बाबु बन्न सजिलो छ। एउटा साधारण प्राकृतिक प्रक्रिया पुरा गरे हुने। पुरूष शुक्राणु महिला जनेन्द्रीयमा प्रवेश गरेपछि सामान्यतः गर्भाधानको स्वभाविक प्रक्रिया सुरु हुन्छ। महिला गर्भवती हुन्छिन् र केही समयपछि शिशु जन्मिन्छ । यो क्षमता हासिल गर्न पुरूषमा विलक्षण शारीरिक वा मानसिक प्रतिभा चाहिन्न।
यो कुरा सबै जीवका हकमा लागु हुन्न ।
अध्ययनले देखाएअनुसार सामुन्द्रीक सिलमध्ये ९० प्रतिशतभन्दा बढी भाले सिलले पोथीलाई गर्भाधान गराउन पाउँदैनन्। बलिया बाङ्गा, चलाख र पोथीलाई वशमा पार्ने विशेष क्षमता भएको सिलले मात्र पोथी फकाउन र उनीहरूलाई गर्भवती बनाउन पाउँछ । बाँकी भाले सिलहरू हेरेको हेरै हुन्छन्।
सिलमामात्र नभएर प्राय सबै पशुपंक्षीको प्रजनन प्रक्रिया सहवासमा संलग्न भाले र पोथीको क्षमता र रुचिअनुसार हुन्छ।
जीवहरूमा पोथी जातिलाई गर्भाधान गराउन पाउने सहज सुविधा भएको जीव सम्भवतः मानिसमात्र हो। यो सहजता पनि मानव समाजको उद्विकासका क्रममा पछि हासिल भएको हो। गुफामा बस्दा वा घुमन्ते, फिरन्ते जीवनशैली हुँदा महिला र पुरुषबीचका सम्बन्ध तरल थिए।
एकठाउँमा बसेर खेती गर्ने प्रणाली सुरुभएपछि बसोबासको संरचना फेरियो । परिवारको अवधारणाको जन्म भयो । महिला र पुरुषबीचका सम्बन्धले स्थायी प्रकृति ग्रहण गर्यो।
आजभोलि परिवारको संरचना लगभग संसारभर स्थापित छ । एक महिला र एक पुरुषबीच विवाह हुन्छ जसले उनीहरूबीचको सम्बन्ध स्थायी बनाउँछ। यसैको परिणामस्वरूप शारीरिकरूपमा अत्यन्त अशक्तबाहेक सबै महिला वा पुरुषले प्रजननको सुविधा पाउँछन्। सन्तान उत्पादन गर्छन्।
प्रजननको प्रक्रियामा महिला र पुरुषको विशेषता र क्षमता भने समान छैन।
एक महिलाले आफ्नो जीवनकालमा निश्चित सङ्ख्यामा सन्तान जन्माउन सक्छिन्। यद्दपि, पुरुषहरूको हकमा एकजना पुरुषले सिद्धान्ततः हजारौँ महिलालाई गर्भाधान गराउन सक्छ। सेक्स सेलको गणनामा महिलाको तुलनामा पुरूषहरूको सेक्स सेल हजारौँ गुणा बढी हुन्छ ।
महिला र पुरुषले आर्जन गर्ने आनीबानीको स्रोत सेक्स सेल होइन -उनीहरूका शारीरिक भिन्नतासँग सम्बन्धित सामाजिक अवधारणा हुन् भन्ने तथ्यबारे आजभोलि प्राय सबै सचेत छन्। महिलाका भनिएका विशेषता पुरूषसँग र पुरूषका विशेषता महिलासँग पनि हुन्छन्। हुर्कने क्रममा हरेक मानिसले घरमा, स्कुलमा, सञ्चारमाध्यमबाट र साथीसँगीहरूबाट केटा र केटी हुनुको भिन्नता सिक्छ। यी भिन्नताहरू सामाजिक सन्दर्भमा मानिसका व्याख्याहरूका आधारमा निर्माण भएका हुन्छन्।
