राजनीति, धर्म र संविधान

चुनाव
  • Get News Alerts

tata

'मैले भनेको भन्दैमा तिमीले केही पनि मान्नु पर्दैन। हे भिक्षु! मेरा वचनलाई नाप, जोख, पानीमा डुबाऊ र आगोमा पोलेर पनि हेर। त्यसपछि विश्वास गर्न मन लागेछ भने तिम्रो मर्जी।' – गौतम बुद्ध

दोधारमा छु। सजिलो बाटो रोजेर अक्षरहरु फाली दिऊँ वा त्यसो नगरौँ?

एक मन त लाग्दैछ - पक्ष र विपक्ष दुवैलाई बराबर स्वाद लाग्ने, कसैलाई नबिझाउने सजिला, गुलिया शब्द कोचकाच गरेर पाना भरिदिउँ। बेकार किन आफ्नो टाउको दुखाउने? किन कसैलाई चिढाउने? नेपालमा सजिलो काम भनेकै नेतालाई गाली गर्नु हो।

यहाँ सजिलो थेगो भनेको ‘नेपालमा नेतै भएनन्, नेतै भएनन्’ जप्नु हो। यो थेगो गलत होइन, यो थेगो अकारण उत्पन्न भएको होइन। बिहान कुखुराको भालेसँगै कराउन सुरु गर्ने एफएम, टेलिभिजन, दैनिकका सम्पादक र हामी समिक्षकहरू भट्टयाउन सुरु गर्छौ- ए भन मेरा भाइ हो- नेतै भएनन् .... भन रे भन - नेतै भएनन्।

अगुवाहरुले भट्याउन सुरु गरेपछि  स्वनामधन्य विद्वान्‌को जत्था पनि होस्टेमा हैँसे गर्दै सही थप्छ– देउसी रे ... भट्याउनेको - देउसी रे .... नेपालमा नेतै भएनन् - देउसी रे।

मौसम अनुसार अगुवाहरूले जे भट्याउँछन्, त्यही लाइनमा ‘देउसी रे, देउसी रे’ गरे आफू पनि छापिने सम्भावना बढी हुन्छ भन्ने धेरैलाई थाहा छ।

केही साताअघि चिया पसलमा हामीहरु आफ्नो सनातन जप गर्दै थियौँ – नेपालमा नेतै भएन। नेतै भएन।

त्यतिकैमा चिया सर्भ गर्ने भाइ एकाएक अलि तीखो स्वरमा बोले- होइन हजुर, यो पसलमा जो  आउँछ एउटै कुरा दोहोर्‍याउँछ। सुन्दासुन्दा मेरा कान पाकिसके। ‘नेतै भएनन्’ भन्ने कुरा त म नाथे पनि भन्न सक्छु। के तपाईंहरु मलाई बताउन सक्नु हुन्छ- नेपालमा नेता किन भएनन्? यो प्रश्नको उत्तर दिनुस् अनि मानौँला तपाईंहरुलाई।

प्रश्न सोध्ने भाइ हरिबहादुर तामाङ साधारण श्रमिक थिए। तर, उनले सोधेको प्रश्नले हामी सबैको मुखमा एकाएक बिर्को लगाइदियो।

सत्य कहिलेकाहीँ यति नग्न रुपमा प्रकट हुन्छ–जस्तोसुकै ढोङी मानिसलाई पनि आफैँसित लाज लागेर आउँछ।

जमघटमा हामीबीच एक यस्ता विद्वान् पनि थिए, जसले शान्तिप्रक्रिया, संविधान निर्माण र सुशासनका नाममा देशका सबै नामीगरामी राष्ट्रिय दैनिकहरु गरी गोडा लाख, डेढ लाख शब्द मिल्काइसक्नु भएको छ। दोस्रो जनआन्दोलनपछि कम्तीमा चार दर्जनपटक विदेश जाने विमानको सिट तताइसक्नु भएको छ। देशभित्रका गोष्ठी सेमिनारको त कुरै छाडौँ, सैकडौँ पेग बेलायतीसित नजाने कति बोरा बासमती चामल र कुखुराको रस बुत्याइसक्नु भएको छ।

त्यसैले, स्वाभाविक रुपले तामाङ भाइलाई उत्तर पनि उहाँले नै दिनुपर्छ भनेर सबैले उहाँतिरै हेरे। मित्रले नजर झुकाउनु भो। हामी मुस्कुरायौँ। श्रीमान् बुद्धिमान् लजाउनु भो। तर तत्काल सम्हालिँदै गाला रातो रातो पार्दै प्रत्याक्रमण गर्नु भो– मलाई त थाह भएन रे, मानेँ। तर के तपैँहरुमध्ये चै कसैलाई थाहा छ र? थाहा भए भन्नुस् नेपालमा नेता किन भएनन्?

त्यसपछि नजर झुकाउने पालो हाम्रो थियो। उत्तर त कसैसित पनि थिएन। हामीसँग पनि टुक्रेटाक्रे सूचना मात्र थिए, कुनै विचारपद्धति थिएन। अतः समष्टिगत उत्तर हुने कुरै भएन। हामीसित पनि थेगोभन्दा बढी केही थिएन। त्यसैले मुस्कुराउने पालो श्रीमान् बुद्धिमान्‌को थियो।

यो सब दृश्य हेरिरहेको तामाङ भाइ व्यङ्ग्यभावले हाँस्यो, ठूलो आवाजमा हाँस्यो। श्रीमान् बुद्धिमान्, सुश्री विदुषीलगायत हामी सबै एकैपटक लजायौँ। हाम्रो बौद्धिक हैसियतलाई तामाङ भाइले नग्न रुपमा देखेकाले सबै नजर झुकाउन बाध्य भयौँ।

म सोच्न थालेँ - हामीभन्दा त कयौँगुना श्रेष्ठ चिया सर्भ गर्ने भाइ  रहेछन्। कमसेकम तिनलाई आफ्नो अज्ञानताको क्षेत्रबारे कुनै भ्रम त छैन। आफूलाई के थाहा छ र के थाहा छैन भन्ने थाहा हुनु ठूलो गुण हो। तर आफूलाई बुद्धिजीवी समाजको अंश ठान्ने हामीलाई त यो पनि थाहा छैन कि हामीलाई के थाहा छैन। विद्या र बुद्धि हमेसा एकैसाथ नहिँड्न पनि सक्छन्। नेपालमा त प्राय: हिँड्दैनन् पनि।

केही समयअघि सीके लालले 'नेपाली बुद्धिजीवी र बौद्धिक' विषयमा आधारभूतरुपले केही मौलिक कुरा उठाएका छन्। सो अन्तर्वार्ता पस्केकोमा म उज्ज्वल प्रसाईँलाई अभिनन्दन गर्दछु। त्यसमा मेरा केही रिजर्भेसन छन् तर पनि प्रस्तुति मननयोग्य छ। त्यस विषयमा कुनै अर्को दिन छुट्टै चर्चा गर्नेछु।

प्रिय पाठक! कुनै सामान्यजनले यदि भन्छ- नेतै भएन। तब ठिकै भन्छ, दोष दिने कुनै ठाउँ छैन। किन भएन? भन्ने प्रश्नको उत्तर दिनु उसको काम होइन। क्षेत्राधिकारभन्दा बाहिरको विषय हो। तर जब यही प्रश्नको उत्तर हाम्रो 'बौद्धिक' जगत्‌ले दिन सक्दैन अथवा  राजनीतिक समाजशास्त्रका प्राध्यापक नजर झुकाउँछन् अथवा हाम्रा बडेबडे छापाका समीक्षक र सम्पादक लजाउँछन् भने सर्वसाधारणले बुझ्नैपर्ने हुन्छ – नेपाली जनतालाई  आमिर खानको पीके सिनेमाको ‘रङ नम्बर’ डायल गरिँदैछ। उल्लु बनाइँदैछ।

‘रङ नम्बर’ डायल गरेर आजसम्म कसले पो ‘राइट आन्सर’ फेला पारेको छ?  

