नेपाल आइडल सिजन ५ का विजेता करण परियारले पार्श्वगायनमा डेब्यु गरेका छन्।
उनले आइतबार सिंहदरबारस्थित रेडियो नेपालको स्टुडिओ पुगेर ‘बुलाकी’ फिल्मको गीतमा स्वर दिएका हुन्।
करणले यसअघि अन्य गीतमा स्वर दिए पनि फिल्मको गीत गाएका थिएनन्।
बाबुल गिरीको शब्द एवं संगीतमा करणले फिल्मको गीतमा स्वर दिएका हुन्। यसमा उनीसँगै गायिका अन्नु चौधरीको स्वर सुन्न पाइनेछ।
'बुलाकी' फिल्मको अर्को एउटा गीत पनि रेडियो नेपालको स्टुडिओमा रेकर्डिङ गरिएको छ।
बाबुल गिरीकै शब्द एवं संगीत रहेको सेन्टिमेन्टल गीतमा गायिका समीक्षा अधिकारीले स्वर दिएकी छन्।
रेकर्डिङका क्रममा समीक्षा र करणले पहिलोपटक एकअर्कासँग भेटेका थिए। रेकर्डिङपश्चात मिडियाकर्मीसँग कुरा गर्दै उनीहरूले पहिलोपटकको भेट र रेडियो नेपालको स्टुडिओमा गाउँदाको अनुभव समेत सेयर गरे।
समीक्षाले भने फिल्मको गीतबाटै गायन यात्रा सुरू गरेकी थिइन्।
फिल्म 'बुलाकी' साउन ३२ देखि पुनः प्रदर्शनको तयारीमा छ। अघिल्लो पटक देखिएका कमेकमजोरीलाई सुधारेर नयाँ गीत समावेश गर्दै फिल्मलाई प्रदर्शनमा ल्याउन लागिएको अभिनेता एवं निर्माता समेत रहेका विराज विष्टले बताए।
लक्ष्मण सुनारको निर्देशन रहेको 'बुलाकी' मा सुरक्षा पन्त, नरेन खड्का र विराज विष्टको मुख्य अभिनय छ।
टोपेन्द्र विष्ट निर्माता रहेको यो फिल्म गत वर्षको वैशाखमा प्रदर्शनमा आएको थियो। कर्णाली भेगको जारी प्रथाको कथावस्तुलाई फिल्मले प्रस्तुत गरेको छ।