राजु स्याङ्तान, लक्ष्मी रूम्बा र राबत कविका रूपमा स्थापित नाम हो।
तामाङ समुदायले लामो समयदेखि भोग्दै आएको उत्पीडनलाई उनीहरूले सशक्त रूपमा कवितामा लेख्दै र भन्दै आएका छन्। यसपालि नाटक 'मासिन्या' मार्फत् उनीहरूले आफ्नो समुदायको कथा लेखेका र रंगमञ्चमा देखाएका छन्।
तीन कविलाई नाटक लेख्न के कुराले हौस्यायो होला? कविता लेख्ने मान्छेलाई नाटक लेख्न के कति सजिलो र अप्ठ्यारो भयो?
यसअघि हामी नाटकको नाम 'मासिन्या' तर्फ केन्द्रित होऔं।
तामाङ समुदायलाई 'तामाङ' भनिनुअघि मुर्मी भोट्या, लामा भोटे, भोट्या लगायत विभिन्न नामले सम्बोधन गरिन्थ्यो। एकदिन उनीहरूले विद्रोह गरे र 'तामाङ' लेख्न पाउनुपर्छ भनेर जाहेरी दिए। जसअनुसार १९८९ सालमा भीमशमसेरले उनीहरूलाई हुकुमीपत्र लेखे – अबदेखि भोट्या होइन, तामाङ लेख्नू/भन्नू।
त्यो समयदेखि तामाङहरू आफ्नो पहिचान आफैं बनाउन लागिपरेका छन्। तर पुराना पहिचानका शब्द र दृष्टिकोणले उनीहरूलाई बारम्बार सताउँछ। सबभन्दा उनीहरूलाई सताएको विषय थियो, मुलुकी ऐन।
तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले बेलायतबाट फर्किएपछि १९१० सालमा बनाएको मुलुकी ऐनले नेपालमा भएका जातजातिलाई पाँच भागमा वर्गीकरण गरेको थियो। त्यसमध्ये तामाङहरूलाई 'मासिन्या' मा राखियो जसको अर्थ थियो, मार्न वा सित्तैमा दासदासी बनाउन सकिने जात।
मासिन्या भनेर कति तामाङ महिलालाई दरबारका सुसारे र पुरूषलाई भारी बोक्ने भरिया बनाइयो। राणाकालीन समयमा तामाङहरूले लोक्ता (नेपाली कागज) बनाएर बुझाउनुपर्थ्यो। भारी बोक्नुपर्थ्यो। आप बगैंचामा काम गर्नुपर्थ्यो। त्यसवापत् उनीहरूले कुनै पारिश्रमिक पाउँदैन थिए। त्यति काम नगरे आफ्नो जग्गा–जमिन नै गुमाउनुपर्ने डर थियो।
मुलुकी ऐन यति विभेदकारी थियो, त्यसले एउटै कसुरका लागि जातअनुसार फरक सजाय तोकिदिएको थियो। तामाङहरूलाई मासिन्यामा राखेपछि धेरै कुराले उनीहरूलाई यातना दियो। सबभन्दा बढी यातना दिएको विषय गौहत्या अर्थात् गाई मार्ने परम्परा भएको बताउँछन् नाटकका तीनमध्ये एक लेखक राजु स्याङ्तान।
'तामाङहरूले पुर्खौंपुर्खादेखि गाई मारेर त्यसको मासु खाँदै आएका थिए। नीतिनियमले गर्दा गाई खानु त परको कुरा, गाई छोयो वा कुट्यो भने पनि सजाय हुने भयका साथ हामी बाँच्यौं,' उनले भने, 'त्यो सजायले गर्दा तामाङ समुदायलाई यति पछाडि पार्यो कि त्यसले हामीलाई सामाजिक, सांस्कृतिक र आर्थिक रूपमा कमजोर बनायो। हिन्दु राष्ट्र बनाउन जसरी गाईलाई माध्यम बनाइयो, त्यसले हामी तामाङहरूको जनजीवन र मनोविज्ञानमा असर पुर्यायो। एउटा गाई गाउँमा आयो भने पनि हामी थरथर काम्ने स्थितिमा पुग्यौं।'
नाटक 'मासिन्या' को कथावस्तु पनि गाईकै विषयमा केन्द्रित छ। कसरी गाईको मुद्दाले प्रमुख पात्र र सिंगो तामाङ गाउँलाई असर पुर्यायो भन्ने हामी नाटकमा देख्न सक्छौं।
