दसैंको समयमा युट्युब ट्रेन्डिङमा पनि दसैं गीतकै वर्चश्व रह्यो।
विशेष गरी ट्रेन्डिङको संगीत खण्डतर्फ दसैं गीतहरू शीर्षस्थानमा देखिए। कतिपय दसैं गीतहरू अझै ट्रेन्डिङबाट हटिसकेका छैनन्।
यतिबेला केही नयाँ गीतहरू ट्रेन्डिङमा देखिएका छन्। ट्रेन्डिङको संगीत खण्डमा दोस्रो नम्बरमा अर्जुन सापकोटाको गीत 'दुःख साटम्ला' छ।
सोमबार सार्वजनिक यो गीतमा सापकोटासँगै देवी घर्ती र समीक्षा अधिकारीको स्वर छ। भिडिओमा गायक सापकोटा र उनकी श्रीमती दिपा सिंखडा फिचर्ड छन्। उनीहरूले आफूहरूको विवाहको दृश्यलाई समेत समेट्दै यो गीत ल्याएका हुन्। गीतका शब्द सन्तोष सापकोटाका हुन्।
बुधबारसम्म गीतको भिडिओलाई ६ लाख पटक हेरिएको छ।
तेस्रो नम्बरमा उर्गेन दोङको 'दसैैं लाग्यो' छ। दोङ र चर्चितको शब्द तथा दोङकै संगीत रहेको गीतलाई युट्युबमा ३२ लाख पटक हेरिएको छ। यो गीत तीन सातादेखि ट्रेन्डिङमा रहेको हो।
पाँचौं स्थानमा हेमन्त शर्माको 'आउँथ्यो दसैं' छ। लामो समय शीर्ष स्थानमा रहेर अझै ट्रेन्डिङबाट नहटेको यो गीतलाई ८१ लाख पटक हेरिएको छ। यसमा हेमन्त र मेलिना राईको स्वर छ। यो यसवर्ष सबैभन्दा धेरै हेरिएको दसैं गीत समेत हो।
सातौं स्थानमा फिल्म '१२ गाउँ' को गीत 'यो मनले' छ। ६ दिनअघि सार्वजनिक गीतलाई ८ लाख पटक हेरिएको छ।
विराज भट्ट र न्यान्सी खड्का फिचर्ड गीतमा शाहिद माल्या र संजीवनीको स्वर छ।
सज्जनराज वैद्यको गीत '९८४१' अझै ट्रेन्डिङबाट हटेको छैन। यो गीत तीन साताअघि सार्वजनिक भएको थियो। वैद्य र मलिका महत फिचर्ड भिडिओलाई २३ लाख पटक हेरिएको छ।
अरू थुप्रै गीत पनि ट्रेन्डिङभित्र परेका छन्।