चर्चामा रहेको गीत 'दुश्मन हेरेको हेर्यै' ले युट्युबमा छोटो समयमै १० करोड भ्युज पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यसका सर्जक तथा गायक दुर्गेश थापालाई बधाई दिएका छन्।
प्रधानमन्त्री ओलीले आइतबार बेलुका सामाजिक सञ्जालमा एक पोस्ट गर्दै दुर्गेशलाई बधाई दिएका हुन्।
'आजको नयाँ पिँढीले बेग्लै स्वादका गीतसंगीतमा रूचि देखाउन थालेको दुश्मन हेरेको हेर्यै गीतको भ्युअर्सबाट थाहा हुन्छ। दुर्गेश थापाको यो गीत सुन्नेको संख्या पाँच महिनामा १०० मिलियन (१० करोड) पुगेको छ। गीतका सर्जक दुर्गेश थापालाई बधाई,’ दुर्गेशको तस्बिर पोस्ट गर्दै ओलीले भनेका छन्।
दुर्गेशले पनि उक्त पोस्ट सेयर गर्दै प्रधानमन्त्रीको चासो र सम्मानले आफूलाई भावुक बनाएको बताएका छन्। यसले आफ्नो सिर्जनात्मक यात्रामा ऐतिहासिक प्रेरणा थपिएको दुर्गेशले उल्लेख गरेका छन्।
उनी लेख्छन्,– 'नयाँ पुस्ताको सिर्जना, अभिव्यक्ति र परिश्रमप्रति देशकै सम्माननीय प्रधानमन्त्रीज्यूले देखाउनुभएको चासो, संवेदना र सम्मानले मलाई असाध्यै भावुक तुल्याएको छ। ‘दुश्मन हेरेको हेर्यै’ गीतमा १० करोड भ्युजको सफलताप्रति सार्वजनिक रूपबाटै बधाई र शुभकामना दिइ हामीलाई दिनुभएको स्नेहले मेरो सिर्जनात्मक यात्रामा ऐतिहासिक प्रेरणा थपिएको छ। देशको प्रधानमन्त्रीज्यूले नेपाली गीत–संगीतको मूल्य र सम्भावना चिन्नुभएको यो क्षण सम्पूर्ण सिर्जनशील पुस्ताका लागि गर्वको विषय पक्कै हो। उहाँको शब्द केवल एउटा बधाई मात्र थिएन, त्यो नयाँ सोच, नयाँ ऊर्जा र नयाँ आशाको सम्बोधन थियो।'
दुर्गेशको गीत 'दुश्मन हेरेको हेर्यै' ले पाँच महिनाको छोटो अवधिमै युट्युबमा १० करोड पटक हेरिएको छ।
यो गीतबाट दुर्गेश फेरि एकाएक चर्चामा आएका थिए। यतिबेला उनी देश/विदेशका स्टेज कार्यक्रममा व्यस्त छन्।