कमल थापाजी,
दोस्रो संविधानसभाको चुनावका दौरान फिल्ड रिपोर्टिंङबाट फर्केपछि मैले
‘राजनीतिमा धर्मको आगो’ भन्ने लेख लेखेको थिएँ। तपाईँले आफ्नो फेसबुकमार्फत सो लेखमाथि सार्वजनिक
टिप्पणी गर्नुभएको थियो। टिप्पणीमा तपाईँले कतिपय पेचिला मुद्दा उठाउनु भएकाले प्रति–टिप्पणीका रूपमा मैले फेरी सार्वजनिक जवाफ लेखेँ।
झन्डै २० महिना पछि त्यो
पत्र पुनर्लेखन गरेको छु। विषय पुरानै हो, सन्दर्भ नयाँ छ। आफ्नो राजनीति उकास्न अन्य बाटो नदेखेपछि धर्मको आड लिने ‘राजनीतिकर्मी’ थपिएका छन्। कांग्रेसमा खुमबहादुर खड्कापछि एमालेको ठूलै पंक्ति धर्म निरपेक्षताको विपक्षमा उभिन थालेको छ।
म भने मेरो पुरानै धारणामा अविचलित छु, र विश्वस्त छु आम नेपालीको विवेकले राजनीतिमा धर्मको संक्रमणलाई अन्तत: परास्त गर्नेछ। दोस्रो संविधानसभाको चुनावमा पनि नेपालीले त्यही विवेक प्रयोग गरेका हुन् भन्ने मेरो विश्वास छ।
पुरानो सन्दर्भ नटुटोस् भनेर मैले फेरि पनि सजिलोका लागि तपाईँको टिप्पणीका थुप्रै अंश जस्ताको तस्तै उतारेर ती माथि मैले अघिल्लो पटक लेखेका प्रतिक्रिया सिलसिलाबद्द गरेको छु। पत्रको बिचमा केही नयाँ कुरा थपेको छु। र अन्त्यमा अहिलेको सन्दर्भमा मेरा टिप्पणी थपेको छु।
हाम्रा पाठकलाई पढ्न सजिलो होस् भनेर तपाईँको टिप्पणीको पूर्ण पाठ मेरो जवाफको अन्त्यमा जस्ताको तस्तै राखेको छु।
‘अमितजी, तपाईँको लेखमा पूर्वाग्रह, सनातन धर्मप्रतिको अनभिज्ञता र हिनभाव स्पष्ट देख्न सकिन्छ।’
तपाईँले सुरु गरेको धर्मको राजनीतिप्रति मेरो खुल्लमखुल्ला असहमति र विरोध हो। जहाँ खुल्ला असहमति र विरोध रहन्छ, त्यहाँ पूर्वाग्रहको प्रश्नै रहन्न। जहाँसम्म सनातन धर्मप्रतिको अनभिज्ञताको प्रश्न छ, मलाई सनातन धर्म र अरू कुनै पनि धर्मबारे धेरै ज्ञान छैन। म धर्मबारे अध्ययन र अनुसन्धानमा रूचि भएको मानिस होइन। त्यसको अर्थ म धर्मप्रति अनास्था भएको वा धार्मिक समुदायप्रति किञ्चित मात्रामा पनि हेयभाव राख्ने मानिस भने होइन। म सनातनी हिन्दु धर्मालाम्वी हुँ। यति हो, व्यक्ति वा समुदाय प्रतिको मेरो आदरभाव ऊ कुन धर्म मान्छ भन्नेले निर्धारित गर्दैन। पूर्वीय दर्शन र संस्कृतिका विविध आयामप्रति मलाई अभिरुचि छ। त्यसका कतिपय पाटाले मलाई गहिरोसँग छोएको म अनुभूत गर्छु।
तर म धर्मलाई मानवीय र सामाजिक कोणबाट पनि हेर्छु। यसरी हेर्दा म सबै धर्म बराबर ठान्छु। एउटा धर्म अर्को धर्मभन्दा राम्रो वा नराम्रो हुन्छ भन्ने विश्वास गर्दिन। त्यसैले एउटा धर्ममाथि गर्व गर्ने वा अर्को धर्मप्रति हिनभाव राख्ने कुरै भएन।
