गुड फ्राइडे सिनेमा
सन् १९७९ देखि १९९२ बीचको बाह्र वर्ष, तीन महिना। एल साल्भाडोरका जनताले गृहयुद्धको चेपुवामा यति नै लामो समय बिताउनुपरेको थियो। यहाँ भएको सरकारी र विद्रोही पक्षबीचको युद्धमा हजारौंको मृत्यु र लाखौं विस्थापित भएका थिए।
दक्षिण अमेरिकी फिल्म 'इन्नोसेन्ट भ्वाइसेज' त्यही द्वन्द्वको समयको साक्षी बनेको पात्र चाभाको कथा हो। ऊ फिल्मको कथावाचक पनि हो।
चाभाको परिवार, उसका साथीसंगी, आफन्त र उसले पढ्ने स्कुलको परिवेश र पात्रको माध्यमबाट फिल्ममा युद्धमा निर्दोष नागरिक र बालबालिकामाथि भएको सैनिक दमनको चित्रण गरिएको छ।
युद्धकै कारण बुबाले घर छोडेर अमेरिका हिँडेपछि चाभा उसकी आमाले भनेजस्तै घरको 'म्यान अफ द हाउस' भएको छ। चाभाको घरमा उसकी आमा, दिदी र भाइ छन्। तीन साना बच्चा हुर्काउन दिनरात खट्ने चाभाकी आमाको अनुहारमा हरघडी सन्तानप्रतिको चिन्ता झल्किन्छ। हरेक साँझ कर्फ्यु लाग्ने उनीहरूको दैनिक बन्दुकबाट निर्देशित छ। कुन बेला कताबाट गोली चल्ने भन्ने भयबीच बाँचेका छन्।
सैनिकहरूले गाउँका १२ वर्ष पुगेका केटाहरूलाई सैनिक सेवामा भर्ती हुन लिएर जाने भएकाले पनि चाभा र उनका साथी हरेक दिन स्कुल जाँदा भयभित हुन्छन्। सैनिकले नलगे विद्रोहीले लैजाने भएकोले यो गाउँमा उमेर १२ वर्ष हुनु राम्रो संकेत होइन। चाभा पनि १२ वर्ष पुग्न एक वर्ष मात्र बाँकी छ। ऊसँग सैनिक वा आफ्नो अंकलसमेत लागेको विद्रोही सशस्त्र समूहतिर लाग्नुपर्ने विकल्प मात्रै छ।
के चाभा सशस्त्र समूहतिर लाग्ला? वा चाभालाई सैनिकले समातेर बन्दुक बोकाउला?
१२ वर्ष पुगेका बालकहरू सबै टिनको छानामा लुकेको दृश्य, स्कुलमा सैनिकले आएर केही बच्चाहरूलाई पक्रेर लैजाँदा अन्य बालबालिकाको अनुहारमा देखिने डर, स्कुलमा पढिरहेका बेला दोहोरो 'फायरिङ', घरको कोठामा पटकपटक गोली छिरेर चाभाको भाइ रुने जस्ता मार्मिक दृश्य धेरै छन्।
गोली चलेर रोइरहेको भाइलाई हँसाउन आफ्नो गालामा लिपिस्टिक लगाउने चाभा देखेर उसको भाइ हाँस्ने क्षण को भावुक नहोला!
द्वन्द्वको कथा भए पनि यो फिल्ममा रमाइला घटना धेरै छन्। धेरै जना सहायक बालपात्र भएको यो फिल्ममा बालसुलभ निर्दोष गतिविधिले दर्शकलाई हँसाउन छोड्दैन। संकटबीच पनि पात्रहरू हाँस्न छोड्दैनन्।
चाभा र उनकी आमाको साहसिक भूमिकाले पनि दर्शकलाई बलियो बनाउँछ।
७० हजारभन्दा बढी मानिसको मृत्यु भएको साल्भाडोरमा गृहयुद्धका बेला हजारौं बेपत्ता र विस्थापित भएका थिए। यो फिल्ममा झन्डै दस वर्ष सशस्त्र द्वन्द्व भोगेका नेपाली दर्शकले महसुस गर्ने धेरै कुरा भेटिन्छ।
आधा दर्जनभन्दा बढी अवार्ड जितेको यो मेक्सिकन फिल्म अस्करमा पनि पठाइएको थियो।