कलाकारले तीजलक्षित गीतको तयारी सुरू गरेका छन्। तीज गीत रेकर्डिङसँगै कतिपयले भिडिओको छायांकन समेत सुरू गरिसकेका छन्।
रेकर्डिङ र सुटिङका तस्बिरहरू सामाजिक सञ्जालमा राख्दै कलाकारहरूले तीज गीतको काम सुरू भएको जानकारी दिएका छन्।
विशेषगरी लोक तथा दोहोरी कलाकारले तीज गीत ल्याउने गरेका छन्। वर्षेनि दर्जनौं तीज गीत सार्वजनिक हुने गरेका छन्।
अहिल्यैदेखि विदेशका कार्यक्रम तय
नेपाल मात्र होइन्, नेपालीहरूको बसोबास रहेका विभिन्न देशमा समेत तीजको रमझम हुने गरेको छ। त्यहाँस्थित नेपाली समुदायले कलाकारलाई बोलाएर मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्ने गरेका छन्। तीजमा विशेष गरेर लोकदोहोरी क्षेत्रमा चलेका गायक/गायिकालाई भ्याइनभ्याइ हुने गरेको छ।
कतिपय देशमा अहिल्यैदेखि तीज विशेष कार्यक्रम तय भइसकेका छन्।
गायक–गायिकाले पनि तीजको कार्यक्रम तय गर्न थालिसकेका छन्। यस्तैमा तीजको अवसर पारेर अमेरिकाका ८ वटा राज्यमा 'अब नाच्छ अमेरिका' कार्यक्रम हुने भएको छ। फ्लाइ नेपाले अमेरिकाका नेपालीलाई नचाउने लक्ष्यसहित यो कार्यक्रम गर्न लागेको हो।
जसमा चर्चित गायिका शान्तिश्री परियार, रचना रिमाल र ज्योति मगरका साथमा लोकदोहोरीकी चर्चित मोडल करिष्मा ढकालले समेत सहभागिता जनाउने भएकी छन्।
यसवर्ष तीज भदौं २१ गते परेको छ।