मानिसको रूप, रङ, जात र धर्म तुलनाका विषय होइनन् भन्ने मेरो गहिरो बिश्वास छ। तिमीभन्दा म राम्रो, तिम्रो जातभन्दा मेरो जात राम्रो, तिम्रो धर्मभन्दा मेरो धर्म राम्रो, तिम्रो रङभन्दा मेरो रङ राम्रो भन्नु असामाजिक र असहिष्णु सोच हो।
रंगभेद, जातिभेद र धर्मभेदलाई आधुनिक समाज र राजनीतिमा कुनै पनि स्थान हुनुहुन्न। त्यसकारण तपाईँले उठान गरेको धर्मको राजनीतिसँग मेरो विमति हो।
‘बिनाकारण, जनताको अभिमतबिना एवं वैधानिक विधि र प्रक्रिया नै नपुर्याई नेपालको हिन्दु राष्ट्रको पहिचान समाप्त गर्नुचाहिँ धर्मको राजनीति नहुने अनि ९४ प्रतिशत जनताको आस्था र पहिचानको रक्षाको निमित्त आवाज उठाउँदा राजनीतिमा धर्मको आगो झोसेको ठहरिने तपाईँको तर्क विडम्बनापूर्ण छ।’
थापाजी, धर्मको राजनीति कहिले र कसले सुरू गर्यो भन्ने तपाईँलाई राम्ररी हेक्का हुनुपर्छ। म तपाईलाई इतिहासको स्मरण गराउन चाहन्छु।
२०१७ सालमा राजा महेन्द्रले बिपी कोइरालाको जननिर्वाचित सरकार विघटन गरेर सैनिक कुमार्फत सत्ता आफ्नो हातमा लिए। २०१५ सालको संविधान खारेज गरेर २०१९ सालमा पञ्चायती संविधान जारी गरे। २०१५ सालको संविधानमा हिन्दु राज्यको अवधारणा थिएन। तेस्रो संशोधन मार्फत् उनले २०१९ सालको संविधानमा हिन्दु राजतन्त्र लेख्न लगाए।
महेन्द्रले सुरू गरेको पञ्चायती व्यवस्था र २०१९ सालको संविधानको उद्देश्य प्रष्ट थियो– एउटा धर्म, एउटा भाषा, एउटा भेष, एउटा संस्कृति र एउटै राजनीतिक दर्शनमा आधारित एकल समाजको निर्माण गर्ने र त्यो एकल समाजको केन्द्रमा हिन्दु राजतन्त्र रहने। महेन्द्रलाई संविधानमा हिन्दु राजतन्त्र लेख्ने मन्त्र सुझाएका थिए डा. तुलसी गिरीले। बिजयकुमार पाण्डेले सेतोपाटीमा
लेखेको लेखमा डा. गिरीले यो कुरा ‘रेकर्ड’ मा भनेका छन्। पाण्डेको लेखको त्यो अंश तल उदृत गरेको छु।
‘नेपाललाई हिन्दु राष्ट्र घोषित गर्न लगाउने मानिस म नै हो। राजालाई मैले नै त्यो आइडिया दिएको हुँ विजयबाबु,’ ढुक्कसँग डा. गिरिले मलाई भने शुक्रबार बिहान।
किन त्यसो गराउनु भयो डा'साब?
‘२०१७ सालको कदमपछि नेहरूजीको सरकार हामीसित त्यति खुसी थिएन। मैले सोचेँ- भारतमा त्यतिका हिन्दु छन् तर भारत हिन्दु राष्ट्र होइन। नेपाल भयो भने हामीप्रति सद्भाव बढ्छ, राजनीतिक फाइदा पनि हुन्छ। त्यसबाहेक अर्को कारण निजी थियो। म राष्ट्रिय स्वयंसेवक संघको पृष्ठभूमिबाट आएकाले त्यसको पनि अलिकति प्रभाव थियो। तर मूल कारण राजनीतिक नै थियो।’
हिन्दु धर्म प्रतिको लगाव वा प्रेमले हैन बिशुद्द राजनीतिक जोड घटाउका आधारमा राजा महेन्द्र र डा. गिरीले संविधानमा धर्म घुसाएका थिए।
थापाजी, तपाईँको राजनीतिक उठान पञ्चायतकालमा दरबारको छत्रछायाँमा भएको हो। तपाईँ यो राजनीतिक घटनाक्रमसँग निश्चित रूपमा अनभिज्ञ हुनुहुन्न। अब भन्नुहोस्, धर्मको राजनीति कसले सुरू गर्यो?
