विद्या आर्जन गर्ने काल नै विद्यार्थी जीवन हो। होइन, सत् विद्या आर्जन गर्ने काल विद्यार्थी काल। अहँ! म एकछिन अल्मलिएँ र विश्वविद्यालयको चमेना गृहतिर लागेँ।
भित्र केही विद्यार्थीहरु चर्काचर्की गरिरहेका थिएँ। मानौँ त्यो एउटा हर शैक्षिक मुद्दाको निचोडमा पुग्ने इजलास हो। एउटाले भन्यो, ‘गुरुले पढाएको केही बुझिनँ भने म किन चुप लागेर बसूँ?’
अर्कोले भन्यो, ‘तँ हुँदा पनि त्यही नै हो हालत। आफैँले नपढी हुँदैन, उनीहरु त अप्ठ्यारोमा बाटो देखाउने मार्गदर्शी मात्र।’
हुँदा हुँदा त्यहाँ दुई समूह खडा भए। एउटा अर्को शिक्षकको माग गर्ने र अर्को त्यही शिक्षकलाई निरन्तरता दिने। फलस्वरुप, मेरो मनभित्र यो कुरा खेल्न थाल्यो कि विद्यार्थी जीवन आफूले रुचाइएको गुरु छान्ने उमेर पो हो कि।
तर, म यो निर्णयमा पुगिनँ किनकि यो परिभाषा मेरो क्षणिक दृष्टान्तको सन्की परिभाषा लाग्यो। मैले दिएँ निर्णय गर्न जिम्मा समयलाई र पढाइमा केन्द्रित भएँ।
साँझमा कोठा पुगेँ र पुनः घोत्लिन थालेँ। सिक्ने प्रकृया त जीवनभर चलिरहन्छ नि। यहाँ चार पर्खालभित्र मात्र विद्या आर्जन गर्ने सिलसिलालाई सीमितिकरण गर्न खोज्नु सिकाइलाई घेराबन्दी गर्नु सिवाय अरु हो र?
त्यसैले यो निर्णय एकछिनको उहाँको निर्णय भएपनि केही हदसम्म ठिक छ, ‘सिकिरहने काल विद्यार्थी काल।’ यो निर्णय अतल स्पर्शमा नपुग्दै एक प्रश्न जुरुक्क उठ्यो। के त्यसो भए आफ्ना पितालाई मैले विद्यार्थी भन्दा जायज?
पिताको पनि त कृषि वा सहकारी तालिम बारम्बार लिइरहनु हुन्छ नि। मैले फोन लगाएँ पितालाई र बेप्रसँग सोधेँ- ‘तपाईंलाई कसैले विद्यार्थी भनेर सम्बोधन गर्यो भने के जवाफ दिनुहुन्छ?’
उहाँलाई हेक्का छ म बेलाबखतमा यस्तै यस्तै प्रश्न सोध्ने गर्छु। त्यसैले, आनाकानी वा झिँझो पटक्कै लाग्दैन उहाँलाई। उहाँले जीवनमा नयाँ ज्ञान सिकेझैँ गदगद हुँदै भन्नुभयो, ‘अहिले म नयाँ प्रजातिको मकै कसरी रोप्ने भनेर कृषि तालिम लिएर आउँदै मात्र छु केटा, भरे फुर्सदमा कुरा गरौँला।’
म अर्धतोषित् भएँ। त्यसपश्चात म यो निर्णयमा पुगेँ- ‘विद्यार्थी जीवन जिज्ञासा, अनुभव, उत्सुकता, परिश्रम, सृजना र मूल्य खोज्ने उमेर। यसमा उमेरले फिक्री हुँदैन।’ परिभाषा केही सन्तोषजनक छ।
आज विश्वविद्यालयको कोठाभित्र बसेको पनि दुई वर्ष नाघिसक्यो, स्नाकोत्तरको पुस्तकहरू छिचोल्नलाई। यो नयाँ प्रजातिको रोगले गर्दा म जस्ता हजारौँ विद्यार्थीहरुको भविष्य पनि अन्योलपूर्ण छ। कसैले पनि किटानका साथ भन्न सक्ने अवस्था रहेन अब।
