अभिनेता विपीन कार्की सिनेमामा हाजिर हुन थालेपछि रंगमञ्चमा स्वतः गयल हुन थाले।
रंगमञ्च पृष्ठभूमिबाट उठेका उनलाई यो अनुपस्थितिले बेलाबेला पिरोल्छ। त्यसैले उनी सिनेमाबाट समय चोरेर रंगमञ्चमा उपस्थित हुने प्रयास गर्छन्। कहिलेकाहीँ मात्र सफल हुन्छन्।
झन्डै चार वर्षअघि विपीनले शिल्पी थिएटरमा मञ्चन भएको 'हरियो ढुंगा' नाटकमा अभिनय गरेका थिए। उपेन्द्र सुब्बाको 'लाटो पहाड'मा समावेश कथामा आधारित यो नाटकमा विपीनले निचुले कान्छाको चरित्रमा गरेको अभिनय धेरैले प्रशंसा गरेका थिए।
चार वर्षपछि विपीन फेरि शिल्पी थिएटरमै 'अनुपस्थित तीन' नाटकमार्फत रंगमञ्चको तिर्सना मेट्दैछन्। प्रख्यात फ्रान्सेली लेखक जाँ पाल सार्त्रले लेखेको नाटक घिमिरे युवराजको निर्देशन-परिकल्पनामा आज सोमबारेदखि मञ्चन भएको हो। यो नाटक अवतार पाठकले नेपालीमा अनुवाद गरेका हुन्।
'धेरै प्रयासपछि बल्लतल्ल नाटकमा अभिनय गर्ने मौका जुर्छ,' शिल्पी परिसरमा कुरा गर्दै विपीनले भने, 'अनुपस्थित तीनमा आएर उपस्थित हुने मौका जुर्यो।'
विपीनका विवेक, प्रसाद-२ र लालमोहनजस्ता फिल्म पाइपलाइनमा छन्। महामारी नहुँदो हो त यिनै फिल्म उनलाई रंगमञ्चबाट टाढा राख्ने बहाना हुन्थे।
माग भएका अभिनेता विपीनको एउटा नसकिँदै अर्को फिल्मका लागि सम्झौता भइसकेको हुन्छ। नाटक खेल्ने प्रस्ताव आउँदा सधैं मिति मिलाउने समस्या हुन्छ। यसपटक भने महामारीका कारण सिनेमा छायांकन रोकिएको थियो।
यसबीच उनलाई नारायण वाग्लेको उपन्यास 'पल्पसा क्याफे' को नाट्य रूपान्तरणमा अभिनय गर्ने प्रस्ताव आयो। विमल सुवेदीको निर्देशनमा विपीनले स्वस्तिमा खड्कालगायत कलाकारसँग रिहर्सलसमेत गरे। तर महामारीकै कारण प्रदर्शन धकेलियो।
'नाटकमा काम गर्ने कुरा धेरैपटक अघि बढेको छ। तर कहिले पारिवारिक त कहिले मिति नमिलेर जुरेको थिएन। आफूले चाहेर मात्र हुँदैन रहेछ, जुर्नु पनि पर्ने रहेछ,' उनले भने।
जुर्नु भनेको फेरि अर्को नयाँ चरित्र र कथा-नाटकमा डुब्नु न हो! नाटक होस् वा सिनेमामा, विपीनलाई धेरैले उनले निर्वाह गरेका फरक पात्रका आधारमा सम्झिन्छन्। विगत तीन सातादेखि रिहर्सलमा डुबेर उनले आफूलाई विपीनबाट अनुपस्थित तीनको मुख्य पात्र आजादमा ढालिसकेका छन्।
अनुपस्थित चरित्र प्रधान नाटक हो। यसमा तीन मुख्य पात्र छन्। विपीन आजाद भइहाले, उषा रजक इच्छा र पवित्रा खड्का अभिलाषा बनेका छन्।
नाटकमा तीन पात्रले तीन फरक व्यक्तित्व प्रतिनिधित्व गर्छन्। लैंगिकताका आधारमा पनि आजाद पुरुष, इच्छा महिला र अभिलाषा समलिंगी हुन्। यी अपरिचित पात्रको भेट यस्तो मोडमा हुन्छ जहाँ जीवन सकिएको छ, तर त्यसपछिको यात्रा अनिश्चित छ। जीवन र मृत्युको 'ट्रान्जिट'जस्तो कैदखानामा बन्द उनीहरूले एकअर्कालाई चिनाउने क्रममा दर्शकले उनीहरूलाई नियाल्ने मौका पाउँछन्।
यी पात्र आफूलाई हरहालतमा असल देखाउन चाहन्छन्। यस क्रममा उनीहरूको मायामोह, छल, भ्रम, अहम्, लालसा छताछुल्ल हुन्छ।
अस्तित्ववादी नाटक अनुपस्थित तीनका तीनै पात्रमा अस्तित्व समाप्त भइसकेपछिको धिपधिपे आशा मात्र बाँकी छ। तर उनीहरू अन्तिम विन्दुमा पनि आफैंलाई ठूलो बनाउने प्रयत्न गरिरहन्छन्।
विपीन यस्तो युवकको भूमिकामा छन् जो कमजोर भएर पनि आफूलाई बहादुर देखाउन चाहन्छन्। आफ्नो चरित्रलाई उनी 'टिपिकल' पुरुष पात्र भन्छन्। आजाद मरेपछि पनि आफैंलाई ठूलो भनिरहन्छन्। उनमा मृत्युपर्यन्त आफ्नो गाथा पुस्तौं-पुस्तासम्म चलिरहोस् भन्ने उत्कट चाहना छ।
आजादजस्तै अभिलाषा र इच्छामा पनि आफूलाई केन्द्रमा राख्ने प्रवृत्ति देख्न पाइन्छ।
विपीन भन्छन्, 'मान्छे भन्ने जातले त्यसो गर्दोरहेछ। मपछि मेरो गाथा नचल्ला भन्ने पिरले झुट बोलेर भए पनि गाथा चलाउन चाहने रहेछ। आजाद त्यस्तै पात्र हो।'
आजाद, अभिलाषा र इच्छा मञ्चमा अस्थिर मनोदशामा देखिन्छन्। उनीहरूमा तीव्र व्यग्रता र ग्लानी छ। रहस्य, मुस्कान र नाटकीयपनले भरिपूर्ण यी पात्र एकअर्कासँग छिनमै लहसिन्छन् र छिनमै बाउँठिन्छन्। उनीहरू जे हुन्, त्यो देखिँदैनन्। लेखक सार्त्रको नामबाहेक विपीनलाई यो नाटक खेल्न आकर्षित गर्ने महत्वपूर्ण पक्ष पात्रको यस्तै 'साइकी' हो।
विपीन भन्छन्, 'मलाई मभित्रको कलाकारलाई चुनौती दिने पात्रको अभिनय गर्न मन पर्छ। आजाद त्यस्तै छ।'
आजाद मात्र होइन, अभिलाषा र इच्छाको चरित्रमा पनि यस्तै छटपटी, उतारचढाव, अस्थिरता भेटिन्छ। अस्तित्व समाप्त हुनुअघिको धिपधिपेजस्ता यी पात्र अर्धचेत अवस्थामा पुगिसकेका हुन्छन्।
तर यो नाटकको काम विपीनका लागि चुनौतीपूर्ण थियो।
'तीन साता मात्र रिहर्सल गरेकाले यस्तो जटिल पात्रमा भिज्न अलि बढी संघर्ष गर्नुपर्यो,' विपीनले भने, 'यसको संवाद पनि गाह्रै छ।'
जतिजति आजादमा प्रवेश गर्यो, उनलाई यो पात्र उति मन परेको रहेछ। दर्शकले कस्ता पात्रसँग 'रिलेट' गर्छन् भन्ने भेउ विपीनलाई छ। यसअघि जस्तो कामलाई राम्रो भनिन्थ्यो, यो नाटकमा त्यस्तै 'भाइब्स' पाएको उनी बताउँछन्।
'भूमिकै त्यस्तो थियो भन्ने खालको भन्छन् नि, आजाद त्यस्तै पात्र हो,' हाँस्दै भने।
