गुड फ्राइडे सिनेमा
भारतमा बर्सेनि सयौं फिल्म बन्छन्। सबैजसो बलिउड (हिन्दी भाषी) फिल्मको चर्चा भारतीय र विदेशी सञ्चार माध्यमहरूमा हुन्छ। पछिल्लो समय तमिल, तेलेगू, कन्नड, मलयालम जस्ता दक्षिण भारतीय फिल्मको पनि थोरै चर्चा बढेको छ। एकाध पन्जाबी फिल्मबारे पनि सामाजिक सञ्जालतिर कुरा हुन थालेको छ।
तर भारतका अरू थुप्रै भाषामा बनेका र बनिरहेका फिल्म अझै पनि मूलधारको मिडियाको नजरमा परेकै छैनन् भन्दा हुन्छ। दृश्य र खिचाइको गुणस्तर सामान्य भए पनि दमदार कथा र प्रस्तुति भएका धेरै राम्रा फिल्म ओझेलमै छन्।
स्थानीय दर्शकमाझ एकदमै लोकप्रिय यस्ता फिल्मको स्वाद धेरै दर्शकसम्म पुग्न सकिरहेको हुँदैन। नेपाली दर्शकको पहुँचमा त झनै हुँदैन। यहाँका सिनेमा हलमा नलाग्ने र सञ्चार माध्यमहरूमा पनि उल्लेख नहुने भएकाले हामीले थुप्रै राम्रा फिल्म हेर्न छुटाएका हुन सक्छौं।
यस्तैमध्ये एक हो पश्चिम बंगाली फिल्म 'बाइसे शे श्रावोन' अर्थात् २२ श्रावण।
श्रीजित मुखर्जीको निर्देशमा बनेको यो साइकोलोजिकल थ्रिलर फिल्मले रिलिज भएलगत्तै समीक्षकहरूबाट अत्यधिक प्रशंसा पाएको थियो। त्यस्तै सन् २०११ सबभन्दा धेरै कमाउने बंगाली फिल्मको सूचीमा पनि अटायो। सिनेमा हलहरूमा १०५ दिनसम्म चलेको यो फिल्मले ४१ वटा अवार्ड जितेको थियो।
बंगाली दर्शकहरूमाझ खुब लोकप्रिय भएको यो फिल्मले लामो समयपछि बंगाली सिनेमामा थ्रिलर विधालाई पुनर्जीवित गरेको मानिन्छ।
यो फिल्मको कथा हत्याबाट सुरू हुन्छ। कोलकाताभरि पछिल्लो समय शृंखलाबद्ध हत्या गर्ने व्यक्ति एकै जना भएको अनुमान प्रहरीले गर्छ। किनभने, हत्याराले मृतकको शवसँगै बंगाली कविताका हरफ पनि लेखेर छाडेको हुन्छ।
यो मुद्दामा प्रहरीलाई निकै अलमल भइरहेको हुन्छ। मुद्दाको नेतृत्व गरिरहेका एसिपी अभिजीत यो केस सुल्झाउन संघर्ष गरिरहेका छन्। त्यसैले वरिष्ठ अधिकृत कमिस्नर अमित कुमार श्रीवास्तवले निलम्बित डिसिपी प्रोवीरलाई यो मुद्दामा काम गर्न फर्काउँछन्।
प्रोवीर हिंस्रक कार्यशैली, उग्र स्वभाव र असभ्य बोलीचाली भएका प्रहरी हुन्छन्। उनी र अभिजीतले मिलेर मुद्दा सुल्झाउने प्रयास गर्छन्।
अभिजीतकी प्रेमिका अमृता एक टिभी च्यानलमा काम गर्छिन्। उनका सहकर्मी र बाल्यकालदेखिका साथी सुरज सिन्हाले सिरियल किलरहरूको विषयमा एउटा टिभी शृंखला निर्माण गरिरहेका हुन्छन्।
अर्कातर्फ, एक अजीब स्वभावका कवि हुन्छन् निवारण चक्रवर्ती। उनी राति राति कोलकाता घुम्दै कविताहरू वाचन गर्दै हिँड्छन्।
आफ्नो अनुसन्धानका क्रममा अमृता र सुरज एउटा जेल भ्रमणमा जान्छन्। उनीहरूले रफिक अहमद र उनका १८ वर्षको जेल जीवनका एक मात्र साथी निवारण चक्रवर्तीका बारेमा जानकारी पाउँछन्। उनीहरू निवारणको घर पुग्छन् जहाँ उनका नोकर स्वपन पनि भेटिन्छन्।
निवारणले अजीबको हर्कत देखाउँछन्। रफिकका बारेमा सोध्दा रिसाउँछन्।
यसैबीच अभिजीत र प्रोवीरका कथा पनि खुल्छन्।
केही घटनापछि उनीहरूले हत्याराले प्रसिद्ध बंगाली कविहरूको पुण्यतिथिमा प्रहार गर्ने तथ्य पत्ता लगाउँछन्। उनीहरूले सम्भावित हत्याका मिति अध्ययन गर्दा अर्को मिति जुन २९ भएको पत्ता लगाउँछन्।
अमृताले पनि अभिजीतलाई निवारणको कुरा सुनाउँछिन्।
आखिर निवारण को हुन्? के शृंखलावद्ध रूपमा भएका हत्याका दोषी निवारण नै हुन्छन्?
वा, यो दोषी अरू नै कोही हुन्छ?
यो जान्न त फिल्म अन्त्यसम्म नै हेर्नुपर्छ। र, यसको अन्त्यले दर्शकलाई झस्काएरै छाड्छ।
हेर्नुस् युट्युबमाः