मोडल कथा कलाकार निराजन प्रधान लामो समयपछि कला क्षेत्रमा फर्किएका छन्।
उनी म्युजिक भिडिओ निर्देशकनमार्फत यो क्षेत्रमा फर्किएका हुन्। उनले फोटो कथाको प्रस्तुतिमा निर्माण भएको 'माया बस्यो' बोलको गीतको म्युजिक भिडिओ निर्देशन गरेका छन्।
बिहीबार सार्वजनिक यो गीतमा सुगम पोखरेल र समीक्षा अधिकारीको स्वर छ भने भिडिओमा केकी अधिकारी र राघव दाहालले अभिनय गरेका छन्।
पाश्र्व संगीतको झल्को दिने गीतमा प्रेमिल जोडीको प्रेम छ। अनुहार देख्दै प्रेम बसेको प्रसंगबाट सुरू हुने गीतले सागरभन्दा गहिरो र नदीभन्दा लामो माया बसेको कुरा गर्छ। एकले अर्काको तारिफ गर्ने गीतले एकअर्काको आनीबानीको खुलेर प्रशंसा गरेको छ।
सुख–दुःख सँगै काट्ने बाचा गर्दै एकअर्कालाई जिन्दगी सुम्पने प्रणसँगै सरगम घतानले लेखेको गीत टुंगिन्छ। योगेश काजी शाहको संगीत तथा एरेन्ज रहेको गीत मिक्सिङ तथा मास्टरिङ मनोज परियारले गरेका छन्। अर्जुन तिवारीको डिओपी रहेको भिडिओमा ड्रोन सट सुरेश काफ्लेको छ।
सम्पादन तथा रंग संयोजन प्रवीन श्रेष्ठले गरेको भिडिओमा कोरियोग्राफी रोशन विश्वकर्माको छ।
निराजन कुनै समय नेपाली म्युजिक भिडिओमा रोजाइका मोडल हुन्। उनले केही फिल्ममा पनि अभिनेताका रूपमा काम गरेका छन्।
'निर्देशन पनि गरौं भन्ने पहिलेदेखि नै लागिरहेको थियो। तर, अहिले यो अवसर आयो,' निराजनले भने, 'जसरी मलाई अभिनयमा रूचाइदिनुभयो, त्यस्तै मैले गरेको निर्देशनबाट पनि अपेक्षा गरेको छु।'
भिडिओको निर्मातामा सनुस्का दाहाल छिन्।