गायन रियालिटी शो 'नेपाल आइडल' सिजन ६ मा उत्कृष्ट १६ जना प्रतिस्पर्धी छनोट भएका छन्।
शुक्रबार र शनिबार प्रसारित प्रि–गाला राउण्ड प्रस्तुतिपछि १६ जना आगामी गाला राउण्डमा प्रवेश गरेका हुन्।
गाला राउण्डमा प्रवेश गर्नेहरूमा सिक्किमका मिलन विश्वकर्मा, चितवनकी दर्शना गान्धारी, सिक्किमकी बबिता थापा मगर, काठमाडौंमा म्रिनल मानन्धर, बाराका पिटु गहतराज, सिन्धुपाल्चोककी गंगा सोनम, सिलिगुढीकी सुस्मिता एर्गेट, पोखराकी आशा राई, काठमाडौंका महेश्वर भट्टराई (उज्ज्वल), गोखराका जितेन्द्र गुरूङ, डोटीका निरज विश्वकर्मा, चितवनका राज सायमी, इटहरीका नितेन मोक्तान, रिजन थापा, दार्जिलिङका अभिनय खाती र ललितपुरका प्रशन्न धमला छन्।
यीमध्ये सिक्किमका मिलन र चितवनकी दर्शना गोल्डेन माइल प्राप्त गर्न सफल प्रतिस्पर्धी हुन्। गोल्डेन माइक पाएका अर्का एकजना भने बाहिरिइसकेका छन्।
अब अर्को हप्तादेखि गाला राउण्डको प्रतिस्पर्धा सुरू हुनेछ। जसमा १६ जनाको प्रतिस्पर्धाबाट जजहरूले उत्कृष्ट ८ जनालाई सुरक्षित गर्नेछन र बाँकी ८ जना बटममा पर्दै भोट माग्नेछन। भोटिङको आधारमा हरेक हप्ता शीर्ष १० सम्म २/२ जनाले र त्यसपछि १/१ जनाले नेपाल आइडलको मञ्च छाडनेछन्।
प्रि–गाला राउण्डमा शुक्रबार अतिथिका रूपमा वरिष्ठ संगीतकार रञ्जित गजमेरलाई निमन्त्रण गरिएको थियो। नेपाल आइडलको स्टेजमा उनलाई सम्मान समेत गरिएको थियो।
एपीवान टेलिभिजनद्वारा प्रशारित अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलको यो सिजन जेठ २ देखि प्रसारणमा आएको थियो। यस सिजन अघिल्ला भन्दा फरक र विशेष बनाइएको छ। यसपटक प्रतियोगीहरूले जज राउण्डदेखि नै ब्याकअप ब्यान्डको साथ प्रस्तुति दिएका छन्। त्यस्तै, नेपाल आइडलका एक्स्ट्रा एपिसोडहरू पनि प्रसारण गरिएको छ। यसले दर्शकलाई पर्दा पछाडिका रोचक कथाहरू प्रस्तुत गरिरहेको छ।
इटहरी, पोखरा, नेपालगञ्ज हुँदै काठमाडौंमा २ दिन ओपन अडिसन गरिएको थियो। र, त्यहाँबाट छनोट प्रतिस्पर्धीहरू विभिन्न चरण पार गर्दै १ सय जना जज राउण्ड प्रवेश गरेका थिए।
जज राउण्डबाट अर्को थिएटर राउण्डमा ७८ जना छनौट भए भने थिएटरबाट प्रि–गाला राउण्डका लागि गोल्डेन माइक सहित २३ जना छानिएका थिए। प्रि–गालाबाट गाला राउण्डका लागि आफ्नो प्रतिस्पर्धाका आधारमा जजहरूले २३ जनाबाट ७ जनालाई आउट गर्दै उत्कृष्ट १६ प्रतिस्पर्धी छानेका हुन्।
संगीत क्षेत्रका उदीयमान तथा लुकेका प्रतिभालाई उजागर गर्ने मञ्चका रूपमा लिइएको नेपाल आइडलको यो सिजनमा निर्देशकका रूपमा सुरेश पौडेल र एलेन श्रेष्ठ छन्। निर्णायक मण्डलमा सुरूवाती तीन सिजन तथा पाँचौं सिजनका निर्णायकहरू न्ह्यू बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी छन् भने आसिफ शाहले उद्घोषण गरिरहेका छन्।
नेपाल आइडल शुक्रबार र शनिबार एपीवान टेलिभिजनमा ८ः३० बजे र नेपाल आइडलको युट्युब च्यानलमा ९ः१५ मा प्रसारण भइरहेको छ। यसको फिनाले भदौं १४–१५ गतेको आसपासमा हुने नेपाल आइडलका रियालिटी प्रोड्युसन सुवास थापाले बताए।
नेपाल आइडलमा क्रमशः बुद्ध लामा, रवी ओड, सज्जा चौलागाईं, भूपेन्द्र थापा मगर र गत वर्ष करण परियार विजेता बनेका थिए।