अब कुरा गरौं यो नाटक किन र कसरी लेखियो।
नाटकका लेखक राजु स्याङ्तान एकदिन चिया पसलमा बसेर चिया खाँदै थिए। चिया पसल भन्नेबित्तिकै विभिन्न क्षेत्रका मानिस भेला भई समग्र विषयका कुराकानी गर्ने थलो हो।
त्यस दिन एकजना खसआर्य समुदायका मानिसले गाईको कथा सुनाएका थिए –
एकजना बाजेले कतैबाट जजमानी गरेर दानमा एउटा गाई पाएका रहेछन्। त्यो गाई उनले आफ्नो घर नजिकैको तामाङ परिवारलाई पाल्न दिए। एकदिन उक्त गाई भीरबाट लडेर मर्यो।
गाई मरेपछि उनीहरूले सोचे, 'बाहुनले पाल्न दिएको गाई हो। अब मर्यो भनेर किन भनिरहनुपर्यो? बरू यसलाई खाइदिम्।'
गाउँलेहरू सबै मिलेर गाई खाए। केही दिनपछि प्रहरीहरू गाउँ आए र गाउँलेहरूलाई कुटपिट गरे। तीन जनालाई समातेर लगे र जेलमा राखे।
केही वर्ष जेल बसेर उनीहरू गाउँ फर्किए। गाउँमा उनीहरूलाई गौहत्याको आरोपमा सामाजिक बहिस्कार र यातना दिइयो। त्यो यातना सहन नसकेर तीनमध्ये एकले आत्महत्या गरे। एक जना माओवादीमा लागे र अर्का विदेश पलायन भए।
यो कथा सुनाएपछि खसआर्य समुदायका ती मानिस र उनका साथीहरू गलल हाँसे। कथा सुनिरहेका स्याङ्तान भने हाँस्न सकेनन्। उनलाई छट्पटी भयो। कति समयसम्म यस कुराले उनको दिमागमा जरा गाडिरह्यो।
गौहत्याको यस्ता घटना उनले पहिले पनि सुन्दै आएका हुन्। गौहत्या आरोपमा जेल चलान भएको, धरौटी तिर्नुपरेको, गोली हानी हत्या गरिएको लगायत घटना उनले समय–समयमा सुन्दै र पढ्दै आएका थिए। त्यस दिन उनले सुन्ने मात्र होइन, यस विषयमा काम गर्नुपर्छ भन्ने निधो गरे।
राजु स्याङ्तान र राबत गोर्कण जंगलमा प्रायः बिहान मर्निङ वाकमा निस्किन्छन्। हिँड्दै उनीहरू विभिन्न विषयमा कुराकानी गर्छन्। एकदिन राजुले आफ्नो दिमागमा घुमिरहेको उक्त कथा राबतलाई सुनाए। यस विषयलाई कविताभन्दा बृहत् र धेरै मानिससम्म पुर्याउने माध्यमका रूपमा उनीहरूले नाटक लेख्ने योजना बनाए।
'म पुरानो गुरूकुल हुँदादेखि नाटक हेर्थेँ। मलाई पनि नाटक लेख्न पाए हुन्थ्यो भन्ने पहिलादेखि लाग्थ्यो र साथीभाइहरूले पनि हौसला दिँदै आउनुभएको थियो। यो कुरा सुन्नेबित्तिकै म त हौसिई हालेँ,' राबतले भने।
नाटक लेखनमा महिलाको कोणबाट पनि कुरा आउनुपर्छ भनेर उनीहरूले कवि लक्ष्मी रूम्बालाई जोडे। अनि सामूहिक रूपमा तीन जनाले काम गर्न थाले। एकअर्कासँग छलफल गरे। समुहमा काम गर्नुको फाइदा के भयो भने जुन मुद्धामा उनीहरूले काम गरिरहेका थिए, त्यसमा भएका गलत र सही छुट्ट्याउन अर्को मान्छे खोज्नुपर्ने जरूरत परेन।
समूहमा काम गर्दा समस्या पनि हुन्छ। सबभन्दा समस्या, तीन जनाको समय मिलाउनै भयो। अर्को, भावनात्मक र वैचारिक हिसाबमा पनि कति कुराको तालमेल मिलाउनै गाह्रो!
