बैतडीकी बालगायिका कल्पना बिष्ट यतिबेला चर्चामा छिन्। यी बाल प्रतिभाले दिनकै नयाँ–नयाँ गीत रेकर्ड गराइरहेकी छन्। कतिपय म्युजिक भिडिओमा समेत अभिनय गरेकी छन्।
दुई साताअघि काठमाडौं आएयता उनले दुई दर्जन हाराहारी गीतमा स्वर दिएकी छन्। जसमध्ये आधा दर्जन बढी गीत युट्युब ट्रेन्डिङमा छन्। युट्युबमा संगीततर्फ ट्रेन्डिङको पहिलो नम्बरमा 'मौरी रसैमा' छ। यो गीतमा गायक अर्जन सापकोटा र कल्पनाको स्वर छ।
गायक एवं सर्जक बसन्त थापाको शब्द तथा संगीतमा कल्पनाले गाएको 'लेकमा फूल्यो लालिगुराँस' ट्रेन्डिङको पाँचौं नम्बरमा छ।
कल्पनाले गायक सागर बिसीसँग गाएको 'फूल रसैको' गीत ट्रेन्डिङको नवौं नम्बरमा देखिएको छ। त्यस्तै कल्पना र अर्जुन सापकोटाको स्वर रहेको 'डालीमा बसेछ चरी' पनि ट्रेन्डिङमै छ।
कल्पना र गायिका रचना रिमालको स्वर रहेको 'दिदी बहिनी' पनि ट्रेन्डिङमा छ।
त्यस्तै उनले श्रीधर अधिकारीसँग गाएको 'मनै मरी गो', अलिफ खानसँग गाएको 'दुख्ने मुटु' पनि युट्युब ट्रेन्डिङमा देखिएका छन्।
एउटा कलाकारको यति धेरै गीत एकसाथ ट्रेन्डिङमा देखिएको सम्भवतः पहिलोपटक हो।
गतवर्ष 'भ्वाइस किड्स' सिजन २ मा भाग लिएपछि चर्चामा आएकी कल्पनाले त्यसबेला पनि केही गीतमा स्वर दिएकी थिइन्। पछिल्लो समय भने उनी 'मौरी रसैमा' गीत चलेपछि रेकर्डिङमा व्यस्त बनेकी हुन्।