यता मैले अध्ययन गर्नुपर्ने पुस्तकहरू ज्यादाजसो पाश्चात्य भाष्यमा केन्द्रित छन्। अध्यापन पनि बेजोडले तिनैमा केन्द्रित हुने भैहाले। कति जितेको त्यो दर्शनले? म विमूढ हुन्छु। मन पटक्कै छैन पश्चिमाहरुले निकै वर्ष पहिले प्रतिपादन गरेका ती दर्शनलाई मगजमा पसाउन। तर बाध्यता, जो जीवित छ।
म अंग्रेजीको अध्येता। त्यो बखत पिताको ढिपीमा मैले अंग्रेजीमा दख्खल राख्ने चेष्टा गरेँ। अंग्रेजी फरर्र बोलोस् भन्ने पिताको चाहाना थियो त्यो बेला। अहिले के छ मैले सोध्या छैन। मलाई के थाहा? कक्षाकोठामा गुरुको अगाडि अंग्रेजी छाटेपछि आँखाको नानी भइँदो रहेछ।
बस् अंग्रजी प्रष्टसँग छाट्नु मात्र पर्यो केही गुरुको अगाडि। केहीलाई त्यतिले पुग्दैन, साथसाथै सार चाहियो। अर्कोथरी बोलक्कडमा केन्द्रित। कति विभत्स र गम्भीर भाषा छ उसको। न सार छ न विवेचना।
ठाउँठाउँमा रोकिँदै र झोकिँदै बोलिरहेछ तर पनि आफ्नो निकटको भएपछि अति उत्तम। यता, न तर्क छ न प्रश्नको तुक। ‘मलाई जहाँबाट जे सोधे पनि हुन्छ?’ गुरु विद्यार्थीउपर त्यो पाठ आफैँले कोरेको झैँ गरेर सोध्नुहुन्छ। मलाई डर पोसाउँछ।
मलाई लाग्छ असली गुरु यस्तो पो हुनुपर्छ। अनि म खोतल्छु तिनको व्यक्तित्व। फेरि मलाई त्यति बिघ्न जाँगर आउँदैन किनकि प्राप्तांकमा मात्र विश्वास नगर्ने मेरो बालकैदेखिको व्यासनले मलाई पछ्याउन छाडेको छैन। भित्रभित्रै परिहासले बेरिन्छु।
ख्याल छ? मुख बाँध्नुमा मजा छ। सुन्नुमा आनन्द छ। लेख्नुमा अत्यानन्द छ र वाञ्चित पुस्तक पढ्नुमा सबै छ जुन भर जीवनकाल हुने गर्छ, न कि विश्वविद्यालयमा मात्र। त्यसैले, विद्याथी जीवनका असली पुस्तक ती सजीव र निर्जीव मानव वा वस्तु हुन् जुनले हामीलाई भोक बिर्साउँछन्, उत्सुकता जगाउँछन्, लेखूँलेखूँ गराउँछन्।
पात्रहरु सपनामा आएर बातचित गर्छन्। विचारको पिउरी तन्किएर किनार छोऔँला झैँ गर्छ। जानेका कुरा बोलिहालौँ भन्ने पनि लाग्दैन। कुनै पृच्छा तेर्साउँ पनि लाग्दैन। अनि सबै भएर पनि के-के नभएजस्तो, अभावको गुञ्जायस भइरहन्छ। फलस्वरुप, बेला बखत यही माध्यमबाट निस्किदिन्छ। यो विद्यार्थी कालमै हुने गर्छ।
यो जीवन अभावहरुको चाङ हो। देखासिकीको प्रतिरुप हो वा नक्कलिपना हाबी भएको समय हो। ‘अर्थ’ मै सबैथोक केन्द्रित हुन्छ भन्न पनि सकिँदैन। फर्किएर अमादरफद गर्ने हो भने केही सहुलियतहरु पाएका छौँ हामीले। तरपनि प्रथमतः तगारो बनेर त्यही आउँछ।
अध्येताको मनोविज्ञान बुझेर अगाडि बढ्ने गुरुको अभाव छ। साथित्वमा खडेरी छ। विश्वासमा धमिरा छ। अन्तरघात र खुट्टा तान्ने प्रवृति यत्रतत्र छ। अल्प ज्ञानीहरु अग्रसर छन्। ज्ञान भएकाहरु पछाडि सरेका छन्। कसैलाई सिद्धान्तको आडमा घस्रेर चिनिनु छ। कोहीलाई कसैले प्रयोग गरिरहेका देखिन्छन्।
