कोरोनाप्रति सामाजिक दृष्टिकोण
चीनको वुहान प्रान्तमा देखापरेर विश्वभर फैलिएको कोरोना भाइरसले नेपाललाई पनि आक्रान्त पारिरहेको छ। पहिलो चरणको लकडाउन अन्त्य भएर सामान्य जीवनमा फर्कने प्रयत्न असफल भएको छ। सङ्क्रमण क्लस्टर वा समुदाय कुन स्तरमा फैलिएको विज्ञहरू तर्कवितर्क गरिरहेका छन्। यद्यपि तीव्र गतिमा वृद्धि भएको कोरोना भाइरसको संक्रमण दैनिक हजार नाघ्न थालेको छ। जनजीवन प्रभावित भएको छ।
कोरोना महाविपत्ति हो। प्रकृतिक रोग जस्को कुनै निश्चित उपचार पद्धति निरूपण भएको छैन। कोरोनालाई हेर्ने समाज मनोविज्ञान दुई धारमा विभक्त छ। सामाजिक सञ्जालमा हेरेर महाविज्ञ हुनेहरू पनि कम्ति छैनन्। बाँकी कुरा त भोग्नेलाई थाहा होला। मजस्तै सङ्क्रमितले जे भोगेका छौं कामना छ अरु कसैले भोग्न नपरोस्।
सन्दर्भ कोरोना लाग्नु पूर्वका हाम्रा समग्र चिन्तनहरू कोरोनामैत्री शिवाय अरु केही देख्दिनँ। कोरोना एउटा फ्लू हो खास डराउन पर्दैन, कोरोना मानव निर्मित भाइरस हो डराउन पर्दैन, कोरोना सामान्य रुघाखोकी हो डराउन पर्दैन आदि तर्कहरू तर्क बाहेक अरु केही हुन सक्दैनन्। मनोवल वृद्धि गर्न भनिएको हो भने भन्नु केही छैन तर यही खेलाँचीले बढेको सङ्क्रमणको जिम्मा कस्ले लिने ? मास्कको सही प्रयोग नगर्ने, सामाजिक/भौतिक दूरी कायम नगर्ने, कोरोना विरूद्धको अभियानका निर्देशनहरू उल्लंघन गर्ने आदि सामाजिक दृष्टिकोणको परिणाम अप्रत्याशित नहोला भन्न सकिन्न।
कोरोनाप्रतिको सामाजिक दृष्टिकोण परिवर्तन हुन सायद अझै कुर्न नपरोस्। अहिले पनि यसप्रति अज्ञानता पहाड झैं उभिएको छ। कोरोना चेतनाले अज्ञानी पहाडहरू छिट्टै ढल्नेछन्, स्वस्थ संस्कृति विकास हुनेछ।
असीमित प्रेम र बाध्यात्मक घृणाको होमक्वारेन्टिन
कोरोनाको प्रामाणिक उपचार पद्धति नभएकाले प्रेम, सद्भावना नै पहिलो मनोवैज्ञानिक उपचार रहेछ। होम क्वारेन्टिनमा परिवारले त्यो वातावरण सृजना गर्नु जरूरी देखिन्छ। सामाजिक दूरी कायम गरी सुरक्षित तवरले गफगाफ गर्ने, आनन्दका कुरा गरी मनोवल वृद्धि गर्ने गर्नु पर्छ। अकोतर्फ बाध्यात्मक घृणा पनि आवश्यक देखियो। जुन घृणा व्यक्ति लक्षित नभएर भाइरस लक्षित हुन आवश्यक छ। प्रेमले व्यवहार गर्ने र घृणाले सतर्क रहनुले समग्र हित हुने स्पष्ट छ।
क्वारेन्टिनमा बस्ने व्यक्तिले पनि व्यवस्थापनको पाटो विशेष ख्याल गर्नु जरूरी रहेछ। नियमित व्यायाम, स्वस्थ्यकर खाना र व्यस्त जीवनशैली उचित देखियो। सूचना प्रविधिको प्रयोग गरी डिजिटल वर्ल्डमा डिजिटल माइन्डलाई चलायमान गराउनु पहिलो सर्त रहेछ। यो एउटा वर्गको पहुँचमा देखिन्छ।
