फिल्म 'होस्टेल' का दुई शृंखला व्यावसायिक रूपमा सफल मात्र भएनन्, यसबाट केही कलाकारहरू उदाए पनि।
'होस्टेल' र 'होस्टेल रिटर्न्स' दुवै फिल्ममा त्यस बेला नयाँ कलाकारहरूको अभिनय थियो। अनमोल केसी, स्वस्तिमा खड्का, नाजिर हुसेन, सुशील श्रेष्ठ लगायत कलाकारहरू यिनै फिल्मबाट दर्शकमाझ चिनिए।
यति बेला सोही सफल फिल्म 'होस्टेल' को तेस्रो शृंखला 'होस्टेल–३' प्रदर्शनको तयारीमा छ।
होस्टेलमा बसेर अध्ययन गरिरहेका टिनएजरहरूको कथा समेटिएको फिल्म यही शुक्रबार (फागुन २३) देखि सिनेमा हलहरूमा प्रदर्शन हुन लागेको छ।
अनि होस्टेल–३ बाट पनि केही नयाँ अनुहारहरू फिल्ममा भित्रिँदैछन्।
तिनैमध्ये हुन् — कुल ब्वाइ अर्थात पारस बम ठकुरी र सिम्रन पन्त।
यी दुईबीच मुख्य समानता भनेको उनीहरू दुवै टिकटकबाट चर्चामा आएका हुन्। टिकटकरका रूपमा ख्याती कमाएका उनीहरूको सामाजिक सञ्जालमा थुप्रै प्रशंसक र फलोअर छन्।
अहिले पारस र सिम्रन दुवै आफूलाई फिल्मको पर्दामा हेर्न निकै उत्साहित छन्। प्रदर्शन मिति नजिकिँदा कताकता डर पनि लागिरहेको उनीहरू बताउँछन्।

'दर्शकहरूले हाम्रो कामलाई कसरी लिनुहुन्छ भन्ने डर छ,' सेतोपाटीको स्टुडिओमा एकअर्कासँग कुराकानी गर्दै उनीहरूले भने, 'एकदमै मेहनत गरेका छौं। अब दर्शककै हातमा हो। रूचाउनुहुनेछ भन्नेमा विश्वस्त छौं।'
पारस फिल्ममा सत्यप्रकाश गौतम नामक पात्रको भूमिकामा छन्। खासमा उनले सुरूमा यो फिल्मका लागि प्रस्ताव पुग्दा धेरै रूचि देखाएका थिएनन्।
'आधा स्क्रिप्ट सुनेपछि चाहिँ साइन गरिहालौं कि भन्ने लागेको थियो,' पारसले भने।
निशा पात्रको भूमिका निर्वाह गरेकी सिम्रन पनि यही बताउँछिन्।
'स्क्रिप्ट नसुन्दा अघिल्ला शृंखलाजस्तै होला भन्ने थियो। जब स्क्रिप्ट सुनेँ, अहिल्यै साइन गरे हुन्थ्यो भन्ने भयो। डेब्यु फिल्ममा यो खालको भूमिका गर्न पाउनु ठूलो अवसरका रूपमा लिएकी छु,' उनले भनिन्।
पारसले कुनै दिन आफू फिल्ममा आउँछु भनेर सोचेका रहेनछन्। तर कलेजमा हुने नाटकहरूमा उनी अभिनय गर्थे। नाच्थे पनि।
पछि टिकटकमा कन्टेन्टहरू बनाउन थाले। दर्शकहरूले उनका भिडिओ निकै रूचाए र प्रशंसकहरू बढ्दै गए।
होस्टेल–३ अघि पनि उनलाई केही फिल्मको प्रस्ताव आएको थियो। त्यति बेला भने काम नगरेको उनले बताए।
'म टिकटकमै व्यस्त थिएँ। काम राम्रो भइरहेको थियो। फिल्म खेल्न तयार नभएको जस्तो लाग्थ्यो,' पारसले भने, 'आखिरमा होस्टेल–३ बाट डेब्यु गर्न लेखेको रहेछ।'


सानैदेखि नृत्यमा रूचि राख्ने सिम्रनको पनि फिल्ममा आउने सपना थिएन। पछि मात्रै अभिनयप्रति आकर्षित भएको र भारतमा अभिनय प्रशिक्षण लिन गएको उनले बताइन्। प्रशिक्षणकै क्रममा उनले एउटा फिल्म साइन समेत गरेकी थिइन्।
'खासमा म अर्को फिल्म गर्न नेपाल आएकी थिएँ। त्यसको पत्रकार सम्मेलन पनि भएको थियो। तर काम अगाडि बढेन। यत्तिकै बसिरहेको समयमा होस्टेल–३ को प्रस्ताव आयो,' उनले भनिन्।
पारस र सिम्रन दुवैको अब फिल्म अभिनयलाई निरन्तरता दिने योजना छ।
फिल्ममा व्यस्त हुँदा अचेल टिकटकमा भने समय दिन नपाएको पारसले बताए।
टिकटकबाट पाएको मायाले नै अहिले यहाँसम्म डोहोर्यायो जस्तो लाग्छ। व्यस्त भएकाले लाइभ आउन पाएको छैन। फेरि छिट्टै आउँछु,' उनले भने।
पारसलाई साइको–थ्रिलर विधाको फिल्म गर्न मन छ। सिम्रनलाई भने आर्टिस्टिक फिल्म खेल्न मन छ।
'अहिले अलि मोडर्न पात्र अभिनय गरेँ। म्युजिक भिडिओमा पनि यस्तै खालको गरेकी छु। त्यस कारण अबको फिल्म चाहिँ सांस्कृतिक खालको फिल्मको अनुभव लिन मन छ,' उनले भनिन्।
पारसलाई कुनै दिन अभिनेता राजेश हमालसँग फिल्म खेल्न मन छ।
सिम्रनले भने सौगात मल्लसँग फिल्म खेल्न मन भएको बताउँदै भनिन्, 'तिमीसँग (पारस) पनि फेरि फिल्म खेल्न मन छ, लभस्टोरी फिल्म।'
पारसले त्यसमा प्रतिक्रिया दिए, 'जुर्यो भने फेरि सहकार्य हुनेछ।'
हेर्नुहोस् कुल ब्वाइ पारस र सिम्रनको कुराकानीः