गायिका आस्था राउतले नयाँ गीत 'कम्मरै भाँचेर' सार्वजनिक गरेकी छन्। उनले म्युजिक नेपालको युट्युबमार्फत यो गीत स्रोता/दर्शकमाझ ल्याएकी हुन्।
आस्थाकी आमा सावित्री राउतको शब्द रहेको गीतमा मनको रहर साँचेर राख्नेभन्दा पनि पूरा गर्नुपर्छ भन्ने सन्देश दिइएको छ।
जिन्दगी हास्दै, गाउँदै, नाच्दै खुसी भएर जिउने कुरा गीतमा गरिएको छ। यसमा संगीत सुरेश अधिकारीको छ भने संगीत निर्माता रिकेश गुरूङ हुन्।
डान्सिङ शैलीको गीतको भिडिओमा आश्मा विश्वकर्माको नृत्य छ। आस्था स्वयं पनि भिडिओमा देखिएकी छन्। भिडिओमा ठूलै संख्यामा कोरस राखिएको छ भने आकर्षक र स्तरीय बनाइएको छ।
रोशन विश्वको कोरियोग्राफी रहेको भिडिओको निर्देशन शान थापाले गरेका हुन्। यसमा दिनेश पराजुलीको छायांकन र विवेक सुनारको सम्पादन छ।
भिडिओको निर्माता हरिबहादुर राउत हुन्।
'कम्मरै भाँचेर' ले यति बेला युट्युबमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ।