सांगीतिक रियालिटी शो 'नेवाः आइडल २' को फिनाले माघ ५ गते हुने भएको छ।
ठमेलस्थित नेपा सा जिए ए हलमा दिउँसो २ बजेदेखि फिनाले सुरू हुने आयोजक फाल्कन इभेन्टले जनाएको छ।
फिजिकल तथा डिजिटल अडिसनमार्फत सहभागी ५० जनामध्ये विभिन्न चरणबाट छनोट हुँदै आएका ७ जनाबीच फिनालेमा प्रतिस्पर्धा हुन लागेको हो।
फिनालेमा सुजितमान शाक्य, हाना महर्जन, रत्नमान महर्जन, अशेष महर्जन, अनिल सयामी, अनिशराज श्रेष्ठ र आश्रय रञ्जित पुगेका छन्।
आइडलको मुख्य निर्णायकमा गोबिन्द ह्युमत खड्गी र संगिता शाक्य थापा छन्। यसलाई अन्जीता खड्गीले निर्देशन गरेकी हुन्।
आयोजक फाल्कन इभेन्टका कार्यकारी अध्यक्ष मनोज नेवाः खड्गीका अनुसार ५० प्रतिशत निर्णायकको मतको आधारमा र ५० प्रतिशत दर्शकको भोटिङका आधारमा विजेता छनोट गरिने छ।
विजेताले ट्रफीसहित नगद १ लाख २५ हजार रूपैयाँ प्राप्त गर्नेछन्। दोस्रोले ५० हजार पाउँदा तेस्रोले २५ हजार प्राप्त गर्नेछन्। त्यस्तै चौथो र पाँचौंले १०/१० हजार प्राप्त गर्नेछन्।
नेवाः आइडल पहिलो सिजनको विजेता मन्जिल शाक्य घोषित भएका थिए।
नेपाल भाषाको संगीत अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन सकिन्छ भन्ने उद्देश्य लिएर आइडल गरिएको आयोजकको भनाइ छ। साथै लुकिरहेका प्रतिभालाई प्रोत्साहन गर्ने, सांगीतिक क्षेत्रमा नेवाः मौलिकता प्रस्तुत गर्ने, गैर नेवाहरूलाई पनि नेवाः संगीत र नेपाल भाषामा आकर्षित गर्ने लगायतका उद्देश्य रहेको आयोजकले जनाएको छ।