संविधानमा हिन्दु राज्य लेखिएको कुरालाई बिपी कोइरालाले उतिबेलै नागरिकमाथिको ‘फ्रड’ भनेका थिए। २०४७ सालको संविधान लेख्नेबेलामा एमालेको धारणा राज्य धर्मनिरपेक्ष हुनुपर्छ भन्ने थियो।
२०४७ को संविधान राजतन्त्र र प्रजातान्त्रिक शक्तिबीचको सम्झौताको संविधान थियो। कांग्रेसले दरबारसँगको तत्कालीन शक्ति सन्तुलनलाई ध्यानमा राखेर संविधानमा हिन्दु राज्य राख्न एमालेलाई मनाएको हो।
२०६२-६३ सालको दोस्रो जनआन्दोलनपछि राजतन्त्रले घुँडा टेक्यो। देश गणतन्त्रउन्मुख भइसकेको थियो। पुनर्स्थापित अन्तरिम संसदमा पार्टीहरूले त्यही ऐतिहासिक, राजनीतिक-सामाजिक चेत समातेर धर्म निरपेक्ष राज्य घोषणा गरेका हुन्। धर्ममा राजनीति गरेका होइनन्। २०१९ सालमा महेन्द्रले मिसाएको धर्मलाई राजनीतिबाट अलग गरेका हुन्। तपाईँले भने जस्तो, विदेशीको षडयन्त्रमा धर्मनिरपेक्ष घोषणा गरेका पनि होइनन्।
जहाँसम्म ‘९४ प्रतिशत जनताको आस्था र पहिचानको रक्षाको निमित्त आवाज उठाएको’ कुरा छ, यो तथ्याङ्क कहाँबाट के सन्दर्भमा आयो प्रस्ट छैन। इस्लाम, क्रिस्चियन, किराँत र बुद्ध धर्मावलम्वीहरुको आस्था र पहिचान हिन्दु धर्म पक्कै होइन।
आफैं सनातन धर्मावलम्वी हिन्दु भए पनि म मेरो पहिचान धर्म वा हिन्दु राज्यमा खोज्दिनँ। दोस्रो संविधानसभाको चुनावमा बहुसंख्यक हिन्दुले पनि तपाईंलाई भोट नदिएर आफ्नो धार्मिक पहिचानको राजनीतिक उपयोगसँग असहमति राखेका हुन्। भलै त्यसको उपयोगका लागि तपाईँले प्रयत्न जारी राख्नु भएकै छ।
‘हामीले धर्मको आधारमा राज्य सञ्चालन वा धार्मिक राज्य माग गरेका होइनौं। धार्मिक स्वतन्त्रता र सनातन हिन्दु राष्ट्रको पहिचान सँगसँगै रहन सक्दछ।’
थापाजी, तपाईँ एकल जातीय पहिचानमा आधारित संघीयताको कट्टर विरोधी हुनुहुन्छ। यस्तो संघीयताका पक्षधरहरूले पनि आफूले जातीय राज्य मागेको होइनौं भनेका छन्। हैनन् पनि। उनीहरूको माग निश्चित भूगोलमा धेरै संख्यामा बस्ने खास जातिको पहिचानको सम्मान गर्न त्यो जातिको नाममा प्रदेश नामाकरण गरौं भन्ने हो। यस्तो प्रदेशमा अरू जात–जातिको अधिकार र स्वतन्त्रता रहन्छ भन्ने उनीहरूको पनि तर्क रहिआएको छ। यस अर्थमा, तपाईँ र उनीहरूको तर्क एउटै छ।
तपाइँ सही हुनुहुन्छ भने एकल जातीय पहिचानका आधारमा प्रदेशहरुको नामकरण गर्न माग गर्ने पद्मरत्न तुलाधरहरु पनि सही छन्। तपाई सहि र उनीहरु गलत हुन सक्दैनन् जसरी उनीहरु सही र तपाई गलत हुन सक्नुहुन्न।
कि तपाईँहरू दुवै सही वा दुवै गलत हुनुहुन्छ।
हिन्दु राज्यको माग गर्ने तपाईँलाई जातीय आधारमा प्रदेशको नामाकरण गर्नेहरूको विरोध गर्ने नैतिक अधिकार छैन, जसरी जातीय आधारमा प्रदेशको नामकरण गर्नुपर्छ भन्नेहरुलाई हिन्दु राज्य राख्नु हुन्न भन्ने नैतिक अधिकार छैन।
म बहुजातीय समाजमा राज्यको धर्म र जात हुनुहुन्न भन्ने मान्यता राख्छु। यहाँ प्रश्न अरु धर्मावलम्बी र जातिको अधिकार र स्वतन्त्रताको मात्र हैन, उनीहरूको आत्मसम्मान र अपनत्वको हो। राज्यले एउटा धर्म र जात ग्रहण गरेपछि अरू जाति र धर्मावलम्बीले कसरी त्यो राज्य/प्रदेशप्रति अपनत्व महसुस गर्छन्?