अब उप्रान्त कसैले ‘नेपालमा नेतै भएन, नेतै भएन’ भन्ने राग लिखितम् वा बकितम्‌मा अलापेको थाह पाए, त्यो शास्त्रीय गायकलाई सोध्नुस् – किन भएन भन्न सक्नु हुन्छ?   

राजनीति वा समाजशास्त्रको ज्ञाता भएको दाबी गर्ने, विश्लेषक वा सम्पादक बनेर बस्ने तर यो सारभूत प्रश्नबाट भाग्ने  वा यस विषय राष्ट्रिय बहस नचलाउने हरकोही मेरो नजरमा ‘रङ नम्बर’ हो।  

यति पढ्नेबित्तिकै यो प्रसंगको कुनै ‘उखान टुक्के’ उत्तर दिएर हतारोमा विद्वताको प्रदर्शन नगर्न विद्वत् समाजलाई सादर अनुरोध पनि गर्छु। यो प्रश्नको उत्तर आफूलाई थाहा छ भन्ने मेरो दाबी होइन। टेलिभिजन प्रस्तोताका रुपमा काम गर्दा दुई-चारपटक यस विषयमा प्रश्न नउठाएको होइन तर सघनरुपले उठाउन सकिनँ। जुन घनत्वमा यो प्रश्न उठाउन पर्थ्यो, त्यो बाक्लोपनमा सकिनँ। यो प्रश्नको गुरुत्वबोध गर्नै जानिनँ। प्रश्न नै नउठाएपछि समाजले उत्तर पाउने कुरा पनि त भएन।  

मैले पनि सजिलो थेगो रोजे – नेतै भएनन्, नेतै भएनन्। किन भएन? भन्ने कठिन बाटोतिर म लागिनँ।     

तर अचेल यो प्रश्नबारे म सघन रुपले सोच्दैछु। यस सम्बन्धमा मेरा धारणाले आकार लिइसकेका छैनन् किनभने म अध्ययन मननकै क्रममा छु। म चाहन्छु- हामी सबै यस विषयमा गहरिएर सोचौँ।

* * *

नेताले देश बनाउँछ कि देश अनुसारको नेता हुन्छ? नेताले समाज बनाउँछ कि समाजले नेताको आचरण विकसित गराउँछ? जुन निर्वाचन प्रणालीमा हामी छौँ, के त्यो निर्वाचन प्रणालीबाट हामीले कल्पना गर्नेजस्तो आचरण भएको नेता निस्कन सक्छ?  के देशको राजनीतिक-आर्थिक-सामाजिक व्यवस्था, निर्वाचन प्रणाली र नैतिकताको मापदण्डलाई पर राखेर आकाश छुने नेता जन्मन सक्छ?

दशरथ रंगशालामा खेलेर  कुनै  म्याडोना वा मेसी  जन्मन सक्छ? केहीगरी त्यो क्षमता जन्मी हाले पनि टिक्न सक्छ? के त्यस्तालाई हामी टिक्न दिन्छौँ? नेता त धेरैलाई मान्यो नेपाली समाजले, तर एक्कादुक्का अपवादबाहेक दीर्घकालसम्म जनताको मनमा टिक्न कोही किन सकेनन् किन?

यी प्रश्नको उत्तर सजिलो छैन। राजनीतिको क्षेत्रभित्र मात्र यी प्रश्नको उत्तर खोजे खण्डित उत्तर मात्र पाइन्छ। किनभने प्रश्न राजनीतिक नेतृत्वका बिषयमा मात्र सीमित छैन। नेपाली राजनीतिलाई अर्थशास्त्रीय र  समाजशास्त्रीय दृष्टिकोणबाट पर राखेर गरिने हर विश्लेषण ‘टुक्रे’ हुन्छ। सतही हुन्छ। र, अपूरो हुन्छ।    

समाज निर्माणका निम्ति  राजनीतिमा मात्र होइन, हर क्षेत्रमा नेतृत्वदायी भूमिकाको दरकार पर्छ। मिडिया पनि त्यसको अपवाद हुन सक्दैन।  राजनीति मुख्य हो तर  बाँकी सबै क्षेत्रको नेतृत्व हैसियत पनि कतै न कतै एकआपसमा जोडिएकै हुन्छन्। एउटाको गुणस्तरले अर्कोलाई प्रभावित गरिरहेकै हुन्छ।  

जस्तै, मिडियाले कुन विषय वा एजेन्डाको बहसलाई प्रोत्साहित गरिरहेको छ वा छैन भन्ने तथ्यबाट मिडिया नेतृत्वको आफ्नै हैसियत र कद पनि झल्किरहेको हुन्छ।   

धेरैले भन्छन्- नेपालमा मिडियाको अकल्पनीय विकास भएको छ।

म ‘हो हो’ भन्दै सही थप्न सक्दिनँ। म वाक्यमा संशोधन प्रस्ताव राख्न चाहन्छु- नेपालमा मिडियाको जति विस्तार भएको छ, त्यो अनुपातमा विकास भएको छैन।

कुनै पनि कुरा विस्तार हुँदैमा विकास हुनैपर्छ भन्ने जरुरी छैन। टाउको जत्राको त्यत्रै रहने, जिउ मात्रै मोटाउँदै जाने हो भने त्यसलाई सन्तुलित विकास मान्ने कि नमान्ने?

सोरेन किर्कगार्डको तीखो कथन छ– मानिस विचारको स्वतन्त्रता हासिल नगरी वाक् स्वतन्त्रताको माग गर्छन्। जटिलताको सुरुवात यहीँबाट हुन्छ।

एक उदाहरण, आज देश यो हालतमा पुग्नुका पछाडि राजनीतिक नेतृत्व सबैभन्दा जिम्मेवार छ भन्ने कुरा सन्देहरहित छ । तर यो प्रसंगमा हाम्रो बौद्धिक, वैचारिक  मिडिया नेतृत्व पनि आ-आफ्नो भागमा पर्ने दोषबाट मुक्त हुन पाउँदैन। हामी पत्रकार राजनीतिक नेताहरुलाई ‘राष्ट्रिय हितका विषयमा राजनीतिभन्दा माथि बस्नुपर्छ’ भन्ने उपदेश त रातदिन दिन्छौँ तर आफैँ त्यसो गर्न सक्दैनौँ। किन?   

‘नेपालको राष्ट्रिय हित’ भनेको के हो? के होइन? के के गरियो भने नेपाल बलियो हुन्छ? यो साधारणझैँ देखिने प्रश्नको उत्तरमा के हामी एकमत छौँ?

एउटाले जे गर्दा नेपालको ‘राष्ट्रियता’ बलियो हुन्छ भन्छ  अर्को पार्टीलाई सोध्दा  त्यसो गरे त देशै ‘बिखण्डन’ हुन्छ भन्दै उफ्रन्छ। कति सजिला र सस्ता प्रसंगहरुसित जोडेर  हामी ‘राष्ट्रियता र बिखण्डन’ जस्ता शब्दको प्रयोग गरिदिन्छौँ। ‘राष्ट्रियता’ ‘बिखण्डन’ जस्ता गुरुत्वाकर्षण भएका शब्दलाई यति सस्तोसँग प्रयोग नगर्दा बेस।

के हो नेपाली राष्ट्रियता? केमा अडिएको छ यो? दौरा-सुरुवालमा? टोपीमा? कछाडमा? धोतीमा? हिन्दु धर्ममा? नेपाली भाषामा वा मैथलीमा अथवा शेर्पाको बोलीमा?

केमा अडिएको छ नेपाली हुनुको अर्थ? नाराबाजीमा? भाषणबाजीमा? मेचीदेखि महाकालीसम्मको भूभागमा? अथवा यो भूभागभित्र र बाहिर बस्ने नेपालीको उन्नति र सुस्केरामा?

