आधुनिक चीनको अद्वितीय विकास र समृद्धि हेर्दा त्यो कुनै चमत्कारजस्तै लाग्न सक्छ। तर यस चमत्कारी परिवर्तनको पछाडि रहेको त्याग, समर्पण, ऐक्यबद्धता, निरन्तरता तथा मौलिकताको लामो इतिहास झनै प्रशंसनीय छ।
चीनको विकास निर्माण यात्रामा समावेश बलिदान र निष्ठाको लामो कथा पनि त्यतिकै गहिरो र प्रेरणादायी छ। प्राचीन चिनियाँ दर्शन, अन्वेषण तथा आविष्कारहरूलाई राष्ट्र निर्माणमा संयमपूर्वक जोड दिँदै निरन्तरता दिन सक्नु नै आजको चीन सम्भव भएको मानिन्छ। चीनको यो अद्वितीय विकास यात्रा मूलतः सात वटा ऐतिहासिक कोशेढुंगामार्फत भएको पाइन्छ।
प्राचीन चिनियाँ दर्शन तथा मूल्य प्रणालीको अविचलित निरन्तरता
चीनको लामो ऐतिहासिक तथा प्राचीन सभ्यता छ। राज्य समाज र परिवार तथा मानवीय जीवन सञ्चालनका लागि प्राचीन चिनियाँ दार्शनिकहरूले मूल्य प्रणालीको विकास गरे जसलाई चिनियाँहरूले जीवन दर्शनको रूपमा निरन्तर आत्मसाथ गर्दै आए। तिनै नैतिक मूल्य र सभ्यताले चिनियाँ समाजलाई निर्देशित गर्यो। इमानदारिता र विश्वास, आदर, बृहत् एकता तथा सौहार्दता चिनियाँ समाजका नैतिक मूल्यहरू हुन्।
अझै पनि चिनियाँ विद्यालयहरूमा प्राचीन दर्शन तथा मूल्य प्रणालीहरूको पढाइ हुन्छ। चीनको प्राचीन ‘ताथोङ’ मूल्य प्रणालीलाई आधुनिक राजनीतिको मूल मन्त्रको रूपमा अपनाइएको छ। चिनियाँ भाषामा ‘ता’ भनेको विशाल र ‘थोङ’ भनेको सद्भाव तथा संगठन हो। चिनियाँ कम्युनिस्ट पार्टीले अबको विश्व राजनीतिमा चीनको भूमिका ‘ताथोङ’ मूल्य प्रणालीअनुसार हुनुपर्ने निर्णय गरेर बृहत् सद्भाव र एकताको विश्व सम्बन्धलाई चीनले जोड दिने नीति लियो।
त्यही मान्यताअनुसार चिनियाँ राष्ट्रपतिले संयुक्त राष्ट्रसंघ लगायत विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा विश्व सम्बन्ध एकता, सद्भाव र साझेदारीमा आधारित हुनुपर्ने कुरामा जोड दिँदै आएका छन्। जुन कुरा चिनियाँहरूले विभिन्न तालिम तथा प्रशिक्षणको अध्ययन अध्यापन सामग्रीको रूपमा समावेश गरेका छन्। कम्युनिस्ट पार्टीको मूल सिद्धान्त मार्क्सवाद र लेनिनवादलाई चीनको सामाजिक तथा सांस्कृतिक संरचना र प्राचीन चिनियाँ दर्शनअनुसार मौलिक प्रयोग गरेका छन्।
चिनियाँ अन्वेषण तथा आविष्कार आधुनिक प्रविधिको आधार