अर्को वर्ग सांस्कृतिक प्रचलन र परम्परागत व्यवहार वा आध्यात्म चिन्तनबाट सुरक्षा कवज चलाउन सक्ने अनुभूति भएको छ। यसको अर्थ यो हो कि आवश्यकता भन्दा बढी सुताइ र सोचाइलाई नियन्त्रण गरी कोरोना कहरबाट मुक्त हुनु।
यो आलेख पनि हस्पिटलको शैय्याबाट समयको सकारात्मक सदुपयोगको उपलब्धि हो।
सायद तपाईंले पनि पढेर केही समय त व्यथित गर्नुहोला भन्ने लागेको छ। कोरोना चिन्तनले जित्ने हो, रवाफले होइन। सुरक्षित रहनु होला, प्रेमले बाँच्नुहोला, खुसी र स्वस्थ्य जीवनको मार्गचित्र तय गर्नुहोला।
सङ्क्रमित क्षेत्रको भ्रमण गरेको हुनाले क्वारेन्टिनमा बस्नु अनिवार्य सर्त थियो। जसले मेरो परिवार र सिङ्गो समाज असुरक्षित हुनबाट बचाउन सहयोग पुग्ने अपेक्षा गरेको थिएँ। जब मलाई कोरोना सङ्क्रमण पुष्टि भयो त्यो सत्य साबित भएको महशुस गरेको छु। होमक्वारेन्टिनमा बसेर सरकारलाई सहयोग गर्नु र आफू सुरक्षित बस्नु एउटा नागरिकको कर्तव्य पनि हो।
क्वारेन्टिनमा धेरै समय एक्लो बस्दा अनेकन चिन्तनहरू मनमा उब्जने रहेछन्। यो म जस्तै क्वारेन्टिनमा बस्नेहरूको साझा समस्या नै होला।
कतिपय सरकारी क्वारेन्टिनमा जनप्रतिनिधि, सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीहरूले विभिन्न विधिमार्फत् खुसीसहित स्वस्थ्य रहन अभियान नै चलाएका छन्। उहाँहरूको उच्च सम्मान गर्नै पर्छ। जसले आफ्नो ज्यानको बाजी थापेर अरुलाई खुसी दिँदै हुनुहुन्छ।
शैय्याबाट ....
कोरोनाका सन्दर्भमा अनेकन आलेखहरू, समाचारहरू, सञ्जालमा व्यक्त अभिव्यक्तिहरू पढ्दा भ्रम र यथार्थको द्वन्द्वमा फसेको आभाष मलाई जस्तै तपाईंलाई पनि भएको होला।
यही भ्रमले मलाई आज कोरोना विशेष हस्पिटलमा पुर्याएको छ। कोरोना के हो? प्राकृतिक वा कृत्रिम अनुसन्धन दुबैधारबाट भएको नै होला तर तथ्य उत्पादन वा पुनर्उत्पदन पक्कै भएको छैन। यो भविष्यले पक्का निर्णय गर्ने छ। यथार्थ त धेरै परको कुरा हो। अनुभवले भन्छु कोरोना के हो ? म जस्ता सङ्क्रमितलाई सोध्नुस् अनेकन अनर्गल प्रचार नपछ्याउनुस्। ती भ्रम हुन्।
मैले यो लेख कोरोना संक्रमणबाट बच्न मानसिक सन्तुलनका लागि आइसोलेसनबाट लेख्दै गर्दा समाजलाई जोड्ने प्रयास गरेको छु।
भ्रम कि यथार्थ परीक्षण गरेको छु। मैले फेसबुकमा मेरो कोरोना पुष्टि भएको प्रमाणसहित स्टाटस लेखेको छु : हामी जे बोलिरहेका छौं, त्यो कोरोना होइन, कोरोना भोगेजस्तो अव्यक्त छ। सुरक्षित रहनुस्, अर्को विकल्प छैन।
मेरा सुभचिन्तकहरूले मप्रति सदासयता राखेर सल्लाह दिनुभएकोमा आभार व्यक्त गर्दछु। तपाईंहरूको सुझावमा अनुभव मिश्रण गर्ने अनुमति चाहन्छु।
फेरि पनि कोरोना भ्रम होइन प्राकृतिक विपत्ति हो। जसको सङ्क्रमण रहरले नभई परिबन्धले हुने हो।