त्यस्तै मञ्चमा आजाद हाबी हुनुपर्छ भन्ने सोचअनुसार उनले तयारी गरेका छन्। मञ्चमा देखिने उनी एक मात्र मुख्य पुरुष पात्र भएकाले यो जरुरी थियो।
विपीनलाई रंगमञ्चमा काम गर्न मन लागिरहने मुख्य कारण भने यसको साहित्यसँगको निकटता हो। उनको अनुभवमा नेपालमा सिनेमाभन्दा साहित्यसँग रंगमञ्च बढी नजिक छ। हरेकपटक नाटक खेल्ने बेला लेखकको पाठभित्र डुब्ने कुरा उनलाई खास लाग्छ।
'थिएटर टेक्स्टमा आधारित हुन्छ। हामी अनुवादित कृति भनेर काम गर्दैनौं, मूल लेखक सार्त्रकै नाटक सोचेर काम गरिरहेका हुन्छौं,' उनले भने, 'अनुवाद गर्दा जे शब्द राखे पनि दर्शकले कसरी लिन्छन् भनेर सचेत भइन्छ। फिल्ममा काम गर्दा यसरी सचेत हुन्न।'
उनी दर्शकसँग जोडिन कतिपय अप्ठ्यारा वाक्य र शब्दलाई आफ्नै अनुकूल ढालेर संवाद बनाउँछन्। धेरैपछि रंगमञ्चमा फर्किँदा उनी पहिलाभन्दा जोस र लगनसाथ काम गरौं भनेर आएका थिए। आइतबार अनुपस्थित तीनको प्रिमियर शोपछिको प्रतिक्रियाले अझै हौस्याएको छ।
'एकदमै मज्जा आइरहेको छ। वर्षौंपछि पुरानो साथी भेटेको खुसीजस्तै। त्यो साथी भेटिएको केहीछिनमै सधैं ऊसँगै त थिएँ भनेजस्तै भइरहेको छ,' उनले सुनाए।
महामारीपछि घरमा थन्किनुपर्दा उनलाई नयाँ काम गर्ने तलतल थियो। एक-दुइटा म्युजिक भिडिओमा देखिए पनि दिमाग भुत्ते भएको महशुस हुन थालेको थियो उनलाई। यस्तो अवस्थामा अनुपस्थित तीनले एउटा राम्रो काम गरेँ भन्ने तृप्ति दिएको छ।
गुणस्तरीय अभिनय गरिरहेकी उषा रजकसँग विपीनले पहिलोपटक काम गरे। पवित्रा खड्का र मनाङ लावतीसँग काम गरेर नयाँ पुस्तासँग काम गर्ने रहर पनि मेटे। प्रवीण खतिवडाको निर्देशनमा बनेको नाटक 'हेडा ग्याब्लर'मा सँगै अभिनय गरेका घिमिरे युवराजसँग सहकार्य गर्ने पुरानो वाचा पनि पूरा गरे।
यी सबै निजी उपलब्धि र अनुभवबीच विपीनको उपस्थितिले संकटबाट गुज्रिरहेको रंगमञ्चको माहोल बनाउन पनि योगदान दिएको छ। पहिलो लकडाउनयता रंगकर्मीले आफ्नो काम र दर्शकसँग जोडिइराख्न भर्चुअल नाटकको प्रयास गरे। केही पुराना नाटक युट्युबमा अपलोड भए।
शिल्पीले नाटक प्रदर्शनमा अनलाइनमा पहिलो पटक टिकट प्रणाली पनि सुरू गरेको छ। रंगमञ्च ब्युँताउने यो प्रयासले नयाँ ऊर्जा थपिने विपीन बताउँछन्। रंगमञ्च क्षेत्रको यो ऊर्जा अब कायम रहनुपर्नेमा उनी जोड दिन्छन्।
'फिल्ममा जति व्यस्त रहे पनि म थिएटर छोड्न सक्दिनँ। थिएटरमा मेरो उपस्थिति र अनुपस्थितिको क्रम चलिरहला। तर समग्र रंगमञ्च र कला क्षेत्रको यो ऊर्जामा अवरोध नआओस्। हामी कलाकार अनुपस्थित हुन नपरोस्।'