'नेपाल अन्तर्राष्ट्रिय बाल-चलचित्र महोत्सव' हुने भएको छ।
'अभिभावक र नानीबाबु सँगसँगै' भन्ने नारासहित आगामी मंसिर ५ देखि १४ गतेसम्म काठमाडौंमा महोत्सव हुने भएको हो।
अभिनेता दयाहाङ राई, पशुपति राई र बाल कलाकार प्रसन राईले महोत्सवको प्रतीक चिह्न (लोगो) सार्वजनिक गर्दै महोत्सव घोषणा गरेका हुन्। ८ वर्षीय कलाकार प्रसन राई नविन सुब्बा निर्देशित 'गाउँ आएको बाटो' को मुख्य कलाकार समेत हुन्।
विशेषगरी ३ देखि १८ वर्ष उमेर समूह र अभिभावक तथा शिक्षकलाइ लक्षित गरेर १० दिने बाल-चलचित्र महोत्सव आयोजना गर्न लागिएको हो।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बाल-चलचित्र प्रदर्शन गरिने महोत्सवमा १८ वर्षभन्दा मुनिका फिल्म निर्माताको फिल्म प्रतियोगिता तथा कार्यशाला गरिनेछ।
एलाइन्स फर चिल्ड्रेन फिल्म नेपाल (एसिएफ नेपाल) ले आयोजना गर्न लागेको महोत्सवमा बालबालिकाका लागि फिल्म किन महत्वपूर्ण छ भन्ने विषयमा छलफल हुनेछ।