अधिकांशको सल्लाहमा मनोवल उच्च बनाउनुस्, कोरोना खास केही होइन, खानेकुरा राम्ररी खानुस्, भ्रमबाट नआत्तिनुस्, हट्टाकट्टा हुनुहुन्छ। छिट्टै जितेर आउनुस् शीघ्र स्वास्थ्यलाभको कामना। थप सुझावमा भनिएको छ : गुर्जो, बेसार, लसुन, अमला ... सेवन गर्नुस् केही हुँदैन। भ्रम नबाँड्नुस् ती कोरोनाको प्रमाणित उपचार विधि होइनन्।
यद्यपि परम्परादेखि अनुभव प्रमाणित आयुर्वेद पद्धति हो जसले कोरोना रोगीको मनोवल उच्च पार्ने र अन्य रोगबाट बचाउने उपाय हो। उचित तवरले सेवन गर्दा अहित चाहिँ पक्कै गर्दैन।
नेपालको सन्दर्भमा कोरोनाको भन्दा समाज मनोविज्ञानको उपचार आवश्यक छ।
कोरोनाको कुनै मेडिकल उपचार पद्धति छैन। कोरोनाले मरिहालिन्छ भन्ने मनोविज्ञानको अन्त्यगरी सीमित अनुशासनले पुनर्जन्म प्राप्त गर्न सकिन्छ।
तर अविवेकी समाज त्यो भन्दा ठूलो पहाड बनिरहेको तीतो यथार्थ छर्लंग छ। यहाँ स्थानीय जनप्रतितिधिको उपस्थिति आवश्यक छ। जसले भ्रम चिरोस् वा दण्डा बजारोस्।
म मेरा स्थानीय जनप्रतिनिधि र बुद्धिजीविहरूप्रति सलाम गर्दछु जुन पीडा म र मेरो परिवारले भोग्न परेको छैन। अर्को कुरा आम मानिसलाई भन्छु : कोरोना परीक्षण कोरोनाको उपचार होइन। आवश्यकताले गराउनुस्, लहडले होइन।
कोरोना पुष्टि भएर अस्पताल पुग्ने रहर पनि नगर्नुस्, त्यो भन्दा अगाडि सचेत हुनुस्।
तपाईंले सोचेको अस्पतालको संस्कृति फेरिएको छ। फेरि हस्पिटलबाट भाग्ने भगौडा सङ्क्रमित पक्राउ समाचारको हेडलाइन नबन्नुस्। किन भाग्यो त्यो अनुसन्धान गर्ने फुर्सद कसलाई छ!
फेरि हेक्का रहोस्, चकचके हातलाई सफा र नियन्त्रणमा राख्नुस्, मास्कको दैनिक फेर्नुस् वा सफा गर्नुस्, कोरोना समस्या र समाधान सम्बन्धमा सामाजिक बहस गर्नुस्, हेयभावले होइन।
मेरो तीन तहको सरकारको कोरोना खर्च तपाईं हामीले सोचेभन्दा अत्यधिक रहेको शैयाबाट अनुभूति भएको छ। त्यहाँभित्रको अनियमितता त समयले बताउला। मैले मेरो सरकारलाई फरक पाटोमा प्रस्ताव राख्दैछु।
सर्वमान्य नहोला तर भन्छु। मैले यो निष्कर्ष लेख्दै गर्दा बाहिर प्ल्यास्टिकमा र्यापिङ गरिएको म जस्तै सङ्क्रमणको कारण मृत्यु भएकाको शव देख्दा आफूलाई सम्हाल्ने मभन्दा अर्को सहारा छैन। जसले मेरो मनमा दुइटा विचार उत्पन्न भयो। असहज नमानिदिनुहोला।
पहिलो विचार हो, पौरस्त्य दर्शनले भने झैं शरीर नासवान छ, आत्मा अमर। यदि त्यही रूपमा कोरोनाले लग्यो भने नासवान शरीरका सम्भव अवयवको अन्य आत्मासहितको शरीरमा प्रत्यारोपण गरियोस्। कोरोना जितेर फर्कें भने अशक्त कोरोना सङ्क्रमितहरूमा प्रतिरोधी क्षमता प्रदान गर्न प्लाज्मा थेरापीका लागि नियमित ब्लड डोनर हुने प्रतिबद्धता जाहेर गर्दछु।
मेरो सरकार छ भने यस कार्यलाई संस्थागत र व्यवस्थित गरियोस्। कोरोना जितेकाहरूलाई बीमासहित राष्ट्रिय स्वास्थ्य नीतिमा जोडियोस्।