दुई वर्षअघि एउटा म्युजिक भिडिओ सार्वजनिक भएको थियो — ए हो र माया!
हिमाल सागर र अन्नु चौधरीको स्वर रहेको यो गीतले रातारात चर्चा पायो। यसमा मोडल छन् विमल अधिकारी र सनिशा भट्टराई।
विमल त्यति बेला पनि म्युजिक भिडिओमा चलेकै मोडल थिए। सनिशा भने भिडिओमा नयाँ अनुहार थिइन्।
यो गीतमा उनको मोडलिङ देखेर धेरैले युट्युबमा उनका अरू काम खोजी गरे। भेट्टाएनन्। 'ए होर माया' नै सनिशाको डेब्यु भिडिओ थियो।
'यो भिडिओसँगको यात्रा निकै रोचक रह्यो,' सनिशा सम्झिन्छिन्।
त्यस बेला उनी पोखरामा आमाबुबासँगै बस्थिन्। आइटी (सूचना–प्रविधि) विषयमा स्नातक तह पढिरहेकी थिइन्। ध्यान लेखपढमै थियो।
उनी सामाजिक सञ्जालमा भने सक्रिय थिइन्। आफ्ना तस्बिर र भिडिओहरू पोस्ट गर्थिन्। इन्स्टाग्राममा राखेका तिनै तस्बिर र भिडिओका कारण सनिशालाई म्युजिक भिडिओ खेल्ने प्रस्ताव पुग्यो।
एक दिन इन्स्टाग्राममा मोडल विमल अधिकारीको 'म्यासेज रिक्वेस्ट' देखिन्। म्यासेज म्युजिक भिडिओमा काम गर्नेबारे थियो। त्यो पढेर उनी अचम्म परिन्।
अहिले फिल्म अभिनेत्री बनिसकेकी सनिशाले त्यो बेला सम्झिँदै भनिन्, 'विमल दाइले मैले इन्स्टाग्राममा पोस्ट गरेको रिल्स देख्नुभएको रहेछ। तर उहाँले म्यासेज गर्दा सुरूमा विश्वास लागेन। फेकजस्तो लाग्यो। म्यासेज आमाबुबालाई देखाएँ। अनि बाबाले उहाँसँग भिडिओ कलमा कुरा गर्नुभयो।'
कुराकानीपछि आमाबुबाले खुसी हुँदै म्युजिक भिडिओमा काम गर्न सनिशालाई हौसला दिए।

म्युजिक भिडिओ खेल्ने त पक्का भयो तर सनिशालाई थाहा थिएन — भिडिओ कसरी बन्छ? सुटिङ कसरी हुन्छ?
चितवन, लुम्बिनी लगायत स्थानमा छायांकन हुने भयो। सनिशाले आमालाई सँगै लिएर गइन्।
'त्यति बेलै हो मैले क्लिप क्लिप (टुक्रा टुक्रा) भिडिओ जोडेर लामो म्युजिक भिडिओ बन्छ भन्ने थाहा पाएकी,' उनले हाँस्दै भनिन्।
जब म्युजिक भिडिओ रिलिज भयो, उनी आफूलाई खुब मनपर्यो। उनका आमाबुबा पनि खुसी भए।
गीत छोटो समयमै युट्युबमा करोड पटक हेरियो। गीतको चर्चासँगै सनिशालाई एकपछि अर्को गीतमा मोडलिङका लागि प्रस्ताव आउन थाल्यो। सनिशाले भने दुई महिनासम्म कुनै म्युजिक भिडिओमा काम गरिनन्।
'त्यतिन्जेल ४०/४५ वटा भिडिओका लागि अफर आइसकेको थियो,' उनले भनिन्।
सनिशा सानैदेखि नृत्यमा रूचि राख्थिन्। यताउता जाँदा पनि उनलाई सिँगारिएर राम्री बनेर हिँड्न मन लाग्थ्यो। स्कुलमा शिक्षकले पनि 'ए हिरोइनी' भनेर बोलाउँथे रे! तर मनको कुनै कुनामा पछि कलाकार बन्छु भन्ने थिएन।
रहर चाहिँ के थियो?