‘संसारमा ६० भन्दा बढी देश इसाई धर्म सापेक्ष छन्, ४० भन्दा धेरै देश इस्लाम धर्म सापेक्ष छन्। ती राष्ट्रहरूमा धार्मिक स्वतन्त्रता हनन् नहुने अनि नेपाल विश्वको एक मात्र हिन्दू राष्ट्रभन्दा धार्मिक स्वतन्त्रता हनन हुने,’ यो तर्क आधारहीन छ।
हो, संसारका केही मुलुक धर्म सापेक्ष छन् र धेरै धर्म निरपेक्ष। केही अपवादबाहेक संसारका सम्वृद्ध र लोकतान्त्रिक मुलुकहरु धर्म निरपेक्ष छन्। जस्तै, जापान, दक्षिण कोरिया, भारत, चीन, अष्ट्रेलिया,क्यानडा, अमेरिका, इटाली, नेदरल्याण्ड, स्पेन, स्विडेन, सिंगापुर,ब्राजिल, साउथ अफ्रिका, र स्विजरल्याण्ड।
तपाईं र तपाईंका धेरै समर्थकले अमेरिका जस्तो देशमा पनि राष्ट्रपतिले बाइबल छोएर पदको सपथ खान्छ भन्ने तर्क गर्नेगरेका छन्। ठीक हो, अमेरिकामा क्रिस्चियन राष्ट्रपतिले बाइबलको नाममा सपथ खालान्। त्यो आफ्नो आस्थाको कुरा भयो। भोलि गैर-क्रिस्चियन राष्ट्रपति भयो भने उसले आफ्नै तरिकाले सपथ खानेछ। तपाईंका धेरै समर्थकले दावी गरेजस्तो अमेरीकामा क्रिस्टियन मात्र रास्ट्रपति बन्न पाउछन भन्ने सहि होइन। कुनै पनि धार्मिक आस्था भएको व्यक्ति त्यहाँ राष्टपति बन्न पाउछ। अमेरिकी संविधानको धारा ६ ले यो व्यवस्था प्रष्टसंग गरेको छ।
सार्वजनिक समारोहमा अर्को पटक अमेरिकाको उदाहरण पेश गर्नुअघि तपाईंले ख्याल गर्ने पर्ने विषय अर्कै छ। अमेरिकाको संविधान जारी गर्ने बेलामा त्यसका निर्माताहरु धर्म र राज्यलाई अलग राख्ने कुरामा यतिसम्म प्रतिबद्द थिए, उनीहरुले संविधानमा जिजस क्राइस्ट त के कुरा ‘गड’ (भगवान) भन्ने शब्दसम्म कहिँ राखेनन्। धर्म भन्ने शब्द पनि धर्महरु बीच भेदभाव नगरिने प्रसंगमा मात्र आएको छ। यो उनीहरुको सचेतपूर्ण निर्णय थियो।
धर्म र राजनीति मिसियो भने त्यसले मुलुकलाई अस्थिर पार्छ र पछाडि धकेल्छ भन्नेमा अमेरिकाका राजनेताहरु प्रष्ट थिए। धेरैजसो धर्म सापेक्ष मुलुकहरू अस्थिरता र पछ्यौटेपनको सिकार भएका छन्। धार्मिक कट्टरता वा धार्मिक विवाद भएका मुलुकहरू त झन संकटग्रस्त नै छन्।
हाम्रो राज्य धर्म सापेक्ष रहनु पर्छ कि धर्म निरपेक्ष भन्ने सवालको निर्क्यौल अरु मुलुकमा के छ भनेर तय गर्ने होइन। हाम्रो समाजको धार्मिक बनोट हेरेर गर्ने हो। बौद्ध, इस्लाम, इसाई, किराँतलगायका धर्म मान्ने समुदाय रहेको मुलुकले एउटा खास धर्म ग्रहण गर्नुहुन्न र राज्यको जात वा धर्म बहुमतले निर्णय गरिनु हुन्न। धर्म निरपेक्षताको सार भनेको अल्पमतमा रहेका धर्म र संस्कृतिको पनि समान सम्मान गर्ने भन्ने हो।
‘सृष्टिको प्रारम्भदेखि नै कायम रहेको सनातन, आर्य एवम् वैदिक मान्यताले सबै धार्मिक आस्थाहरूसँग सहकार्य र सद्भाव कायम राख्दै आएको तथ्य गत ४ हजार वर्षको सांस्कृतिक इतिहासले प्रमाणित गरेको सत्य हो।’
यी माथिका हरफहरु धेरै हचुवा छन् । धर्म र मानव जातिको सृष्टि सगँसँगै भएको होइन। धर्म धेरैपछि आएको ‘इन्स्टिच्युसन’ हो। आर्य एवम् वैदिक मान्यता पनि मानव सृष्टिभन्दा धेरै पछिका अवधारणा हुन्। पछिल्लो ४ हजार वर्षहरूमा भारतवर्षमा विभिन्न धर्म र धार्मिक मान्यताबीच ठूलो टकराव भएको छ। उथलपुथल भएको छ। त्यसैले विगत ४ हजार वर्षको धार्मिक सद्भावको दाबी तपार्इँले नगर्नु नै बेस हुन्छ।
‘धर्म निरपेक्षता ‘सेक्युलरिज्म’ होइन, यो फरक पनि बुझ्नु जरूरी छ। धर्म निरपेक्षता हाम्रो प्राचीन धार्मिक सांस्कृतिक, पहिचान समाप्त गरी विदेशी धर्म र संस्कृति स्थापित गर्ने दीर्घकालीन षड्यन्त्र हो भन्ने अब बुझ्न कठिन छैन।’
सेक्युलरिज्मको ‘डिस्कोर्स’ धेरै फराकिलो छ र यसलाई कसरी परिभाषित गर्ने भन्नेबारे अलगअलग अवधारणा पाइन्छन्। त्यसमा विविधता त विवाद छ। यति हुँदाहुँदै एउटा कुरामा दूईमत छैन– सेक्युलरिज्मको दर्शनमा धर्मको सापेक्षतालाई कुनै स्थान रहन्न। सरल ढंगले भन्दा, सेक्युलरिज्मको सार तत्व भनेको राज्य र राजनीतिक निर्णयमा धर्मको प्रभाव नरहोस् भन्ने हो।
तपाईँले भने जस्तो धर्म स्वदेशी र विदेशी भन्ने पनि हुन्न। धर्मको राष्ट्रियता (नेसनालिटी) हुन्न।
हिन्दु धर्म नेपाली धर्म हो भन्ने हो भने भारत र विश्वका अरू मुलुकमा बसेका हिन्दुहरूले मान्ने धर्म कुन देशको हो? कि उनीहरूले विदेशी धर्मको पालना गरेको ठान्छन्?
नेपालमा नेपाली क्रिश्चियनहरूलाई लक्षित गरेर ‘विदेशीको धर्म मान्ने’भन्ने गरिएको छ। धर्म छान्न पाउनु, परिवर्तन गर्न पाउनु मानिसहरूको नैसर्गिक अधिकार हो। धर्म परिवर्तन गराउनु भने गलत हो। तिम्रो धर्मभन्दा मेरो धर्म राम्रो, मेरो धर्म मान्यौं भने तिमीले दुःखबाट मुक्ति पाउँछौं भन्नु असहिष्णुता र संकीर्णता कै अर्को पाटो हो। त्यसरी नै, हिन्दु धर्म स्वदेशी धर्म र नेपालमै मानिने अरू धर्म विदेशी भन्नु संकीर्ण मान्यता हो।
नेपालमा तर्क, लोभ, लालच सबै उपयोग गरेर घर-घरमा गई धर्म परिवर्तन गर्ने मिसनेरीहरुका कारण हिजोसम्म आफ्नो धार्मिक पहिचान बारे खासै वास्ता नगरी बसेका ‘मोडरेट’ हिन्दुहरु पनि आज आक्रोशित देखिएका छन्।अहिलेको संविधानको मस्यौदामा पनि धर्म परिवर्तन गराउन नपाइने प्रष्टसँग उल्लेख छ। त्यसलाई कडा कानून बनाएर निरुत्साहित गरिनुपर्छ। घरघरमा गएर धर्म परिवर्तन गर्नेहरु दण्डित गरिनुपर्छ। त्यसमा शून्य सहनशीलता जरूरी देखिएको छ।
थापाजी, हिन्दु धर्ममाथि भैरहेको हस्तक्षेप तपाईको मूल चासो भएको भए यस्तो कानूनको निर्माण र लागू गराउने कुरामै तपाईं केन्द्रित हुनुहुन्थो। तर, राजा महेन्द्रको जस्तै तपाईंको पनि मूल ध्येय धर्मका नाममा आउने राजनीतिक लाभनै हो।
पछिल्ला दिनहरूमा तपाई ज्यानको खतरा मोलेरै भएपनि त्यो लाभ उठाउन तल्लिन देखिनु भएको छ। संविधानको मस्यौदामा सुझाव संकलन गर्ने कार्यको बहिष्कार गर्ने घोषणा तपाईको पार्टीले पहिल्यै गरेको हो।
बहिष्कार गरिसकेपछि तपाईका कार्यकर्ता हिजो (मंगलबार) हेटौडामा सभासदहरुले सुझाव संकल गरिरहेको स्थलमा किन गए? दलबलसहित तपाइँ किन जानुभयो? तपाईँले सुझाव संकलन बहिस्कार गर्नुभयो, ठीक छ त्यो तपाईको अधिकारको कुरा भयो। तर अरुले पनि सुझाव दिन वा लिन नपाउने?
सुझाव संकल भइरहेको स्थानमा दलबलसहित पुगेर भाँडभैलो मच्चाउन तपाईले किन खोज्नु भयो?
कसैमाथि पनि गरिने संघातिक आक्रमणको, कुनै पनि प्रकारको हिंसाको म विरोधी हुँ। त्यस अर्थमा सभासद गणेश थापामाथि अरु राजनीतिक पार्टीका कार्यकर्ताले गरेको आक्रमणप्रति मेरो पूर्ण बिरोध छ। म थापाको शीघ्र स्वस्थ लाभको कामना गर्छु। आक्रमणकारी माथि कारबाही होस् भन्ने चाहन्छु ।
थापाजी, तर तपाईँहरूकै अग्रसरता र नेतृत्वमा निम्तिएको त्यो झडपको नैतिक जिम्मेवारी तपाईँको हुन्न र? जिम्मेवारी बहन गर्नुको सट्टा तपाईँको पार्टीले आज विभिन्न जिल्लामा बन्द आव्हान गरेको छ। बिहानैदेखि तपाईका कार्यकर्ता बन्द गराउन तल्लिन छन्।
डेढ वर्षअघि दोस्रो संविधान सभाको चुनाव घोषणापत्रमा तपाईँको पार्टीले गरेको कहिल्यै बन्द नगर्ने प्रतिबद्दता यति चाँडै कुल्चिनु भएको छ। राजनीतिज्ञले नागरिकसँग गरेको बाचालाई गम्भीरतापूर्वक लिन्छन्, 'राजनीतीकर्मी'हरू आफ्नो फाइदाका लागि बाचा गर्छन् र कुल्चिन्छन्। बिडम्बना, तपाईँजस्तै राजनीतिकर्मीहरुले हाम्रो राजनीति भरिएको छ।
अन्त्यमा, धर्म मानिसको निजी मामला हो। र, यसलाई निजी दायरामै सीमित राख्नुपर्छ। धर्मलाई राजनीतिक करियरको सिँढी बनाउनुहुन्न भन्नेमा म दृढ छु। धर्म र जातको राजनीतिक सिँढी धेरै दिन टिक्दैन भन्ने विवेक नेपालीहरुलाई छ भन्नेमा पनि म विश्वस्त छु- नजिकको छिमेक भारतमा लालु यादवको जातिवादी राजनीतिको सिँढी अन्तत: मक्किएर गयो। बिजेपी धर्मको सिँढी छोडेर विकासको सिँढी चढ्न बाध्य भयो।
तपाईं पनि ढिलो चाँडो त्यो सिँढी छोड्न बाध्य हुनुहुनेछ। हामी नेपालीले इतिहासको धेरै कालखण्ड फजुल रूपमा खर्चेका छौं। चाहे त्यो राणा शासन होस् वा शाही शासन वा ‘जनयुद्व’। मलाई विश्वास छ, धर्मको राजनीतिक क्षति ब्योहोर्ने समय हामीसँग अब छैन।
जति चाडो तपाईँले यो कुरा बुझ्नुहुन्छ, त्यति चाँडो तपाईँ र मुलुकको कल्याण हुनेछ।
तपाईँले हिँड्न चाहेको राजनीतिक बाटोको यति लामो आलोचना गरिसकेपछि पनि, म तपाईको व्यक्तिगत आचरण, निजी र सार्वजनिक जीवनमा तपाईँको आत्म–अनुशासन र सौहार्दपूर्ण ब्यवहारको प्रशंसक हुँ भन्ने दोहोर्याएर मात्र पत्र टुङ्ग्याउँछु।
तपाईको शुभेच्छुक।
थापाको टिप्पणी यस्तो थियो-
अमित जी, तपाइको लेखमा पुर्वाग्रह, सनातन धर्म प्रतिको अनभिज्ञता र हिनताभाव स्पष्ट देख्न सकिन्छ । बिना कारण, जनताको अभिमत विना एवं वैधानिक विधि र प्रकृया नै नपुराइ नेपालको हिन्दुराष्ट्रको पहिचान समाप्त गर्नु चांहि धर्मको नाममा राजनीति नहुने अनि ९४ प्रतिशत जनताको आस्था र पहिचानको रक्षाको निमित्त आवाज उठाउंदा राजनीतिमा धर्मको आगो झोसेको ठहरिने तपाइको तर्क विडम्वनापुर्ण छ ।
हामीले धर्मको आधारमा राज्य संचालन वा धार्मिक राज्यको माग गरेका होइनौं। धार्मिक स्वतन्त्रता र सनातन हिन्दुराष्ट्रको पहिचान संग संगै रहन सक्दछ । संसारमा ७० भन्दा बढि देश इसाइ धर्मसापेक्ष छन्, ४० भन्दा बढि देश इस्लाम धर्म सापेक्ष छन् । ती राष्टहरुमा धार्मिक स्वतन्त्रता हनन नहुने अनि नेपाल बिश्वको एक मात्र हिन्दुराष्ट्र बन्दा धार्मिक स्वतन्त्रता हनन हुने, यो तर्क पनि आधारहिन छ ।
एकंसत् विप्रहा बहुधा बदन्तिको मान्यतालाइ आत्मसात गर्ने सनातन धार्मिक मान्यता बिश्वकै सबै भन्दा उदार र सहिष्णु धार्मिक मान्यता हो । सृष्टिको प्रारम्भ देखि कायम रहेको सनातन, आर्य एवं वैदिक मान्यताले सबै धार्मिक आस्थाहरु संग सहकार्य र सदभाव कायम राख्दै आएको तथ्य गत ४ हजार वर्षको सास्कृतिक इतिहासले प्रमाणित गरेको सत्य हो । बिश्वकै सबै भन्दा प्राचिन एवं सम्बृद्ध सनातन मान्यताको यथार्थलाइ हृदयंगम गर्दै हिन्दु हुनुमा गौरव गर्न सिकौ । अरु धर्मका अनुयायिहरुले जस्तै स्वधर्मको सम्मान र रक्षा गर्न सिकौ । स्वधर्म प्रति गौरव गर्दा हिनतावोध गर्नु जरुरी छैन । धर्मनिरपेक्षता secularism होइन ,यो फरक पनि बुझ्नु जरुरी छ । धर्मनिरपेक्षता हाम्रो प्राचिन धार्मिक सांस्कृतिक पहिचान समाप्त गरि बिदेशी धर्म र संस्कृति स्थापित गर्ने दीर्घकालिन षडयन्त्र हो भन्ने बुझ्न अब कठिन छैन ।