'एक जना भावुक भएर डायलग फुराउँछ, अर्को हासिँदिन्छ। कहिले त यो खत्रै लेखिएछ भनेर सबै मिलेर ताली बजाउँथ्यौं। केही दिनपछि सम्झिँदा झुर लाग्थ्यो। सुरूमा त तीन जनाले हुन्न कि जस्तो पनि भएको थियो। तर हामीले धैर्यपूर्वक काम गर्यौं,' स्याङ्तानले भने।
अर्को समस्या के थियो भने, तीनै कविहरूको नाटक लेख्ने यो पहिलो अभ्यास थियो। उनीहरूले सँगै पहिला फिल्म लेखनको तालिम लिएका थिए। फिल्म लेखनमा 'थ्री एक्ट' फर्मूलामा लेख्नुपर्छ भन्ने सिकेका थिए। त्यही ढाँचामा नाटक लेख्न थाले।
'फिल्मको तरिकाले त हामीले ४०–५० सिन नै लेखेका थियौं। तर नाटकमा त्यति धेरै दृश्यमा देखाउन नमिल्ने रहेछ। अनि निर्देशक बुद्धि तामाङ र सोनाम लामाको सल्लाह लिएर फेरि आफ्नो लेखनमा काम गर्यौं,' राबतले भने।
कतिपय आफूले लेख्दै गरेका कविता, कथा वा उपन्यासका विम्बसमेत नाटकमा गएको उनीहरू बताउँछन्।
जस्तो राजु स्याङ्तानले लेख्दै गरेको पहिलो उपन्यासमा एउटा संवाद थियो – तेरो कुकुर भुक्नुभयो है बाजे। राम्रोसँग बाँध!
आफ्नो समुदायमा मान्छेलाई सम्बोधन गर्दा आदरार्थी शब्द खासै प्रयोग नहुने कुरालाई उनले संवादमा देखाउन खोजेका थिए। त्यो कुरा नाटकमा गयो। त्यस्तै आफ्ना अन्य लेखका विम्बहरू नाटकमा आएको उनीहरू बताउँछन्।
'नाटक लेखे पनि आफ्नो कवि हृदयले काम गर्ने रहेछ। त्यही भएर कवितामा हुने विम्बहरू प्रतीकात्मक रूपमा नाटकमा पनि आउने रहेछन्,' कवि लक्ष्मी रूम्बाले भनिन्, 'तर कविहरूको नाटकमा कविता नै कविता होला भनेर डराउन भने पर्दैन।'
नाटकमा कविताका थुप्रै विम्ब आए पनि सबै विम्ब स्टेजमा पुर्याउन सकिन्न। कति नाटकमा छन्, कति छैनन्।
आफ्नो जातमा भएको गौहत्याको विषय भन्न नाटकमा लेखकहरूले प्रेमलाई माध्यम बनाएका छन्। कथाको भित्री तत्व भने गौहत्याको विषय नै छ।
'हाम्रो मुद्दा गाईको भए पनि दोष एक सय ७० वर्षअघि बनेको मुलुकी ऐनको हो। देशमा गणतन्त्र, संघीयता आयो तर हिजोकै विचारधारा हामीमाथि आज पनि लादिइरहेको छ। त्यसैको प्रतिरोधको माध्यमका रूपमा यो नाटक ल्याएका हौं,' लेखक स्याङ्तानले भने, 'हामीले कुनै समुदायलाई आक्षेप लगाएका होइनौं। हाम्रो धारणा यत्ति हो, गाईलाई भगवान मान्नेले मान्न पाउनुपर्छ र खान मन लाग्नेले खान पाउनुपर्छ।'
आफ्नो समुदाय 'गाई मर्यो र खायो' भन्दा पनि 'गाई मार्यो र खायो' भन्ने भाषाको जटिलताले समस्यामा परिरहेको उनी बताउँछन्।
तामाङ समुदायले भोगेको दुःखको फेहरिस्त लामो छ। त्यही दुःखलाई उनीहरूले नाटकमार्फत उप्काउने प्रयास गरेका छन्।