कसैलाई पोखरीको हाँस हुनु छ। जयजयकार र चाप्लुसी गर्ने जमात पनि अर्कोपट्टि छ। हो, खराब बानी बसेको छ हाम्रो। हामी भविष्य सोचेर पुस्तक उल्टाउँछौँ, परीक्षा आउँदा पल्टाउछौँ। तर, कुनैकुनै गुरुहरु भन्नुहुन्छ ‘भविष्यका लागि तयारी गर, परीक्षाका लागि होइन।’
दिल खुस हुन्छ। सम्मान र प्रेम जाग्छ। म चनाखो हुन्छु। अरुलाई भने खासै रुचि देख्दिनँ। अर्को गुरु आउँनुहुन्छ र भन्नुहुन्छ- ‘राम्रो अंक ल्यायौ भने बजारमा बिक्छौ।’
अरुलाई चनाखो देख्छु। म नकार्न पनि सक्दिनँ। त्यसैले म द्विविधामा छु। तर यसको छिनोफानो आफैँलाई प्रयोगशाला बनाएर गरी पनि रहेको छु।
‘विद्यार्थी जीवन एउटा मगमगाउँदो उमेर’ यानकी साहित्यकार अमर न्यौपानेले लेखेजस्तै ‘गुलावी उमेर।’ विद्यार्थी फूलमा भमराहरु बस्छन्। कतिलाई यसैमा मजा छ। थोरैलाई बेकार र अर्थहीन लाग्छ होला यो कुरा।
तर यस कालमा सोच्दै नसोचेका मानिसहरु एकाएक जोडिन्छन् र प्रेमको संसारमा रमाउँछन्। अनि फेरि एकाएक छक्क परिन्छ जब ती शिशिरको पूर्वसन्ध्यामा छुट्टिन्छन्। त्यसैले मिलन र बिछोड विद्यार्थी कालको अर्को विशेषता हो।
कहिलेकाहीँ हामी बोलिरहेका साथीहरुसँगको सम्बन्ध चटक्कै चुडाल्छौँ। अरु कोमल मनका वा रुचाइएका साथीहरुसँग नजिकिन्छौँ। कहिलेकाहीँ जबरजस्त स्वभाव विपरीत साथीहरु रोज्नुपर्ने हुन्छ। तिनीहरुबाट पनि केही सिकिरहेका हुन्छौँ।
कोही साथीहरु रैवारे हुन्छन् कुराको ओसारप्रसार गरिरहने, नियोजित रुपमा सम्बन्धमा धाजा होस् भन्ने उत्कण्ठाले अभिप्रेरित भएका। उनीहरुलाई प्रष्ट चिनिन्छ। यद्यपि उनीहरु पनि हाम्रा ज्ञानका श्रोत हुन्।
हामीहरु ज्यादा अरुको पछि लागिरहेका हुन्छौँ। कहिलेकाहीँ त आफ्नो धरातल बिर्सेर रिस/द्वेष पनि पालिरहेका हुन्छौँ। म त भन्छु, ‘प्रतिस्पर्धा आफैँसँग गर। आफैँलाई रिस गर। आफूलाई पछ्याऊ। हिजोको आफूलाई आज जित्ने प्रयत्न गर।’ अतः गुलावी उमेरलाई जगेर्ना र स्थान्तरणको खाँचो छ। यसका लागि आफैँ उत्तरदायी हुनुपर्ने कि।
विद्यार्थी उमेर श्रृजनाको अतिरेक भएको वसन्त काल पनि हो। आफ्नो रुचिअनुसारको कलामा आफूलाई तिखार्नु र आत्मियहरुबाट बारबार सल्लाह सुझाव लिनु एउटा सृजनशील अध्येताको निको नहुने रोग हो। विश्वविद्यालय धाउने अधिकांश साथीहरुमा त्यो विषयमा ध्यान देखिँदैन।
फगत प्रमाणपत्रमुखी मात्र भएको छ हाम्रो शिक्षा। हामीलाई उत्तम ग्रेड चाहिएको छ। सायद त्यही भएर पो होकि हामीलाई आफ्नो ‘राग’ बारे सोच्ने फुर्सद नभएको। म कक्षामा कहिलेकाहीँ एक्लो महशुस भएको बखत कलापट्टि बहुल रुचि भएका अध्येताहरुको तलास गर्न निस्कन्छु।
फेरि पनि एक्लो हुन्छु र यही निबन्ध लेख्न अघि सर्छु। के विद्यालय वा विश्वविद्यालयले यो दुई वर्षको अन्तरालमा कुनै साहित्यिक कार्यक्रम संञ्चालन गरेको छ? ‘छैन।’
