सम्पादकीय नोटः कर्णालीवासीलाई लेख्न प्रेरित गर्ने उद्देश्यले सुरू 'कर्णाली लेख्छ' अभियानमार्फत् आएको लेखः
इञ्जिनियर भएपछि मेरो पहिलो औपचारिक जागिरको पहिलो फिल्ड यात्रा: रारा तालको जिल्ला। मुगु, साविकको रारा गाविस।
बिक्रम सम्वत् २०६९ चैततिरको कुरा हो। साथीहरूसहित चार जनाको समूह रारा किनार हुँदै रारा गाविसको मुर्मा गाउँ पुग्यौं।
लघु-जलविद्युतबारे गाविसस्तरको कार्यक्रम गर्नु थियो। गाविस कार्यालय मुगु कर्णालीतिरमा अवस्थित कच्चे गाउँमा थियो। मुर्मा गाउँमा पर्ने वडाका केही सदस्यलाई हामीसँगै जान अनुरोध गर्यौं। तर हामीलाई औल (चिसो क्षेत्रका मान्छे तातो क्षेत्रमा जाँदा देखा पर्ने समस्या) लाग्छ, जाँदाआउँदै पूरा दिन सकिन्छ भन्ने कुरा आए।
लाग्यो, सरकारले मुर्मा गाउँलाई छुट्टै गाविस घोषणा गरिदिएको भए...हामीलाई सहज हुने थियो।
अघिल्लो दिन नै तालिम सकाएर बिहानै कच्चे झर्ने निधो गर्यौं। सुझावमा अनेक बाटा पायौं। गार्हो तर छिटो पुगिने रोज्यौं। आइपर्ने सम्भावित समस्याको समाधान छैन भने गार्होभन्दा सजिलो उपाय नै उत्तम हुन्छ भन्ने ज्ञान हामीमा भएन। बिना हतियार शिकार खेल्न निस्क्यौं। कार्यालय सहयोगीले अलिअलि बाटो थाहा छ भनेकाले केही राहत भएको थियो। आँट थपिएको थियो।
बिहान पाँच बजे यात्रा सुरू भयो। मुर्मा गाउँ छोडेर उकालो चढ्यौं। झिसमिसे उज्यालोसँगै रारा तालको पूर्ण आकार आँखामा पर्दा मन रोमान्चित भयो। स्वर्गकी अप्सरा आँखै अगाडि नाच्न थालिन्। त्यो सुन्दरतामा मन्त्रमुग्ध भएँ। म कहाँ छु, कोसँग छु, सबै बिर्सिएँ। कतै दगुरेँ, कतै नाचेँ। थुप्रै फोटा कैद गरेँ।
खुसी धेरैबेर टिकेन।
कार्यालय सहयोगीले बाटो बिर्से। हामी घना जंगलमा रुमल्लियौं। गोलचक्करमा पर्यौं। अतालिन थालिसेकका थियौं। तै खुट्टा चलाउन छाडेनौं। निरन्तर चलेका खुट्टा एउटा डाँडाको अग्लो चुचुरोमा पुगेर रोकिए। आरोहीहरू सगरमाथा टुप्पोमा पुगेर अडिन्छन्, अघि बढ्ने ठाउँ हुँदैन। उनीहरू त्यही विन्दुमा खुसियाली मनाएर फर्कन्छन्। हामी पनि त चुचुरोमै थियौं। तर निराश।
हामी बाटो नचिनेर यहाँ आइपुगेका थियौं, अब नचिनेकै बाटो झर्नुछ। ओरालैओरालो कर्णाली किनार पुग्नुछ।
सम्झेरै उदेक लाग्दै थियो।
फ्याट्ट सहकर्मी म्यामले भन्नुभयो, 'यसरी जागिर खान सक्दिनँ म त। जागिर छोड्छु।' उहाँका यी वाक्य दोहोरिँदै थिए।
हुन पनि घना जंगलमा बाघभालु फेला पर्ने सोचेर हामी कमजोर भइरहेका थियौं। चारैतिर जंगल, हिउँका चट्टानमाथिको हिँडाइ, जनावरको डर। अनि बाटो बिराएका यात्री।
मलाई पनि खुबै डर लागेको थियो। तर आफूभन्दा बढी डराउने फेला परे भने आफ्नो कम हुँदो रहेछ। सहकर्मीलाई सम्झाउँदै अघि बढ्यौं। हिमपहाडबाट सुरू भएको पानी जता बग्छ, हामी त्यतै बग्यौं। पानी बनेर पानीलाई पछ्यायौं।
निकै बेरपछि च्याउ खोज्न निस्केका मान्छे भट्यौं। उनीहरूको सल्लाह सम्झँदै हिँड्यौं। करिब ३ बजेतिर हामी कच्चे पुग्न सफल भयौं। बिहान ९ बजे पुगेर कार्यक्रम सञ्चालन गर्ने योजना थियो। हाम्रो अवस्था त म्याराथनका अन्तिम धावक जस्तो थियो। शरीर थाकेको भए पनि मनको एक कुनो यही शरीर जोगाउन सकेकोमा खुसी थियो।
साँझतिर म घरको छतमा बसेर मोबाइलमा भिडियो हेर्दै थिएँ। नजिकै एक युवती आइन्। करिब २० वर्षकी।
उनका आँखा मेरो मोबाइलमा दगुर्न थाले। मेरो सेन्टिमिटरको दूरीमा बसिन्। अनौठो बासना आइरहेको थियो। म लट्ठिएँ। आँखाले भिडियो हेर्यो, नाकले उनलाई सुँघ्यो। मन कता डुल्न थाल्यो, थाहा भएन।
कहाँ-कहाँ डुल्दै थिएँ कल्पनामै। सहकर्मीले बोलाउनुभयो, 'सर तल आउनुन।'
म झस्किएँ। उठेर तल कोठातिर लागेँ।
'किन बोलाउनुभयो?'