'एयर होस्टेस,' सनिशाले भनिन्, '११/१२ कक्षा पढ्दासम्म पनि एयर होस्टेस नै बन्ने सोच थियो। आमा आइटी पढ् भन्नुहुन्थ्यो। त्यस बेला छात्रृवृत्तिमा नाम निस्किएपछि स्नातकमा आइटीमै जानुपर्यो।'
'ए हो र माया' गीतबाट मोडलिङमा उदाएकी सनिशाले छोटो समयमै अलग्गै पहिचान बनाइन्। उनले मोडलिङ गरेका 'तिमीलाई हेर्ने बानी पर्यो', 'साइँली', 'ए आमा जाम भन्यो मलाई' लगायत थुप्रै म्युजिक भिडिओ रूचाइए।
म्युजिक भिडिओ खेल्न थालेको एक वर्ष पनि पूरा भएको थिएन, उनलाई फिल्म खेल्ने प्रस्ताव आयो। त्यो पनि एक्सन अभिनेता विराज भट्टबाट।
फिल्म थियो '१२ गाउँ'।
यो सनिशाका लागि अर्को अप्रत्याशित प्रस्ताव थियो।
'म्युजिक भिडिओमा आएकै धेरै भएको थिएन। फिल्मको अफर आउँदा के गर्ने भनेर निर्णय लिनै लामो समय लाग्यो। भिडिओमा दर्शकले माया गरेका छन्, फिल्ममा रूचाएनन् भने भन्ने खालको डर थियो। अभिनय सिकेकी पनि थिइनँ,' उनले भनिन्, 'तर फेरि यो अवसर हो, अवसरले कहिल्यै कुर्दैन भन्ने लागेपछि फिल्म खेल्ने निर्णय लिएँ।'

१२ गाउँमा अभिनय गरिरहँदा उनलाई फिल्म राम्रै होला भन्ने त थियो तर, अत्यधिक रूचाइएला भन्ने सोचेकी थिइनन्। रिलिज भएपछि सनिशा हल हलमा पुगिन्। दर्शकले हुटिङ र ताली पिटिरहेको देख्दा उनलाई थप आत्मविश्वास बढ्यो।
दसैंमा रिलिज उक्त फिल्म आक्रामक कमाइ गर्दै सुपरहिट भयो।
१२ गाउँको केही समयमै उनले अर्को फिल्म 'नरसिंहा अवतार' मा काम गर्ने अवसर पाइन्। चैत २९ गते प्रदर्शन मिति तोकिएको यो फिल्ममा सनिशाले राजेश हमाल, सरोज खनाल लगायत अग्रज कलाकारहरूसँग अभिनय गरेकी छन्। यो राजेश हमालको ८ वर्षपछिको कमब्याक फिल्मसमेत हो।
करिअर थालेको सुरूमै दुइटै फिल्ममा सिनियर कलाकारहरूसँग काम गर्दा धेरै कुरा सिक्न पाएको सनिशा बताउँछिन्।
उनले भनिन्, 'सानैदेखि उहाँहरूको फिल्म हेर्दै आइरहेकाले सँगै काम गर्दा एकदमै खुसी लाग्यो। धेरै कुराहरू सिक्न पाएँ। कस्तो भाग्यमानी रहेछु म भन्ने लागिरहेको छ।'
कलाकारितामा आउनुमा परिवारको ठूलो साथ र भूमिका रहेको सनिशा बताउँछिन्।
आमाबुबाले उनलाई सानैदेखि फिल्म हेराउन लिएर जान्थे। छोरी कलाकारिता क्षेत्रमा लागोस् भन्ने उनीहरूको चाहना थियो।
'त्यसैले मलाई तिमी अभिनय गर भन्दै एकदमै प्रेरित गर्नुहुन्छ। उहाँहरूको हौसलाले नै म यहाँसम्म आएँ जस्तो लाग्छ,' उनले भनिन्।
अहिले सनिशालाई विभिन्न फिल्मबाट प्रस्ताव आइरहेका छन्। थुप्रै फिल्मको स्क्रिप्ट पढेकी पनि छिन्। अब, अभिनय प्रशिक्षण लिएर अगाडि बढ्ने उनको योजना छ।
कला क्षेत्रमा करिअर अगाडि बढाइरहँदा उनले दुइटा परिचय बोकेकी छन्, मोडल र अभिनेत्री। जे भए पनि उनलाई राम्रो कलाकार भनेर चिनिन मन छ।
'आगामी कामहरू अझै राम्रो गर्न पाउँ भन्ने छ,' सनिशा भन्छिन्, 'अभिनयमा योजनाबिनै आएँ। अब यही क्षेत्रमा केही गरौं भन्ने छ। अहिलेका लागि सबभन्दा ठूलो लक्ष्य भनेकै राम्रो कलाकार बनौं भन्ने हो। त्यसका लागि मेहनत गर्दैछु।'
सबै तस्बिर – नवीनबाबु गुरूङ/सेतोपाटी