केही नारीवादी लेखकहरूले के भनेका छन् भने प्रकृतिको निरन्तरताका लागि थोरै पुरूष भए पुग्छ -किनकि एउटै पुरुषले विभिन्न महिलालाई गर्भाधान गराउन सक्छ। तर, महिलाको सङ्ख्या पुरूषका तुलनामा कम भयो भने असन्तुलन हुन्छ। त्यसैले, पुरूषहरू स्वभावैले अप्ठेरो, जोखिमपूर्ण काम गर्न अग्रसर हुन्छन्। प्रकृतिले पुरूषहरू सजिलै गुमाउन सक्छ तर पुरूषभन्दा बढी महिला गुमाउन सक्दैन ।
पुरुष भएकैले व्यक्तिलाई सक्षम, योग्य, बलियो मान्ने संस्कार चलन लगभग संसारभर नै छ । यसको मात्रा र तरिका केही फरक होला। पुरुषहरू र कतिपय महिलाहरू पनि के ठान्छन् भने पुरूषसँग विशिष्ट प्राकृतिक विशेषता हुन्छन् जुन महिलासँग हुन्नन् ।
पुरूष र महिलाका पृथक प्रजनन र शारीरिक क्षमताका आधारमा कसरी उनीहरूका पृथक सामाजिक हैसियत निर्धारण भए भन्ने कुरामा प्रशस्त अध्ययन भएका छन्। यी अध्ययनले मानव सभ्यताको एउटा दुखद् पाटो देखाउँछन् कि प्रजननसँग र शिशुस्याहारसँग जोडिएका जिम्मेवारीका आधारमा महिलालाई शक्ति र स्रोतबाट विमुख बनाइएको इतिहास मानव सभ्यताको केन्द्रीय इतिहास हो।।
महिलाको सामाजिक हैसियत सबै ठाउँमा निम्छरो नै हुन्छ भन्ने कुरा सही होइन। यसमा प्रशस्त विविधता छन्। महिलाले प्राप्त गर्ने स्वतन्त्रता, सम्मान र अधिकारका मात्रा ठाउँअनुसार फरक छन्। ठाउँ भन्नाले सामाजिक सन्दर्भ भन्ने बुझ्नुपर्छ। सामाजिक सन्दर्भहरू सम्पत्तिको बाँडफाँट, नियमकानुन, संस्कृति (जस्तै, धर्म) र परम्पराबाट निर्धारित हुन्छन्।
नेपालको सन्दर्भमा महिला र विशेषगरी जात व्यवस्थाका हिन्दु र मुस्लिम सम्प्रदायमा महिलाको सामाजिक हैसियत अपवाद छोडेर किन कमजोर छ त ? दशकौं देखि शिक्षा र चेतना अभिवृद्धिका क्षेत्रमा गरिएको लगानीले किन अपेक्षित परिणाम दिन सकेन? महिला आज किन झनै असुरक्षित र अपहेलित छन् ? यसबारेमा गम्भीर भएर सोच्नुपर्छ ।
महिलाको स्तर सुध्रिन नसक्नु, उनीहरू हालसम्म पनि अपहेलित र कमजोर हुनुका पछाडि केही मुख्य कारण छन्।
पहिलो हो नेपालको कमजोर शिक्षा प्रणाली।
नेपालले शिक्षाको विस्तार र साक्षारता अभिवृद्धिका क्षेत्रमा उपलब्धी हासिल त गरेको छ। यद्यपी रूपान्तरणमुखि छैन। यसले स्थापित मान्यता र विश्वासकै पुनर्उत्पादन मात्र गर्छ। न त पाठ्यक्रम समय सुहाउँदो छ न शिक्षक, शिक्षिकाको क्षमता वृद्धिमा सार्थक प्रयास भएको छ। कमजोर र असफल हाम्रो शिक्षा प्रणालीले केटाहरूलाई ‘भाले’ भएको घमण्डले फुलाएको छ, केटीहरूलाई म त 'आइमाई' भनेर खुम्च्याएको छ ।
नेपालको दोस्रो ‘बोटलनेक’ राज्यका ऐनकानुन हुन्।
