गायन रियालिटी शो 'द भ्वाइस अफ नेपाल' सिजन ६ को प्रसारण सुरू हुने मिति घोषणा गरिएको छ।
यसअघि पुस तेस्रो साताबाट दर्शकमाझ आउने भनिएको शो आगामी माघ ४ गतेबाट प्रसारणमा आउने भएको हो।
हिमालय टेलिभिजनमा शुक्रबार र शनिबार राति ८ बजे र भ्वाइस अफ नेपालको युट्युब च्यानलमा साढे ८ बजे शो प्रसारणमा आउने शोका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए।
छैटौं सिजनमा केही कोच परिवर्तन भएका छन्। यसअघि दुइटा सिजनमा कोच रहिसकेका राजु लामा पुनः कोचका रूपमा छन् भने पाचौं सिजनमा कोच रहिसकेका उदय सोताङ दोहोरिएका छन्।
भ्वाइस किड्सकी कोच मेलिना राई भ्वाइस अफ नेपाल सिजन ६ मा कोच बनेकी छिन् भने लोक गायक खेम सेञ्चुरी पनि कोचका रूपमा छन।
सेञ्चुरी द भ्वाइस अफ नेपालको कोचमा अनुबन्धित हुने पहिलो लोक स्रष्टा समेत हुन्।
सिजन ६ मा पनि नेपालसहित विभिन्न देशमा बसोबास गर्ने नेपालीभाषी प्रतिभाहरूले उत्साहजनक सहभागिता जनाएको आयोजकको भनाइ छ।