वरिष्ठ रंगकर्मी सुनील पोखरेलले रंगमञ्चले गोरेटो बनाएको तर राजमार्ग बन्न बाँकी रहेको बताएका छन्।
टीकापुरमा आयोजित टीकापुर साहित्य महोत्सवको दोस्रो संस्करणको एक सेसनमा बोल्दै उनले उक्त कुरा बताएका हुन्।
सुनीलले रंगमञ्चलाई कसरी व्यावसायिक बनाउने भन्नेबारे आफूलाई थाहा नभएको बताए। उनले भने, 'हामी व्यावसायिकताबारे कुरा गर्छौं। रंगमन्चलाई कति व्यावसायिक बनाउने थाहा छैन।'
त्यस्तै, रंगकर्मी तथा अभिनेत्री दीया मास्केले व्यावसायिक भनेको पैसा कमाउनु मात्र नभएको औंल्याइन्। थिएटर पैसा कमाउने माध्यम नभएको उनको भनाइ थियो।
'व्यावसायिकता भनेको हामीले कति क्वालिटीका काम गर्छौं, त्यो होला,' उनले भनिन्, 'भलै लोकप्रिय नहोला। तर समाजलाई रुपान्तरण गर्न सक्ने शक्ति नाटकमा हुन्छ।'
रंगमञ्चका दुई फरक पुस्ताका यी दुई प्रखर कलाकारले व्यवसायिकता आर्थिक निर्भरताको सेरोफेरोमा बसेर नेपाली रंगमञ्चको विगत र वर्तमानका विविध सन्दर्भबारे चर्चा गरेका थिए।
कला पत्रकार सुशीला तामाङको सहजिकरण रहेको सेसनमा बोल्दै सुनीलले आफूले रंगमन्च रोज्नुको कारणबारे पनि सुनाए। भने, 'नेपाली रंगमन्चमा यात्रा गर्नुको कारण अरू केही नजानेर हो। सम्भवत यो मेरो प्यासन हो। मलाई नाटक गर्दा आनन्द आउँछ।'
सुनीलले अहिले सहरमा थुप्रै नाटघरहरू भएको भन्दै खुसी व्यक्त गरे। 'अहिले जति नाटकघरहरू छन्। त्यसको सुरूआत गुरुकुलबाटै थियो,' उनले भने।
उनले नाटकले मानिसहरूलाई बाँच्न सिकाउने पनि बताए।
'नाटकले हामीलाई फराकिलो बनाउँछ। सहिष्णु बनाउँछ। असहमतिहरूलाई झेल्ने शक्ति दिन्छ,' उनले भने।
दीयाले भनिन्, 'अहिले युवापुस्ताको नाटकमा लगाव बढेको बताइन्छ। सिनेमामा धेरै कलाकारले ख्याति पाए। त्यसकारण ८० प्रतिशत विद्यार्थी यही सोचेर नाटकमा आएका छन्।'
उनले नाटकबाट फिल्ममा गएका कलाकारहरूलाई फर्किन आग्रह पनि गरिन्। 'तपाईंको जग यही हो। नाटक गर्नुस्’, उनले भनिन्, 'तपाईंको पपुलारिटीले नाटकलाई पनि फाइदा होस्।'