'वरिपरिका धेरैले तपाईंलाई घुरेर हेर्दै थिए,' उहाँले सुनाउनुभयो, 'भर्खर ६ महिना भयो उनका श्रीमान बितेको।'
म त कल्पनामा मात्रै थिएँ, यथार्थमा परिस्थिति असामान्य भैसकेको रहेछ। युरोपमा भएको भए सँगै बस्नु,अँगालो मार्नुसम्म सामान्य मानिन्थ्यो होला। यो त नेपाल। नेपालको पनि गाउँ। परिस्थिति बेग्लै थियो। समय र वातावरण सुहाउँदो व्यवहार नगरे दुःख पाइने चेत भयो।
पहिलो फिल्डको सिकाइ!
लगत्तै, वैशाखमा सहकर्मीसँग मुगुको ह्यांग्लु गाविसको बिना गाउँ पुगेँ। हुम्ला कर्णाली र मुगु कर्णालीको मिलनपछि बग्ने नदीले समात्ने मुगुपट्टिको पहिलो गाउँ बिना। यो गाउँ बाजुरा जिल्लाको सिमानामा पर्छ। हुम्ला ३० मिनेट पैदलयात्रामा भेट्टाउन सकिन्छ। कर्मचारी त विरलै पुग्ने ठाउँमध्ये एक हो बिना।
सातादिन अगाडिको एउटा समाचार दिमागमा ताजै थियो। थप जान्ने इच्छा थियो। होटलमा बेलुकी खानासँगै कुरा उठाएँ। होटलका साहुजीले संक्षिप्त घटना सुनाए-
परीलाल (नाम परिवर्तन) ले करिब २०० भेडा ऊ त्यो डाँडाको काखमा (पहाडतिर औंला तेर्स्याउँदै) रहेको आटी (घरदेखि टाढा अस्थायी बसोबास गर्न बनाएको घर जहाँ विशेषगरी गाईवस्तु पालिन्छ) मा राख्थे। ससुरालीका पनि केही भेडा थिए। त्यो दिन खाना पकाउँदै गर्दा आगो सल्केछ। पूरै भेडा सखाप भए। सँगै परीलाल पनि। बिहे गरेको वर्ष दिन पनि भउको थिएन। श्रीमती कति दिन अचेत थिइन्। उनको हालत देखेर सबैले याद गरिरहेका थिए। तै हुने कसले रोक्न सक्छ र। एक दिन चर्पी जान्छु भनेर कर्णालीमा हाम फालिन्।
समाचारले कहाँ दुखाएको थियो र! होटल साहुजीका शब्दले मनमा सन्नाटा छायो।
गाउँका दुःख!
यो ठाउँ माछाका लागि प्रसिद्ध थियो। १२० रुपैयाँ किलोमा बग्दो पानीको असला जातको माछा। बिहानीको कार्यक्रममा त्यही माछा खुवाउने निधो गर्यौं। राष्ट्रिय खाजा चाउचाउसँगै।
चेतनाका विभिन्न शिर्षकमध्ये लघु-जलविद्युतबारे मेरा भनाइ राख्नु थियो। त्योअघि सहभागीलाई एउटा प्रश्न सोधेँ। विद्युत घरमा प्रवेश गर्नु अघिको पानी र प्रवेशपछिको पानीमा के फरक छ?
सहभागी पिच्छे फरक उत्तर आए पनि अधिकांशको आशय एउटै थियो, विद्युत उत्पादनपछि पानी शक्तिहीन र गुणस्तरहीन हुन्छ। पिउन र सिचाइँ गर्न उपयुक्त हुँदैन। केही काम लाग्दैन।
हामी आधुनिक भयौं भनेर जति भने पनि त्यो सबै सहरी समाज र राजधानी वरिपरि मात्र सीमित छ। ग्रामिण समाजको अवस्था ज्यूँका त्यूँ। यो भनेर फेरि हामी गाउँबाट अलग रहन कहाँ सक्छौं र!
२०७२ को दसैंको निम्तो आइसकेको थियो। म हुम्ला-सिमिकोटदेखि मुगु हुँदै कालिकोट मान्मसम्मको १४ दिने यात्रामा निस्केँ।
पहिलो जहाजबाट काठमाडौं छोडेँ। दोश्रोबाट नेपालगञ्ज छोड्न पर्खिरहेको थिएँ, हुम्लाका लामा दाजुसँग चिनजान बढ्यो। लामा दाजु यार्सागुम्बा टिप्न जानेमध्ये एक रहेछन्। पर्स निकालेर एउटा मलाई उपहार दिए। म पनि हत्तपत्त नपाउने यार्सा कहाँ छाड्दो हुँ।
लामा दाजु घर फर्किन लागेका रहेछन्। उनीसँग तेल, चिनी जस्ता सामान धेरै थिए। जहाजमा अनुमति १५ किलो मात्र। मसँग एकाध जोर कपडाभन्दा अरू थिएन। उनको भार लिइदिएँ। उनी खुसी भएर घर आउने निम्तोसँगै फोन नम्बर दिए। छुट्नेबेला हात हल्लाउँदै मुस्कानसहित विदा भए। दुःखको कुरा उनको घर र मेरो बाटो फरक। फेरि भेट्ने संजोग जुरेन।
सिमकोट कार्यालयमा जानकारी आदानप्रदानसँगै बिहानी पखबाट मेरो पैदल यात्रा सुरू भयो। सिमकोट नजिकै बरगाउँमा लामा थरका कार्यालय सहयोगीको घर रहेछ। खाना त्यहीँ खाने निधो भयो।
हाम्रो टेबलमा उमा (राम्ररी पाक्नुअघिको गहुँ) को एक गिलास झोलले स्वागत भयो। बिहान ८ मात्र बज्दै थियो। चिया खाने बेलामा उमाको झोल!
अक्कबक्कमै केही छिन बित्यो। अन्तत गिलास रित्यायौं। मैले दुईपटक, सँगैको साथीले त चार पटक हो क्यारे।
रोटी खाएर बाटो लाग्यौं। जति बाटो अघि बढ्छ, मन भने पछि पर्दै गयो। उमाको झोलले हामीलाई तानिरहेको थियो। उत्कृष्ट ब्राण्ड भन्दै खाइएका मदिरालाई उमाले मात दियो। उमाको रमझममा कहिले खुट्टा खोच्याउँदै त कहिले पाछेको कापमा औषधि लगाउँदै सिमकोट छाडेको तेस्रो दिनमा दार्मा गाविस पुग्यौं।
सडक निर्माण तीव्र भइरहेको देखिन्थ्यो। केही कामदार हुम्ला कर्णाली छेवैमा अजंगको चट्टान फुटाउँदै थिए। परम्परागत औजारको सहयोगमा। मेरो मस्तिष्कमा असम्भव लाग्ने बाटो सम्भव तुल्याउँदै थिए उनीहरू। दैनिक पारिश्रमिक ५०० रुपैयाँ मात्र लिएर। उनीहरूको औसत उमेर २५ वर्ष नकटेको हुँदो हो। दिनभर ढुंगामाटोसँग कुस्ती अनि रात परेपछि चिसोसँग लड्न मुढाको रापसँगै एक बोतल।
दिनभरको थकान मेटायो, भोलि फेरि ढुंगा फोड्नु त छँदैछ।
उनीहरू सबैजसो कालिकोट सदरमुकाम मान्मबाट पश्चिमतिर देखिने लालु गाविसका दलित समुदाय रहेछन्। लालु योगी नरहरिनाथको जन्मस्थान हो। यही लालुमा जन्मेका व्यक्ति पर्यटनमन्त्री पनि भए। तर लालु केही भएन। जस्तो थियो त्यस्तै रह्यो। अरूका तुलनामा झनै पिछडियो।
म कालिकोट पुगेको सातादिनमै समाचार पढेँ। हुम्ला सडक निर्माणमा खटिएका दुई जना कामदारको आगोमा पोलिएर ज्यान गयो। अरू दुई जनालाई उपचारार्थ नेपालगञ्ज लगियो।
आफ्नो भविष्य र देश बनाउन हिँडेका यी लक्का जवानको जमातमा कतिले यसरी ज्यान गुमाउँदा हुन्। दिनभर ढुंगामाटो, रात परेपछि रक्सी र कालो धुँवाको मुस्लोरुपी आगो।
कर्णालीको औसत आयू चर्चित पुस्तक 'चाँदीको घेरा' मा भनिए झैं ४६ वर्षभन्दा कसरी धेर होस्!