पुराना दिनमा हामीले राष्ट्रियताको प्रतिक मानेका केही आधार बाँकी नरहेको अवस्थामा पनि देश त कतै गएको छैन। ‘राजा नभए देश एकछिन पनि टिक्नै सक्दैन’ भनेर दसकौँ भनियो। तर खोइ त? यतिका वर्ष भइसक्यो देश त कतै गएको छैन!    

देशमा गणतन्त्र आएको छ। तर राजतन्त्रको बिदाइ हुँदैमा गणतन्त्र आयो भन्न मिल्छ र? एउटा राजाको स्थानमा चार थान राजा हुनु, एक थान राजाले गरेको मोज चार जनाले संयुक्त रुपमा गर्नु नै गणतन्त्रको मानक हो र? समस्या ‘गण’ मा छ कि ‘तन्त्र’ मा छ? समस्या ‘राजा’ मा थियो कि ‘तन्त्र’मा थियो?      

यी मूलभूत प्रश्नको उत्तर एक यस्तो पूर्वशर्त हो, जसको जवाफमा न्यूनतम ‘समझदारी’  हुनैपर्छ। म ‘समझदारी’ शब्द प्रयोग गर्दैछु ‘सहमति’ होइन। नजाने कुन बेवकुफले गिरिजाबाबुको टाउकोमा यो ‘सहमति’ शब्द चढाइदियो। आजसम्म सबै सहमति  शब्दकै नाममा ‘देउसी रे देउसी रे’ गर्दैछन्।     

अलग-अलग र फरक-फरक मत वा ‘मति’ भएकाबीच अक्षरश: ‘सहमति’ कहिल्यै हुनै सक्दैन। फरक-फरक ‘मति’ भएकाबीच ‘सहकार्य’ मात्र हुन सक्छ। निश्चित उद्देश्यका लागि ‘समझदारी’  हुन सक्छ। जस्तै- भारत र चीनबीच कैयौँ बिषयमा सहमति छैन, र पनि उनीहरु कैयौँ अन्य विषयमा ‘सहकार्य’ गर्छन्। ‘निश्चित’ उद्देश्यका लागि ‘समझदारी’ गर्छन्।

मिल्ने जति कुरामा ‘सहकार्य’ गर्दै जाँदा, नमिलेका बुँदामा कुरा मिल्दै जाने सम्भावनाको ढोका खुलै रहन्छ। लोकतन्त्रको अर्को नाम ‘ढोका खुलै राख्नु’ हो।  २०४७ को संविधान जारी गर्दा एमालेलाई कतिपय विषयमा चित्त बुझेको थिएन। सहमति भएन। उसले सहकार्यका निम्ति ‘आलोचनात्मक समर्थन’ मात्र दियो। नमिलेका कुरा भविष्यका निम्ति छाडी दियो।

मदन भण्डारीलाई त्यसै जननेता भनिएको होइन। उनले निश्चयात्मक स्वरमा एक अन्तर्वार्तामा मलाई भने- यो संविधानमा हामीलाई चित नबुझेका कैयौँ कुरा छन्। तर हामी त्यसैमा हलो अड्काएर भविष्यको बाटो थुन्दैनौँ।  

जो नेतालाई भविष्यका पुस्ताप्रति विश्वास हुँदैन,  जसले सबैकुरा आजै गर्छु, अहिले नै गर्छु, मै गर्छु भन्छ यथार्थमा त्यसले केही पनि गर्दैन।

अहिले रेडियो, टेलिभिजन र छापामा सबैले सबैलाई सरकार र प्रतिपक्षलाई आ-आफ्नो ‘अडान’ छाडने उपदेश दिँदैछन्। म त्यो गर्न सक्दिनँ। ‘मध्यम-मार्ग’ को काँचो परिभाषा  दिन म सक्दिनँ। मध्यम मार्ग भनेको ‘दहीच्युरे’ मार्ग होइन। आफू कमजोर पर्दा मात्र गाइने रणनीतिक गीत होइन। ‘मध्यम-मार्ग’ पूर्वीय दर्शनको महान् उत्पति हो। यो शब्दको प्रयोग गर्दा त्यसको मौलिक परिभाषाको हेक्का राखिनु पर्छ। यस विषयमा विस्तृत चर्चा कुनै अर्को दिन गरौँला।

अहिलेका लागि फेरि मुहानमा फर्कन्छु।

केही मूलभूत प्रश्न, जसको उत्तर यदि हाम्रो राजनीतिक र बौद्धिक नेतृत्वले दिने क्षमता राख्दैन भने अपार दु:ख र वेदनाका साथ दोहोर्‍याउनै पर्छ - नेपाल अझै साँचो अर्थमा राष्ट्र बनिसकेको छैन। यो अझै एक भौगोलिक र प्रशासनिक इकाइ मात्र हो। भौगोलिक एकीकरण भएको हर भूभाग आधुनिक अर्थमा राष्ट्र नहुन पनि सक्छ। मेची र महाकालीमा बाढीपहिरो आउँदा काठमाडौँको मन रसाउँछ कि रसाउँदैन? मधेसी अपमानित हुँदा काठमाडौँ असजिलो महसुस गर्छ कि खितखित हाँसेर रमाउँछ?

सबैलाई थाहा छ, नेपालले प्रत्यक्ष विदेशी शासन कहिल्यै भोगेन। ब्रिटिस साम्राज्यको ध्वजा यत्र-तत्र-सर्वत्र फहराएको बेलामा पनि एक हदसम्म स्वाधिन नै रह्यो नेपाल।

तर जे जस्ता मूल्य, मान्यता र धरातलमा अडिएको थियो यो देश, के त्यो धरातल आज खस्कँदै छ? बलियो हुँदै छ? वा धरातल जस्ताको त्यस्तै छ?  यो विषयमा सार्थक बहस अनिवार्य छ। तर  नेपालले प्रत्यक्ष विदेशी शासन भोगेन भन्दैमा के यो भन्न सकिन्छ कि  त्यो ‘स्वाधिन नेपाल’  मा मधेसी, दलित, पीडित, जनजाति र महिला  स्वतन्त्र थिए? थिचोमिचो मुक्त थिए? अवसरको समानता तिनलाई उपलब्ध थियो?

के विभेद थिएन? के विभेद छैन? जुन ‘गौरवशाली’ इतिहासको काठमाडौँमा दसकौँदेखि जय गान गाइन्छ, के त्यो इतिहास नेपालका सबै वर्ग र वर्णका निम्ति समान रुपले ‘गौरवशाली’ थियो?

ज्यादै थोरै मानिसले, ज्यादै धेरै मानिसमाथि, ज्यादै लामो समय राज गरेको पृष्ठभूमिलाई बिर्सन सकिन्छ र!    

त्यसैले, अब एउटा नयाँ सिराबाट ‘सृजनशील’  बहसको थालनी गर्नु परेको छ। म ‘सृजनशील’ शब्दमा अत्याधिक जोड दिँदैछु। बडा गहिरो तवरले बुझिनु पर्छ - हामी ‘वैश्य युग’ मा बाँचिरहेका छौँ। वैश्य युग अर्थात् बजारको युग। वैश्य युग अर्थात् बजारको माग, उत्पादन र वितरणको युग। यो युगमा सफलता पाउन ‘सृजनशीलता’ अनिवार्य छ। विचारको क्षेत्रमा पनि सृजनशील विचार-विमर्शको दरकार छ।

मानिसले आफू कुन  युगमा बाँचेको हो  भन्ने बुझेर मात्र लेख्नु बोल्नु पर्छ। अन्यथा रनभुल्लमा परिन्छ। अहिले  कैयौँ बन्धुबान्धवीमा युग चेतनाको ठूलो अभाव छ, विशेषगरी आफूलाई 'कम्युनिस्ट' ठान्ने केही मित्रमा। युग चेतनाको यो अभावले नेपाली राजनीति र समाज दुवैलाई रनभुल्ल पारेका अनगिन्ती उदाहरण इतिहासमा छन्। नेपाली समाजको चेतना विकासका निम्ति कम्युनिस्ट मित्रहरुले आजसम्म गरेका बलिदानको म आदर गर्छु। तर वैश्य युगका सम्बन्धमा वाममित्रहरुको युगचेतना अभाव पनि म बुझ्न सक्छु।    

