केही हप्ताअघि म अछामबाट आउँदा नागढुंगामा ३ घण्टा जाममा परियो। हरेक गाडीको कागजपत्र जाँच गर्दा, गाडीको मान्छे हेर्दा, कहाँ गएको, के गएको भनेर सोधपुछ गर्दा प्रहरीले धेरै समय लगाए।
त्यो बेलामा मैले सोचें, प्रहरीहरूलाई मानसिक तनाव, कोरोना संक्रमणको तनाव कति छ होला? यहाँ दिन र रात बसेर काम गर्दा के खान्छन् होला? कहाँ चर्पी छ होला, यिनीहरूलाई त कोरोना संक्रमण हुने धेरै सम्भावना छ। नभन्दै अहिले धेरै प्रहरी संक्रमित भएका छन्।
‘प्रहरीले मानिसहरू पिटे’, प्रहरीले डाक्टर कुटे, फलाना प्रहरीलाई कामबाट हटाइयो, ‘प्रहरीको ज्यादती’आदि समाचारले ‘प्रहरीलाई’ भिलेन जस्तो भन्नेहरू पनि छन्।
‘तर कोरोनाको कहरले प्रहरीलाई कति तनाव छ, कति मानसिक र शारीरिक रूपले थकित छन्। उनीहरूको खानाको, पानीपिउन, चर्पी आदिको राम्रो बन्दोबस्त छैन। लगातार काम गरिरहँदा उनीहरू त्रस्त छन्, त्यसैले गर्दा आवेगमा आएर यस्तो गर्छन्। यो तनावको लक्षण हो, तर कसैले पनि प्रहरीको मानसिक तनावको बारेमा विचार गर्दैनन्’, एक वरिष्ठ मनोचिकित्सकले मलाई भने।
स्वास्थ्यकर्मीले जतिकै खटेर काम गरिरहेका प्रहरीलाई ‘धन्यवाद’भनेर भन्ने कोही छैन।
उनीहरूको मनोबल उठाउने काम कमै भएको छ।
नेताहरूको दिनरात सेवा गर्ने प्रहरीको हालत कसले हेर्ने होला? दिनरात यसै गरेर प्रहरीलाई काम गरिरहुँ भनेर नेताहरूले भन्ने हो भने प्रहरीहरू भोलि बिरामी भएर ढले, अत्यधिक कामले तनाव भएर बिरामी भए, बाटोमा सवारी जाँच गर्दा उनीहरूलाई कोरोनाको संक्रमण सर्यो भने के होला भनेर स्वास्थ्य मन्त्रालयले कतै विचार गरेको छ कि छैन? प्रश्न कहाँ कसलाई सोध्ने होला।
मन्त्रिपरिषद्, स्वास्थ्य मन्त्रालय, आदि स्वास्थ्यकर्मीहरूलाई के–के दिने, कसरी बचाउने भन्ने बारेमा छलफल गर्दा प्रहरीहरू पनि २४ घण्टा नै सेवामा खटिन्छन् उनीहरूको लागि खानाको विशेष प्रबन्ध हुनुपर्छ भनेर कसैले बोल्नु र काम गर्नु पर्दैन ?
प्राय: बाटोमा बिहानदेखि बेलुकासम्म प्रहरीहरूको उपस्थिति देखिन्छ।
दुई मुठी चिउरा र दालमोठ वा पत्रु खाना (बिस्कुट र चाउचाउ) प्रहरीलाई दिएर झारा टार्ने काम गर्दा प्रहरीहरूलाई सबभन्दा बढी देशमा आन्तरिक सुरक्षामा समस्या हुँदा प्रहरीहरू ‘फ्रन्ट लाइनमा’ खटिन्छन्।
प्रहरीको त्यो खटाइलाई ‘तलब लिएरमात्र काम’गरिरहेका भने नेताहरूले पनि प्रहरीलाई ‘सेवक’ नै ठान्छन्।
उनीहरूका विचार हुन्छ होला प्रहरी त ‘रोबोट’ जस्तै हुन्। २४ सै घण्टा सेवामा खटिए पनि ‘उफ्’ भन्नु हुँदैन।
‘प्रहरी भएपछि सबै सहन्छन्’ भन्ने मानसिकता रह्यो।
प्रहरी मुख्यालयले समेत सायद आफ्ना प्रहरी जवानको मानसिक तनावले गर्दा परेका समस्याहरूको बारेमा धेरै विश्लेषण र अध्ययन गरेको छैन।
‘मुस्कान सहितको सेवा’ देऊ भनेर खोक्रो भाषण दिने मन्त्रीले कहिले विचार गर्दैनन् कि मानसिक र शारीरिक रूपमा थकित भएको प्रहरीले कसरी अनुहारमा ‘मुस्कान’ल्याउन सक्छ ?
के प्रहरी जवान ‘रोबोट’ हो, ‘मुस्कान’अनुहारमा टाँसिरहने ? म आफ्नो घरको चोकमा बिहान ५:३० बजे दूध लिन जाँदा प्रहरीहरू उभिरहेको देख्दा म यसो विचार गर्छु उनीहरूलाई चिया कसले दिने होला? त्यो बेलामा प्रहरीहरू सायद रातभरि ‘सेवा’मा खटिएर, प्याकप्याक भएर ती प्रहरीहरूको व्यथा कसैले बुझ्दैनन्।
चोक चोकमा बसेका ती प्रहरीलाई बिहानपख शौच लाग्दा के गर्ने होला? शौच समयमा नगर्दा प्रहरीको स्वास्थ्यमा कति समस्या पर्ला? सायद कसैले ध्यान दिँदैन।
अहिले कोरोनाको कठिन अवस्थामा बाटो बाटोमा काम गरिरहेका कतिपय महिला प्रहरीहरू पनि छन्। महिला प्रहरीले घाममा बस्दा पर्याप्त पानी पिउन नपाएर,पिसाब धेरै च्यापेर बस्न परे उनीहरूलाई मुत्रासयको संक्रमण हुनसक्छ भनेर विचार नै गरिँदैन।
त्यसमाथि पनि अहिलेको बेला यदि महिला प्रहरी गर्भवती छिन् र धेरै बेर उभिँदा उनलाई केही समस्या पर्यो भने उनको स्वास्थ्य अवस्था के होला, नेतृत्व तहले त पक्कै गरेको छ होला भन्ने कुरामा म त विश्वस्त छु।
पञ्चायतको पालामा चाहिँ प्रहरीहरू जनताका साथी होइनन् भन्ने भावना आमसमुदायमा थियो। पञ्चायतपछि पनि नेताहरूले प्रहरीलाई “जनताको लागि”होइन, आफ्नो लागि ‘सजिलो’ हुने गरी ‘संगठन’ बनाए।
त्यसैले प्रहरी जवानहरू त्यही नेताको ‘सेवा, संरक्षण, चाकरी’ मा व्यस्त हुनु पर्यो। ४६ पछिका केही वर्षहरू प्रहरीहरूले सायद ‘जनताको लागि काम गर्न नखोजेका पनि होलान्, दलका नेताले सायद त्यस्तो गर्ने मौकै दिएनन्।
कोरोनाको बेलामा जब म प्रहरीहरू सडकमा देख्छु अनि दुःखी हुन्छु। कोरोनाको संक्रमण हुन सक्ने सम्भावना छ भनेर थाहा पाएर पनि ‘भगवान भरोसे’ भएर बस्न पर्ने!
नेताहरू बारम्बार साबुनपानीले हात धुनुस् भनेर रेडियोमा आइरहँदा नेताको सुरक्षामा खटेका, बाटोमा ‘ड्युटी’ गर्ने प्रहरीले कहिले कहाँ गएर साबुनपानीले हात धोएको होलान् भनेर कसैले विचार गरेका होलान्? उनीहरूलाई सरकारले स्यानिटाइजर दिएको छ बाटोमा उभिरहेकालाई?,
अहिलेको असामान्य अवस्थामा ‘प्रहरीलाई’ बढी काम गर्नैपर्छ। तर उनीहरू पनि स्वास्थ्यकर्मीझैं लकडाउन मै खटिरहेका छन् भन्ने विचारले स्थानीय सरकार, केन्द्र सरकारले उनीहरूको लागि विशेष व्यवस्था गरेको छ कि छैन ? उनीहरूको रोगसँग लड्ने शक्ति बढ्नुपर्छ भन्ने विशेष किसिमको खानपिनको व्यवस्था गरेको छ कि प्रहरीहरूको ‘खटाइ’ वास्ता नै गरिन्न?
प्रहरी हुन् जे भए पनि सहन्छन् भन्ने हो? प्रहरीले कति काम दिन रात नभनी गरिरहेछन्,त्यसको लेखाजोखा हुँदैन। प्रहरीको उदास अनुहार, ‘बिस्कुट र चाउचाउ’खाएको चाहिँ वास्ता हुँदैन।
प्रहरीहरूको परिवारले पनि कति मानसिक वेदना खेप्नु परेको छ। विशेषगरी सडक, समुदायमा खटेका प्रहरीले।
एक प्रहरी बिहान काममा गएर घर फर्केपछि ‘कोरोनाको संक्रमण’ लिएर फर्केको पो छ कि भन्ने भावनाले त्रसित पनि हुन सक्छन्। उसको घरका बुढा आमाबुवालाई कोरोना नसरोस् भनेर उसलाई के सहायता दिइएको छ ?
प्रहरीलाई ‘कोरोना’ संक्रमण भएको सुन्दा मलाई लाग्छ बाटोमा खटिने सबै प्रहरीलाई जाँच गरायो भने झन् यो संख्या कति बढ्ला?