दसैं तिहारमा केही नेपाली गीतले स्रोता-दर्शकको निकै माया पाएका छन्।
यसपालि पनि दसैं तिहारको छेको पारेर थुप्रै गीतहरू युट्युबमा सार्वजनिक भए। कतिपय दसैं तिहार केन्द्रित गीत रिलिज भए। फिल्मका गीतहरूदेखि अन्य अफिसियल गीत पनि यो समयमा आए।
त्यसमध्ये केही गीतहरू निकै गुञ्जिए। ति गीतहरूले युट्युबमा पनि निकै राम्रो भ्युज पाए।
रूकुम मैकोट
दुई महिनाअघि सार्वजनिक 'रूकुम मैकोट' ले निकै चर्चा पायो। फिल्म 'खुश्मा' मा समावेश यो गीत फिल्म रिलिज भएर हलबाट उत्रिसक्दा पनि अझै चर्चामा छ।
एसडी योगी र शान्तिश्री परियारको स्वर रहेको यो गीत दसैंदेखि तिहारको देउसीभैलोसम्म पनि निकै गुञ्जियो।
अहिलेसम्म युट्युबको ग्लोबल ट्रेन्डिङमा समेत रहेको गीतको भिडिओको भ्युज ५ करोड नजिक पुगिसकेको छ।
आउँथ्यो दसैं, आउँथ्यो तिहार
हेमन्त शर्माको 'आउँथ्यो दसैं, आउँथ्यो तिहार' यसवर्ष सबैभन्दा धेरै हेरिने दसैं तिहार गीत बन्यो। डेढ महिनाअघि सार्वजनिक गीत सुरूका दिनदेखि नै टिकटक र फेसबुक रिल्समा छाएको थियो।
तिहारसम्म नै चर्चामा रहेको यो गीतको भिडिओलाई सोमबारसम्म ९२ लाखभन्दा बढीपटक हेरिएको छ।
बार्दली
गायक सुशान्त केसीले इन्द्रकला राईसँगको युगल स्वरमा अघिल्लो आइतबार रिलिज गरेको गीत 'बार्दली' तिहारको समयमा निकै चर्चामा रह्यो। यसलाई तिहारको भोलिपल्टसम्म ५२ लाखभन्दा बढीपटक हेरिएको छ।
युट्युबको संगीत खण्डतर्फ शीर्षस्थानमा रहेको गीत फेसबुक रिल्स र टिकटकमा समेत निकै चर्चामा छ।
रेशम
प्रकाश दुतराजले मेलिना राईसँगको युगल स्वरमा दसैंको केही दिनअघि सार्वजनिक गरेको गीत 'रेशम' पनि निकै चर्चामा रह्यो।
दसैंमा निकै छाएको यो गीतको चर्चा तिहारसम्मै रह्यो।
तीन सातामै करोड क्लबमा पुगेको गीतको भ्युज अहिलेसम्म १ करोड २६ लाख नाघिसकेको छ।
ब्रेकअप सङ
फिल्म 'छक्का पञ्जा ५' को 'ब्रेकअप सङ' पनि दसैं तिहारको समयमा चर्चामा रह्यो।
बाबुल गिरीको स्वर रहेको यो गीत डेढ महिनाअघि रिलिज भएको हो। गीतको भिडिओलाई तिहारको भोलिसम्ममा २ करोड ४१ लाखभन्दा बढीपटक हेरिएको छ।
दुई महिनाअघि सार्वजनिक 'म त ढले ढले' पनि दसैं तिहारको समयमा चर्चामा रह्यो। 'हियारै, दुःख साट्म्ला, काँधेकुरी, रैया चाँदीको' इत्यादी गीतहरू पनि चर्चामा छन्।