के कविता, कथा वा अन्य बिधा कसरी लेख्ने भन्ने बारे सिकाउन चाहेको छ? के मैले पढेको विश्वविद्यालयमा साहित्यमा दख्खल राख्ने गुरु हुनुहुन्छ? ‘खै यो दुई वर्षको अवधिमा मैले भेटेको छैन।’
तर, गहिरो साहित्य अध्यापनबाट पनि एउटा फूल फुलेको अनुभव भइरहेको छ। बाटिकाको द्वार बन्द भएर कसैले देख्न पाएका छैनन् त्यसलाई। म माफ माग्न चाहन्छु। म यति चाहन्छु, कोपिलाहरु गोडिदिने बागवान गुरु भैदिउन्।
सृजनाको फूल फुलेको हेर्न रुचाइदिने नामका भन्दा कामका गुरु भैदिउन्। तर, विश्वविद्यालयमा अभागी विद्यार्थी हामी। हामीले लादिएको पुस्तकमा मात्र ध्यान दिनुपर्ने। थोनबरी र ग्रीनबमका सुत्रलाई मनन गर्नुपर्ने। त्यसैमा हाम्रो मूल्यांकन हुनुपर्ने। मृत मानिसका परिभाषा घोक्नुपर्ने। कठै!
विद्यार्थी जीवनमा नै राजनीति हुने गर्छ। राजनीतिको ‘र’ नजानेको विद्यार्थी यो कालमा ‘नीति र सिद्धान्त’ का कुरा गर्छ। यसर्थ, यो आफूलाई पहिचान गराउने उत्तम थलो पनि हो। तर, राजनीति गर्ने चाहनाभन्दा सेवा गर्ने चाहना बढी भएमा ऊ विद्यार्थी उपर कहलिन्छ।
मानव सेवाको भाव विद्यार्थीमा हुनुपर्दछ। आफूले जानेको कुरा सिकाउन, आफूले सकेको सहयोग गर्न, लिनभन्दा पनि दिन अग्रसर भएको राम्रो। तर दिने बानी भयो भने औँलो दिँदा डुँडुलो माग्नेहरु पनि भेटिन्छन्।
यता फेरि राजनीति गर्ने नाममा कुनै कोरा सिद्दान्तलाई जबरजस्त लाद्ने प्रयास गरियो वा भुलाएर/छकाएर त्यो किसिमको हर्कत गरियो भने विद्यार्थी दोस्रो पटक सचेत हुन्छन्।
हुन त असल अध्येताको मन अरुले जेसुकै गरुन्, पढाइपट्टि नै हुन्छ। गुरुहरुको प्रतिक्षामा ज्ञानको भोको भएर तदाकर रहनु नै असल अध्येताको विशेषता हो। ऊ फाल्तु कुरामा मरिहत्ते गर्दैन। ऊ प्रश्नहरु गर्न रुचाउँछ। रुचि वा उत्सुकताले भरिएको हुन्छ।
यसले विद्यालयको छाँट बढाउँछ र परिश्रमी बनाउँछ। आफैँलाई खोतल्दैमा उसको समय सकिन्छ। तसर्थ पढाइ कि राजनीति? त्यो अध्येताको पृष्ठभूमि, रुचिको क्षेत्र, क्षमताको पहिचान र साथीभाइको लहैलहै डोहोर्याउने रहेछ।
विद्यार्थीकाल आफूले आफैँलाई, ‘म को हुँ, कहाँ र कतातिर?’ भनेर प्रश्न गर्ने उमेर हो। किनकि जीवनका बाटाहरु असंख्य छन्। यो काललाई रुचिले डोहोर्याउँछ। संगतले सिकाउँछ। अनुभवले लेखाउँछ। फेरि सिकाइको क्रम नरोकिने काल पनि।
रहर, उत्तेजना, प्रेम, श्रद्धा, सहयोग, अनि मिलन र बिछोडको संगम नै विद्यार्थी जीवन। आफूलाई चिनेर आफ्नो मार्गमा दत्तचित्त भई लाग्ने उत्तम सिकारु काल। अतः आत्मिय गुरुको आशीर्वाद, रेखदेख तथा साथीभाइको हौसला र प्रेमको काल नै विद्यार्थी जीवन जहाँ सिक्ने प्रकृया निमेष निमेषमा चलि नै रहन्छ।