प्राचीन कालमा चिनियाँहरूले गरेको मुख्य चार वटा अन्वेषण तथा आविष्कारले चीनलाई मात्र हैन, विश्व मानव सभ्यतालाई नै योगदान गर्यो र आधुनिक विश्व विकासको जग बन्यो। जसअनुसार चिनिया पुर्खाहरूले ७७०-२२१ विसीमा बारुद, तेस्रो शताब्दीमा कागज, दसौँ शताब्दीमा कम्पास र टाइपिङ मेसिनको आविष्कार गरे। झन्डै दुई हजार सात सय वर्षभन्दा लामो अन्वेषण र आविष्कारको यात्रालाई चिनियाँहरूले समय कालखण्डसँगै अविच्छिन्न निरन्तरता दिए। चिनियाँहरू आधुनिक चीनको उन्नत प्राविधिक विकास त्यसैको विकसित रूप मान्दछन्।
राष्ट्रिय एकता र एकीकरणको ऐतिहासिक निरन्तरता
मार्क्सवादी दर्शनअनुसार समाजको विकास ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादमा आधारित हुन्छ। यसको अर्थ समाजको विकास तत्काल वा अपर्झट हुँदैन, लामो ऐतिहासिक पृष्ठभूमिबाट हुन्छ। यसरी इतिहासदेखि वर्तमानसम्म आइपुग्दा सरल र सिधा बाटोबाट आउँदैन, विभिन्न संघर्ष द्वन्द्व र टकराब भएर आउँछ। यस्तो द्वन्द्व र संघर्ष कुनै अलौकिक चिजसँग नभएर बिचमा नै हुन्छ।
ठिक यही प्रकारले चीनको इतिहास कठोर संघर्ष र टकराबबाट आएको छ। परापूर्व कालमा चीनमा चार सयभन्दा बढी एक अर्कामा युद्ध गरिरहने साना-साना राज्यहरू थिए। २२१ बिसी ताका चिन स ह्वाङ सिहाउन शासकले साना राज्यहरूसहित रोमन साम्राज्यलाई समेत परास्त गरेर चीनलाई एकीकरण गरे। एकीकृत चीनलाई अरूको आक्रमणबाट जोगाउन ग्रेटवाल निर्माणको सुरुवात गरे। विकट पहाडी तथा हिमाली भागमा ५५०० किलोमिटर लम्बाई, चौध मिटरसम्मको उचाइ र चारदेखि पाँच मिटर सम्मको चौडाइ भएको पर्खाल चिनियाँहरूले दुई सय वर्ष लगाएर सम्पन्न गरे। पुर्खाको सपनालाई साकार पार्न र देशलाई बचाउन चिनियाँहरूले कतिसम्म लगाव, समर्पण र निरन्तरता दिन्छन् भन्ने यो एउटा अद्भुत उदाहरण हो।
ब्रिटिस, फ्रान्स, जापान र पछिल्लो समयमा अमेरिकाको प्रत्यक्ष तथा अप्रत्यक्ष हस्तक्षेपलाई परास्त गर्दै चीनले विशाल भूगोल अखण्ड राख्न सफल भयो। देशलाई सुरक्षित राख्न र एकतालाई बलियो बनाउन अझै पनि चिनियाँहरूले राष्ट्रिय सुरक्षा प्रणालीलाई मौलिक शैलीमा विवेकपूर्ण तवरले विकास गरिरहेका छन्।
चाइनिज कम्युनिस्ट पार्टीको स्थापना र समाजवादी क्रान्ति
चीनलाई विदेशी दमनबाट मुक्त गरी विशाल आधुनिक चीनको निर्माण गर्ने ऐतिहासिक कोशेढुंगाको रूपमा चिनियाँहरू सन् १९२१ लाई सम्झिन्छन् जति बेला देशलाई विदेशी अतिक्रमण र देशीय सामन्तवादबाट मुक्त गर्ने अठोटका साथ चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना भएको थियो। तत्कालीन युवा नेता आओत्सेतुङले स्थापना गरेको चिनिया कम्युनिस्ट पार्टीको नेतृत्वमा भएको सशक्त क्रान्तिले चीनलाई विदेशी साम्राज्यवाद र देशी सामन्तवादबाट मुक्त गरेर सन् १९४९ मा जनगणतन्त्र चीन स्थापना गर्न सफल भयो। कम्युनिस्ट पार्टी स्थापना गर्दाको दिन दुर्गम गाउँको एउटा सानो झुपडीको आँगनमा केही साथीहरूसँग उभिएको माओत्सेतुङको तस्बिरप्रति चिनियाँहरू ठुलो श्रद्धा राख्छन्। माओत्सेतुङलाई राष्ट्र पिताको रूपमा सम्मान गर्छन्।
आफ्नो देश आफैँ बनाउने चिनियाँहरूको महान् अठोट
सन् १९४९ मा जनगणतन्त्र चीन त भयो तर देश ठुलो आर्थिक समस्याबाट गुज्रिन पुग्यो। सन् १९४९ मा चीन विश्व शक्ति माझ आर्थिक रूपले निकै कमजोर राष्ट्रको रूपमा थियो। जति बेला एसियाको कुल प्रतिव्यक्ति आय ४४, भारतको ५७ हुँदा चीनको २७ अमेरिकी डलर मात्र थियो। युद्धले थिलथिलो भएको र पश्चिमा शक्तिहरूले पूर्ण प्रतिबन्ध लगाएको, जनताहरूले खान लगाउनको अभाव झेलिरहेको अवस्थामा चीनलाई विकास गर्न सजिलो थिएन।
त्यसपछि चिन सरकारले सन् १९५३ मा राष्ट्रिय अर्थतन्त्र विकासको पञ्चवर्षीय योजना लागु गर्यो। जसमा अर्थतन्त्र निर्माण, सबै चाइनिज नागरिकहरूलाई खुवाउन कृषि क्षेत्रको विकास, पूर्वाधार निर्माण र राष्ट्रिय सुरक्षा सुनिश्चित गर्न राष्ट्रिय प्रतिरक्षा प्रणालीको विकास गर्ने उद्देश्यका साथ चार वटा क्षेत्रको विकासलाई आक्रामक रूपले अगाडि बढायो।
चीन आफैले सबै चिजको विकास एकै पटक गर्नुपर्ने थियो किनभने चिनमाथि प्रतिबन्ध लगाइएकोले रसियाबाट बाहेक विदेशी सहयोग आउने सम्भावना थिएन। त्यसैले उनीहरूले मेसिन आफैँ उत्पादन गर्न सुरु गरे। कृषिमा कम गर्ने आधुनिक मेसिन थिएन, चिनियाँ नागरिकले हातैले मेहनत गरे। त्यो बेला चीनको जनसङ्ख्या ५४ करोड थियो। जनसङ्ख्या धेरै भएकोले कृषियोग्य जमिन समेत चिनियाँहरूका लागि समिति थियो। त्यसैले ग्रामीण किसानहरूले खेती गर्न दिलोज्यान दिएर लागे। भौतिक पूर्वाधारको विकास गर्न उनीहरूसँग त्यो बेला मेसिन थिएन। कुटो र झम्पलकै सहारामा रोड र पुल बनाउन रातदिन खटे।
सन् १९५९ मा आइपुग्दा स्टिल उत्पादनमा विश्वको सातौँ देशको रूपमा रह्यो। कोइला र तेल उत्पादनमा चीन विश्वको तेस्रो देशमा दरिन पुग्यो। तर त्यही समयमा अमेरिका संलग्न सहितको कोरिया युद्ध भयो। आफ्नो प्रतिरक्षाका लागि चीनले त्यो बेला उत्तर कोरियालाई सघाउन हातहतियार सहित आफ्ना लाखौँ सैनिकहरूलाई पठाएको थियो। सन् १९६५ देखि भियतनाम-अमेरिका युद्ध सुरु भएपश्चात् चीनमा अर्को चुनौती र त्रासदी थपियो। त्यससँगै उनीहरूले राष्ट्रिय प्रतिरक्षा प्रणालीको पनि विकास गर्नु थियो। सन् १९६४ को मे महिनामा चिन सरकारले आणविक बमको परीक्षण सफल भएको घोषणा गर्यो। त्यस दिन चीनभरि हर्षोल्लास मनाइयो। आफ्नो प्रतिरक्षा प्रणालीको विकास विश्वसामु चीनले गतिलो सन्देश दियो।
