प्रेमध्वज प्रधान राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार–२०८२ घोषणा गरिएको छ। 'गोल्डन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान' ले संगीत क्षेत्रका चार व्यक्तिलाई पुरस्कार तथा सम्मान प्रदान गर्ने घोषणा गरेको हो।
वरिष्ठ गायिका मीरा राणालाई 'प्रेमध्वज प्रधान राष्ट्रिय संगीत सम्मान–२०८२' प्रदान गरिने भएको छ। उनलाई नगद १ लाख रूपैयाँसहित यो सम्मान प्रदान गर्न लागिएको हो।
प्रतिष्ठानले 'प्रेमध्वज प्रधान राष्ट्रिय वाद्यसंगीत सम्मान– २०८२' वरिष्ठ वाद्य संगीत निर्देशक मोहनकृष्ण कार्कीढलीलाई प्रदान गर्ने निर्णय गरेको छ। ५० हजार रूपैयाँसहित यो सम्मान प्रदान गरिनेछ।
त्यस्तै, 'प्रेमध्वज प्रधान राष्ट्रिय युवा संगीत पुरस्कार–२०८२' गायक सुरज कुमार थापालाई प्रदान गरिने भएको छ। यो पुरस्कारको राशि पनि ५० हजार रूपैयाँ रहेको छ।
'प्रेमध्वज–किरण प्रधान राष्ट्रिय प्रतिभा संगीत पुरस्कार–२०८२' गायक चन्द्र सिं घलेलाई प्रदान गरिने भएको छ। यो पुरस्कार २५ हजार रूपैयाँसहित प्रदान गरिने भएको हो।
प्रेमध्वज प्रधानको जन्मजयन्तिको अवसर पारेर उनकै जन्मस्थल सिन्धुपाल्चोकको चौतारामा कार्यक्रम गर्दै पुरस्कार तथा सम्मान प्रदान गर्न लागिएको प्रतिष्ठानकी कोषाध्यक्ष भुवन मास्केले जानकारी दिइन्। प्रतिष्ठान संस्थापक अध्यक्ष तथा गायक प्रधानकी श्रीमती किरण प्रधानको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले पुरस्कार तथा सम्मानको घोषणा गरेको हो।
गोल्डन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानले प्रत्येक दुई वर्षमा स्रष्टा सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ।