सांगीतिक कार्यक्रम पलेँटीमा प्रसिद्ध संगीतकार न्ह्यू बज्राचार्य प्रस्तुत हुने भएका छन्।
नेपालयको 'आर' शालामा आयोजना हुँदै आएको यो सांगीतिक कार्यक्रममा यस पटक बज्राचार्यको प्रस्तुति हुने भएको हो।
जुलाईको अन्तिम शुक्रबार २५ र शनिबार २६ (साउन ९ र १०) मा हुने कार्यक्रममा बज्राचार्यलाई बानिका प्रधानले साथ दिनेछिन्।
यस पटक कार्यक्रमलाई कवि तथा गीतकार विप्लव प्रतीकले संचालन गर्ने पलेँटी संयोजन गर्दै आएका संगीतकार आभासले जानकारी दिए। पलेँटी आजभन्दा २० वर्ष पहिले सुरू भएको सांगीतिक कार्यक्रम हो।
जुलाई महिनाको कार्यक्रमका लागि संगीतकार न्ह्यू बज्राचार्य र बानिका प्रधान पलेँटी टीमसँग अभ्यासमा जुटिरहेका छन्।
न्ह्यू बज्राचार्य नेपाली सांगीतिक जगतमा स्थापित नाम हो। उनले धुन भरेका अनेकौं गीतहरूले लोकप्रियताको शिखर चुमेका छन्। खासगरी बज्राचार्यले धुन भरेका 'फूलको आँखामा', 'नआऊ सपनाभरि', 'अरबौं मान्छेहरुमा', 'लैजा चरी', 'सयथरि बाजा' लगायत गीतलाई नेपाली स्रोताहरूले रूचाएका छन्।
नेपाली गायनकी अग्रज स्वर–शिल्पी अरूणा लामाले गाएको 'यो मन त तलाउ हो' लाई पनि बज्राचार्यले धुन भरेका हुन्। बज्राचार्यसँग गायक बच्चु कैलाशका निम्ति संगीत रचेको अनुभव समेत छ।
यस पटकको पलेँटीबारे कार्यक्रम संयोजन गर्दै आएका संगीतकार आभास भन्छन्- 'न्ह्यू बज्राचार्य नेपाली संगीतमा लामो समयदेखि क्रियाशील सिद्धहस्त संगीतकार हुन्। उनका सृजनाले नेपाली संगीतमा बेग्लै स्वाद स्थापित गरेका छन्। लोकप्रिय सर्जक न्ह्यूलाई पलेँटीमा निम्त्याउन पाउँदा मलाई साह्रै आनन्द अनुभूत भएको छ।'
पहिलोपल्ट पलेँटीमा सहभागी हुँदै गरेका न्ह्यू बज्राचार्य भन्छन्, 'नेपाली आधुनिक संगीतलाई अहिलेका श्रोताहरूसँग कनेक्ट गर्ने ब्रिजको रूपमा पाउँछु म पलेँटीलाई। यस मञ्चमा यसपाली हुने मेरो प्रस्तुतिलाई स्मरणीय बनाउन मेरो पुरा कोसिस रहनेछ।'
आफ्नो प्रतिक्रियापछि उन्मुक्त हाँसोकासाथ गिटारमा आफ्ना औंलाहरू कुदाउछन् न्ह्यू।
पलेँटी संचालनका निम्ति छेउमा बसेर रिहर्सल निहारिरहेका कवि तथा गीतकार विप्लव प्रतीक भन्छन्– 'कुनै सहर कतिको जीवन्त छ भन्ने कुरा त्यहाँ गुञ्जिने समकालीन संगीतमा पनि निर्भर हुन्छ। त्यस पुण्य कामलाई २० वर्षदेखि निरन्तरता दिइरहेको छ पलेँटीले। मलाई विश्वास छ; यसपाली पलेँटीमा हुने न्ह्यू बज्राचार्यको प्रस्तुति स्मरणीय रहनेछ।'
पलेँटी टिमसँग पहिलोपल्ट गीत अभ्यास गरिरहेकी बानिका प्रधान भन्छिन्– 'असंख्य अग्रजहरूले पलेँटी कस्नुभएको यो मञ्चको गरिमा अतुलनीय छ। धेरै पहिलेदेखि यस मञ्चमा गाउने सपना थियो। मसँग पलेँटीको दर्शक भएको अनुभव छ। तर यसपाली भने आफैँलाई गाउने मौका जुर्यो। साह्रै आनन्दित छु।'
काठमाडौं कालिकास्थानस्थित नेपालयको 'आर' सालामा हुने यस कार्यक्रमको टिकट अनलाइनबाट प्राप्त गर्न सकिनेछ।