नेपालका नियमकानुनले महिलालाई औपचारिक रूपमा नै दोस्रो दर्जा दिएका छन्। सम्पत्तिमाथिको अधिकार, सन्तानलाई नागरिकताको अधिकार, सम्बन्धबिच्छेदको अधिकार आदि पुरूष र महिलाका लागि फरकफरक छन् । यसले महिला र पुरूषबीचको विभेदलाई पुनर्उत्पादन गरिरहेको छ । महिलाविरोधी संस्कार र मान्यता संस्थागत भएका छन्। नेपालका नीतिनिर्माता र बुद्धिजीवी कहलिएका कतिपयले त राष्ट्रको स्वार्थ प्रमुख हुने भन्दै भेदभावपूर्ण कानुनको प्ररिरक्षा गरेका छन्।
महिलामाथि हुने भेदभावको तेस्रो स्रोत घरमा हुने सामाजिकीकरण हो।
बाबुआमाले आफ्ना सन्तानलाई कस्ता मूल्यमान्यता सिकाउँछन् ? महिला र पुरुषका बिचको शारीरिक भिन्नतालाई कसरी व्याख्या गर्छन् ? छोरा र छोरीका लागि कस्ता शब्द र अभिव्यक्तिको प्रयोग गर्छन् ? सार्वजनिक स्थानमा केटा र केटीले गर्नुपर्ने व्यवहारका बारेमा कसरी शिक्षा दिन्छन् ? यी कुराहरूको ठूलो महत्त्व हुन्छ।
हामीकहाँ संस्कार र सभ्यता केटीहरूलाई मात्र सिकाउनु पर्छ भन्ने छ । उनीहरूले आफ्नो संस्कारका आधारमा पुरूषहरूबाट ‘योग्यताको प्रमाण-पत्र’ लिनुपर्ने हुन्छ । केटाहरूले आमाबुवाबाट केही सामान्य प्रशिक्षण त पाउलान् तर यो पालना गर्नु वा नगर्नुले केही अर्थ राख्दैन । पालना नगर्ने कुरालाई नै केटाहरूको विशेषता मान्ने चलन छ । केटीहरूले भने समाजको निरन्तरताको बोझ बोक्नुपर्छ।
पुरूष र महिलाबीच हुने विभेदपूर्ण सम्बन्धलाई वैधता दिने अर्को माध्यम आमसञ्चार हो । आमसञ्चारले उपभोग्य वस्तु प्रवर्धन गर्न केटा र केटीहरूका पृथक विशेषताको रचना गर्छ । जस्तै, बाक्लो कालो कपाल र गोरो अनुहार केटीहरूका लागि नभै नहुने विशेषता बनाइदिन्छ । केटाहरूलाई मोटरसाइकल र कार दौडाउन, हिमाल चढ्न र 'म्यानेजर' हुन लगाउँछ। कालो कपाल र गोरो अनुहारमा सजिएका श्रीमती 'म्यानेजर' श्रीमानलाई अफिस जानेबेला जुत्ता पुछ्न टाइ बाँध्न तयार भएर बसेका हुन्छन्।
सञ्चारमाध्यमबाट निर्माण हुने विभेदको चेतना विज्ञापनमा मात्र सीमित छैन। अखवार र टेलिभिजनले प्रसारित गर्ने लेख, टिप्पणी र समाचारहरू पनि अधिकांश भालेवादको पूरानो रोगले ग्रसित छन्। सञ्चारमाध्यममा कि त महिलाका लागि स्थान नै हुँदैन भए पनि पुरूष उपभोक्ताको रुचिलाई ध्यानमा राखेर बनाइएका सामग्रीले नै प्राथमिकता पाउँछन्। परिणामस्वरूप नेपालका आमसञ्चार स्त्रीद्वेशी र भेदभावपूर्ण चेतनाका कारखाना हुन्। यसलाई सुधार्न भएका भनिएका प्रयत्न अत्यन्त सुस्त र अपर्याप्त छन्।
महिला-पुरूष सम्बन्धमा रहेका असमानता हटाउने हो भने शिक्षा, घरभित्र हुने सामाजिकीकरण, सञ्चारमाध्यम -सबै क्षेत्रमा परिवर्तन आवश्यक छ ।
नेपालमा महिला र पुरूषबीचको विभेद कहालिलाग्दो छ। यसो हुनुमा विभेदका संरचना मात्र कारण होइनन्। नेपालको अवस्था दुखद् किन छ भने महिलामाथि हुने विभेदका बारेमा हुनुपर्ने जति चेतना पुरूषहरूमा छैन। महिलामाथि विभेद छ र यसको न्यूनिकरण नगरी न्यायपूर्ण र विकसित समाजको परिकल्पना सम्भव छैन भन्ने सोच नेपालमा विकसित भइसकेको छैन। पुरूषहरू घरमा, स्कूलमा र सञ्चारमाध्यमबाट प्राप्त गरेका नारिद्वेशी र विभेदपूर्ण ज्ञानबाट विषाक्त भएका छन्।
महिलामाथि गरिने भेदभाव र अन्याय पुरूषहरूका लागि लज्जाको विषय हुनुपर्ने हो। नेपालमा अहिलेसम्म यो प्रतिष्ठाको विषय रहेको छ।
महिलाको सम्मान र अधिकारका विषय हाँसोठट्टाका विषय बन्ने गरेका छन्। महिलाका समस्या पुरुषका भन्दा पृथक छन् भन्ने बुझाइ स्थापित हुनसकेका छैन। महिलालाई पुरूषकै एक्टेन्शनमात्र मान्ने अवधारणा हावी छ। समग्रमा लैङ्गिकता विभेदको आधार रहेको कुरा मान्न पुरूषहरू तयार छैनन्।
जातीय, क्षेत्रीय, राजनीतिक, भाषिक विभेदका विरुद्धमा ठूलाठूला आन्दोलन हुन्छन्। यी आन्दोलनमा महिला र पुरूष सँगसँगै सहभागि हुन्छन्। दुःखको कुरा के भने यति गहिरो लैङ्गिक विभेदका लागि घनिभूत आन्दोलन सम्भव छैन। यस्तो आन्दोलन महिलाले घरबाटै, अफिसबाटै, फुटपाथबाटै सुरु गर्नुपर्ने हुन्छ, जुन सजिलो छैन । यो आन्दोलनमा भने महिलालाई पुरूषको साथ छैन ।
महिलामाथि हुने भेदभावको अन्त्य मूलतः पुरुषको जिम्मेवारी हो र हुनुपर्छ। पुरूषकेन्द्रीत सामाजिक संरचना, तिनलाई आडभरोस दिने नीतिनियम र पुरूषले ओगटेका सामाजिक स्पेश यो विभेदका मुख्य कारक हुन्। त्यसैले, यो समस्याको अन्त्यका लागि पुरूषहरूको सक्रियता जरुरी छ । बाबुआमाले आफ्ना छोराहरूलाई महिलालाई सम्मान गर्न सिकाउने हो र महिला र पुरूष बराबर हुन् भन्ने धारणा बनाउन प्रेरित गर्ने हो भने समस्या केही सहज हुनसक्छ। यसका अतिरिक्त घर, कार्यालय, विद्यालय, संसद् -सबै ठाउँमा महिलामाथि हुने विभेदको पहिचान र तिनको समाधानका लागि पुरुषहरूले सार्थक प्रयत्न गर्नसक्छन् ।
बाबु बन्न गार्हो छन्। असल बाबु बन्न भने छोराछोरीसँग नियमित कुराकानी गर्ने, महिला हुनु र पुरूष हुनुको समानता र भिन्नताका बारेमा चर्चा गर्ने, स्त्रीद्वेशी विचार चिन्न सिकाउने र सबैलाई बराबर सम्मान गर्न प्रेरित गर्ने जिम्मेवारी बहन गर्नुपर्छ। यसो गर्न नेपालका सबै बाबुहरूलाई प्रेरणा मिलोस् ।
पुरूष जनेनद्रीय हुनु स्वयंमा योग्यताको प्रमाण होइन भन्ने कुरा छोराहरूले घरघरमा सिक्न पाउन्। ढिलै भए पनि बाबुको मुख हेर्ने दिनको शुभकामना!