सामान्य पाठकको सजिलाका निम्ति म  ‘वैश्य युग’ लगायत अन्य तीन युगको संक्षिप्त ‘प्रतिकात्मक’ व्याख्या दिन्छु। संसारमा पहिला ब्राह्मण युग थियो। जसले वेद जानेको छ, जसलाई बाइबल, कुरान वा धम्मपदका वा अन्य धार्मिक ग्रन्थका पंक्तिहरु कण्ठस्थ छन् – हो, उही ठूलो मान्छेमा गनिन्थ्यो। उसले भनेको सबले मान्नुपर्थ्यो।

सारा जनता राजालाई ढोग्थे। राजाचाहिँ मूल पुरोहितलाई प्रणाम गर्थे। चर्च 'स्टेट' भन्दा माथि थियो।  पूर्वीय दर्शनका ब्राह्मण विद्वान्‌हरु सादा खाएर, थोरै लगाएर तर्कशास्त्रमा व्यस्त रहन्थे। तर पातलो धोती लगाएका यी लुरे ब्राह्मणहरु राजदरबारमा चम्किला लुगा लगाएर आउने साहुजी र बनियाँभन्दा धेरै माथिल्लो आसनमा बस्थे।

त्यसपछि आयो - क्षत्री युग। जसको हातमा जति ठूलो तरबार, ऊ त्यही अनुपातको महान्। अलेक्जान्डर द ग्रेट, अशोका द ग्रेट, कुबलाइ खान द ग्रेट आदि तरबारी ग्रेटहरुको युग।    

त्यसपछि  ‘शूद्र युग’ आयो। कैयौँ हिन्दु शास्त्रमा ‘शूद्र’ शब्द अपमानजनक सम्बोधनका रुपमा छ। मेरो मनसाय त्यो होइन। २१ माघको नयाँपत्रिका दैनिकमा आदरणीय प्रदीप गिरि लेख्नु हुन्छ– मुख्य त विभिन्नथरिको सीप र परिश्रमसाथ गरिखाने वर्गलाई यहाँ शूद्र भन्ने संज्ञाले विभूषित गरिएको हो। शूद्रले श्रम र सृजनाको आधारमा उत्पादन गर्छ। क्यापिटलिस्ट वा पुँजीपतिका निम्ति वैश्ययुगको उपाधि प्रयोग भएको हो। विजयकुमारले यसै अर्थमा त्यो शब्द प्रयोग गर्नु हुन्छ मेरो आशा छ।

आदरणीय प्रदिप गिरिले आशा गर्नु भएअनुसार नै मैले त्यो शब्द प्रयोग गर्दै आएको छु। मैले प्रतिकका रुपमा लिएको ‘शूद्र युग’ त्यो हो, जब हेपिएका, सबैभन्दा तल पारिएका वर्ग उठेर आफ्नो शासन स्थापित गरे। लेनिन, स्टालिन, माओ त्यो युगका नायक हुन्। परम्परागत कम्युनिस्टहरुको पराजयपछि यो युग अन्त्य भयो भन्ने मेरो सोच छ। आदरणीय प्रदिप गिरि ठान्नु हुन्छ साँचो अर्थको ‘शूद्र युग’ आएकै छैन। आउनै बाँकी छ। खैर, अहिले हामी वैश्य युगमा छौँ।    

विगत केही दशकदेखि, विशेषत: सोभियत संघको पतनपछि हामी वैश्य युगमा प्रवेश गरेका छौँ। व्यापार र बजारको युग। राजीखुसीसित आफ्नो श्रम, शक्ति र सृजना बजारमा बेच्न पाइने युग। लिबरलाइजेसन, प्राइवेटाइजेसन र ग्लोबलाइजेसन (LPG)  यो युगका नयाँ वेदपुराण हुन्। यो युगका ब्राह्मणहरु धोती होइन, सुट-टाइ लगाउँछन्। मन्दिरमा होइन, करपरेट बोर्डरुममा बस्छन्।     

वैश्य युगमा मानिससित समय धेरै छैन। ब्राह्मण युगका तर्कशास्त्र उसको निम्ति बेकार भएको छ। क्षेत्रीय युगको तरबार वा शूद्र युगको नाराबाजी र क्रान्तिमा उसलाई खासै रुची छैन। दैनिकहरुले प्रथम पृष्ठमा जतिवटा ‘विशेष’ सम्पादकीय छापे पनि वा हामीले टेलिभिजनमा जतिसुकै कराए पनि त्यसमा आजको आम पाठकले ‘विशेष’  केही देख्दैन। किनभने आजको आम मानिस एक्सपोजर, शिक्षा र जानकारीका हिसाबले त्यति ‘आम’  रहेन, जति हिजोका दिनमा थियो।

ऊ ठोस निष्कर्ष चाहन्छ, ऊ ठोस आर्थिक उत्पादनको चाहना  राख्छ। चुस्त वितरण प्रणालीको अपेक्षा गर्छ।   

यो युगको ‘ब्राह्मण’ तलब  पाए जुनसुकै ‘बनियाँ’को जागीर खान सहर्ष तयार हुन्छ। किनभने  यो समय  ‘उत्पादन र वितरण सत्य, जगत् मिथ्या'को युग हो । उत्पादन ‘सृजनशीलता’सित जोडिएको कुरा हो। नाराबाजी जतिसुकै  मीठो किन नहोस्, त्यसले मात्र मुखमा माड लाउँदैन भन्ने कुरा वैश्य युगको बच्चा-बच्चालाई थाहा भइसक्यो।

भाषणको ‘ग्यास’ ले  चुलोमा आगो बाल्दैन,  भात पकाउन एलपिजी ग्यास नै चाहिन्छ र त्यो बरौनीबाट आउँछ भन्ने पनि हर कोहीले भोगी सक्यो। मान्छेलाई भोगाइले दिएको ‘ज्ञान’, भाषणले दिएको उत्तेजनाभन्दा  धेरै समय टिक्छ । एलपिजी ग्यास वैश्य युगको प्रतिक हो।

हामी न दाउरा युगमा फर्कन सक्छौँ, न हामी ‘एलपिजी’ ग्यास उत्पादन गर्न सक्छौँ। कुरो एलपिजीमा मात्र सीमित छैन। हाम्रो जीवन चलाउने धेरै कुराका विषयमा यही उदाहरण लागू गर्न सकिन्छ। जटिलताको चुरो यहीँनेर छ। त्यसैले त जति सरकार फेरे पनि नतिजा अन्डाको अन्डै छ।

अब सिंहदरबारको कुर्सीमा बस्न बाँकी कोही छैन। घोर दक्षिणपन्थीदेखि उग्रवामसम्म सबका सब विराजमान भइसके। राजाले देश बचाएर पनि हेरिसके, प्रचण्डले क्रान्ति गरेर पनि देखिसके, कांग्रेस-एमाले जस्ता सदाबहार सत्ताधारीको के कुरा गर्नु।

यतिका किसिमका पार्टीले शासन गर्दाको  नतिजा के निस्कियो त? अन्डा।

कारण? वैश्य युग सृजनात्मक उत्पादनशीलताको इन्धनबाट मात्र चल्छ भन्ने बोध नहुनु। निर्माण सृजनशीलताबाट मात्र सम्भव छ। ध्वंश जे सिद्धान्तको नामबाट गरे पनि हुन्छ तर निर्माण ‘सृजनशीलता’बाट मात्र सम्भव छ। चाहे हामी भवन बनाऔँ, चाहे संविधान, इन्धन एकै हो – ‘क्रिएटिविटी एन्ड कमिटमेन्ट’।       

त्यसैले म सृजनात्मक र नतिजामूलक बहसको पक्षमा छु। म जनताको मुखमा माड लगाउने चर्चाको पक्षमा छु। म संविधान निर्माणका सन्दर्भमा विवादित भनिएका विषयमा स्पष्ट र नतिजामूलक निर्णयको पक्षमा छु।

