गायक बद्री पंगेनी, चोलेन्द्र पौडेलसहित १० जना गायक गायिकाको स्वर रहेको लोक दोहोरीगीत 'बसे है पालेदाइ' हटाउन माग गरिएको छ।
गीतमा विद्यालयलाई माया प्रेम गर्ने थलोका रूपमा चित्रण गरिएको भन्दै शिक्षक संघ–संगठनहरूले युट्युब लगायतका प्लेटफर्मबाट हटाउन माग गरेका हुन्।
कास्कीको अन्नपूर्ण गाउँपालिकामा क्रियाशील शिक्षक संघ–संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै गीतलाई प्रतिबन्ध गर्न माग गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, 'शिक्षकहरूलाई अपमानित हुने गरि राखिएका टुक्का, विद्यालयमा गरिएको छायांकन, विद्यालय कर्मचारीप्रति काम नगरी जागिर खाने र कार्यालयभित्र शिक्षकलाई अमर्यादित सोच राख्ने मान्छेका रूपमा गरिएको चित्रण साथै विद्यार्थीले विभिन्न भाषामा अभिवादन गर्दा शिक्षकले भौतिक सजाय दिएको जस्ता अपाच्य दृश्यले विद्यालयप्रति नै नकारात्मक भाव प्रकट गरेको छ।'
शिक्षा, समाज र साहित्यको गरिमामा ख्याल नगरी व्यापारलाई मात्रै केन्द्रमा राखेर गीत ल्याइएको उनीहरूको आरोप छ।
मागलाई बेवास्ता गरे गीतलाई बहिस्कार गर्दै गीतसँग सम्बन्धित कलाकारहरूलाई सामूहिक बहिस्कारसमेत गरिने चेतावनी दिइएको छ।
नेपाली लोक संगीतमा विद्यावारिधि गरेका तुलसीराम खनालले पनि सामाजिक सञ्जालमा गीत सेयर गर्दै आलोचना गरेका छन्।
'बसे है पालेदाइ' चार दिनअघि युट्युबमा सार्वजनिक गरिएको थियो। बालकृष्ण श्रेष्ठको शब्द रहेको गीतमा स्वर्गीय जयनन्द लामाको लय छ। विष्णु शर्माको निर्देशन रहेको भिडिओमा करिष्मा ढकाल, विजय पुन लगायतको अभिनय छ।
गीतको भिडिओ: