म्युजिक भिडिओ मोडल हुन् उत्साह घिमिरे। एक दशकअघि 'चाउचाउ नी खाएँ' बोलको गीतबाट मोडलिङमा पाइला चालेकी उनले तीन दर्जन म्युजिक भिडिओमा मोडलिङ गरेकी छन्।
एलिना चौहान, रचना रिमाल र समीक्षा अधिकारीको स्वर रहेको 'आयौं चेली माइती सम्झेर' मा उत्साहले नृत्य गरेकी छन्, जुन झन्डै २ करोड पटक हेरिएको छ।
'सुन्दर बजार कटेसी कुन्छा, पोखरामा साइँली, जून बनेर आउनु तिमी, जसलाई मैले' आदि उनको नृत्य तथा अभिनय रहेका अन्य म्युजिक भिडिओहरू हुन्। बागलुङकी उनी सानैदेखि नृत्यमा रूची राख्थिन्। सुरूका दिनमा मोडलिङमै लाग्छु भन्ने चाहिँ उनको चाहना थिएनँ।
आफ्नो आफ्नो परिवार भन्दा पनि मामाघरतिरको प्रभावका कारण कलाकारिताप्रति रूचि बढेको उनले बताइन्। 'कसैले गीत गाउनेवित्तिकै म नाँच्न उठिहाल्थेँ। नृत्यसम्बन्धि कार्यक्रमहरुमा छुट्दिनथेँ र प्रायः पहिलो वा दोस्रो स्थान हासिल गरेर घर फर्किन्थेँ। तर यही क्षेत्रमा लाग्छु भन्ने पहिले सोचेकी थिइन्ँ,' उनले भनिन्, 'मामाघरतिर परिवारै सांगीतिक क्षेत्रमा हुनुहुन्थ्यो। उहाँहरुकै हौसला र सहयोगले यहाँसम्म आउन प्रेरणा मिल्यो।'
बागलुङबाट काठमाडौं आउनासाथ उनी एकदिन सानीमाको गीतको भिडिओ छायांकन हेर्न पुगेकी थिइन्। त्यसको अर्कोदिन उनले पहिलो पटक भिडिओमा अभिनय गरिन्। त्यसबेला टेलिभिजन कार्यक्रममा आफ्नो गीत बज्दा खुसी लागेको सम्झिइन्। उनले कलाकारितामा लागेर उनले थुप्रै अवार्ड तथा पुरस्कार समेत पाएकी छन्।
मोडलिङमा लागेर पाएको उपलब्धि के हो?
उनी भन्छिन्– 'नाम। म्युजिक भिडिओमार्फत आफू चिनिनू नै मेरो लागि ठूलो कुरा हो।'
आउँदा दिनमा पनि आफूलाई सुहाउने खालका म्युजिक भिडिओमा काम गर्ने उनले बताइन्।