बन्द कोठा अनि एक बन्धक युवती, पहाडी मूलकी। युवती अचेत छिन्। उनका आँखामा गेरू रङको रामनामी पट्टी र मुखमा गम्छा बाँधिएको छ।
युवतीको ठिकअगाडि एक मधेस मूलका युवक उनलाई नियालिरहेका छन्। युवकले युवतीलाई पश्चाताप र माया मिश्रित भावले लामो समय हेर्छ र गहिरो सास लिन्छ।
अचानक के मन लागेर हो, युवकले उसको फोन उठाउँछ र युवतीको फोटो खिच्न तयार हुन्छ।
उनी आत्तिन्छिन्।
हडबडाउँदै सोध्छिन्, 'म कहाँ छु?'
युवक युवतीलाई शान्त बनाउन खोज्छन्। आफ्नो कुनै गलत भावना नभएको बताउँछन्।
यो दृश्य दीपेन्द्र गौचनको फिल्म 'मिसिङः केटी हराएको सूचना' को हो।
दुई दिनको घटनाक्रम समेटिएको यो फिल्ममा मधेसका युवा र पहाडकी युवतीको प्रेमकथा देखाइएको छ। फिल्ममा नाजिर हुसेन र सृष्टि श्रेष्ठको अभिनय छ।
नाजिर र सृष्टि एकअर्काको प्रसंशक पनि हुन्।
'हामीलाई पहिल्यैखि नै एकअर्कासँग काम गर्ने रहर थियो। मिसिङः केटी हराएको सूचनाले यो संयोग जुराइदियो,' सेतोपाटीसँग भिडिओ कुराकानी क्रममा उनीहरूले भने।
यो फिल्म माघ ११ गतेदेखि प्रदर्शन हुँदैछ।
फिल्मबारे सृष्टि भन्छिन्, 'यो एउटा एड्भेन्चरस प्रेम कथाको फिल्म हो। फरक फरक पृष्ठभूमिबाट आएका व्यक्तिहरूको सामाजिक दृष्टिकोण दर्शाउँछ।'
नाजिरले थपे, 'यो दुई समुदायलाई एक बनाउने खालको पनि फिल्म हो। माया, रमाइलो, यात्रा र सस्पेन्स पनि छ। यो फिल्मले दर्शकलाई भरपूर मनोरञ्जन दिन्छ।'
यो फिल्म कस्तो खालको हो, यसमा नाजिर र सृष्टि कसरी अनुबन्ध भए, उनीहरूको अनुभव कस्तो रह्यो लगायतबारे उनीहरूले लामो कुराकानी गरेका छन्।
हेर्नुहोस् नाजिर र सृष्टिको गफगाफ भिडिओमाः