गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्ड 'भ्यालेन्टाइन्स डे' यता देशका तीन सहरमा गुञ्जिएको छ।
गत शुक्रबार पाँचथरको फिदिममा ब्याण्डसँग भव्य प्रस्तुति दिएका दीपक आइतबार मोरङको विराटचोकमा गुञ्जिए। त्यसपछि मंगलबार मध्य नेपालको नवलपुरमा पुगेर कार्यक्रम गरेसँगै ब्याण्डको एक चरणको पूर्व–पश्चिम सांगीतिक यात्रा सकिएको छ।
मंगलबार नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको आठौं नवलपुर महोत्सवमा पनि ब्यान्डको पूर्वमा जतिकै क्रेज देखियो।
राति ८ बजे कार्यक्रम सुरू भएयता करिब डेढ घण्टासम्म ब्याण्डको प्रस्तुति रह्यो।
'म त हावा सँगै आउँछु' बोलको गीतबाट प्रस्तुति सुरू गरेको ब्याण्डले अन्तिममा 'मनमगन' गाउँदासम्मै दर्शक झुमे।
ब्याण्डले आफ्ना नयाँ र पुरानो गीतहरूको साथमा परम्परागत संस्कृति झल्कने लाखे नाच, झाँक्री नाच समेत प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन गराउँदै आएको छ।
अर्को हप्ताबाट नेपालभित्रै फेरि अर्को चरणको सांगीतिक यात्रा सुरू गर्ने ब्याण्डले जनाएको छ।

