वरिष्ठ लोकगायक कुमार बस्नेतलाई दीर्घ साधना सम्मान (लाइफटाइम अचिभमेन्ट) प्रदान गरिएको छ।
दरबारमार्गमा रहेको दरबार रोधी क्लबले आफ्नो १६ औं वार्षिकोत्सवको अवसरमा लोक गायनको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै बस्नेतलाई उक्त सम्मानबाट सम्मानित गरेको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको प्रमुख आतिथ्यतामा आयोजित समारोहमा गायक बद्री पंगेनी, कृष्ण आँशु र गायिका सुनिता दुलाललाई विशेष सम्मान प्रदान गरिएको छ। त्यस्तै सञ्चारकर्मी ऋषी धमलालाई पनि विशेष सम्मान प्रदान गरिएको छ।
उक्त समारोहमा लोक दोहोरीको क्षेत्रमा कलम चलाउने पाँच जना पत्रकारलाई समेत सम्मान गरिएको थियो। विष्णु शर्मा, सुशील नेपाल, नरेन्द्र रौले, अन्वेषण अधिकारी र आयशा दाहाल सम्मानित भएका छन्।
दरबार रोधी क्लबले शुक्रबारदेखि आइतबारसम्म तीन दिन वार्षिकोत्सव मनाउने निर्णय गरेको थियो। सो अवसरमा चर्चित गायक–गायिकाहरूले समेत प्रस्तुति दिएका छन्।
रोधीको वार्षिकोत्सवलाई लोकदोहोरी संगीतको उत्सवका रूपमा मनाइएको दरबार रोधी क्लबका अध्यक्ष अशोक गिरीले बताए।