सन् २००७ मा पलेँटीमा पहिलोखेप गीत सुनाएकी संगीताले शुक्रबार र शनिबार साँझ फेरि आफ्नो एकल गायन प्रस्तुत गरेकी छन्। झण्डै २ घण्टासम्म चलेको पलेँटीमा संगीताले दर्जनभन्दा बढी सृजना प्रस्तुत गरेकी थिइन्।
कार्यक्रमको सुरूआत खयाल गायनबाट भएको थियो। राग ‘रागेश्री’ को विलम्वित लयमा संगीता आफैँले सृजना गरेको बन्दिस (गीत) ‘सब सुख दियौ’ प्रस्तुत भएको थियो। एकतालबाट सुरू भएको रागले मध्यलय प्रवेश गर्दा दर्शक, श्रोता रोमाञ्चक बनेको अनुभूति हुन्थ्यो। तीनतालमा रहेको मध्यलयको बन्दिस ‘उनि उनि रहिछौ किन हो संगिनी’ कविवर माधव घिमिरेको शब्द सृजना थियो।
कार्यक्रमको दोस्रो चरणमा ठुमरी र दादरा प्रस्तुत भएका थिए। पहिलो ठुमरी राग ‘माझ–खमाज’ मा आधारित थियो। यसपालीको पलेँटीको मुख्य आकर्षण ठुमरीलाई नेपाली भाषामा प्रस्तुत गरिनु थियो। लामो समयदेखि शास्त्रीय गायनमा क्रियाशील संगीता प्रधानलाई ‘ब्रजभाषा’ र हिन्दीमा मात्र होइन आफ्नै भाषामा पनि ठुमरी गाउन पाए हुने भन्ने सोच निक्कै वर्ष अघिदेखि लागेको रहेछ। त्यो इच्छालाई आंशिक रूपमा भए पनि यसपाली पूरा गरेकी छन्। यस काममा उनलाई पलेँटी संयोजक आभासले सहयोग गरेका छन्। आभासले माझ खमाजमा रहेको ठुमरीको बोल– ‘झर्झर बर्खा ऋतु आयो’ र राग पहाडीमा आधारित दादराका निम्ति ‘मौन बसी बित्यो रात’ लेखेका हुन्। त्यस्तै पुष्प चन्द्रिकामा प्रयोग भएको साहित्य ‘कठिन समयमा, एक मेरो घनश्याम’ गोपाल योञ्जनले हिन्दीबाट गरेको भावानुवाद रहेको थियो।
पलेँटी कार्यक्रमको तेस्रो चरणमा भने संगीताले आफ्ना नयाँ पुराना नेपाली आधुनिक गीत प्रस्तुत गरेकी थिइन्। गीति चरणको सुरूवातमा गीतकार कालीप्रासाद रिजालका दुईवटा गीत प्रस्तुत भएका थिए। पहिलो प्रस्तुतिमा ‘कुन पापीले कुन निष्ठुरीले’ रहेको थियो। जसलाई संगीतकार गुरुदेव कामतले धुन भरेका थिए। गुरुदेवले भरेको धुन नेपाली आधुनिकमा बिरलै सुनिने शैलीको गीत थियो। ‘राग माण्ड’ मा आधारित यो गीत ठुमरी शैलीकै गीत थियो। कालीप्रसादको दोस्रो रचना– ‘जाऊ फेरि मन यो मेरो दुखाएर जाऊ’ लाई संगीतकार आभासले धुन भरेका थिए। यो गीत पलेँटीबाटै प्रथमपटक सार्वजनिक भएको थियो।
त्यस्तै अर्को गीत– ‘जीवन चुपचाप गुजारेँ त के भो? तिमीले जित्यौ म हारेँ त के भो?’ शान्ति ठटालको नयाँ धुन संगीताको स्वरमा गुञ्जिएको थियो। शान्ति ठटालको धुनमा रत्नशम्शेर थापाको सृजना ‘तिर्सना छल्किन्छ’ र मन्जित तामाङ्को ‘मैले प्रीत लाएँ लाएँ, लाजै नमानी लाएँ’ गाउँदा संगीता प्रधानको मुहारमा आनन्दको लहर फैलिएको अनुभूत हुन्थ्यो।
कार्यक्रमा संगीताले आफू काठमाडौं आउँदाका क्षणहरु सम्झँदै र विभिन्न संस्मरण सुनाउँदै गीत गाएकी थिएन्। त्यही क्रममा उनले संगीतकार नातिकाजीसँग आफ्ना पहिलो गुरु संगीतकार मानवीर सिंहले गराइदिएको भेट सम्झँदै ‘आँगनमा आज मेरा प्रियतम आए’ सुनाएकी थिइन्। निर्मोही व्यासको शब्द सृजना रहेको यो गीत संगीताले रेडियो नेपालमा गाएको पहिलो चरणको गीत हो।
कार्यक्रममा नेपथ्यका अगुवा अमृत गुरुङले धुन भरेको कवि मञ्जुलको रचना ‘एकान्तमा फूल फुल्छ कि म फुल्छु’ लाई अत्यधिक रूचाइएको थियो। फर्माइसमा दोहोरिएको यो गीत अमृतले आजभन्दा १८ वर्ष पहिले संगीता प्रधानकै पलेँटीका निम्ति धुन भरेका थिए।
संगीताले कार्यक्रममा आरति नेवाको शब्दमा रहेको ‘किन हो हजुरलाई आफ्नै भनिदिन मनलाग्छ’ गाउँदा संगीतकार मानवीर सिंहलाई श्रद्धापूर्वक शब्दाञ्जली अर्पण गरेकी थिइन्।
कार्यक्रमको अन्त्य भइसक्दा पनि दर्शकहरू आसनमै स्थिर देखिन्थे। पलेँटी हेरेर बाहिरिँदै गरेका शेष नारायणको प्रतिक्रिया थियो– ‘शास्त्रीय संगीत र आधुनिकको संगम गज्जबै सुनिँदो रहेछ; पलेँटी नहुँदा न्यास्रिएका थियौं। आज त्यो नियास्रो मेटियो।’ सँगै उभिएका पंकज नेपाल भन्दै थिए– ‘नेपालीमा ठुमरी क्या गजब सुनिने रैछ।’
पलेँटीमा बारम्बार आइपुग्ने जर्मन संगीत प्रेमी रेनाटे साम्बोकको प्रतिक्रिया थियो– ‘मैले पहिले पनि यो कार्यक्रम हेरेको छु। मलाई नेपाली गीत मनपर्छ तर नेपाली नारीले गाएको हेरेको यो मेरो पहिलो कन्सर्ट हो। सि ह्याज सच् अ बोल्ड याण्ड ब्युटिफूल भोइस!’
पलेंटी कार्यक्रम हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रबार र शनिबार नेपालयको आर सालामा हुने गर्छ।