लोकप्रिय लोकपप ब्यान्ड 'कन्दरा' इलाममा पहिलोपटक गुञ्जिने भएको छ।
ग्याल्पो ल्होछारको अवसरमा शुक्रबार 'कन्दरा' ले सूर्योदय गरपालिका–१२ स्थित करफोक खेलमैदानमा प्रस्तुति दिन लागेको हो।
स्थानीय पर्यटन प्रवद्र्धनको लागि कन्दराको कन्सर्ट आयोजना गरिएको आयोजक सूर्योदय होटल व्यवसायी संघका अध्यक्ष प्रज्वल प्रधानले बताए।
उनले भने, 'कन्दरा आफ्नो स्थापनाको ३२ वर्षे यात्राको सांगीतिक कार्यक्रम लिएर ‘पहिला घरदेश अनि परदेश’ अन्तर्गत विश्व भ्रमण गरिरहेको छ। यो ब्याण्डले हाम्रो नगरको प्रचारप्रसारमा सहयोग पुग्नेछ।' कन्सर्टको सह–आयोजकमा करफोक युवा परिवार रहेको छ।
कन्दराका अगुवा तथा मुख्य गायक विवेक श्रेष्ठले ब्यान्डको ३२ वर्षको इतिहासमा पहिलोपटक पूर्वी नेपालको इलाममा प्रस्तुति दिन लागेकोमा आफूहरू उत्साहित रहेको बताए।
'यो ऐतिहासिक ठाउँमा यस्ता कन्सर्ट एकदमै कम हुने गरेका छन्। सम्भवतः हाम्रो दोस्रो ब्याण्ड हो,' उनले भने, 'भारतको सिक्किम र दार्जिलिङ क्षेत्रबाट पनि दर्शक आउन लाग्नुभएको छ। यसकारण पनि यो कन्सर्ट ऐतिहासिक हो जस्तो लाग्छ।'
उनले करफोक कन्सर्ट हब बन्न सक्ने समेत बताए।
ब्यान्डमा भोकलमा विवेक श्रेष्ठ, ड्रम्समा सुनील थापा, लिड गिटारमा देव लामा, बास गिटारमा पंकज झा, मादलमा अविनाश गायक र किबोर्डमा उमेश थापा रहेका छन्।
पछिल्लो समय जुर्मुराएको यो लोकप्रिय ब्यान्ड अहिले 'पहिला घरदेश अनि परदेश' नारासहित देश तथा विदेशको भ्रमणमा छ।