चर्चित ब्याण्ड कन्दरा काठमाडौंमा पहिलोपटक गुञ्जिएको छ।
शनिबार राति ठमेलको क्लब एलओडीमा यो लोकप्रिय ब्याण्डले २ घण्टाभन्दा बढी समय उपस्थितलाई मन्त्रमुग्ध पार्यो।
कन्दराको सांगीतिक यात्राको ३२ वर्ष पूरा गरेको उत्सव मनाउँदै आयोजित 'काठमाडौं कलिङ कन्दरा' मा दर्शकको बलियो साथ रह्यो।
१० बजेपछि स्टेजमा उक्लिएका कन्दराका गायक विवेक श्रेष्ठले सुरूआतमा 'तगारोमा रूमाल राखी' गाए। त्यसपछि क्रमशः लेककी हे माया, बिचरा म, चञ्चले कान्छीको, भेडी गोठैमा, हङकङ पोखरा लगायतका हिट गीतहरू पस्किए।
सन् १९९० को दशकको चर्चित ब्याण्डलाई सुन्न एलओडी क्लबमा किशोरदेखि पाको उमेरका स्रोता–दर्शक खचाखच थिए।
कन्दरा गायक विवेक श्रेष्ठ, गितारवादक देव लामा, बेसिस्ट पंकज झा, ड्रमर सुनिल थापा, मादलवादक अविनाश गायक र किबोर्डवादक नील घतानीको सशक्त लाइनअपमा मञ्चमा प्रस्तुत भएको थियो।
'तिमी पारी' र 'हङकङ पोखरा' जस्ता गीत दर्शकले 'वान्स मोर' भनेका कारण विवेकले दोहोर्याएरै गाएका थिए। आफ्ना गीतसँगसँगै कन्दराले गोपाल योञ्जन, रञ्जित गजमेरलगायत पुराना पुस्ताका गीतसमेत गाएर आधुनिक तथा लोकस्रष्टामा सम्मानसमेत प्रस्तुत गर्यो।
विभिन्न विधाका र विभिन्न समयका गीत संगीतले फराकिलो दायराका स्रोतालाई झनै मज्जाले बाँध्न सफल भयो।
मेलोडियस लोकपप विधाको नेतृत्व गर्ने कन्दरा ब्यान्डका गायक विवेक श्रेष्ठले कार्यक्रमबारे भने, 'हाम्रा अविश्वसनीय फ्यानहरुको उर्जाले घेरिएको काठमाडौंमा पहिलोपटक प्रस्तुति दिनु सपना साकार हुनुजस्तै हो। यो प्रस्तुति, यो रात हामीलाई माया र समर्थन गर्ने तपाईंहरू सबैमा समर्पित छ।'
उनले कन्दराको कन्सर्ट नेपाली संगीत र संस्कृतिको उत्सव समेत भएको बताए।
कन्दरा कन्सर्टको आरम्भ गायक देवेन्द्र बब्लु र फिरन्तेको सांगीतिक प्रस्तुतिबाट भएको थियो जसले परम्परागत र आधुनिक संगीतको फ्युजन प्रस्तुत गरे।
'पहिले घर देश, अनि परदेश' विश्वव्यापी अभियानमा रहेको ब्याण्डले काठमाडौंपछि अब चितवन, बुटवल र नेपालगञ्जमा पनि सांगीतिक प्रस्तुति दिँदैछ। यी सहरको मिति तय हुन बाँकी छ।
ब्याण्डले जनवरीमा वर्ल्ड टुर सुरू गर्दैछ।

