एउटा समय थियो, भारतका कलाकार, गायक/गायिकालाई देख्न पाउनु नेपालीका लागि ठूलो कुरा हुन्थ्यो।
पछिल्ला केही वर्षमा भने चर्चित भारतीय कलाकार नेपाल आउने क्रम बढेको छ।
बलिउडका आजको समयका जल्दाबल्दा गायक अरिजित सिंह, अतिफ असलम, पापोन, जुबिन यसका केही उदाहरण हुन् जसले नेपाली स्रोता/दर्शकमाझ लाइभ प्रस्तुति दिएर गए। केही साताअघि मात्रै भारतका चर्चित कमेडियन सुनील ग्रोवरले काठमाडौंमा प्रस्तुति दिए।
यो साता भारतका अर्का लोकप्रिय कलाकारले नेपालमा प्रस्तुति दिँदैछन्। बलिउडका चर्चित गायक सोनु निगम क्रिसमस डेको अवसरमा पुस १० गते बुधबार काठमाडौंमा गुञ्जिन लागेका हुन्।
हायात रिजेन्सी होटलको मैदानमा हुने 'सोनु निगम लाइभ इन नेपाल' को तयारी तीव्र पारिएको इभेन्ट म्यानेजमेन्ट कम्पनी नेपाली–टच नेपालले जानकारी दिएको छ।
नेपाली टच नेपालका प्रमुख राजकुमार गोस्वामीका अनुसार टिकट बिक्री अन्तिम चरणमा छ। ६ हजार बढी टिकट बिक्री भइसकेको र १० हजार दर्शकको अपेक्षा रहेको उनले बताए।
६ बजे गेट खुल्ने र ७ बजे सोनु निगम स्टेजमा चढ्नेछन्।
सोनु निगमले केही नेपाली गीत समेत गाएका छन्। 'सिमाना' मा समावेश चर्चित गीत 'उकाली ओराली गर्दै' उनले नै गाएका हुन् । त्यस्तै, उनले स्वर दिएका फूलको डाली–डालीमा, यो जिन्दगीले के गर्यो, यो मायाले मलाई लगायत नेपाली गीत चर्चित छन्। कन्सर्टमा उनले 'उकाली ओराली गर्दै' सहित केही नेपाली गीत पनि गाउने तयारी छ।
गायक सोनु निगमको गायन यात्रा बाल्यकालदेखि नै सुरु भएको थियो। आफ्ना बुवा अगम कुमार निगमका साथमा लागेर स्टेजमा गाउन थालेका सोनुका लागि आफ्नै बुवा सुरूवाती प्रेरणा थिए। त्यसपछि उनले भारतका दिग्गज गायक मोहम्मद रफीको पदचाप पछ्याए र छोटा रफीका रुपमा आफूलाई स्थापित गर्न सफल पनि भए। भनिन्छ, चार वर्षको उमेरमा आफ्नो बुवाको हात समातेर स्टेज चढेका सोनुले गाएको पहिलो गीत नै मोहम्मद रफीद्वारा गाइएको ‘क्या हुआँ तेरा वादा’ थियो। त्यस प्रस्तुतिबाट प्रभावित भएर सोनुका बुवाले छोरालाई विभिन्न विवाह समारोहमा गीत गाउन साथ लिएर जान थाले। यो नै सोनुको व्यवहारिक संगीत तालिम बन्यो।
सन् १९९३ मा 'मोहम्मद रफीकी यादे' एल्बम निकालेर ध्यान खिच्न सफल सोनु निगम सन् १९९५ मा टेलिभिजनमा 'सारेगमप'को होस्टका रूपमा देखिए। यो कार्यक्रमले सोनुलाई भारतीय दर्शकको घरघरमा पुर्याइदियो। फिल्ममा भने 'वेवफा सनम' को 'अच्छा सिला दिया तुने मेरे प्यारका' गीतले उनलाई पहिलो पटक चर्चित बनायो। त्यसपछि अभिनेता साहरूख खानका लागि परदेश फिल्ममा उनले गाएको गीत 'ये दिल दिवाना' तत्कालीन समयका युवा पुस्ताको प्रिय गीतका रूपमा दर्ज भयो।
