युट्युबमा सर्वाधिक हेरिएको नेपाली गीत हो, कुटुमा कुटु।
राजनराज शिवाकोटी, मेलिना राई र राजन इशानको स्वर रहेको गीतलाई अहिलेसम्म २१ करोडभन्दा बढीपटक हेरिएको छ। यो फिल्म '२ रूपैयाँ' मा समावेश गीत हो।
युट्युबमा धेरै हेरिने नेपाली गीतको सूचीमा दोस्रो नम्बरमा टिका प्रसाईंको 'माया लुकी लुकी' छ। यो गीतलाई १५ करोडभन्दा बढीपटक हेरिएको छ। साली मनपर्यो, दुबो फुल्यो, पिरिम नलाउने, कसरी कसरी २, फुलबुट्टे सारी, माया बिरानी लगायतका गीतको भ्युज १० करोड नाघिसकेको छ।
लोकदोहोरीतर्फ पनि केही गीतहरूको भ्युज १० करोड नजिक छ। यद्यपि, अहिलेसम्म कुनै गीतले यो आँकडा पार गरेका छैनन्।
अहिलेसम्म कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर रहेको 'सालको पातको टपरी' युट्युबमा सर्वाधिक हेरिने लोकदोहोरी गीतको सूचीमा अगाडि छ।
नवराज पन्तको शब्द, वसन्त थापाको संगीत, आशिष अविरलको संगीत संयोजन रहेको यो गीत ६ वर्षअघि बसन्त थापाको युट्युबबाट सार्वजनिक थियो।
सर्वाधिक हेरिने गीत गाउने लोकदोहोरी गायिकामा भने शान्तिश्री परियारले आफूलाई उभ्याएकी छन्। त्यस्तै, संगीतकारका रूपमा खेम सेञ्चुरी अगाडि आएका छन्।
यी दुईको सहकार्य रहेको 'अरेली काँडैले' ले 'सालको पातको टपरी' को भ्युजलाई पछि पारेको छ। यो समाचार तयार पार्दासम्म 'अरेली काँडैले' को भ्युज ९ करोड ९० लाख २३ हजार छ भने 'सालको पातको टपरी' को भ्युज ९ करोड ९० लाख १९ हजार छ।
योसँगै 'अरेली काँडैले' लोकदोहोरी कलाकारको गीतहरूमा सबभन्दा धेरै हेरिएको गीतको सूचीमा पहिलो नम्बरमा परेको हो।यसमा स्वर शान्तिश्रीको एकल रहेकाले दोहोरी गीतमा भने यो नपरेको हो।
'अरेली काँडैले' को कुरा गर्दा यो गीत अघिल्लो वर्ष तीजको छेको पारेर सार्वजनिक भएको थियो। यसमा नेत्र अर्यालको शब्द, श्यामश्वेत रसाईलीको संगीत संयोजन छ। सुनील बिकको निर्देशन, गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडिओमा प्रकाश सपुत र अञ्जली अधिकारी फिचर्ड छन्।
खेम र शान्तिश्रीको कुरा गर्दा, उनीहरूले यसअघि सहकार्य गरेका अन्य गीतहरू पनि रूचाइएका छन्। 'अरेली काँडैले' पछि भने उनीहरूबीच सहकार्य हुन सकेको छैन।
खेमको संगीत रहेको 'म त ढलें ढलें', स्वर र संगीत रहेको 'मायालाई पानको पात' लगायतका गीतहरू पछिल्लो समय चर्चामा छन्।उनी द भ्वाइस अफ नेपाल सिजन ६ को कोच समेत छन्।
त्यस्तै, शान्तिश्रीको स्वर रहेका 'रूकुम मैकोट', 'साँझ पर्यो झमक्क' जस्ता गीतहरू पछिल्लो समय चर्चामा छन्।