन होइन भनेर हामीले कहिल्यै छलफल गर्नुपर्छ भन्ने पनि ठानेनौं।
विश्वविद्यालयबाट निस्केको व्यक्तिसँग निस्कनेबित्तिकै व्यवसायिक बन्न सक्ने नहुन पनि सक्छ र नहुनु कुनै कमजोरी पनि होइन। तर व्यवसायिक शिक्षामा त्यो आवश्यक छ।
एउटा स्वास्थ्य चिकित्सकसँग हामी त्यो अपेक्षा गर्न सक्छौं। तर कोही लिबरल आर्ट्सका विद्यार्थी पिएचडी सकेर आउँदा अथवा कुुनै विषयको विज्ञता हुँदाहुँदै पनि सीप बेगरको हुन सक्छ।
हामी धेरैलाई लाग्दो रहेछ पढ्नु भनेको सीप सिक्नु हो तर पढाइ साँच्चै भन्दा आफ्नो सीप पहिचान गर्ने जग मात्र हो। जसले आफ्नो रूचिको विषयलाई बुझ्न सहयोग गर्छ विस्तारै त्यो विज्ञतामा परिणत हुन पनि सक्छ। तर हुनु नै पर्छ भन्ने बाध्यता छैन।
किताबलाई प्रेम गर्नु भनेको पढ्न मनपर्छ भन्नु हो यो बुझ्ने, बुझाउने एक परजैविक अनुभवको हिस्सा बन्नु हो र आफ्नो ज्ञानको सीमिततालाई बुझ्नु पनि हो। संसार असीमित छ र हामीले देखेको र बुझेको संसार सीमित रहेछ भनेर बुझ्न हामीसँग पढ्नुबाहेक अरू विकल्प कम नै छन्।
कसैलाई त्यो मनपर्छ, कसैलाई मनपर्दैन। मन पराउनु र मन नपराउनु यी व्यक्तिगत रोजाइमात्र हुन्। कसैले पढाइको संसार समग्रतामा पनि प्रिय लाग्छ कसैलाई लाग्दैन।
मलाई किन लाग्यो उत्तर सामान्य छ किनकि मलाई आफूभन्दा भिन्न आफूले देखेको संसार विचाबारे नयाँ-नयाँ कुरा थाहा पाउन, त्योबारे विचार विमर्श गर्न रमाइलो लाग्छ।
पढाइलाई व्यवसायिकता र समग्र सत्ता र शक्तिलाई जोड्न आवश्यक छ जस्तो मलाई लाग्दैन।
पढ्न किन आवश्यक छ ? मेरो विचारमा यसले आफैंलाई बुझ्न सहयोग गर्छ, यसले हामीलाई आफू वरिपरि रहेको समाजसँग बहस गर्न सिकाउँछ र अझ त्योभन्दा पर ज्ञानको असीमितताबारे बुझाउँछ। त्यसैले मलाई यो प्रक्रिया प्रिय लाग्छ।
समग्र सिकाइलाई नै जब सीपसँग तुलना गरिन्छ तब यसले किन भन्ने प्रश्न गर्दो रहेछ। किनकि सीपले जीविकोपार्जनसँग मतलब राख्छ र जसको सम्बन्ध पुँजी र बजारसँग रहन्छ। अहिले पढाइको कुरा गर्दा केको स्कोप कति छ भनेर कुरा गर्नु सायद यसैको परिणाम हो।
पढ्न जे पनि सकिन्छ पुस्तक मात्र पढिन्छ भन्नु एक शाब्दिक अहमवाद जस्तो पनि लाग्ला। अक्षर नै नचिनेका मान्छेहरू पनि ज्ञानी लाग्छन् र कतिपय अक्षर जान्नेहरू पनि अनपढ किनकि ज्ञान एकमात्र स्रोत पुस्तक होइन।
अहिले अक्षर केन्द्रित ज्ञानको एक्लो आधिपत्य चलेको छ। त्यसैले पुस्तक हेर्ने, विश्वविद्यालय पुग्नेमात्र पढाकु हुन् जस्तो पनि लाग्ला तर त्यसलाई पढाइको सिंगो स्वरूप भन्नु मूर्खता मात्र हो।
अब कुरा आयो पढेपछि धनी हुनुपर्ने। कमाउनुपर्ने नभए नपढ्दा पनि हुने के हामीले बुझेको सिकाइको परिभाषा एकल पुँजीवादी बजारकेन्द्रित स्वरूपको त होइन? पहिलेका ऋषिमुनिसँग ज्ञान थियो र ज्ञानले मात्र पुज्य थिए। उनीहरूलाई पैसा कमाउने बाध्यता थिएन उनीहरू त्यसैमा मघ्न थिए।
अन्त्यमा, पढ्न मन पराउने, पुस्तकको संसारमा रमाउने मजस्ता अथवा तपाईंजस्ता हामी सबैलाई किन पढ्छेस भन्ने बारम्बार प्रश्न सोध्न के आवश्यक छ र ? सोधिहाले किनकि मलाई पढ्न मनपर्छ भनेमात्र पनि हुँदैन र ?