यस्तै पृष्ठभूमिबाट बलिउडमा प्रवेश गरेका सोनुले त्यसपछि सन् १९९९ मा पप एल्बम 'दिवाना' सार्वजनिक गरे र आफ्नो भर्सटालिटी प्रस्तुत गरे। एल्बमले अत्याधिक चर्चा बटुले पनि उनको गन्तव्य त बलिउड नै थियो।
आफ्नो समयका दिग्गज संगीतकार र अभिनेताहरुका प्रिय गायकका रुपमा सोनुले एकपछि अर्को हिट गीत दिँदै गए। जसमा ये दिल, कल हो ना हो, सन्देशे आते है, सतरंगी रे, साथीयाँ, अब मुझे रात दिन, पंछी नदिया, कल हो ना हो, अभि मुझमे कहीं, अल इज वेल, कभी अलबिदा ना केहना आदी छन्। तीन दशक सक्रिय गायनमा रहेका सोनुको लोकप्रियता आज पनि घटेको छैन।
अचेल संख्यात्मक रुपमा थोरै गीत मात्र गाउने अवसर पाए पनि 'भूलभूलैया ३' का लागि उनले गाएको 'मेरे ढोलना', 'वजिर' को 'तेरे बिन' होस् वा उनको पछिल्लो गीत 'जान ले गई' उनका नयाँ नयाँ गीतलाई पनि दर्शक स्रोताले उत्तिकै मन पराइरहेका छन्। धेरै गायक गायिका प्रेरणा बनेको सोनु संगीतबाहेक मिमिक्री र अभिनयका कारण पनि बेलाबेला चर्चामा आउने गर्छन्।
बलिउडमा बालकलाकारका रुपमा अभिनय गरेका उनले बेताब फिल्ममा बालक सन्नी देवलको भूमिका निर्वाह गरेका थिए। ठूलो भएर उनी 'जानी दुश्मनस् एक अनोखी कहानी', 'काश आप हमारे होते', 'लभ इन नेपाल' जस्ता फिल्ममा अभिनय गरे। लभ इन नेपालमा उनी नेपाली अभिनेत्री झरना बज्राचार्यको अपोजिट रोलमा देखिएका थिए। तर गायनमा आफ्नो जादू चलाई वर्चश्व स्थापित गरेका सोनुले अभिनयमा भने असफलता मात्र भोगे।
हिन्दी, कन्नड, तमिल, बांग्लालगायत भारतको विभिन्न भाषामा गीत समेत उनले गाएका छन्।
सोनुका हिन्दी र नेपाली गीतहरू मन पराउने नेपाली स्रोता लाखौं लाख छन्। बलिउडमा रोमान्टिक, देशभक्ति, पप, रक, स्याड, क्लासिकल, भजनजस्ता अनेक विधाका गीत गाएर भर्सटाइल गायकका रूपमा चर्चामा रहेका सोनुको यस पटकको नेपालको कन्सर्ट उनका प्रशंसकहरूलाई विशेष हुनेछ।
आयोजकका अनुसार गायक सोनुले कार्यक्रममा झन्डै ३ घन्टा हिन्दी गीतहरूसँगै आफ्ना केही प्रिय नेपाली गीतमा दर्शक झुमाउनेछन्।
भारतमा साधना र सफलताको उदाहरणका रुपमा लिइने नाम सोनु नेपाली स्रोतामाझ मात्र नभई यहाँका धेरै संगीतकर्मीहरूका पनि प्रिय गायक हुन्। सोनु कन्टर्सकै दिन काठमाडौं आउने जनाइएको छ। आयोजकका अनुसार उनको नेपाल बसाइ दुई दिन हुनेछ।