कन्दरा ब्याण्डले गत कार्तिकमा काठमाडौंमा पहिलो पटक कन्सर्ट गर्यो। पोखरामा ३२ वर्षअघि स्थापित ब्याण्डले सो अवसरमा मेलोडी र मिठासको केवल एउटा युग मात्र पोखेको थिएन, एउटा अभूतपूर्व क्षण सिर्जना गरेको थियो।
यसैबीच कन्दराले नयाँ वर्ष सन् २०२५ लाई अझ विशेष बनाउँदै नयाँ गीत सार्वजनिक गर्ने तयारी गरेको छ। ब्याण्डले 'हुनेछः द सङ अफ होप' ल्याउने तयारी गरेको हो।
गीतका शब्द तथा संगीत ब्याण्डका ड्रम वादक सुनिल थापाले तयार पारेका छन्। यो गीतलाई आशा र प्रेरणा दिने सन्देशका रूपमा प्रस्तुत गर्न लागिएको छ। देशमा सकारात्मक परिवर्तन ल्याउन प्रत्येक व्यक्तिले आफ्ना सोच, व्यवहार, र आचरणमा सुधार गर्नुपर्ने विचारलाई यो गीतले जोड दिने जनाइएको छ।
यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत हस्ताक्षरसहित यस गीतको सफलताको शुभकामना दिएका थिए। गीत छिट्टै सार्वजनिक हुने घोषणा भएको छ।
कन्दरा ब्याण्डका 'लेककी हे माया, विदेसिएर गइन् उनी, चञ्चले कान्छीको, भेडी गोठैमा, हङकङ पोखरा, तगारोमा रूमाल, बिचरा म' जस्ता गीतहरू नेपाली संंगीतमा मौलिक लोक पपको सुगन्ध छर्दै ऐतिहासिक बनेका छन्।
कन्दराको भोकलमा विवेक श्रेष्ठ, ड्रम्समा सुनिल थापा, लिड गिटारमा देव लामा, बास गिटारमा पंकज झा, मादलमा अविनाश गायक र किबोर्डमा उमेश थापा छन्। ड्रम्समा रहेका सुनिल थापा ब्याण्डका स्थापना कालदेखिका सदस्य हुन्।
कन्दराले आन्तरिक र बाह्य पर्यटनलाई बढवा दिने उद्देश्यका साथ देश घुम्न, देश बुझ्न 'पहिला घरदेश अनि परदेश' नारासहित नेपाल टुर अन्तर्गत गण्डकी, कोसी र बागमती प्रदेशमा सफलताका साथ प्रस्तुति सम्पन्न गरिसकेको छ।
यही जनवरी २०२५ देखि बेलायतबाट वर्ल्ड टुरको प्रारम्भ गर्दैछ।