क्यानडामा 'नेपाल फेस्टिभल २०२४' सम्पन्न भएको छ। ब्राम्पटन सहरको केन व्हिलन्स स्क्वायरमा पहिलोपटक नेपाल फेस्टिभल भएको हो।
लालीगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लबको प्रस्तुतिमा जुलाई ७ मा भएको फेस्टिभलमा दर्शकको बाक्लो उपस्थिति रह्यो। सांगीतिक कार्यक्रमतर्फ गायक हिमाल सागर दर्शकको आकर्षणको केन्द्रमा रहे।
उनले आफ्ना 'न मैले लेखें', 'ए होर माया', 'कल्लाइ था छैन', 'यही त हो नी माया' लगायतका चर्चित गीतहरू प्रस्तुत गरे। दर्शकले संगसंगै गुनगुनाएर, नाचेर साथ दिए।
क्यानडामा रहेका नेपालीमाझ प्रस्तुति दिन पाउँदा छुट्टै अनुभूति भएको हिमालले बताए।
'क्यानडामा मेरो पहिलो कार्यक्रम थियो। दर्शकको बाक्लो उपस्थितिमा यसरी ओपन कन्सर्ट गर्न पाउँदा एकदमै खुसी छु,' उनले भने।
फेस्टिभलमा सहभागीले नेपाली गीत, नेपाली भेषभूषा, हस्तकलाका सामग्री, नेपाली खानाका परिकारहरू रूचाएको सांस्कृतिक विभाग प्रमुख जीआर भण्डारीले बताए।
'फेस्टिभलमा नेपालीहरुको सहभागिताले हामीलाई हौसला प्रदान गरेको छ। अपेक्षा गरेको भन्दा दोब्बर संख्यामा दर्शकको उपस्थिति रह्यो। आउँदो वर्ष पनि यस्तै समयमा यो कार्यक्रम गर्नेछौं,' भण्डारीले भने।
प्रवेश निःशुल्क रहेको फेस्टिभलमा नेवार, गुरूङ, तामाङ, शेर्पा, थारु, मधेसी लगायतका विभिन्न समुदायको झाँकीसहित लाखे नृत्य प्रस्तुत गरिएको थियो।
गायक हिमाल सागरसँगै कलाकारहरू देविका केसी, मानसिंह खड्का, हिमालयन भाइव्स ब्याण्डसहित अन्य थुप्रै स्थानीय कलाकारले आफ्नो प्रस्तुतीमार्फत महोत्सवमा सहभागी दर्शकलाई नचाएका थिए।
लालीगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लबका क्रिजल अधिकारीको सभापतित्वमा सम्पन्न महोत्सवमा क्यानडाका लागि नेपाली राजदूत भरतराज पौडेल प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
क्यानडामा रहेका विभिन्न नेपाली सङ्घसंस्थाको सहकार्यमा भएको फेस्टिभलले नेपाली कला र संस्कृतिको प्रवद्र्धन गर्नुका साथै नेपालीबीच सामीप्यता बढाउन सफल भएको आयोजकको भनाईं छ।