'हामी मासिन्या भनेर मास्न खोज्दा खोज्दै पनि नमासिएका जात हौं। इतिहासको गर्तमा लुकेर बसेको प्रसव पीडा हामीसँग थुप्रै छन्। त्यसैलाई हामीले देखाउन खोजेका हौं,' लेखक लक्ष्मी रूम्बाले भनिन्, 'साहित्य र स्कुलका किताबमा पनि हाम्रो कथा राम्ररी आएका छैनन्। जति छन्, ती पनि धेरै तोडमोड गरिएका छन्। त्यही कारण हामीले हाम्रो समुदायको वास्तविक कथा मासिन्यामार्फत पस्किएका हौं।'
यो नाटक जति खसआर्य समुदायलाई देखाउन जरूरी छ, त्यति नै आफ्नो समुदायका मानिसलाई देखाउन जरूरी भएको उनीहरू बताउँछन्।
'मेरै बुवाबाजेलाई मासिन्या भन्न आउँदैन थियो। त्यसबारे थाहा हुनु त झन् परको कुरा,' लेखक राबतले भने, 'हाम्रो पुर्खाले भोगेको उत्पीडनको इतिहास हाम्रै पुर्खाले सुरूमा जान्नुपर्छ भनेर पनि यो नाटक ल्याएका हौं।'
कति तामाङहरू यस्ता पनि छन्, जो भन्छन् — हिजोको इतिहास किन कोट्याई राख्ने? डम्फूको तालमा नाचौं न! त्यसो भन्नेहरू उच्च ओहोदामा पुगिसकेका र आर्थिक रूपमा सम्पन्न भइसकेकाहरू हुन्।
'तर हाम्रो समुदायका मानिस उच्च ओहोदामा पुगेका कति नै छन् र?,' लेखक राजु स्याङ्तानले भने, 'मुलुकी ऐनको दबाब र पेलानले हाम्रा मानिस अझै माथि उठ्न सकेका छैनन्।'
यो कुरालाई अझै प्रस्ट्याउँदै उनले भने, 'खसआर्य समुदायका मानिसहरू हामीलाई भन्ने गर्छन् — ०४६ सालयता ३० वर्ष बित्यो। सबैलाई उति अधिकार आएको छ। तँलाई पढाउने शिक्षक र मलाई पढाउने एउटै थिए। हामीसँगै काठमाडौं आएका थियौं। म उच्च ओहोदामा पुगेँ तर तँ किन कुल्ली वा तल्लो स्तरको काम गरिरहेको छस्? तेरो बुद्धि नपुगेर हो! — तर उनीहरू बुझ्दैनन्। काठमाडौं आइपुग्नुभन्दा अगाडि हामीले भोगेको तीन-चार सय वर्षअघिदेखिको अत्याचार र विभेदबारे उनीहरू बुझ्दैनन्। त्यसले हामीलाई माथि उठ्नै कहाँ दिएको छ र?'
यो विषयलाई आफ्नै समुदायका मानिसले पनि नबुझेको उनी बताउँछन्। त्यसैले अन्य समुदायसँगै आफ्नो समुदायका मानिसले यो नाटक हेर्न जरूरी भएको उनीहरू ठान्छन्।
'तामाङहरूले अहिले म दबिएको छु भनेर महसुस गर्नै छाडिसके। तर हाम्रो खास हैसियत यहाँ हो भनेर देखाउन यो विषय हामीले उभ्याइदिएका हौं,' उनीहरूले भने, 'राजनैतिक परिवर्तनले गर्दा हामीले त्यसको जगमा उभिएर यो नाटक लेख्न सक्यौं तर एउटा समय यस्तो थियो, यो विषयमा लेख्नु परको कुरा, हामी बोल्न पनि डराउँथ्यौं। मासिन्या भनेर जसरी हामीलाई दबाइएको र उत्पीडित बनाइएको थियो, त्यो कथा भन्न जरूरी छ।'