सोही समयको अन्तरालमा तीव्र जनसङ्ख्या वृद्धिले चीनमा अर्को ठुलो समस्या थप्यो। दश पन्ध्र वर्षको अन्तरालमा जनसङ्ख्या ५४ करोडबाट बढेर ८० करोडको हाराहारीमा पुग्यो। ग्रामीण तहमा गरिबी र भोकमरी चल्यो। युद्ध, भोकमरी र अभावका बिचमा पनि चिनियाँहरूको देश बनाउने एकता र समर्पण टुटाएनन्। आन्तरिक कलहमा लागेनन्। देशलाई चिनिया नयाँ जनवादी ढाँचामा दृढतापूर्वक अगाडि बढाए।
विकास नीतिमा रूपान्तरण र राष्ट्रिय मूल्यको निरन्तरता
आधुनिक चीनको विकासको अर्को महत्त्वपूर्ण परिवर्तन विन्दु सन् १९७८ मा देङस्याओ पिङको सुधार कार्यक्रमलाई मानिन्छ। कम्युनिस्ट अनुशासनमा परम्परागत समाजवादी ढाँचामा देश विकासमा मरिमेटेर लाग्दा पनि सन् १९७८ सम्ममा चीनले विश्व अर्थतन्त्रको एक दशमलव आठ प्रतिशत मात्र ओगटेको थियो। प्रतिव्यक्ति आय एक सय छपन्न अमेरिकी डलर, सहरी जनसङ्ख्या बाह्र प्रतिशत, कृषिमा आश्रित जनसङ्ख्या ९० प्रतिशत हाराहारीमा थियो।
सन् १९७८ पछि समाजवादी सहितको खुला अर्थव्यवस्था लागु गरेपश्चात् चीनको अर्थतन्त्रले नयाँ गति लियो। जसको उदाहरण सेनजेन सहरलाई लिन सकिन्छ। सन् १९७८ को आसपासमा उक्त सहर दुई सय जनसङ्ख्या भएको माछा मार्ने एउटा सानो गाउँको रूपमा रहेको थियो। अहिले उक्त स्थान दुई करोड जनसङ्ख्या, दुई लाख ६० हजारको हाराहारीमा इन्टरप्राइजेज, चार सय ९० बिलियनभन्दा बढी कुल ग्राहस्थ उत्पादन भएको अत्याधुनिक सहरको रूपमा स्थापित भएको छ।
सोही सुधार कार्यक्रम अन्तर्गत सन् २००१ देखि विश्व व्यापार संगठनमा चीनको प्रवेशले विश्व बजारमा प्रतिस्पर्धामा चिनिया अर्थतन्त्र अब्बल साबित भएको छ। यससँगै ग्रामीण किसानहरूको जीवनस्तर उकास्नका लागि जमिन भाडा सम्झौता नीति लिइयो जसले गर्दा किसानहरूले व्यक्तिगत खेती गरी आयआर्जन गर्न सहज बन्यो।
गरिबी निवारण र ग्रामीण अर्थतन्त्रको विकास
सन् २०१६ सम्म चीनको त्रिचालिस प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेको थियो भन्दा धेरैलाई अनौठो लाग्न सक्छ। चिनिया सरकारको आधिकारिक तथ्याङ्कअनुसार चीनको ८३२ काउन्टीहरू र १२८ हजार गाउँहरूमा ९८ करोड नौ लाख भन्दा बढी मानिसहरू गरिबी अवस्थामा थिए। मुख्य गरेर चीनको ग्रामीण तहमा त्यसमा पनि हिमाली गरिबीको अवस्था जर्जर रहेको थियो।
विभिन्न चिनियाँ अध्ययन सामग्रीमा उल्लेख भएअनुसार दुर्गम हिमाली गाउँहरूमा सञ्चार र सडक सुविधा पुगेको थिएन। मानिसहरू पहाडका भिरमा आफैँ खुड्किला बनाएर जोखिमपूर्ण तवरले यात्रा गर्दथे, खोलाहरूमा पुल नभएकोले तुइनमा झुन्डिएर बच्चाहरू विद्यालय जाने गर्दथे। विद्यालयको अवस्था दयनीय थियो। भवनहरू भत्केका र जीर्ण थिए। मानिसहरूसँग शरीरमा लगाउने कपडा र पेटमा खाने अन्नको अभाव थियो। त्यो अवस्था धेरै अघिको हैन, मात्रै नौ वर्ष अघिको हो जति बेला वर्तमान चिनियाँ राष्ट्रपति सि जिङपिङ पहिलो पटक राष्ट्रपति बनेका थिए।
सन् २०१३ मा सि जिङपिङ राष्ट्रपति बनेपछि उनी आफैँ किसान परिवारबाट आएको हुनाले दुर्गम गाउँका किसानहरूको समस्यालाई नजिकबाट बुझ्ने प्रयास गरे। रोचक त के छ भने त्यो बेलासम्म चीनमा कति मानिस गरिब छन् भन्ने आधिकारिक तथ्याङ्क पनि रहेनछ। त्यसैले सरकारले गरिबी सर्वेक्षणको कार्यक्रम सुरु गर्यो। सन् २०१४ मा आठ लाख अधिकारीहरूलाई ग्रामीण तहमा अवस्था यकिन गर्न पठाइएको थियो।
सन् २०१६ मा दुई लाख व्यक्तिहरूलाई तथ्याङ्क संकलन र रजिस्ट्रेसनको लागि परिचालन गरियो। सरकारले दुई लाख पचास हजार कार्य समूह, तीन लाख कम्युनिस्ट पार्टी सदस्य र सरकारी कर्मचारीहरूलाई ग्रामीण क्षेत्रमा खटायो। सन् २०१९ मा सरकारले २८३ बिलियन चाइनिज युआन ८.२ मिलियन परिवारलाई अनुदान दियो। दश हजार कम्पनीहरूले ग्रामीण क्षेत्रमा सहायता परियोजना सञ्चालन गरे। विभिन्न विश्वविद्यालयहरूले गरिब गाउँहरूमा सहायता परियोजना सञ्चालन गरेर ज्ञान तथा सिप अभिवृद्धि गरे।
सम्पन्न प्रान्तहरूले गरिब गाउँमा सहायता प्रदान गर्नुपर्ने नीति ल्याइयो। स्थानीय तहहरूले गरिब किसानहरूका लागि अनुदान तथा सहायता कार्यक्रम एकैपटक सञ्चालन गरे। जसअनुसार ग्रामीण पशुपालन, हस्तकला, ग्रामीण उद्योग, फलफूल तथा तरकारी उत्पादनमा तीव्रता दिइयो। त्यससँगै केन्द्रीय सरकारले पुनर्वास नीति बनाएर गरिब परिवारलाई सुविधायुक्त आवासको व्यवस्था गर्यो। आधुनिक चीनको विकासलाई नै गिज्याउने गरिबीको अवस्थालाई चिनियाँ सरकारले सहकार्य र एकताकै आधारमा न्यूनीकरण गर्न सफल भयो।
आधुनिक चीनको विकास नेतृत्वको दूरदर्शी सोच, इमानदार प्रयास र सरकार तथा नेतृत्वप्रति नागरिकको गहिरो विश्वास तथा आस्थाले सम्भव भएको छ। चीनको विकास कुनै चमत्कार नभएर नेतृत्व र जनताको इमानदार तथा कडा मेहनत, प्राचीन दर्शन तथा मूल्यहरूको परिपालना र आधुनिक बिचारको मौलिक प्रयोगको परिणाम हो।
(लेखक हाल चीनको बेइजिङस्थित एकेडेमी फर इन्टरनेशनल बिजनेस अफिसियलमा तालिम लिइरहेका छन्। )