अब म यो आलेखलाई संविधान निर्माणको ‘विषय’ मा प्रवेश गराउन चाहन्छु । तुलनाको दुस्साहस गरेको होइन, प्रेरणाले सिको गरेको मात्र हो। विनोद मेहता सम्पादक हुँदा ‘आउटलुक’ले भारतीय पत्रकारितामा निबन्ध लेखनको जुन फर्म्याट ल्यायो, त्यस्तै खाले शैलीमा लेख्न चाहन्छु। यो चलन पश्चिमा मुलुकहरुमा त धेरै पुरानो हो। 'न्युयोर्कर' पत्रिका त्यसैको एक उदाहरण हो।  

* * * 

मैले, भर्खरै संविधान निर्माणको ‘विषय’ भन्ने लाइन लेख्दा ‘विषय’लाई  इनभर्टेड कमाभित्र राखे। किनभने  त्यसको साटो म ‘हिस्टेरिया’ शब्द प्रयोग गर्न रुचाउँछु। त्यसपछि वाक्य बन्छ - नेपालमा संविधान निर्माणको हिस्टेरिया।   

‘हिस्टेरिया’ शब्दको अर्थ हुन्छ- भावना वा उत्तेजनाहरुको अतिरन्जित प्रदर्शन।

दोस्रो जनआन्दोलनपछि नेपालमा संविधान निर्माणका नाममा एक ‘मास हिस्टेरिया क्यापेन’ चल्यो, चलाइयो। यो हिस्टेरिया अभियानको मूल नारा थियो- एउटा गतिलो, पोटिलो र चोटिलो संविधान नभएर मात्र नेपालीले दु:ख पाएका हुन्। संविधानसभाले एक थान नयाँ संविधान निर्माण गरेपछि सबैका सबै दु:ख, दर्द र गुनासा छु-मन्तर हुनेछन्।

संविधानसभाको पहिलो निर्वाचनअघि र त्यसपछिको लगभग पुरै अवधिभरि राजनीतिक नेताले  ‘संविधान छाप रामबाण पुडिया’ बाँडे। ‘सोसियल इन्जिनियरिङ’को नाममा विदेशीले पनि डलर खन्याएर मुर्खताको आगोमाथि टिनका टिन घ्यु थपे। एउटा धेरै सानो जमातले संविधान निर्माणको नाममा यो जुनीमा कहिल्यै नगरेको मोज गर्‍यो। कसैले मोज गरे भनेर रिस गरेको होइन। संविधानको साटो अरु कुनै नामबाट मोज गरे पनि हुन्थ्यो। चेतनाको नाममा उत्तेजना फैलाउने विषवृक्षको बिउ छर्ने काम सही थिएन भन्ने स्मरण गराउन खोजिएको मात्र हो।

पहिलो संविधानसभा निर्वाचनको धेरै समय बितिसक्दा पनि मैले यस विषयमा एक अक्षर लेखिनँ, बोलिनँ। कारण थिए– परम आदरणीय संविधानविद् गणेशराज शर्माजी।

संविधानसभाको पहिलो चुनावको लगत्तै  संविधान विषयमा अन्तर्वार्ताको निम्ति अनुरोध गर्दा फिस्स हाँसेर भन्नु भयो- कम्तिमा दुई वर्ष  यस विषयमा अन्तर्वार्ताका लागि फेरि नभन्नु। सक्छौ भने यस विषयमा तत्काल आफैँ पनि केही नबोल्नु। सन्तुलित आवाज सुन्ने मुडमा अहिले कोही छैन। नेपालमा अस्थिरताको समय अझै  बाँकी छ। यो सब जोकर नाँच हुँदैछ। संविधान निर्माण वा संविधानवादसित यसको कुनै साइनो छैन।

मैले सल्लाह मानेँ। दुई वर्षपछि मात्र टेलिभिजन कार्यक्रम 'ठूला भ्रमः सत्य साधारण' मा भनेँ, अखबारमा पटकपटक लेखेँ-  दुई नितान्त भिन्न राजनीतिक दर्शन मिलेर एउटा संविधानको निर्माण असम्भव छ।   

संविधानसभाको पहिलो निर्वाचनदेखि आजसम्म आइपुग्दा बागमतीमा धेरै पानी बगेको छ।  संविधानसभाको पहिलो निर्वाचनपछि माओवादीले देखाएको अहंकार,  चीनले दिँदै नदिएको काल्पनिक आडको भरमा भारतसँग तिक्तिएको माओवादी सम्बन्ध, सेनापति कटुवाल प्रकरण, लडाकुको हतियार व्यवस्थापन, प्रथम संविधानसभाको अवसान, माओवादी पार्टीका विभाजन, दोस्रो संविधानसभाको नतिजा र भारतमा शक्तिशाली राजनीतिक नेतृत्वको उदय – केही यस्ता सूचक हुन्, जसले यसबीच बागमतीमा बगेको पानी र बितेको समयबारे स्मरण गर्न सघाउँछन्।

यसबीच सकारात्मक उपलब्धि पनि भएका छन्। हिस्टेरियाको ज्वरो धेरै ओर्लिएको छ। नयाँ संविधान आउनेबित्तिकै धाराबाट पानी नै नआउने देशमा, दुध आउने  छैन भन्ने सामान्यजनले बुझ्न थालेका छन्।

वैश्य युगमा शीर्ष नेताहरुको भाषण सुन्नुभन्दा पासपोर्टको लाइनमा बस्नु हितकर छ भन्ने बोध बढ्दै गएको छ। आगामी दिनमा यो ‘बोध’ झन्‌झन् बढदै जानेछ। संविधानसभामा राजनीतिक दर्शनको विवाद समाधान प्राय: भएको छ। ‘यो संविधानसभाले बनायो भने लोकतान्त्रिक संविधान मात्र बनाउने छ, होइन भने केही पनि बनाउने छैन’ भन्ने दर्शनमा एनेकपा माओवादीसहित सबै एकमत भएका छन्।

हाल केही समयदेखि माओ-मधेसी मोर्चाले संविधानसभाबाट भैपरि आउने (क्याजुएल) बिदा लिएको भएता पनि ढिलोचाँडो उनीहरु त्यहाँ फर्कने निश्चित छ। फर्कनु पर्छ, फर्कने वातावरण बनाइनु पर्छ।

अब गर्ने के त?

यो प्रश्नको उत्तर दिनुअघि, हिजो हामीले के गर्‍यौँ भन्ने स्मृतिमा राख्न अनिवार्य छ। किनभने ‘आज’ भनेको हिजोकै विस्तार मात्र हो। हिजोलाई नबुझी आज बुझ्न सकिन्न। ‘जे रोप्यो त्यही फल्छ’ त्यसै भनिएको होइन। होलान् केही बिरलै अपवाद, साधारण नियमचाहिँ एउटै हो – ‘आज’ भनेको हिजोकै फैलावट मात्र हो।  

विगत केही वर्षदेखि नेपालमा जुन राजनीति चल्दैछ, त्यसको जग हो – १२ बुँदे समझदारी। सही होस् या गलत ‘जग’ त्यही हो। भारतको सौजन्यमा भएको यो समझदारीपछि आजको मितिसम्म नेपाली राजनीतिमा यही ‘१२ बुँदे पार्टी’ निर्णायक रुपले हावी छ।

मेरो नजरमा संविधानसभामा जम्मा दुईवटा मात्र पार्टी छन्- ‘१२ बुँदे पार्टी’ र ‘कमल थापा पार्टी’।  

नाङ्गो आँखाले हेर्दा आज सुशील कोइराला, ओली, प्रचण्ड र विजय गच्छेदार अलग-अलग पार्टीका सदस्य देखिए पनि मेरो विचारमा यिनीहरु एउटै पार्टीका सदस्य हुन्- १२ बुँदे पार्टी। यो ज्यादै बलियो पार्टी हो। संविधानसभामा लगभग सबै सिट यसै पार्टीको कब्जामा छ।  

जुन दिनसम्म एनेकपा माओवादी र मधेसी मोर्चाले संविधानसभाबाट राजीनामा गर्दैनन्, त्यो दिनसम्म यो १२ बुँदे पार्टी नै नेपालको एक मात्र निर्णायक पार्टीको हैसियतमा रहने छ। किनभने यो १२ बुँदे पार्टीको विपक्षमा रहेको एक मात्र पार्टी ‘कमल थापा पार्टी’ ज्यादै कमजोर छ। यसले जतिवटा रथयात्रा गरे पनि नतिजा यही रहने छ। यो नतिजा त्यो बेलासम्म उस्तै रहने छ, जबसम्म पूर्वराजा ज्ञानेन्द्र कमल थापाको रथमा सारथी बनेर सवार हुने छैनन्।  

के पूर्वराजा ज्ञानेन्द्र कमल थापाको रथमा सारथी बनेर खुलेआम राजनीतिको मैदानमा उत्रने साहस गर्लान्? यो प्रश्न मैले ‍डा. तुल्सी गिरिलाई अनेक पटक सोधेँ। उतर हमेसा एकै आयो – सक्दैनन्। यही प्रश्न मैले उच्च भारतीय कुटनीतिज्ञहरुलाई धेरैचोटी सोधे। उत्तर हमेसा एकै आयो – पूर्व महाराजले यो जोखिम उठाउन सक्दैनन्।

पूर्वराजा स्वयंको मनमा पनि ‘यो उमेरमा यत्रो जोखिम किन मोल्ने?’  भन्ने विचारले प्राधान्य पाउनु स्वाभाविक पनि हो।

यस अवस्थामा सजिलो  बाटो खोज्न पूर्व राजा मनमनै प्रार्थना गर्दै होलान् – हे प्रभु! प्रचण्डको मोर्चा संविधानसभाबाट राजीनामा गरेर सडकमा आइजाओस्।

जुन दिन प्रचण्ड आफ्नो मोर्चासहित संविधानसभाबाट राजीनामा गरेर सडकमा आउँछन्, त्यसै क्षण ‘१२ बुँदे पार्टी’ बिखण्डित हुन्छ। तर त्यो अहिल्यै अनुमान गर्न सकिन्न। एनेकपा माओवादीले त्यसो गर्ला र? गरिहाले मधेसी मोर्चाले त्यहाँसम्म  साथ देला र? त्यस अवस्थामा ध्रुवीकरण कसरी हुन्छ? आजको दिनमा नदीका दुई किनारा देखिएका राजावादी र माओवादीको सम्बन्ध कसरी विकसित हुन्छ वा हुन्न? अनेक प्रश्न छन्, जसको अनुमान अहिल्यै गर्न हतारो हुनेछ।

आजको सत्य त यति मात्र हो – १२ बुँदे पार्टी नै अखडामा उपस्थित एक मात्र पहलमान  छ।  १२ बुँदे पार्टीमा बिखण्डन आयो भने मात्र हाल चलेको राजनीतिक शैलीलाई निर्णायक खतरा उत्पन्न हुनेछ।  

तर के त्यसो होला र?

मलाई लाग्दैन त्यसो हुन्छ। ओलीजीले जतिसुकै चर्का उखान टुक्का सुनाए पनि, सुशील दा'ले प्रक्रियाका  जस्तासुकै कुरा गरे पनि दुइतिहाई मतले संविधान जारी गर्ने शक्ति यिनीहरु राख्दैनन्। सदनमा संख्या हुँदैमा शक्ति हुनै पर्छ भन्ने जरुरी छैन।  अर्कोतिर, बाबुराम डाक्टर'साब र प्रचण्ड कमरेडसित पनि आजको मितिमा कुनै निर्णायक आन्दोलनको तुफान ल्याउने तागत छैन किनभने जनता निरपेक्ष र निरास छन् नेताबाट।

त्यसैले ‘१२ बुँदे पार्टी’ ढिलोचाँडो वार्तामा बस्न बाध्य हुनेछ। मलाई लाग्छ, त्यसअघि एमाले-कांग्रेस गठबन्धनले वार्तामा  आउन कुनै किसिमको ‘फेस सेविङ गेस्चर’ प्रचण्ड मोर्चालाई दिनैपर्छ।

मैले केही दिनअघि प्रचण्डजीलाई भेट्दा ‘यथास्थितिमा कुनै हालतमा वार्ता हुन नसक्ने’ स्पष्ट जवाफ पाएँ। प्रचण्डजी अचेल निराश छन्। बाबुराम डा'साब भावुक र क्रुद्ध। केपी ओली जुन स्तरका उखान-टुक्कामा ओर्लिएका छन्, त्यो उहाँजस्तो कदको नेतालाई अशोभनीय हो। अशोभनीयताको जवाफ अशोभनीयता हुन सक्दैन। त्यसैले उहाँको मानसिक स्वास्थका प्रति माओ-मधेसी मोर्चाले गरेको औपचारिक टिप्पणी सर्वथा अनुचित हो।

कपाल फुलिसकेका मानिसबीच आरोप-प्रत्यारोप हुनै हुन्न भन्ने जस्ता सजिला गुलिया कुरा म गर्न चाहन्नँ। तर रगडा-झगडा  गर्दा आफ्नो हैसियत सुहाउँदो शैलीमा गरे लोकतन्त्रको मर्यादा रहन्छ। वडास्तरका कार्यकर्ताले राति भट्टीमा पनि नगर्ने शैलीमा राष्ट्रिय नेताहरुले आरोप-प्रत्यारोप गर्नु लज्जास्पद हो। यसले सुन्नेलाई त एकछिन कुटिल आनन्द दिन्छ, मिडियालाई पनि हेडलाइन मिल्छ तर पार्टीहरुबीच विश्वासको वातावरण धेरै बिगार्छ।

धर्मनिरपेक्ष राज्य र संघियताको प्रश्न  

संविधान निर्माणमा जटिलता उत्पन्न गरिरहेका यी दुई संवेदनशील विषयमा मैले आजसम्म आफ्ना धारणा सार्वजनिक गरेको छैन। संघीयताको विषयमा अर्को निबन्धमा चर्चा गर्ने छु। आज हिन्दु राष्ट्र र धर्मनिरपेक्षताबारे आफ्नो विवेक साक्षी राख्न चाहन्छु।

चारवटा शब्द बडा गहिरो तवरले बुझ्न जरुरी छ। अंग्रेजीका दुई, पाली भाषाको एक र  नेपालीमा प्रयोग भइरहेको एउटा  शब्द।

अंग्रेजी भाषाको Religion र Secularism,  पाली भाषाको धम्म र नेपाली (वा हिन्दीमा) प्रयोग हुने धर्मनिरपेक्षता । अनुवाद गर्दा भाषाशास्त्रीहरुले कहिलेकाहीँ बडा गम्भीर प्रकृतिको भुल गरिदिन्छन्। अथवा  भनौँ, पश्चिमा सभ्यतामा प्रयोग हुने केही शब्द पूर्वीय सभ्यताको भाषामा अनुदित हुनै सक्दैनन् अथवा गलत अनुदित भएका छन्।

जस्तै अंग्रेजी भाषाको ‘Religion’ शब्दलाई अंग्रेजी शब्दकोषले यसरी परिभाषित गर्छ-  

1.    belief in, worship of, or obedience to a supernatural power or powers considered to be divine or to have control of human destiny

2.    any formal or institutionalized expression of such belief: the Christianreligion

3.    the attitude and feeling of one who believes in a transcendent controlling power or powers

