आफ्ना गीतमार्फत स्रोताहरूको मन जितेकी गायिका इन्द्रकला राई 'द भ्वाइस अफ नेपाल' सिजन ६ मा प्रतिस्पर्धी बनेकी छन्।
सुशान्त केसीको पछिल्लो हिट गीत 'बार्दली' मा इन्द्रकलाले स्वर दिएकी छन्। त्यसअघि फिल्म 'दिमाग खराब' को 'हितैको माया', 'बेहुली फ्रम मेघौली' को ‘उडायो मन’ जस्ता उनको स्वरमा रहेका गीतहरू रूचाइएका छन्।
खोटाङकी उनले 'भ्वाइस अफ नेपाल' को ब्लाइन्ड अडिसनमा 'यस्तो पनि हुँदोरहेछ' बोलको गीत गाइन्।
उनको प्रस्तुतिमा चारै कुर्सी घुमे।
इन्द्रकलाले कोचको रूपमा खेमलाई रोजिन्।
कोच र दर्शकको आग्रहमा 'हितैको माया' बोलको गीतमा समेत प्रस्तुति दिइन्।
भ्वाइसमा सहभागी हुनुको कारणबारे उनले भनिन्, 'गीतहरू मान्छेले धेरै सुन्नुभएको हुन्छ। तर मान्छेले चिन्नुभएको हुँदैन्। मैले भ्वाइसलाई एउटा चिनिने प्लेटफर्म मानेर आएकी हुँ।'
भ्वाइस अफ नेपालमा सहभागी हुँदामा अनुभूति उनले फेसबुकमा समेत सेयर गरेकी छिन्। उनले कलाकारका लागि स्टेज सानो–ठूलो हुँदैन् भन्ने सोचले पाइला चालेको बताएकी छन्।
इन्द्रकला यतिबेला गीत रेकर्डिङमा समेत व्यस्त छिन्।
'भ्वाइस अफ नेपाल' सिजन ६ को प्रसारण शुक्रबारदेखि सुरू भएको हो। यस सिजनमा गायक उदय सोताङ, राजु लामा, खेम सेन्चुरी र मेलिना राई कोचको रुपमा छन्। अहिले ब्लाइन्ड अडिसन जारी छ।