बत्तीसपुतलीस्थित शिल्पी नाटकघरमा मञ्चन भइरहेको नाटक 'गंगालाल' को मञ्चन थपिएको छ।
माघ २९ गतेसम्म मञ्चन हुने भनिएको नाटकमा बिस्तारै दर्शक बढिरहेकाले मञ्चन थपिएको नाटकका निर्देशक तथा लेखक चे शंकरले बताए। अब नाटक फागुन ५ गतेसम्म प्रदर्शन हुनेछ।
सहिद गंगालाल श्रेष्ठको जीवनमा आधारित नाटक गंगालाल फाउन्डेसन र गार्डेन थिएटरको सहकार्यमा निर्माण भएको हो। नाटकमा सहिद गंगालाललाई क्रान्तिकारी मात्र नभई एक पूर्ण मानिसको रूपमा प्रस्तुत गरिएको छ।
विक्रम संवत १९९१ देखि १९९७ सम्म नेपाली राजनीतिक परिवेशमा घटेका घटनाक्रम र सहिद गंगालालका जीवनका घटनाहरूलाई आधार मानी नाटकको कल्पना गरिएको निर्देशक शंकरले बताए।
नाटकमा निर्भीक, शकु शाह, इनारा बानु, दीपक छल्दंग्या, सन्दिप डंगोल, प्रदिप कुमार चौधरी, निरज दाहाल, विश्वास मानन्धर, ऋषिकेश, कृमु एडेन बात्री, एलिजा तुम्बापो, रेवन राई, रोशन चन्दलगायत कलाकारको अभिनय रहेको छ।
चे शंकरले यसअघि 'कोही किन बरबाद होस्, म्याड म्यान्स डायरी, लुक ब्याक इन एंगर, सेम टाइम नेक्स्ट इयर, उलार' नाटक निर्देशन गरेका थिए।