(१. मानवीय क्षमताहरुभन्दा माथि रहेको शक्ति अथवा दैवी मानिएका शक्तिमा विश्वास गर्ने, पूजा गर्ने वा तिनको आज्ञाकारी हुने काम धार्मिक हुनु हो। २. यस्ता विश्वासको कुनै पनि औपचारिक वा संस्थागत अभिव्यक्ति। जस्तै- क्रिश्चियन रिलिजन। ३. पारमिता शक्तिमा विश्वास राख्नेहरुका दृष्टिकोण र भावना)

तर यसका विपरीत हामीले प्रयोग गर्ने ‘धर्म’ शब्दचाहिँ प्राचीन ‘पाली’ भाषाको ‘धम्म’ शब्दबाट आएको हो। पूर्वीय दर्शनका अनेकन ज्ञाताले भनेका छन्- धर्म शब्दलाई अंग्रेजी भाषामा अनुवाद गर्न धेरै नै मुश्किल हुनेछ।

मेरो विचारमा 'रिलिजन' शब्दको तुलनामा ‘धम्म’ शब्दले धेरै फराकिलो अर्थ राख्छ। ‘धम्म’ शब्द रिलिजन शब्दभन्दा धेरै पहिला प्रचलनमा आएको हो। साधारण शब्दमा भन्ने हो भने ‘धम्म’ शब्दका धेरै अर्थ हुन्छन्। जस्तै- नियम, कर्तव्य, न्याय, सदाचार।

प्राचीनतम् ग्रन्थ मनुस्मृतिमा धर्मका १० लक्षण बताइएका छन्-

धृतिः क्षमा दमोऽस्तेयं शौचमिन्द्रियनिग्रहः।

धीर्विद्या सत्यमक्रोधो, दशकं धर्मलक्षणम् ॥

(धैर्य, क्षमा, वासना नियन्त्रण, चोरी नगर्नु, अन्तरङ्ग र बाह्य शुचिता, इन्द्रिय निग्रह, बुद्धिमताको प्रयोग, विद्या, सत्य र अक्रोध धर्मका १० लक्षण हुन्)

एउटा मर्मस्पर्शी श्लोक छ –

श्रूयतां धर्म सर्वस्वं श्रुत्वा चैव अनुवर्त्यताम्।

आत्मनः प्रतिकूलानि, परेषां न समाचरेत् ॥

(धर्मको सर्वश्व के हो? सुन र सुनेर त्यो मार्गमा हिँड। आफूलाई जुन आचरण मन पर्दैन, त्यस्तो व्यवहार अरुलाई पनि गर्नु हुँदैन। यही नै धर्मको परीक्षा हो)

धर्मनिरपेक्षता सिद्धान्तको पृष्ठभूमि

‘धर्मनिरपेक्षता’ शब्द secularism शब्दको नितान्त गलत अनुवाद हो भन्ने मेरो मान्यता छ। मलाई लाग्छ- भारतको संविधान निर्माण हुँदा भीमराव अम्बडेकर यो शब्द चयनमा चुके। जानाजान चुके। उनको नजरमा सायद अर्को कुनै बाटो पनि थिएन। नेहरुजी आफैँ अंग्रेज जस्ता थिए। वास्तै गरेनन्।

धर्म एउटा विधायक (पोजेटिव) विषय हो तर ‘निरपेक्ष’ शब्दले सकारात्मक ऊर्जा दिँदैनन्। धर्म शब्दसित ‘निरपेक्ष’ जबर्जस्ती टाँस्नु स्वाभाविक होइन। हिउँसित ‘तातो’ जोडेजस्तो हो। स्वाभाविक होइन। पूर्वीय सभ्यताको ‘धर्म’ शब्द आफैँमा पूर्ण छ। यसका अगाडि वा पछाडि कुनै उपसर्ग वा विसर्ग जोड्नु अर्थहीन हो।

अंग्रेजहरुले Religion शब्दका अगाडि वा पछाडि कुनै उपसर्ग वा बिसर्ग जोडेका छन् र? उनीहरु बरु ‘Secular’ भन्ने बेग्लै शब्द प्रयोग गर्छन्। Secular शब्दको पृष्ठभूमिमा युरोपको चर्च र स्टेट (धर्म र राज्य)को विवाद छ। राज्य र धर्मलाई अलग-अलग राख्न पश्चिमा देशमा यो अवधारणा विकसित भएको हो।

दलाइ लामा पनि केही वर्षअघिसम्म तिब्बतका  ‘धार्मिक र राजनीतिक’ दुवै नेता थिए। केही वर्षदेखि उनले ‘निर्वासित सरकार’को  राजनीतिक नेताको पद त्यागेको बताएका छन्।

हिन्दु धर्मका सम्बन्धमा चाहिँ ‘धर्मसापेक्षता’ वा  ‘धर्मनिरपेक्षता’ दुवै शब्दको प्रयोग अर्थहीन छ किनभने राजा र राजपुरोहित  वा दरबार र मन्दिरबीचको सम्बन्ध चर्च र स्टेटजस्तो कहिल्यै थिएन ।   

‘हिन्दु’ कुनै धर्मको नाम मात्र होइन, यो त जीवनशैली हो। कुनै पनि देवीदेवता नमाने पनि सहजै हिन्दु हुन सकिन्छ। आस्तिक हुन पनि अनिवार्य छैन, नास्तिक भए पनि फरक पर्दैन।

पौराणिक कालका चार्वाक ऋषि संसारका सम्भवत: प्रथम नास्तिक हुन्। उनी भन्छन् –

के को नर्क? के को स्वर्ग?

माछा मासु नभएको भोजन खानु

रथमा नचढिकन पैदल हिँड्नु

स्वास्नीमान्छे छेउमा नराखेर, एक्लै सुत्नु

यही हो नर्क !

पल्लो कोठामा बसेको छोरोले खाएको भोजन

वल्लो कोठामा सुतेको बाउको पेटमा त पुग्दैन भने

खरानी भइसकेको देहको पेटमा पिण्ड कसरी पुग्ला?

यसैले,

ऋण गरेर भए पनि घिउ खाऊ

जबसम्म बाच्छौ, मोजले बाँच !!!

कसैलाई चार्वाक ऋषि अलि पात्तिएका लाग्लान् तर सनातन परम्परामा उनको स्थान मर्यादित र सुरक्षित छ। एउटा महान् सुक्ति छ – बेइमान आस्तिकभन्दा इमान्दार नास्तिक भगवान्‌को बढता नजिक हुन्छ।

हिन्दु धर्ममा विकसित वर्ण, जातपात र छुवाछुत व्यवस्थासित सहमत हुने रत्तिभर ठाउँ छैन तर यसभित्र रहेको उदारतालाई नमन गर्नैपर्छ  र त्यसलाई आ-आफ्नो आचरणद्वारा सबैले विकसित गर्नैपर्छ।

बडा गहिरो तवरले बुझ्नु पर्ने कुरा- चर्च र राज्यबीचको सीमारेखा विभाजन गर्न युरोपेली देशलाई Secular State अवधारणा जरुरी भएको थियो। तर नेपालमा त्यो स्थिति होइन।  यहाँ धेरै धर्म छन् तर  राज्यले नै एक धर्म विशेषलाई राज्यको आधिकारिक धर्म घोषित गरिदिँदा हल्का जटिलता देखिएको स्थिति मात्र हो। होइन भने धार्मिक सहिष्णुताका हिसाबले नेपालले आफूमाथि गर्व गरे हुन्छ।

एक अकाट्य एतिहासिक तथ्य – २०१९ सालको संविधानमा आएर मात्र नेपाल संविधान 'हिन्दु राष्ट्र' घोषित भएको हो। त्यसअघि थिएन। अर्थात् शताब्दियौँ पुरानो देशको इतिहासमा नेपाल मुस्किलले ४५ वर्ष संविधानत: हिन्दु राष्ट्र रह्यो।

नेपाललाई हिन्दु राष्ट्र घोषित गर्ने सुत्रधार हुन्- डा. तुल्सी गिरि। राजा महेन्द्रको मन्त्रिपरिषद्‌का उपाध्यक्ष, कालन्तरमा राजा ज्ञानेन्द्रको मन्त्रिपरिषद्‌का पनि उपाध्यक्ष भए।

‘नेपाललाई हिन्दु राष्ट्र घोषित गर्न लगाउने मानिस म नै हो। राजालाई मैले नै त्यो आइडिया दिएको हुँ विजयबाबु,’ ढुक्कसँग डा. गिरिले मलाई भने शुक्रबार बिहान।

किन त्यसो गराउनु भयो डा'साब?

‘२०१७ सालको कदमपछि नेहरुजीको सरकार हामीसित त्यति खुसी थिएन। मैले सोचेँ- भारतमा त्यतिका हिन्दु छन् तर भारत हिन्दु राष्ट्र होइन। नेपाल भयो भने हामीप्रति सद्‌भाव बढ्छ, राजनीतिक फाइदा पनि हुन्छ। त्यसबाहेक अर्को कारण निजी थियो। म राष्ट्रिय स्वयंसेवक संघको पृष्ठभूमिबाट आएकाले त्यसको पनि अलिकति प्रभाव थियो। तर मूल कारण राजनीतिक नै थियो।’

राजनीतिक लाभ भयो त?

‘भएन। भारतमा कांग्रेस पार्टीको दबदबा थियो। हो, राष्ट्रिय स्वयंसेवक संघले एकपटक राजा महेन्द्रलाई आफ्नो मुख्यालय नागपुरमा बोलाएर ‘हिन्दु सम्राट’को पदवि दिन चाह्यो। तर नेहरु रिसाउलान् भनेर राजाले त्यहाँ जान आँटेनन्। राष्ट्रिय स्वयंसेवक संघवालाहरु पनि अप्रसन्न भए।’

अहिलेको स्थितिमा के भन्नु हुन्छ डा'साब?

‘धर्म आ-आफ्नो आस्थाको निजी कुरा हो। धर्मलाई राजनीतिमा मुछ्नु हुँदैन। नेपाली समाज, भारतजस्तो धर्मका आधारमा ध्रुवीकृत समाज कहिल्यै थिएन, अझै छैन पनि।  धर्मका विषयमा  धेरै बहस र विवाद नबढाउँदा राम्रो हुन्छ। धर्मका नाममा गरिने राजनीति पनि नेपालमा धेरै टाढा जान सक्दैन  चाहे त्यो जो सुकैले गरोस्। नेपाली समाजको स्वरुप नै त्यस्तो छ।’

यति भनेर नेपाली इतिहासका एक युगपुरुष डा. तुल्सी गिरि चुप लागे।

* * *

म कसैको धार्मिक आस्थाको मापन गर्ने, विश्लेषण गर्ने र त्यसबारे फैसला दिने पाप गर्न सक्दिनँ। म सबै धर्मलाई राजनीतिका सिद्धान्त र कानुनका किताबभन्दा माथि राख्न चाहन्छु। म धर्मनिरपेक्ष नेपालको पक्षमा छैन किनभने धर्मको जो परिभाषा मैले बुझेको छु, त्यसबाट कोही पनि मानिस निरपेक्ष रहन सक्दैन। म नेपाललाई हिन्दु राष्ट्र घोषित गरियोस् भन्ने पक्षमा पनि छैन। किनभने राज्यको कुनै धर्मविशेष हुन हुँदैन, संविधान कुनै ‘पन्थविशेष’ हुन हुँदैन भन्ने मेरो मान्यता हो।

म कमल थापाजीलाई आदर गर्छु। सारा जीवन ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ भनेर घाँटी सुकाउनेहरु रातारात हराए, कमलजी र उहाँको पार्टी भागेन। यो साहसको जनताले यथोचित  कदर पनि गरे, राप्रपा नेपालको मार्केट भ्यालु बढ्यो।

हुन त धेरै जनताले यो पनि बुझेका छन्  - गाईको साटो भैंसी  चुनावचिह्न लिए राजतन्त्र फर्कने ग्यारेन्टी कसैले दिए राप्रपा नेपालले त्यसमा पनि गम्भीरतापूर्वक विचार गर्ने छ। राजतन्त्र फर्काउने अभियान चलाउने हक जो कोहीलाई छ। तर त्यसका निम्ति ‘धर्म’लाई चेपुवामा पार्नु पर्छ र?  चाहे त्यो चेपुवा राप्रपा नेपालले पारोस् वा  धर्मनिरपेक्षताको नाममा अन्य ठूला दलले पारुन्।

अन्त्यमा,

आफ्ना केही कमजोरीका बाबजुद पूर्वीय सनातन परम्परा एक उदार, गतिशील र महान् परम्परा हो। यो उदार र गतिशील छ, त्यसैले त महान् छ। गौतम बुद्धको वचन छ – मैले भनेको भन्दैमा तिमीले केही पनि मान्नु पर्दैन। हे भिक्षु! मेरा वचनहरुलाई नाप, जोख, पानीमा डुबाऊ र आगोमा पोलेर पनि हेर। त्यसपछि विश्वास गर्न मन लागेछ भने तिम्रो मर्जी।

यस्तो गौरवशाली र प्रेरणादायी इतिहासको धुलोमा उभिएका छौँ हामी।

आज सबै परिस्थितिलाई विचार गर्दा मेरो विवेकलाई लाग्छ– राष्ट्र धर्मका विषयमा संविधान ‘मौन’  बसोस्। हामी संविधानबाट ‘धर्मनिरपेक्षता’ भन्ने शब्दलाई विश्राम दिऔँ। जुन शब्दको अनुवाद परिप्रेक्ष नै सही छैन, त्यो शब्दका पछाडि पराइले हामीलाई दौडाए भन्दैमा दौडिनु पर्छ र?

‘धर्मनिरपेक्षता’ शब्दलाई आदरपूर्वक विश्राम दिएपछि खाली हुने स्थानमा ‘हिन्दु राष्ट्र’ पनि नलेखौँ।  संविधान ‘मौन’ रहोस्। सनातन सभ्यतामा ‘मौन’ उच्चतम् अध्यात्मिक अभिव्यक्ति हो। सनातन परम्परामा मात्र होइन, अपितु सबै धर्म र पन्थले अलग-अलग भाषामा एउटै कुरा भनेका छन् – परम ज्ञान नि:शब्द छ, मौनमा छ।  

हरथोक संविधानमा लेखिरहनु पर्छ र? आमाले सन्तानलाई कति माया गर्नु पर्छ भनेर हामी संविधानमा लेख्छौँ र? प्रेमीले प्रेमिकालाई दिनमा कतिपल्ट ‘आई लभ यु’ भन्नु पर्छ भनेर हामी संविधानमा लेख्छौँ र? आस्था, विश्वास र माया संविधानका अक्षरभन्दा धेरै माथिका कुरा हुन्। यिनलाई जबरजस्ती दलदलमा तल नघिसारौँ।

मेरो अर्को आलेख संविधान निर्माणको परिपेक्ष र संघियता विषयमा केन्द्रित रहने छ। आजलाई अस्तु !  

Hyundai
nic asia
mahindra

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • छायाँ छार्का छायाँ छार्का

    कुनै किचकन्नीको फेला परेजस्तो डर लागेर आयो। के उसका पैताला उल्टा परेका थिए? प्रश्न उब्ज्यो। गौर गरेर सम्झन खोजेँ। अहँ सकिनँ। उसको अनुहारको आकार झलझली सम्झनामा आयो। पुष्ट अपुष्ट सम्झनामा उसका दुई थान नरम स्तनहरूको स्पर्शीय आकार सम्झनामा आयो। रौँविहीन उसको योनिको पनि सम्झना आयो। उसको अर्धचन्द्राकार नाइटो, डोलमडोल गर्धन, पातला ओठ, चिम्सी आँखा, भुक्के गाला...। शरीरका सबका सब अङ्गहरूको सम्झना आयो तर उसको पैतालाको सम्झना आएन। उसको पैताला कता फर्केको थियो? कतिवटा औँला थिए? नङ कत्रा थिए?

    गनेश पौडेल

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट